हाम्रो सन्देश कसले सुन्नेछ?
१ मानिसहरूसित अहिले जति जानकारीको फालाफाल मानव इतिहासमा पहिले कहिल्यै भएको थिएन। तर दुःखको कुरा, त्यसमध्ये अधिकांश जानकारी महत्त्वहीन तथा भ्रामकसमेत छन्। परिणामस्वरूप थुप्रै मानिसहरू वाक्क भइसकेका छन् र त्यस्ताहरूलाई परमेश्वरको राज्य सन्देश सुनाउनु चुनौतीपूर्ण हुन्छ। परमेश्वरको वचनले तिनीहरूमा पार्नसक्ने सकारात्मक असरबारे तिनीहरूले बुझेका छैनन्।—लूका ११:२८.
२ संसारका अधिकांश भागहरूमा दशौं हजार मानिसहरूले त्यो सन्देश सुनेर गृह बाइबल अध्ययन गर्ने हाम्रो प्रस्ताव स्वीकारेको देख्दा हामी रमाउँछौं। तथापि, अन्य इलाकाहरूमा भने प्रतिक्रिया त्यतिको राम्रो छैन। सेवकाईमा भेट्ने थुप्रै मानिसहरूले हाम्रो कुरा सुन्दैनन् र हामी सोचौंला, हाम्रो सन्देश कसले पो सुन्नेछ।
३ हामी निरुत्साही नहुने प्रयास गर्नुपर्छ। पावलले यसरी वर्णन गरे: “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। . . . जसलाई तिनीहरूले सुनेकै छैनन् उहाँलाई कसरी विश्वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्नसक्लान्? . . . जस्तो लेखिएको छ, ‘असल कुराका शुभ समाचार ल्याउनेहरूका खुट्टा कति राम्रा!’” (रोमी १०:१३-१५) लगनशील भई परमेश्वरको राज्यको बीउ छऱ्यौं भने उहाँले इमानदार हृदय भएका मानिसहरूमा त्यसलाई उमार्नुहुनेछ।—१ कोरि. ३:६.
४ नियमित तवरमा पुनःभेटहरू गर्नु त्यसको कुञ्जी हो: थोरै मानिसहरूले मात्र सन्देश सुन्छन् जस्तो देखिने इलाकाहरूमा हामीले प्रकाशन देऔं या नदेऔं, धेरथोर भेटिएको चासोलाई बढाउन ध्यानकेन्द्रित गर्नुपर्छ। गरेर पनि केही फाइदा हुनेछैन भन्ने निष्कर्षमा किन पुगिहाल्ने? बीउ रोप्दा त्यो कहाँ उम्रनेछ, हामीलाई थाह छैन। (उप. ११:६) बरु, धर्मशास्त्रको कुनै बुँदा छोटकरीमै भए तापनि छलफल गर्न पूर्ण तयारीका साथ फर्क्यौं भने त्यस व्यक्तिको हृदयसम्म पुग्न सकौंला। हामी कुनै पर्चा छोड्नसक्छौं वा ताजा पत्रिकाहरू प्रस्तुत गर्नसक्छौं। अन्ततः बाइबल अध्ययन गर्ने तरिका पनि देखाउन सकौंला। यहोवाले हाम्रा प्रयासहरूमा कत्तिको आशिष् दिनुहुन्छ भनी थाह पाउँदा छक्कै पर्नेछौं।—भज. १२६:५, ६.
५ अलि चासो देखाएकी स्त्रीलाई पर्चा दिइएको थियो। दुइ महिनासम्म तिनलाई घरमा भेट्न सकिएन र त्यतिपछि भेट्दा पनि तिनी असाध्यै व्यस्त थिइन्। तिनलाई त्यही पर्चा पुनः दिइयो। प्रकाशकले तिनलाई घरमा भेट्न लाख प्रयास गर्दा पनि अर्को तीन महिनासम्म भेट्न सकिनन् र भेटेपछि थाह भयो, तिनी बिरामी रहेछिन्। प्रकाशक बहिनी अर्को हप्ता फेरि गइन् र पर्चाबारे छोटो कुराकानी गरिन्। त्यसपछिको हप्ता फेरि जाँदा त्यस स्त्रीले परमेश्वरको राज्य सन्देशप्रति निष्कपट चासो देखाइन्। परिस्थितिको हेरफेरले गर्दा तिनी आफ्नो आध्यात्मिक आवश्यकताबारे सजग भएकी रहेछिन्। बाइबल अध्ययन सुरु भयो र तिनले निकै उत्साहका साथ हरेक हप्ता अध्ययन गर्न थालिन्।
६ चाहे फूल, तरकारी उमार्ने वा परमेश्वरको राज्य सन्देशप्रतिको चासो बढाउने नै किन नहोस्, हामी हुर्केको हेर्न चाहन्छौं भने त्यसको खेती गर्नुपर्छ। यसो गर्न समय, परिश्रम, हेरचाह गर्ने मनोवृत्ति तथा हार नमान्ने कटिबद्धता चाहिन्छ। गत वर्ष, परमेश्वरको राज्यको बीउले फल फलाएका तीन लाखभन्दा बढी मानिसहरूले बप्तिस्मा लिए! प्रचार गरिरह्यौं भने हाम्रो सन्देश सुन्ने अरू थुप्रै मानिसहरू पक्कै भेटाउनेछौं।—गलाती ६:९ तुलना गर्नुहोस्।