सजिलै पाइने मदत
१. आध्यात्मिकता कसरी खस्किन सक्छ?
१ कामको व्यस्तता र पतिको विश्वास पनि बेग्लै भएकोले बहिनी अन्नालाई मसीही सभा नियमित धाउन, प्रचारमा जान र बाइबल पढ्न साह्रै गाह्रो पर्थ्यो। यहोवालाई माया मार्न नचाहँदा-नचाहँदै पनि आध्यात्मिक तवरमा उनी निष्क्रिय भइन्। तर खुसीको कुरा, मायालु प्राचीनहरूबाट उनले आध्यात्मिक मदत पाइन्।
२. मसीहीहरू कसरी सजिलै पाइने मदत बन्न सक्छन्?
२ मसीही मण्डलीबाट पाइने सल्लाह स्वीकार्नु यहोवामा भरोसा देखाउनु हो। येशू मानिसहरूको हेरचाह गर्नुहुन्थ्यो। त्यसरी नै मण्डलीका प्राचीनहरूले पनि उहाँको अनुकरण गर्दै आध्यात्मिक मदत चाहिएकाहरूलाई प्रोत्साहन र व्यावहारिक मदत दिन्छन्। (१ थिस्स. ५:१४) कोही भाइबहिनीलाई मदतको सख्त जरुरत हुन्छ। ठीक त्यही बेला सान्त्वनादायी बाइबल पदबाट प्रोत्साहन दिंदा त्यो चाहिएकै मदत हुन सक्छ। आध्यात्मिक मदत चाहिएकाहरूलाई प्रोत्साहन दिने काम प्राचीनहरूको मात्र होइन, मण्डलीका सबैको हो। निस्सन्देह, “ठीक बेलामा भनेको ठीक कुराको” असर कत्तिको हुन्छ, हामी सबैलाई थाह छ।—हितो. २५:११; यशै. ३५:३, ४.
३, ४. अरूलाई मदत गर्नुमा के-के समावेश छ र हामी ती कसरी गर्न सक्छौं?
३ अग्रसर हुनुहोस्: मदत चाहिएकाहरूलाई चासो देखाउनु भनेको उनीहरूलाई मदत गर्न अग्रसर हुनु र आत्मीयता देखाउनु हो। जोनाथानले दाऊदको दयनीय हालत थाह पाएपछि उनी “होरेशमा . . . [दाऊदकहाँ] आए, र तिनलाई परमेश्वरको नाउँमा अझै उत्साह दिए।” (१ शमू. २३:१५, १६) कोमल व्यवहार र मीठो बोलीले अरूलाई मदत गर्नुहोस्। साँचो चासो देखाउँदै प्रोत्साहन दिंदा राम्रो परिणाम निक्लन्छ। आध्यात्मिक भाइबहिनीलाई नगुमाउनको लागि तनमनले प्रयास गर्नुपर्छ भनी येशूले स्पष्टसित देखाउनुभयो। (लूका १५:४) अरूलाई मदत गर्ने भित्री इच्छाले गर्दा हामी बिस्तारै आध्यात्मिक उन्नति गर्नेहरूलाई पनि सहयोग गरिरहन उत्प्रेरित हुनेछौं।
४ आफ्ना पुस्तक अध्ययन समूहका र अरू भाइबहिनीलाई प्रचारमा सँगै लैजानु कत्ति प्रोत्साहनदायी हुन्छ! सँगी मसीहीहरूलाई सँगै प्रचारमा लग्दा परमेश्वरको सेवा अझ धेरै गर्न उनीहरूलाई प्रोत्साहन दिइरहेका हुन्छौं। विशेष गरी पुनः आध्यात्मिक सन्तुलन कायम गर्न थालेकाहरूका लागि यहोवाको सेवामा सँगै समय बिताउनु प्रोत्साहनदायी हुन्छ।
५. कतिपय परिस्थितिमा प्राचीनहरूले कस्तो मदत दिन सक्छन्?
५ मायालु प्रबन्ध: केही समयदेखि प्रचारमा नगएका वा मण्डलीसित संगति नगरेकाहरूलाई आफ्नो विश्वास बढाउन थप आध्यात्मिक मदत चाहिएको हुन सक्छ। एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस्, यहोवाको नजिक हुनुहोस् (ड्र क्लोज टु जेहोभा) वा बाइबलले वास्तवमा के सिकाउँछ? जस्ता किताबबाट अध्ययन गर्नु मात्र पनि पर्याप्त हुन सक्छ। यस्ता भाइबहिनी बप्तिस्माप्राप्त हुनाले अध्ययन लामो समयसम्म गर्नुपर्दैन। कसलाई यस्तो मदत चाहिएको छ, मण्डलीको सेवा समितिले विचार गर्नुपर्छ।—हाम्रो राज्य सेवकाई, नोभेम्बर १९९८ र नोभेम्बर २००० का प्रश्नपेटीहरू हेर्नुहोस्।
६. एउटी बहिनीले कसरी आध्यात्मिक बल पाइन्?
६ बहिनी अन्नाले एउटी परिपक्व बहिनीसित फेरि अध्ययन थाल्ने प्राचीनहरूको प्रस्ताव खुसीसाथ स्वीकारिन्। यहोवासित फेरि नजिकको सम्बन्धमा बाँधिन उनले चार पटक मात्र अध्ययन गर्नुपऱ्यो। त्यसपछि उनी सभाहरू धाउन र प्रचारमा जान थालिन्। परिपक्व बहिनीले पनि अन्ना निर्धक्क भई घर-घरको प्रचार गर्न सक्ने नभईन्जेल आफ्ना अध्ययनहरूमा सँगै लाने गरिन्। मायालु मदत पाएर नै अन्नाले आध्यात्मिक गतिविधिमा फेरि भाग लिन सकिन्।
७. अरूलाई आध्यात्मिक तवरमा बलियो बनाउँदा के फाइदा हुन्छ?
७ कमजोरहरूलाई बलियो पार्दा सबैले आशिष् पाउँछन्। मदत पाउनेहरू यहोवासित नजिकिन र संगठनका क्रियाकलापहरूमा भाग लिन पाउँदा आनन्दित हुन्छन्। यस्तो आध्यात्मिक उन्नति देख्दा प्राचीनहरू रमाउँछन्। (लूका १५:५, ६) एउटाले अर्कोप्रति मायालु चासो राख्दा मण्डली एकतामा बाँधिन्छ। (कल. ३:१२-१४) हो, यहोवा सजिलै पाइने मदत हुनुहुन्छ अनि उहाँको अनुकरण गर्ने कत्ति थुप्रै ठोस कारणहरू!—एफि. ५:१.