प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 मार्च pp. ३-६
  • भलाइको निम्ति उत्सुक हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भलाइको निम्ति उत्सुक हुनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • ‘परमेश्‍वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००२
  • ‘सुसमाचारको साक्षी दिनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००८
  • यहोवाको उदेकका कार्यहरूबारे घोषणा गरिरहनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • के हामी सन्‌ २००० अप्रिललाई आफ्नो सर्वोत्तम महिना बनाउनसक्छौं?
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 मार्च pp. ३-६

भलाइको निम्ति उत्सुक हुनुहोस्‌

१ सन्‌ २००३ को स्मरणार्थ महिनाको नजिकै पुग्दा, “भलाइको निम्ति उत्सुक” हुने हामीसित प्रशस्त कारणहरू छन्‌। (१ पत्रु. ३:१३) तीमध्ये एउटा मुख्य कारण, येशू ख्रीष्टको छुडौतीको बलिदान हो। (मत्ती २०:२८; यूह. ३:१६) यस सन्दर्भमा प्रेरित पत्रुसले यस्तो लेखे: “नाश हुने पदार्थहरू, अर्थात्‌ चाँदी अथवा सुनले . . . व्यर्थको रीतिबाट तिमीहरूले छुटकारा पाई किनिएका होइनौ, तर थुमाको जस्तो निष्कलंक, निर्दोष र अनमोल रगतले, अर्थात्‌ ख्रीष्टको रगतले किनिएका हौ।” (१ पत्रु. १:१८, १९) प्रेमको यस्तो असाधारण अभिव्यक्‍तिप्रतिको कृतज्ञताले गर्दा हामी भलाइको काममा व्यस्त रहन उत्प्रेरित हुन्छौं किनभने येशूले “हामीलाई हाम्रा सब अधर्मबाट उद्धार गर्नालाई र उहाँको निम्ति सुकर्ममा जोशिलो भएका उहाँकै आफ्ना एक खास पवित्र जाति तुल्याउनालाई हाम्रो निम्ति आफैलाई अर्पण गर्नुभयो” भन्‍ने कुरा बुझेका छौं।—ती. २:१४; २ कोरि. ५:१४, १५.

२ परमेश्‍वरलाई मनपर्ने काम गर्दा उहाँसितको हाम्रो सम्बन्ध राम्रो हुनुका साथै उहाँले हाम्रो मायालु हेरचाह गर्नुहुन्छ। पत्रुसले त अझ यसो भने: “जसले जीवनलाई प्रेम गर्न र असल दिनहरू देख्न इच्छा गर्दछ, . . . खराबीबाट फर्केर त्यो असल पछि लागोस्‌। किनकि प्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका अन्तरबिन्तीतिर खुला हुन्छ, तर परमप्रभुको मुख खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” (१ पत्रु. ३:१०-१२) यस खतरनाक समयमा, हामीमाथि यहोवाको नजर छ र उहाँले ‘आफ्नो आँखाको नानी झैं [हामीलाई] रक्षा गर्नुहन्छ’ भन्‍ने कुरा थाह पाउनु साँच्चै ठूलो आशिष्‌को कुरा हो।—व्यव. ३२:१०; २ इति. १६:९.

३ पत्रुसले पत्र लेखेका प्रारम्भिक मसीहीहरूले परीक्षाहरू भोग्नुपरे तापनि तिनीहरूले आफ्नो जोस सेलिन दिएनन्‌ र यथासम्भव सुसमाचार घोषणा गरे। (१ पत्रु. १:६; ४:१२) आज परमेश्‍वरका जनहरूको सन्दर्भमा पनि यसै भन्‍न सकिन्छ। हामी “डरलाग्दो समय[मा]” बाँचिरहेको भए तापनि यहोवाले गर्नुभएको भलाइप्रतिको कृतज्ञताले हामीलाई जोसिलो भई परमेश्‍वरको इच्छा गर्न उत्प्रेरित गर्छ। (२ तिमो. ३:१; भज. १४५:७) आउनुहोस्‌, यस स्मरणार्थ महिनाको दौडान हामी व्यस्त हुने केही असल कार्यहरूबारे छलफल गरौं।

४ अरूलाई स्मरणार्थमा आउन निमन्त्रणा दिनुहोस्‌: छुडौतीको विशेष उपहारप्रति मूल्यांकन देखाउन सक्ने एउटा तरिका, यसै वर्ष बुधबार, अप्रिल १६ तारिख सूर्यास्तपश्‍चात्‌ मनाइने येशूको मृत्युको वार्षिक उत्सवमा उपस्थित भएर हो। (लूका २२:१९, २०) गत वर्ष, विश्‍वभरिका ९४,६०० मण्डलीहरूले दिएको रिपोर्टअनुसार कुल उपस्थिति संख्या १,५५,९७,७४६ थियो! त्यो संख्या अघिल्लो वर्षको उपस्थिति संख्याभन्दा २,२०,००० बढी थियो।

५ यो वर्ष कति जना उपस्थित हुनेछन्‌? हामीसँगै भेला हुन हामी अरूलाई कत्तिको लगनशील भई प्रोत्साहन दिन्छौं, त्यसैमा निर्भर हुनेछ। सर्वप्रथम, तपाईंले निमन्त्रणा दिन चाहनुहुने सबै व्यक्‍तिहरूको नामावली तयार पार्नुहोस्‌। नामावलीको सुरुमा आफ्ना परिवारका सदस्यहरूलाई राख्नुहोस्‌। तपाईंका पति वा पत्नी बेग्लै विश्‍वासका छन्‌ भने, तिनी स्मरणार्थमा उपस्थित भएमा आफूलाई असाध्यै खुसी लाग्ने कुरा प्रकट गर्नुहोस्‌। स्मरणार्थमा उपस्थित हुनु आफ्नी पत्नीको लागि अत्यन्तै महत्त्वपूर्ण भएको थाह पाएर एक जना बेग्लै विश्‍वास भएका पतिले आफू स्मरणार्थमा उपस्थित भएको कुरा बताए। त्यसपछि नामावलीमा नातेदार, छिमेकी, सहकर्मी वा सहपाठीहरू राख्न सकिन्छ। आफ्ना बाइबल विद्यार्थीहरूलाई निमन्त्रणा दिन नबिर्सनुहोस्‌।

६ नामावली तयार गरिसकेपछि प्रत्येकलाई व्यक्‍तिगत तवरमा निमन्त्रणा दिन समय मिलाउनुहोस्‌। स्मरणार्थको निमन्त्रणा दिन छापिएको पर्ची प्रयोग गर्नुहोस्‌। मानिसहरूलाई उत्सव कहिले र कहाँ मनाइनेछ भन्‍ने कुरा सम्झिन मदत दिन निमन्त्रणा पर्चीको तलतिर स्मरणार्थको समय र ठाउँ टाइप गर्नुहोस्‌ वा सफासित लेख्नुहोस्‌। अप्रिल १६ नजिकिंदै जाँदा, आफ्नो नामावलीमा भएका व्यक्‍तिहरूलाई व्यक्‍तिगत रूपमा भेटेर वा टेलिफोनमार्फत सम्झाउनुहोस्‌। आउनुहोस्‌, यो अत्यन्तै पवित्र उत्सवमा उपस्थित हुन सकेसम्म धेरैभन्दा धेरै मानिसहरूलाई मदत गरौं।

७ स्मरणार्थमा उपस्थित हुनेहरूलाई सहयोग गर्नुहोस्‌: स्मरणार्थको रात सधैं रोमाञ्चकारी समय हुन्छ। साधारणतया हाम्रा सभाहरूमा उपस्थित नहुने व्यक्‍तिहरूलाई स्वागत गर्ने मौका पाउँछौं। स्थानीय परिस्थितिले दिएसम्म चाँडै आउने र अलि अबेरसम्म बस्ने प्रबन्ध मिलाउनुहोस्‌। उपस्थित नयाँ व्यक्‍तिहरूसित चिनजान बढाउन अग्रसर हुनुहोस्‌। मैत्री भाव देखाउनुहोस्‌ तथा अतिथिसत्कार गर्नुहोस्‌।—रोमी १२:१३.

८ स्मरणार्थमा उपस्थित भएका कसै-कसैलाई गृह बाइबल अध्ययनद्वारा अझ आध्यात्मिक प्रगति गर्न मदत दिन सकिन्छ कि? हालै पुनःभेट नगरिएका व्यक्‍तिहरूकहाँ फेरि जानको लागि तिनीहरूको नाउँ र ठेगाना टिप्ने प्रयत्न गर्नुहोस्‌। मायालु सहयोग पाएको खण्डमा यीमध्ये कोही-कोही आउँदो वर्षको स्मरणार्थसम्ममा बप्तिस्मा अप्राप्त प्रकाशकहरूको रूपमा सेवा गर्न योग्य हुन सक्छन्‌। स्मरणार्थमा उपस्थित भएका व्यक्‍तिहरूलाई पुनःभेट गर्दा अप्रिल २७ तारिख दिइने विशेष भाषण सुन्‍न निमन्त्रणा दिनुहोस्‌।

९ के तपाईं यसपालिको गृष्मऋतुमा सहायक अग्रगामी गर्न सक्नुहुन्छ? हरेक वर्ष यहोवाप्रतिको जोसले हामीलाई विशेष ईश्‍वरतान्त्रिक गतिविधि हुने महिनाको दौडान सेवकाईमा दिलोज्यानले उत्कट प्रयत्न गर्न उत्प्रेरित गर्छ। स्मरणार्थ महिनाको दौडान जोसका साथ प्रचार गर्न सम्पूर्ण मण्डलीले संयुक्‍त प्रयास गरेमा राम्रो परिणाम प्राप्त हुन सक्छ।

१० एकसय सात जना प्रकाशक र नौ जना नियमित अग्रगामीहरू भएको एउटा मण्डलीले गत अप्रिल “उल्लेखनीय महिना” भएको रिपोर्ट गऱ्‍यो किनभने उक्‍त महिना सबै प्राचीन तथा सेवकाई सेवकहरू गरेर जम्मा ५३ जनाले सहायक अग्रगामी गरे। त्यस महिना सहायक अग्रगामी गर्न प्राचीनहरूले कसरी उत्साह जगाए? यसको लागि तिनीहरूले धेरै अगाडिदेखि यथासक्य धेरैलाई अग्रगामी कार्यमा सामेल हुन प्रोत्साहन दिए। मण्डलीका सदस्यहरूलाई पायक पर्ने गरी क्षेत्र सेवकाईका लागि सभाहरू दिनको विभिन्‍न समयमा मिलाइयो। खास गरी अशक्‍तहरूको लागि टेलिफोन साक्षीमा विशेष जोड दिइयो।

११ स्वास्थ्य समस्याले गर्दा हिंड्डुल गर्न असमर्थ एउटी ८६ वर्षीया वृद्ध बहिनीले सहायक अग्रगामीको फाराम भरिन्‌। तिनले बिहान भान्सा कोठाको टेबलमा बसेर केही घण्टा टेलिफोन साक्षी दिन्थिन्‌, त्यसपछि केही घण्टा आराम गरेर फेरि साक्षी दिन थाल्थिन्‌। तिनले भेटेका एक जना व्यक्‍तिको विगत दुई वर्षमा आफ्नो पति र दुई जना किशोर छोराहरूको मृत्यु भएको रहेछ अनि परमेश्‍वरले किन यस्तो दुष्ट कुरा हुन दिनुहुन्छ भन्‍ने कुरा बुझ्न सकेकी थिइनन्‌। राम्ररी साक्षी दिइयो र बाइबल अध्ययन सुरु भयो। ठूलठूला भवन वा पुग्न नसकिने इलाकाहरूमा बसोबास गर्ने मानिसहरूलाई भेट्‌ने प्रभावकारी तरिका साँझपख र अरू समय टेलिफोन साक्षी दिएर हो। प्रकाशकहरूले दिउँसो घरमा भेट्‌न नसकिने मानिसहरूलाई यसरी सम्पर्क गर्न सक्छन्‌।

१२ प्राचीनहरूले आफ्नो रिपोर्टको अन्तमा यस्तो लेखे: “हामीले साँच्चै अद्‌भुत समयको आनन्द उठायौं र यहोवाले हामी प्रत्येकको लागि सम्भव तुल्याइदिनुभएको सुअवसर तथा आशिष्‌को ठूलो मूल्यांकन गर्छौं।” राम्रो योजना बनाएको खण्डमा तपाईंको मण्डलीले पनि यस्ता आशिष्‌हरूको आनन्द उठाउन सक्छ।

१३ सेवकाईमा शत-प्रतिशत भाग लिने प्रयास गर्नुहोस्‌: परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले हामीलाई हरेक महिना अरूलाई सुसमाचार सुनाउन समय निकाल्न उत्प्रेरित गर्छ। (मत्ती २२:३७-३९) मण्डली पुस्तक अध्ययन निरीक्षक तथा तिनका सहायकले आफ्नो समूहका सबैलाई हरेक महिना सेवकाईमा भाग लिन मदत दिने प्रयत्न गर्नुपर्छ। यसो गर्ने एउटा राम्रो तरिका, समूहका ती सदस्यहरूसित सेवकाईमा सँगै जान पहिल्यै प्रबन्ध मिलाएर हो। महिनाको अन्ततिर भन्दा चाँडै सुरु गरिहाल्नुहोस्‌। यसो गर्दा तपाईंले मायालु सहयोग गर्ने थुप्रै मौका पाउनुहुनेछ।

१४ के तपाईंको पुस्तक अध्ययन समूहमा सेवकाईमा भाग लिनै नसक्ने अशक्‍त प्रकाशकहरू छन्‌? यदि कोही-कोही नर्सिङ होम वा आफ्नै घरमा थला परेका छन्‌ भने, तिनीहरूले साक्षी दिने धेरै मौका नपाउनु स्वाभाविकै हो। तर ज्योति चम्काउने सीमित मौकाको फाइदा उठाउँदै तिनीहरूले असल कार्य गरेको खण्डमा, ती देख्ने मानिसहरू सच्चाइमा साँचो चासो लिन प्रेरित हुन सक्छन्‌। (मत्ती ५:१६) यस्ता अशक्‍त व्यक्‍तिहरूले १५/१५ मिनेटको हिसाबले क्षेत्र सेवकाई रिपोर्ट बुझाउन सक्छन्‌ भन्‍ने कुरा तिनीहरूलाई थाह छ कि छैन, त्यसबारे पुस्तक अध्ययन निरीक्षकहरूले पक्का गर्नुपर्छ। साक्षीकार्यमा आफूले बिताएको समय बुझाउन पाउँदा यी विश्‍वासी प्रकाशकहरू प्रोत्साहित हुनुका साथै उनीहरूको हृदय भरपूर सन्तुष्टिले भरिन्छ। यसले परमेश्‍वरका जनहरूको गतिविधिको विश्‍वव्यापी रिपोर्ट सही बनाउन पनि मदत गर्छ।

१५ भलाइ गर्न व्यस्त युवाहरू! मसीही युवाहरूले आफ्नो बल र शक्‍ति यहोवाको सेवामा प्रयोग गरेको देख्न पाउनु कत्ति स्फूर्तिदायी कुरा हो! (हितो. २०:२९) यदि जवान हुनुहुन्छ भने, तपाईं कसरी यी विशेष महिनामा हुने गतिविधिको दौडान यहोवाप्रतिको आफ्नो जोस देखाउन सक्नुहुन्छ?

१६ तपाईं मण्डलीको बप्तिस्मा अप्राप्त प्रकाशक हुनुभएको छैन भने, के तपाईं त्यस सुअवसरको लागि अघि बढ्‌न सक्नुहुन्छ? आफैलाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के मसित बाइबलको आधारभूत ज्ञान छ? के म राज्य सेवामा भाग लिन चाहन्छु? के मेरो चालचलन उदाहरणीय छ? के म सुसमाचारबारे अरूसँग कुरा गरेर आफ्नो विश्‍वासको व्यक्‍तिगत प्रमाण दिन सक्छु? के म यसो गर्न हृदयदेखि उत्प्रेरित हुन्छु?’ तपाईं यी प्रश्‍नहरूको सकारात्मक जवाफ दिन सक्नुहुन्छ भने, प्रकाशक बन्‍ने इच्छाबारे आफ्ना आमाबुबासित कुरा गर्नुहोस्‌। तपाईंका आमाबाबुले सेवा समितिका एक जना प्राचीनलाई भेटेर कुरा गर्न सक्छन्‌।

१७ तपाईं सुसमाचारको प्रकाशक भइसक्नुभएको छ भने, के तपाईं स्कूल बिदा भएको बेला त्यसको फाइदा उठाउँदै सेवकाईमा अझ बढी भाग लिन सक्नुहुन्छ? राम्रो तालिका र आमाबाबु तथा अरूको सहयोग पाएर धेरै बप्तिस्मा प्राप्त युवाहरूले सहायक अग्रगामी गर्न सकेका छन्‌। त्यसो गर्न सकिंदैन भने पनि क्षेत्र सेवकाईमा आफ्नो सहभागिता बढाउन कटिबद्ध हुनुहोस्‌। आफ्नोलागि लक्ष्य तोक्नुहोस्‌। तोकिएको घण्टा पुऱ्‍याउनु बाहेक आफ्नो सेवकाईको गुणस्तर बढाउने लक्ष्य पनि राख्नुहोस्‌। तपाईं प्रत्येक घरमा एउटा शास्त्रपद भए पनि पढेर सुनाउने, पुनःभेटको गुणस्तर अझ राम्रो बनाउने, बाइबल अध्ययन सुरु गर्ने अथवा टेलिफोन साक्षी वा सेवाका अन्य पक्ष समावेश गर्न आफ्नो सेवकाईलाई विस्तार गर्ने प्रयत्न गर्न सक्नुहुन्छ होला। छरछिमेकी, सहपाठी वा नातेदारलाई यस वर्षको स्मरणार्थमा सँगै उपस्थित हुन आग्रह गर्ने लक्ष्य नि? ईश्‍वरतान्त्रिक गतिविधिमा पूरापूर भाग लिनु इनामदायी हुनुका साथै मण्डलीका अरूलाई पनि अवश्‍य प्रोत्साहन दिनेछ।—१ थिस्स. ५:११.

१८ नयाँ व्यक्‍तिहरूलाई प्रगति गर्न मदत गर्नुहोस्‌: गत सेवा वर्षको दौडान, भारतमा हरेक महिना लगभग १४,८९६ गृह बाइबल अध्ययन सञ्चालन गरियो। समयमा, यीमध्ये थुप्रै विद्यार्थीहरू समर्पण र बप्तिस्माको लागि तयार हुनेछन्‌। तथापि, उनीहरू त्यो लक्ष्यसम्म पुग्नुअघि हामीले उनीहरूलाई सुसमाचारका प्रकाशकहरूको हैसियतमा योग्य हुन मदत गर्नु खाँचो छ। नयाँ व्यक्‍तिहरूलाई येशू ख्रीष्टका अनुयायीहरू हुन सिकाउने यो महत्त्वपूर्ण कदम हो। (मत्ती ९:९; लूका ६:४०) के तपाईंको कुनै बाइबल विद्यार्थी त्यो कदम चाल्न तयार भइसक्यो?

१९ तपाईं आफ्नो बाइबल विद्यार्थीको प्रगतिबारे त्यति पक्का हुनुहुन्‍न भने, पुस्तक अध्ययन निरीक्षक वा सेवा निरीक्षकको सहयोग माग्नुहोस्‌। तपाईं तिनलाई अध्ययनमा सँगै बस्ने निम्तो दिन सक्नुहुन्छ। यी भाइहरूको अमूल्य अनुभवले विद्यार्थीको आध्यात्मिक प्रगति लेखाजोखा गर्न सक्छन्‌। तिनीहरूले विद्यार्थीलाई आध्यात्मिक प्रगति गरिरहन मदत गर्ने सुझावहरू दिन सक्छन्‌।

२० तपाईंको बाइबल विद्यार्थीले बप्तिस्मा अप्राप्त प्रकाशक बन्‍ने इच्छा प्रकट गर्छ र तपाईंलाई तिनी योग्य छन्‌ जस्तो लाग्छ भने, यसबारे मण्डलीका अध्यक्षसित कुरा गर्नुहोस्‌। तपाईंका विद्यार्थी योग्य छन्‌ कि छैनन्‌ हेर्न तिनले दुई जना प्राचीनहरूको प्रबन्ध मिलाउनेछन्‌ र आवर मिनिस्ट्री पुस्तकको पृष्ठ ९८-९ मा दिइएका जानकारी चलाएर तपाईंहरूसित छलफल गर्नेछन्‌। (नोभेम्बर १५, १९८८ को वाचटावर, पृष्ठ १७ हेर्नुहोस्‌।) विद्यार्थी प्रकाशक बन्‍न योग्य ठहरिएमा तपाईंले तिनलाई प्रशिक्षण दिन तुरुन्तै सुरु गरिहाल्नुपर्छ। तिनले एक चोटि क्षेत्र सेवकाईको रिपोर्ट बुझाइसकेपछि, उक्‍त विद्यार्थी बप्तिस्मा अप्राप्त प्रकाशक हुन्‌ भन्‍ने कुरा मण्डलीलाई अवगत गराइनेछ। विशेष गतिविधिका यी महिनाहरूको दौडान हजारौं जवान तथा वृद्ध दुवै नयाँ प्रकाशकहरू आफ्नो आध्यात्मिक प्रगतिको यो महत्त्वपूर्ण बिन्दुमा पुग्नेछन्‌ भन्‍ने आशा हामीले राखेका छौं।

२१ अत्यधिक असल परिणाम प्राप्त गर्न योजनाले मदत गर्छ: यस स्मरणार्थ महिनाको दौडान हुने ईश्‍वरतान्त्रिक गतिविधिलाई सफल तुल्याउन पूर्व योजनाले ठूलो योगदान पुऱ्‍याउनेछ। (हितो. २१:५) प्राचीनहरूले ध्यान दिनुपर्ने कुराहरू धेरै छन्‌।

२२ क्षेत्र सेवकाईमा अत्यधिक असल परिणाम प्राप्त गर्न मण्डलीलाई मदत दिन प्राचीनहरूले हप्ताभरि र सप्ताहन्तमा क्षेत्र सेवकाईका लागि गरिने सभाहरूको व्यावहारिक प्रबन्ध मिलाउनुपर्छ। यी प्रबन्ध मिलाउने सन्दर्भमा सेवा निरीक्षकले नेतृत्व लिनुपर्छ। बिहान सबेरै, दिउँसो वा साँझपखको लागि थप सभाहरूको प्रबन्ध मिलाउन सकिन्छ कि? यी प्रबन्धहरूबारे मण्डलीलाई अवगत गराउनुपर्छ। यो तालिका सूचना पाटीमा टाँस्नु मदतकारी हुन सक्छ।

२३ स्मरणार्थका लागि प्रबन्धहरू मिलाउने काम अप्रिल १६ तारिखभन्दा अघि नै भइरहेका छन्‌ कि छैनन्‌, प्राचीनहरूले पक्का गर्नुपर्छ। यसमा राज्यभवनको प्रयोगबारे अन्य मण्डलीहरूसित समझदार, राज्यभवनको सरसफाइ, परिचारक तथा वितरकहरू छान्‍नु अनि प्रतीकहरूको प्रबन्ध गर्नु समावेश छ। स्मरणार्थको समय तथा स्थान अनि त्यस हप्ता हुने सभाको तालिकामा काँटछाँट गरिएको छ भने, त्यसबारे मण्डलीलाई जानकारी दिनुपर्छ। यी कुराहरू लगनशील भई रेखदेख गर्दा उत्सव “शिष्ट रुपले र नियमपूर्वक” मनाउन सकिनेछ।—१ कोरि. १४:४०.

२४ स्मरणार्थ महिनाको दौडान परिवारले कसरी थप गतिविधिमा अझ बढी भाग लिन सक्छन्‌ भन्‍ने सन्दर्भमा छलफल गर्न परिवारका शिरहरूले आफ्ना पारिवारिक अध्ययनको केही समय छुट्याउन सक्छन्‌। के तपाईंको पूरै परिवारले सहायक अग्रगामी गर्न सक्छ? अथवा के परिवारले परिवारका एक वा त्योभन्दा बढीलाई यसो गर्न सहयोग गर्न सक्छ? त्यसो गर्न सम्भव छैन भने, पारिवारिक रूपमा सेवकाईमा बढी समय बिताउने निश्‍चित लक्ष्य राख्नुहोस्‌। के अलिकति प्रोत्साहन अनि मदत पाएर बप्तिस्मा अप्राप्त प्रकाशक बन्‍न सक्ने परिवारमा कोही त्यस्ता साना केटाकेटी छन्‌ कि? यस वर्षको स्मरणार्थमा तपाईंको परिवारले कति जनालाई निमन्त्रणा दिन सक्छन्‌? राम्रो योजना बनाउनुभयो भने तपाईंको परिवारले थुप्रै आशिष्‌ तथा आनन्द उठाउनेछन्‌।

२५ बाँकी समयको पूर्ण लाभ उठाउनुहोस्‌: प्रथम शताब्दीका मसीहीहरूलाई पत्र लेख्दा प्रेरित पत्रुसले तिनीहरूलाई अविलम्बी भाव राख्ने विषयमा सम्झाए किनभने यहूदी रीतिरिवाजको अन्त नजिकै आइसकेको थियो। (१ पत्रु. ४:७) वर्तमान विश्‍व रीतिरिवाजको अन्त पनि एकदमै नजिक छ भन्‍ने प्रशस्त प्रमाण पाइन्छ। दिनहुँ हाम्रो जीवन शैलीले त्यस्तो निश्‍चयता झल्काउनुपर्छ। यहोवाका जोसिला सेवकहरूको हैसियतमा हामीले सुसमाचार घोषणा गर्ने जरुरी काममा ध्यान केन्द्रित गर्नुपर्छ।—ती. २:१३, १४.

२६ जोस-जाँगर देखाउने र कदम चालिहाल्ने समय अहिल्यै हो! यहोवाले तपाईं, तपाईंको परिवार र मण्डलीका लागि के-के गर्नुभएको छ, त्यसमाथि मनन गर्नुहोस्‌। हुन त, हाम्रोलागि उहाँले विभिन्‍न तरिकामा गर्नुभएको उपकारको बदलामा केही दिन नसके तापनि हामी यहोवालाई तनमनको उपासना चढाउन सक्छौं। (भज. ११६:१२-१४) हाम्रो लगनशील प्रयासमा यहोवाले आशिष्‌ दिनुहुनेछ। (हितो. १०:२२) थप गतिविधिको यस विशेष समयको दौडान हामी सबै जना “भलाइको निम्ति उत्सुक” होऔं, ताकि “सबै कुरामा परमेश्‍वरको महिमा येशू ख्रीष्टद्वारा गरिओस्‌।”—१ पत्रु. ३:१३; ४:११.

[पृष्ठ ३-मा भएको पेटी]

विश्‍वव्यापी स्मरणार्थ उपस्थिति

१९९९ १,४०,८८,७५१

२००० १,४८,७२,०८६

२००१ १,५३,७४,९८६

२००२ १,५५,९७,७४६

[पृष्ठ ४-मा भएको पेटी]

स्मरणार्थमा तपाईं क-कसलाई निमन्त्रणा दिनुहुनेछ?

□ परिवारका सदस्य तथा नातेदारहरू

□ छिमेकी तथा चिनजानका व्यक्‍तिहरू

□ सहकर्मी तथा सहपाठीहरू

□ पुनःभेट तथा बाइबल विद्यार्थीहरू

[पृष्ठ ५-मा भएको पेटी]

स्मरणार्थमा उपस्थित हुनेहरूलाई मदत गर्नुहोस्‌

□ न्यानो स्वागत गर्नुहोस्‌

□ पुनःभेट गर्नुहोस्‌

□ बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌

□ विशेष भाषण सुन्‍न निम्तो दिनुहोस्‌

[पृष्ठ ६-मा भएको पेटी]

स्मरणार्थ महिनाको लागि तपाईंले कस्ता लक्ष्यहरू राख्नुभएको छ?

□ आफूले निमन्त्रणा दिएको व्यक्‍तिलाई स्मरणार्थमा उपस्थित गराउनुहोस्‌

□ सुसमाचारका प्रकाशकको रूपमा योग्य हुनुहोस्‌

□ सेवकाईमा निश्‍चित घण्टा बिताउनुहोस्‌

□ सेवकाईको कुनै खास पक्षमा उन्‍नति गर्नुहोस्‌

□ सहायक अग्रगामीको रूपमा सेवा गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने