अरूसित काम गर्दा प्राप्त हुने आशिष्हरू
१ सेवकाईमा अरूसित काम गर्दा आनन्द उठाउन सक्ने फाइदाहरू छन् जस्तो के तपाईंलाई लाग्छ? येशूलाई त्यस्तै लाग्यो। थोरै खेतालाले धेरै कटनी गर्नु पर्ने भए पनि उहाँले ७० चेलाहरूलाई “दुइ दुइ गरी” सेवकाईमा पठाउनु भयो। उहाँ आफै “जानलाग्नु भएको हरेक शहर र गाउँमा” प्रचार गर्न पाउनु तिनीहरूको लागि कस्तो इनामदायी समय थियो!—लूका १०:१, १७; मत्ती ९:३७.
२ अरूसित काम गर्नु प्रोत्साहनदायी हुन्छ। हामीमध्ये कोही कोही लज्जालु र अपरिचितहरूसित कुरा गर्न अपठ्यारो मान्छौं। हामी सँगसँगै कोही आइदिंदा, साहसी भएर परमेश्वरको वचन बोल्न सक्ने मनोबल प्राप्त हुन सक्छ। हामीसित कोही छ भने तालिमअनुसार काम पूरा गर्न हामीलाई सजिलो हुन सक्छ। (हितो. २७:१७) एक जना बुद्धिमान व्यक्तिले यसो भने: “एकभन्दा दुइ असल हो।”—उप. ४:९.
३ भिन्दा भिन्दै प्रकाशक तथा अग्रगामीहरूसित काम गर्नु राम्रो कुरा हो। प्रेरित पावलका सेवकाई सहकर्मीहरूमा बर्णाबास, सिलास, तिमोथी र यूहन्ना मर्कूस समावेश थिए। एकसाथ मिलेर प्रचार गर्दा तिनीहरूले धेरै आशिष्हरूको आनन्द उठाए। आज पनि यो सत्य साबित हुनसक्छ। धेरै वर्षदेखि सच्चाइमा रहेका व्यक्तिसित के तपाईंले काम गर्नु भएको छ? छ भने, साक्षी दिने उहाँको तरिका अवलोकन गरेर पक्कै पनि त्यस्ता केही राम्रा विचारहरू आर्जन गर्नु भएको होला जसले तपाईंलाई अझ उन्नति गर्न मदत पुऱ्याएको छ। अरूको दाँजोमा भर्खर मात्र सच्चाइमा आएका नयाँ प्रकाशकहरूलाई के तपाईंले साथ दिनुभएको छ? त्यसो भए आफूले सिक्नु भएका केही कुराहरू बाँड्न र तिनीहरूलाई अझ प्रभावकारी भएर आफ्नो सेवकाईमा धेरै आनन्द उठाउन मदत दिन तपाईं सक्षम हुनुभएको होला।
४ के तपाईंले अहिले बाइबल अध्ययन सञ्चालन गरिरहनु भएको छ? छ भने, कुनै एक प्राचीन अथवा क्षेत्रीय निरीक्षकलाई तपाईंसित आउने निम्तो दिए कसो होला? निरीक्षकहरूसित परिचित हुन पाउनु हाम्रा बाइबल विद्यार्थीहरूको निम्ति फाइदाजनक हुन्छ। प्राचीनसमक्ष बाइबल अध्ययन सञ्चालन गर्न तपाईंलाई अप्ठ्यारो लाग्छ भने, शायद तपाईंलाई अवलोकन गर्न लगाएर आफैले अध्ययन सञ्चालन गर्न उहाँ इच्छुक हुनुहुन्छ होला। तर त्यसपछि विद्यार्थीलाई छिटो प्रगति गर्न मदत दिनेबारे निर्धक्क भई उहाँसित केही सुझावहरू माग्नुहोस्।
५ अरूसित काम गर्दा तपाईं प्रोत्साहनदायी साथी बन्नुहोस्। क्षेत्रसम्बन्धी टिप्पणीहरू दिंदा सकारात्मक हुनुहोस्। अरू व्यक्ति या मण्डलीका प्रबन्धहरूबारे कुरा नकाट्नुहोस्। सेवकाई र यहोवाबाट प्राप्त हुने आशिष्हरूमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्। यसो गर्नुभयो भने, तपाईं र तपाईंको सहचर दुवै आत्मिक पुनःताजगीका साथ घर फर्कनु हुनेछ।
६ शायद तपाईंको परिस्थितिले गर्दा अरू भाइबहिनीहरूसित काम गर्न अप्ठ्यारो हुनसक्छ। तथापि, सम्भव भएमा कुनै अर्को प्रकाशकसित काम गर्न केही समय निकाल्नु भए कसो होला? यसो गर्नुभयो भने, तपाईंहरू दुवैले आशिष् पाउनुहुनेछ!—रोमी १:११, १२.