संशोधित जन भाषणहरूद्वारा लाभ उठाउने
१ हितोपदेश ४:१८ ले यहोवाका साक्षीहरूको आधुनिक इतिहासको सही वर्णन गर्छ: “धर्मीको चाल बिहानको उज्यालो जस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन् झन् चहकिलो हुँदैजान्छ।”
२ यसअनुरूप मसीही मण्डलीले निरन्तर बाइबलका शिक्षाहरूको सामयिक स्पष्टिकरण तथा संशोधित जानकारी पाउँछ। (मत्ती २४:४५-४७) सम्भवतः यहोवाका साक्षीहरूसँग संगत गर्नुभएको समयदेखि तपाईंले याद गर्नुभएका कुराहरू त्यसको उदाहरणस्वरूप बताउन सक्नु हुन्छ होला। झन् झन् चहकिलो हुँदै गइरहेको सच्चाइको प्रकाशसँगसँगै अगाडि बढ्न जन भाषण लगायत मण्डलीका सभाहरूले हामीलाई मदत गर्छ।
३ संशोधित भाषणका रूपरेखाहरू: हालै हाम्रो सोसाइटीले थुप्रै भाषणका रूपरेखाहरू संशोधन गरेको छ। यी भाषणहरूमा नयाँ विषय-वस्तु समाविष्ट गरिनुका साथै महत्त्वपूर्ण बुँदाहरू स्पष्ट पारिएका छन्। अतः मण्डलीले यस संशोधित जानकारीबाट पूर्ण लाभ उठाउने हो भने, भाषण दिने भाइहरूले नयाँ रूपरेखाहरू मात्र चलाउनु पर्छ।
४ जन भाषणहरूबाट यथासम्भव धेरै लाभ उठाउन, भाषणको शीर्षकमाथि केही विचार गर्नुहोस्। जन भाषणमा उपस्थित हुनअघि त्यस विषयमा ईश्वरतान्त्रिक स्रोतहरूले दिने नवीनतम जानकारी सम्झने कोशिश गर्नुहोस्। त्यसपछि भाषण सुन्नुहुँदा यस जानकारीमा कुनै नयाँ कुरा थपिन्छन् कि भनेर ध्यान दिनुहोस्। यी सत्य कुराहरूलाई भविष्यमा प्रयोग गर्न मिल्ने कुनै नयाँ तरिकाहरू छन् भने त्यसको टिपोट लिनुहोस्। यसो गर्नु भयो भने तपाईंले संशोधित जन भाषणहरूद्वारा बढी भन्दा बढी लाभ उठाउन सक्नुहुनेछ।
५ जन भाषणहरूले स्रोताहरूलाई जानकारी प्रदान गर्नुका साथै उत्प्रेरित गर्नुपर्छ: येशू स्रोताहरूको हृदयसम्म पुग्नुहुन्थ्यो। आजसम्म दिइएका जन भाषणहरूमध्ये सबैभन्दा प्रख्यात भाषण अर्थात् येशूले डाँडामा दिनुभएको उपदेशको समापनलाई लिएर मत्ती ७:२८ ले यस्तो रिपोर्ट दिन्छ: “भीड़ उहाँको शिक्षाले छक्क परे।”
६ येशूको उदाहरणलाई मनमा राख्दै प्राचीनहरूको समूहले नयाँ जन वक्ताहरूलाई मान्यता दिंदा समझदारीपूर्वक निर्णय गर्नु पर्छ र राम्ररी सिकाउने, सोसाइटीले दिएको रूपरेखालाई राम्ररी पालन गरी भाषण दिने र स्रोताहरूको ध्यानाकर्षण गर्न सक्ने भाइहरूलाई मात्र छान्नु पर्छ। त्यस्तैगरि जन भाषण दिने सुअवसर पाउने भाइहरूले आफ्नो वाक् क्षमतामा उन्नति गर्ने कोशिश गर्नुका साथै प्राचीनहरूले दिएको कुनै पनि सल्लाह र सुझावहरू स्वीकार्नु पर्छ।
७ यशैया ६५:१३, १४ मा अगमवाणी गरिएझैं परमेश्वरका जनहरूको आध्यात्मिक समृद्धि झन् झन् प्रष्टिंदै जान्छ। ‘यहोवाले हामीलाई सिकाउनु हुने’ थुप्रै तरिकाहरूमध्ये जन भाषणको प्रबन्ध पनि एक हो।—यशै. ५४:१३.