के तपाईं आवश्यकता देख्नुहुन्छ?
१ यहोवालाई सहायक र शरणस्थान भनी वर्णन गरिएको छ। खाँचो पर्दा हामी उहाँकहाँ जान सक्छौं र उहाँले हाम्रो मदत गर्नुहुनेछ भनेर हामीलाई थाह छ। (भजन. १८:२; ४६:१) आफूले आवश्यकता देख्दा अरूलाई मदत गरेर हामी यस समानुभूतिशील गुनको अनुकरण गर्न सक्छौं।
२ अरूलाई मदत दिन विशेष प्रयत्न गर्न एक व्यक्तिलाई कुन कुराले उत्प्रेरित गर्छ? त्यसो गर्नु मायालु, मानवीय कार्य हो भनी धेरै मानिसहरूलाई थाह छ। निस्सन्देह, परमेश्वरको वचनले त्यसो गर्न प्रोत्साहन गर्छ। (रो. १५:१) प्रेरित पावलले हामीलाई ‘आफ्नै कुरामा मात्र होइन, तर अरूहरूका कुरामा पनि ध्यान दिन’ आग्रह गरे।—फिलि. २:४.
३ यसो गर्दा हामी सबैले आनन्द प्राप्त गर्न सक्छौं। (प्रे. २०:३५) “साँचो मनले” आफ्ना भाइहरूको “कल्याण सोच्ने” उदाहरणीय व्यक्ति भनी पावलले तिमोथीलाई अलग्गै छुटाएका थिए। (फिलि. २:२०) त्यस्तै मनसाय भएका थुप्रै जवानहरू हाम्रा मण्डलीहरूमा हुनु राम्रो कुरा हो। तर हामी चाहे जवान वा वृद्ध होऔं, आवश्यकता परेको ठाउँमा हामीले गर्नसक्ने कुराहरू छन्।
४ कसैलाई अझ बढी मदत गर्न सकिन्थ्यो जस्तो के तपाईंले कहिल्यै महसुस गर्नुभएको छ? शायद कोही भाइ वा बहिनी अस्पतालमा थिए होला तर थोरै साक्षीहरू मात्र भेट्न गएका होलान्; वा कोही अशक्त भएको तर तिनका कामकुराहरू अथवा घरायसी कामहरू गर्न कोही नभएको हुनसक्छ। यहोवाको सेवा गर्ने व्यक्तिहरूलाई येशूले एकअर्काको साँच्चै चासो राख्ने एउटै परिवारको सदस्य ठान्नुहुन्छ। (मर्कू. ३:३३-३५) राजाका भाइहरूलाई मदत गरेको हुँदा तिनीहरूले राजाको दायाँ हातमा बस्ने अनुग्रह प्राप्त गर्छन् भनी उहाँले भेडा र बाख्राको उदाहरणमा देखाउनुभयो।—मत्ती २५:४०.
५ म कसरी मदत दिन सक्छु? स्पष्ट आवश्यकता देखिंदा मदत दिन के गर्न सकिन्छ? कुनै ढंगमा सहयोग दिन के हामी अग्रसर हुन सक्छौं? शायद प्रोत्साहन चाहिने वृद्धहरू होलान् तर तिनीहरूलाई मदत दिन घनिष्ठ मित्रहरू कोही नहोलान्। सहयोगको खाँचो पर्ने जवानहरू होलान्। बाइबल अध्ययन गर्ने प्रकाशक अनुपस्थित हुँदा उनको विद्यार्थी, नवजिज्ञासु परिवार बच्चाहरूसमेत राज्य भवनमा उपस्थित हुनसक्छन्। बच्चाहरूलाई हेरिदिन कसैले मदत पुऱ्याएको तिनीहरूले मूल्यांकन गर्नेछन्।
६ सत्य र यहोवाको संगठनप्रति प्रेममा बढ्दै जाँदा हामीले मण्डलीमा अरूप्रति देखाउने मूल्यांकन तथा चासो बढ्न थाल्छ। यस सम्बन्धमा ठूलो मनको हुन पावलले हामीलाई प्रोत्साहन दिए। (२ कोरि. ६:११-१३) हामी साँच्चै उहाँका अनुयायीहरू हौं भनी प्रदर्शित गर्ने प्रमुख तरिका एकअर्कालाई प्रेम दर्साउनु हो भनी येशूले जोड दिनुभयो।—यूह. १३:३५.
७ अतः हामीले आवश्यकता देख्दा हाम्रा भाइहरू तथा मण्डलीप्रति साँचो प्रेमले जसरी सक्छ त्यसरी मदत दिन अग्रसर हुन आफूलाई उत्प्रेरित गर्नुपर्ने हो। (गला. ६:९, १०) अरूप्रति यस्तो चासोले हामीलाई प्रेम र एकताको गाँठोमा बाँध्छ। (१ कोरि. १०:२४) यसप्रकार आफ्नो हिस्सा पूरा गरेर मण्डलीमा आवश्यकताको माग पूर्ति गर्छौं।