व्यक्तिगत अध्ययन—चिन्ताको विषय
१ कस्ता विषयहरू गम्भीर चिन्ताका कारणहरू हुन्? यहोवासित घनिष्ठ सम्बन्ध राख्न र कायम गर्न हामी असाध्यै चिन्तित हुनुपर्छ। त्यस्तो घनिष्ठता कायम गर्न व्यक्तिगत अध्ययनले प्रमुख भूमिका खेल्छ। आज, हाम्रो परिस्थितिले गर्दा धेरैसित मनन र व्यक्तिगत अध्ययन गर्न यथेष्ट समय छैन। यद्यपि, हामीले परमेश्वरको वचन नियमित तवरमा पढेनौं भने संसारको आत्मा र त्यसका शारीरिक इच्छाहरू प्रतिरोध गर्न नसक्ने हदसम्म हामी कमजोर हुन सक्छौं।
२ वचनको तृष्णा जगाउनुहोस्: परमेश्वरका उद्देश्यहरूबारे भर्खर मात्र सिक्दा सम्भवतः बढी ज्ञान प्राप्त गर्न हामी इच्छुक थियौं होला। तर समय बित्दै जाँदा हाम्रो आध्यात्मिक भोक घट्दै गएको हुन सक्छ। आध्यात्मिक भोजनको “तृष्णा” जगाउन खाँचो पर्न सक्छ। (१ पत्रु. २:२) त्यस्तो तृष्णा हामी कसरी जगाउन सक्छौं?
३ हामीलाई मनपर्ने भोजनको सुगन्धले गर्दा मनोरम यादगारहरू आउन र फलस्वरूप हाम्रो भोक जाग्नसक्छ। व्यक्तिगत अध्ययन गर्ने छोटो अवधिहरूले पनि आध्यात्मिक तवरमा त्यस्तै प्रभाव पार्न सक्छ। केही स्वादिष्ट आध्यात्मिक दानाहरू खानाले गहिरा सत्यताहरूका लागि हाम्रो भोक जाग्न सक्छ। फलस्वरूप सिकेका कुराबाट प्राप्त हुने सन्तुष्टिले यहोवाको वचन गहिरिएर खोतल्न हामीलाई प्रोत्साहन दिन सक्छ।
४ तपाईंको लागि सबैभन्दा प्रभावकारी साबित हुने तालिका विकास गर्नुहोस्: कसै कसैले व्यक्तिगत अध्ययन गर्न सम्पूर्ण साँझ बिताउँछन्। जबकि अरू कतिपय भने कम समय तर धेरै चोटि अध्ययन गर्न रुचाउँछन्। बिहान सबेरै एकाग्र हुन तपाईंलाई सजिलो लाग्छ भने नास्ताअघि केही क्षण अध्ययन गर्ने निर्णय गर्न सक्नुहुन्छ। साँझतिर तपाईं बढी चङ्खो हुनुहुन्छ भने राती सुत्नुअघि अलिकता अध्ययन गर्न सक्नुहुन्छ। परिस्थिति जस्तोसुकै होस्, सबैभन्दा महत्त्वपूर्ण कुरा नियमित हुनु र तपाईंका आवश्यकतालाई ध्यानमा राखेर सबैभन्दा सुहाउँदो तालिकाअनुसार चल्नु हो।
५ अझ बढी व्यक्तिगत अध्ययन गर्न हामीलाई प्रोत्साहन दिईंदा हाम्रो व्यस्त तालिका छ भनी झट्टै भनी हालौंला। तर आफ्नो समय कसरी बिताउँछौं भनी जाँच्न हामी इमान्दार हुनुपर्छ। टेलिभिजन कार्यक्रमहरूले के हाम्रो निकै समय खाइरहेको छ? केही व्यक्तिगत इच्छाहरू त्याग्न के हामी इच्छुक छौं? व्यावहारिक भएर जाँच गर्नाले दैनिक तालिकामा हामीले त्यस्ता समयहरू भेट्टाउनेछौं जुन हामी लाभदायी व्यक्तिगत अध्ययनको लागि प्रयोग गर्न सक्छौं—एफि. ५:१५, १६.
६ परमेश्वरको वचन अध्ययन गर्न हाम्रो एकाग्र ध्यानको आवश्यकता पर्छ। अध्ययन सँगसँगै अरू काम गर्न खोज्दा त्यसबाट कम लाभ हुन्छ। खाँदै, रेडियो सुन्दै वा टेलिभिजन हेर्दै अध्ययन गर्न प्रवृत्त छौं भने सम्भवतः हामीले सिक्न खोजिरहेका कुराहरू पूर्णतया ग्रहण गर्न सक्दैनौं। (१ तिमो. ४:१५) अतः त्यस्ता अलमलहरूबाट अलग हुनु आवश्यक छ।—स्कूल गाइडबुक, पृष्ठ ३३-४ हेर्नुहोस्।
७ दैनिक अध्ययन र बाइबलको सल्लाह पालन गर्नु महत्त्वपूर्ण छ किनभने यहोवाबाट निर्देशन प्राप्त गर्ने तरिका त्यही नै हो। प्रकाशित जानकारीहरूले तपाईंको हृदयलाई प्रभावित गर्ने लक्ष्य बनाउनुहोस्। समय जतिसुकै छोटो भए पनि आध्यात्मिक कुराहरू पढ्न, पुनरावृत्ति गर्न वा मनन गर्न हरेक अवसरको सदुपयोग गर्नुहोस्।—व्यव. ६:६-८; कल. १:९, १०.