प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 मार्च pp. ३-६
  • निर्भय भई पुनःभेट गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निर्भय भई पुनःभेट गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • पुनःभेटले बाइबल अध्ययनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—२००३
  • निश्‍चय नै फर्केर जानुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • अझ धेरै बाइबल अध्ययन चाहियो
    हाम्रो राज्य सेवकाई—१९९८
  • प्रभावकारी पुनःभेटहरू गरेर चासो बढाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 मार्च pp. ३-६

निर्भय भई पुनःभेट गर्नुहोस्‌

१ के तपाईंलाई पुनःभेट गर्न मन लाग्छ? धेरै प्रकाशकहरूलाई मन लाग्छ। खासगरि सुरु सुरुमा पहिलो भेट गर्दा अलिअलि चासो देखाउने मानिसहरूकहाँ पुनःभेट गर्न जाँदा तपाईंलाई साह्रै अप्ठ्यारो लाग्यो होला। तर सुसमाचार प्रचार गरेको ठाउँमा निर्भयतासाथ परमेश्‍वरको तर्फबाट पुनःभेट गर्न थाल्नुभयो भने यो काम कति सजिलो अनि फलदायी हुँदो रहेछ भनेर तपाईं छक्कै पर्नुहुनेछ। (१ थिस्स. २:२) कसरी?

२ साँच्चै भन्‍ने हो भने, सुरुको भेट र पुनःभेटबीच महत्त्वपूर्ण भिन्‍नता छ। पुनःभेट कुनै अन्जान मानिससँग गरिने नभई जानपहिचान भइसकेको मानिससँग गरिन्छ अनि नचिनेको मानिससँग भन्दा परिचय भइसकेको मानिससँग कुराकानी गर्न सजिलो हुन्छ। यो काम गर्दा प्राप्त हुने फलकै कुरा गर्ने हो भने, पुनःभेटले नै फलदायी गृह बाइबल अध्ययनहरू बनाउन टेवा दिनसक्छ।

३ घर-घरको सेवामा अघिल्लो भेटमा चासो नदेखाउने मानिसहरूसँग कुरा गर्नु पनि समावेश छ। होइन, किन हामी तिनीहरूसँग दोऱ्‍याइ तेऱ्‍याइ कुरा गर्न गइरहन्छौं? किनकि मानिसहरूको परिस्थिति सधैं एकैनास हुँदैन, पहिला भिन्‍नै व्यवहार गर्ने, अझ अघिल्लो भेटमा विरोध गर्ने मान्छेहरूसमेत अर्को भेटमा चासो देखाउने भइराखेका हुनसक्छन्‌। यी सबै कुराहरू मनमा राख्दै हामी राम्ररी तयारी गर्छौं अनि यहोवाको आशिष्‌ पाउन प्रार्थना गर्छौं ताकि हामीले भनेका कुनै कुनै कुराले यस पटक सकारात्मक प्रतिक्रिया पाउन सकोस्‌।

४ घर-घरको सेवामा पहिला चासो नदेखाएका मानिसहरूलाई त हामी उत्सुकतासाथ प्रचार गर्छौं भने, राज्य समाचारमा अलिकति भए पनि चासो देखाउने मानिसहरूलाई अझ उत्सुक भएर फेरि भेट्‌न जानुपर्ने होइन र?—प्रेरि. १०:३४, ३५.

५ हामीमध्ये धेरै जना आज सच्चाइमा हुन सकेको कारण पनि कुनै प्रकाशकले हरेस नखाइकन पुनःभेट गरेकोले नै हो। यदि तपाईं त्यस्तैमध्ये पर्नुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘ती प्रकाशकले मलाई पहिलो पटक भेट्‌दा के भन्ठाने होलान्‌? के मैले पहिलो पटक सुन्‍ने बित्तिकै राज्य समाचार तुरुन्तै स्वीकारें? मैले चासै देखाइँन कि?’ त्यस प्रकाशकले हामीलाई पुनःभेट गर्न योग्यको ठानेकोमा हामी खुशी हुनुपर्छ, किनकि तिनी ‘परमेश्‍वरमा निर्भय रहेर’ भेट्‌न आए अनि हामीलाई सत्य सिकाइ नै रहे। (१ थिस्स. २:२) पहिला अलिअलि चासो देखाउने तर पछि हामीलाई पन्छाउन खोज्ने व्यक्‍तिहरूलाई के गर्ने नि? सकारात्मक मनोवृत्ति नै राख्नुपर्छ भन्‍ने कुरा निम्न उदाहरणहरूले देखाउँछन्‌।

६ दुइ साक्षीहरूले एक बिहान सडक साक्षीको सिलसिलामा बच्चालाई गुडाउने मेचमा राखेर गुडाउँदै हिंडिरहेकी युवती भेटे। ती युवतीले पत्रिका लिइन्‌ र साक्षी बहिनीहरूलाई अर्को आइतबार आफ्नो घरमा बोलाइन्‌। साक्षी बहिनीहरू तोकिएकै समयमा पुगे तर ती युवतीले उनलाई कुरा गर्न फुर्सद छैन भनिन्‌। यद्यपि, अर्को हप्ता भने समय निकाल्छु भनेर उनले वचन दिइन्‌। ती युवतीले यस पटक पनि समय दिनसक्छिन्‌ कि सक्दिनन्‌ भनेर साक्षीहरू सोच्दै थिए, तर त्यहाँ पुग्दा उक्‍त युवती पर्खेर बसिरहेकी थिइन्‌। अध्ययन सुरु भयो र तिनको प्रगति अचम्मै लाग्ने थियो। केही समयपछि नै उनी सभाहरूमा लगालग आउन थालिन्‌ र प्रचारमा पनि भाग लिन थालिन्‌। अहिले तिनले बप्तिस्मा लिइसकिन्‌।

७ पहिलो भेटमै आधार बसाल्नुहोस्‌: राम्रो पुनःभेटको जग प्रायः पहिलो भेटमा बसालिन्छ। घरधनीका कुराहरू ध्यान दिएर सुन्‍नुहोस्‌। तिनीहरू तपाईंलाई के भन्छन्‌? के तिनी धर्ममा आस्था राख्छन्‌? सामाजिक गतिविधिबारे के तिनी चिन्तित छन्‌? तिनी विज्ञान, इतिहास वा वातावरणबारे पो रुचि राख्छन्‌ कि? कुराको अन्ततिर खुलदुली लाग्ने एउटा प्रश्‍न उठाएर अर्को भेटमा बाइबलबाट त्यसको उत्तर छलफल गर्ने वचन दिन सक्नुहुन्छ।

८ उदाहरणको लागि, घरधनीले प्रमोदवनसम्बन्धी बाइबलको प्रतिज्ञामा चासो देखाए भने अर्को पालि सोही विषयमा कुरा गर्नु उपयुक्‍त होला। छुट्टिनुअघि तपाईं यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ: “परमेश्‍वरले यो प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर हामी कसरी ढुक्क हुनसक्छौं?” अनि फेरि यसो भन्‍नुहोस्‌: “अब अरू कुरा चाहिं परिवारका सबै सदस्यहरू भएको बेला गर्नलाई राख्नुपर्ला, त्यतिबेला म तपाईंलाई यस प्रश्‍नको उत्तर बाइबलबाट देखाउनेछु।”

९ घरधनीले कुनै खास विषयमा चासो देखाएनन्‌ भने, हाम्रो राज्य सेवकाई-को पछाडिको पानामा दिइएका प्रस्तुतिका प्रश्‍नहरूमध्ये कुनै एउटा प्रश्‍न उठाउन सक्नुहुन्छ र त्यही प्रश्‍नलाई अर्को छलफलको लागि आधार बनाउन सक्नुहुन्छ।

१० लिखित रूपमा सही रेकर्ड राख्नुहोस्‌: तपाईंको घर-घरको रेकर्ड सही र पूर्ण हुनुपर्छ। भेटघाट सिद्धिएर निस्कने बित्तिकै घरधनीको नाउँ र ठेगाना लेखिहाल्नुहोस्‌। घरको नम्बर अथवा सडकको नाउँ अन्दाजको भरमा नलेख्नुहोस्‌। आफूले राखेको जानकारी सही हो कि होइन भनी पक्का गर्नुहोस्‌। त्यस व्यक्‍तिलाई सम्झिन उसबारे छोटकरीमा लेख्नुहोस्‌। आफूले छलफल गरेको विषय टिप्नुहोस्‌, पढेको शास्त्रपद, छोडेको साहित्य र फेरि भेट्‌न जाँदा जवाफ दिनुपर्ने प्रश्‍न पनि लेख्नुहोस्‌। पहिलो भेट गरेको दिन र समय अनि तपाईंले भेट्‌न आउँछु भनेको दिन र समय पनि लेख्नुहोस्‌। अब तपाईंको रेकर्ड पूरा भयो, नहराइकन राख्नुहोस्‌! सुरक्षित ठाउँमा राख्नुहोस्‌ ताकि पछि हेर्नुपरेको बेलामा सजिलै पाउन सकियोस्‌। त्यस व्यक्‍तिबारे विचार गर्दै गर्नुहोस्‌ र साथै अर्को पटक भेट्‌न जाँदा तपाईंले के कसरी भन्‍ने, त्यो पनि विचार गर्नुहोस्‌।

११ आफ्नो लक्ष्य नबिर्सनुहोस्‌: घरधनीको धक हटाउन सकेसम्म हँसिलो र मित्रैलो हुनुहोस्‌। अनावश्‍यक रूपमा खुलस्त नहुनुहोस्‌ तर व्यक्‍तिगत तवरमा उनीप्रति चासो राख्नुहुन्छ भन्‍ने कुरा देखाउनुहोस्‌। त्यसपछि, आफूले अघिल्लो भेटमा उठाएको प्रश्‍न उनलाई सम्झाउनुहोस्‌। उनका विचारहरू ध्यानपूर्वक सुन्‍नुहोस्‌ अनि सुहाउँदो मूल्यांकन व्यक्‍त गर्नुहोस्‌। त्यसपछि, बाइबलको दृष्टिकोण किन व्यवहारिक छ भनेर देखाउनुहोस्‌। सम्भव भएमा उक्‍त सन्दर्भसँग मिल्नेगरि ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको कुनै एउटा विषयतिर कुरा जोड्‌नुहोस्‌। पुनःभेट गर्नुको मुख्य उद्देश्‍य बाइबल अध्ययन सुरु गर्ने हो भनेर नबिर्सनुहोस्‌।

१२ ज्ञान पुस्तकका स्पष्ट विवरणहरूले हामीलाई बाइबल अध्ययन गर्न, बाइबल विद्यार्थीलाई सभामा आउने प्रोत्साहन दिन र यहोवाको संगठनसँग संगत गर्न ‘निर्भयी हुन’ प्रेरित गर्छ। पहिले पहिले हामीहरू नयाँ व्यक्‍तिले केही समय अध्ययन नगरेसम्म हामीसँग संगत गर्न बोलाउँदैन थियौं। आजभोलि अध्ययन सुरु गर्ने बित्तिकै विद्यार्थीहरू सभामा आउँछन्‌। परिणामस्वरूप तिनीहरूले धेरै चाँड्‌चाँडो प्रगति गर्दैछन्‌।

१३ एक विवाहित जोडीले सहकर्मीलाई अनौपचारिक साक्षी दिए। त्यस व्यक्‍तिले चासो देखाउन थालेपछि तिनीहरूले ज्ञान पुस्तकबाट बाइबल अध्ययन गर्न अनुरोध गरे। त्यसै सिलसिलामा तिनीहरूले उनलाई सभाहरू धाएमा निकै प्रश्‍नहरूको जवाफ पाइनेछ भनेर पनि बताए। ती मानिस हप्तामा एक पटक मात्र होइन दुइ पटक अध्ययन गर्न राजी भए अनि राज्यभवनका सभाहरूमा लगालग आउन थाले।

१४ रमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका प्रयोग गर्नुहोस्‌: “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनमा हामीले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका पायौं। जतिसुकै शिक्षित किन नहुन्‌, परमेश्‍वरको डर मान्‍ने मानिसहरूसँग बाइबल अध्ययन गर्न यो पुस्तिका उपयोगी छ। यसले बाइबलका आधारभूत शिक्षाहरू अध्ययन गर्न चौतर्फी विषयहरू समेटेको छ। परमेश्‍वरको ज्ञान बाँड्‌ने काममा यो प्रकाशन साह्रै प्रभावकारी औजार साबित हुनेछ। यसले सत्यलाई यति प्रष्ट र सरल ढंगमा प्रस्तुत गरेको छ कि हामीमध्ये प्रायः सबैले यसलाई चलाएर परमेश्‍वरले चाहनुहुने कुराहरू सिकाउनसक्छौं। हुनसक्छ, कैयौं प्रकाशकहरूले यस पुस्तिकाबाट अध्ययन सञ्चालन गर्ने मौका पनि पाउनेछन्‌।

१५ ज्ञान पुस्तकबाट अध्ययन गर्न फुर्सद नभएको महसुस गर्ने कुनै कुनै व्यक्‍तिले चाहनुहुन्छ पुस्तिकाबाट थोर-थोरै समय मात्र अध्ययन गर्न राजी होलान्‌। यसमा भएका कुराहरू सिकेर तिनीहरू ताजुब हुनेछन्‌। दुइ तीन पानाहरू मात्र पढे भने पनि शताब्दीऔंदेखि मानिसहरूले मनमा खेलाइरहेका प्रश्‍नहरूको जवाफ पाउनेछन्‌। जस्तै: परमेश्‍वर को हुनुहुन्छ? शैतान को हो? पृथ्वीबारे परमेश्‍वरको उद्देश्‍य कस्तो छ? परमेश्‍वरको राज्य भनेको के हो? तपाईं साँचो धर्म कसरी भेट्टाउन सक्नुहुन्छ? यस पुस्तिकाले सत्यलाई सरल शब्दहरूमा व्यक्‍त गरे तापनि यसका सन्देशहरू एकदमै शक्‍तिशाली छन्‌। बप्तिस्मा लिने उम्मेदवारहरूसँग प्राचीनहरूले छलफल गर्ने मुख्य मुख्य बुँदाहरू पनि यसमा समावेश गरिएका छन्‌ अनि ज्ञान पुस्तकबाट गहिरिएर अध्ययन गर्न यसले प्रारम्भिक खुड्‌किलोको काम गर्छ।

१६ पुनःभेटमा अध्ययन गर्ने प्रस्ताव राख्न यसो भने पनि हुन्छ: “केही मिनेटमै एउटा महत्त्वपूर्ण प्रश्‍नको जवाफ पाउन सकिन्छ भनेर के तपाईंलाई थाह थियो?” त्यसपछि, पुस्तिकाबाट कुनै एउटा अध्यायको सुरुको एउटा प्रश्‍न खडा गर्नुहोस्‌। उदाहरणका लागि, यदि तपाईं चर्चमा जाने व्यक्‍तिसित कुरा गर्दै हुनुहुन्छ भने, यसो भन्‍न सक्नुहुन्छ: “पुरानो जमानामा येशूले मानिसहरूलाई निको पार्नुभएको कुरा त हामीले थाह पाएकै छौं। तर भविष्यमा येशूले बिरामी, बूढाबूढी अनि मरेकाहरूका लागि के गर्नुहुनेछ?” त्यसको जवाफ पाठ ५ मा पाइन्छ। धार्मिक झुकाउ भएका जोसुकै मान्छे पनि यो प्रश्‍न सोध्दा घोरिन्छन्‌ होला: “के परमेश्‍वरले सबै प्रार्थना सुन्‍नुहुन्छ?” यसको जवाफ पाठ ७ मा दिइएको छ। परिवारका सदस्यहरू जान्‍न चाहनेछन्‌: “आमाबाबु तथा छोराछोरीले के गरेको परमेश्‍वर चाहनुहुन्छ?” पाठ ८ अध्ययन गरेमा तिनीहरूले अझ बढी कुरा जान्‍ने छन्‌। अरू प्रश्‍नहरू यसप्रकार छन्‌: “मरिसकेका मानिसहरूले के जिउँदाहरूलाई हानि गर्नसक्छन्‌?” पाठ ११ मा यसको व्याख्या गरिएको छ, पाठ १३ मा “मसीही हुँ भनी दाबी गर्ने धर्महरू किन थुप्रै छन्‌?” भन्‍ने विषयमा छलफल गरिएको छ र पाठ १६ मा “परमेश्‍वरको मित्र बन्‍न तपाईंले के गर्नैपर्छ?” भनेर छलफल गरिएको छ।

१७ अर्कै भाषा बोल्नेलाई मदत गर्नुहोस्‌: अर्कै भाषा बोल्ने घरधनी छ भने नि? सम्भव भएसम्म तिनीहरूले बुझ्ने भाषामा तिनीहरूलाई सिकाउनु बेस हुनेछ। (१ कोरि. १४:९) तपाईंको मण्डलीमा एक दुइ प्रकाशकहरू त्यस घरधनीको भाषा बोल्न जान्‍ने होलान्‌, छन्‌ भने घरधनीसँग उनको परिचय गराएर कुरा गर्न लगाउन सक्नुहुन्छ। त्यहाँ नजीकै उक्‍त भाषाको मण्डली वा पुस्तक अध्ययन समूह पनि हुनसक्छ। यदि त्यहाँ नजीकै त्यस घरधनीले जान्‍ने भाषाको मण्डली छैन अनि पुस्तक अध्ययन समूह पनि छैन र कुनै प्रकाशकलाई पनि त्यो भाषा बोल्न आउँदैन भने, उक्‍त प्रकाशकले दुइवटा भाषाको चाहनुहुन्छ पुस्तिका चलाएर अध्ययन गर्ने प्रयास गर्नसक्छन्‌।

१८ एक पटक अंग्रेजी भाषी प्रकाशकले एक जिज्ञासु व्यक्‍तिसँग भियतनामी भाषामा र त्यस जिज्ञासुकी पत्नीसँग थाइ भाषामा बाइबल अध्ययन सुरु गरे। अध्ययनको दौडान अंग्रेजी, भियतनामी र थाइ भाषाका प्रकाशन र बाइबल प्रयोग गरिन्थ्यो। भाषाले गर्दा सुरुमा अप्ठ्यारो भए तापनि ती प्रकाशक भन्छन्‌: “त्यो जोडीले चाँडै आध्यात्मिक प्रगति गऱ्‍यो। तिनीहरूले आफ्ना दुइ छोराछोरी लिएर सभामा आउनु आवश्‍यक छ भनेर बुझेका छन्‌। अनि पूरै परिवार मिलेर राति बाइबल पढ्‌छन्‌। तिनीहरूको छ वर्षे छोरीसमेत बाइबल अध्ययन सञ्चालन गर्छिन्‌।”

१९ बेग्लै भाषीसँग बाइबल अध्ययन गर्दै हुनुहुन्छ भने बिस्तारै बोल्नुहोस्‌, प्रष्टसँग उच्चारण गर्नुहोस्‌ र शब्द अनि वाक्यहरू सरल चलाउनुहोस्‌। बेग्लै भाषा भए तापनि त्यस व्यक्‍तिलाई सम्मान गर्नुपर्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। तिनीहरूलाई कहिल्यै बच्चाजस्तो सम्झेर हेला गर्नु हुन्‍न।

२० चाहनुहुन्छ पुस्तिकामा भएका मनमोहक चित्रहरूको सदुपयोग गर्नुहोस्‌। “एउटा चित्र हजार शब्द बराबर हुन्छ भने,” पुस्तिकामा भएका प्रशस्त चित्रहरूले घरधनीलाई अझ कत्ति गुणा बढी जानकारी देलान्‌? उनको आफ्नै बाइबलबाट शास्त्रपद पढ्‌न आग्रह गर्नुहोस्‌। त्यस परिवारमा तपाईंको भाषा बुझ्ने व्यक्‍ति छन्‌ र उनले दोभाषेको काम गरिदिन्छन्‌ भने, उनी घरमा भएको बेला अध्ययन गर्नु पक्कै पनि लाभदायी हुनेछ।—हाम्रो राज्य सेवकाई (अंग्रेजी), अप्रिल १९८४, पृष्ठ ८ र नोभेम्बर १९९०, पृष्ठ ३-४ हेर्नुहोस्‌।

२१ पुनःभेट गर्न ढिला नगर्नुहोस्‌: पुनःभेटमा तपाईं कति समयपछि जानुपर्छ? कोही कोही प्रकाशकहरू सुरुमा सम्पर्क भएको एक-दुइ दिनमै भेट्‌न जान्छन्‌। कोही त त्यही दिन भेट्‌न जान्छन्‌! एकदम चाँडो भएन र? साधारणतः घरधनीले त्यति आपत्ति जनाउँदैनन्‌। यस्तो कुरामा प्रायः भेट्‌न जाने प्रकाशकले आफै अलिक साहसी भएर सकारात्मक मनोवृत्ति राख्नु आवश्‍यक हुन्छ। तलका उदाहरणहरू विचार गर्नुहोस्‌।

२२ एक दिन घर-घरको प्रचार गर्दै गर्दा १३ वर्षीय प्रकाशकले दुइ आइमाईहरूसँगै हिंडिरहेका देखे। जुनसुकै ठाउँमा भेट भएका मानिसलाई पनि प्रचार गर्ने प्रोत्साहन पाएको हुँदा उनले सडकमा भेटेका ती आइमाईहरूलाई प्रचार गरे। दुवैले राज्य समाचारमा चासो देखाए र दुवैले ज्ञान पुस्तक लिए। ती जवान भाइले तिनीहरूको ठेगाना टिपे, दुइ दिनपछि भेट्‌न गए र दुवैसँग बाइबल अध्ययन सुरु गरे।

२३ एउटी बहिनी एक हप्तापछि पुनःभेट गर्ने प्रबन्ध मिलाउँछिन्‌। तर भेट गरेको एक दुइ दिनपछि नै तिनीहरूले छलफल गरेको विषयसँग मिल्ने पत्रिका त्यस घरधनीलाई दिन जान्छिन्‌। घरधनीलाई तिनी यसो भन्छिन्‌: “यो लेख देखेर तपाईंले पढ्‌न रुचाउनु हुन्छ होला भन्‍ने लाग्यो। म अहिले तपाईंसँग कुरा गर्न त भ्याउँदिन, तर हाम्रो पूर्व योजनाअनुसारै म बुधबार दिउँसो आउँछु। त्यतिबेला आएँ भने हुन्छ हैन?”

२४ जब कुनै व्यक्‍तिले सत्यमा चासो देखाउँछ, तब त्यस व्यक्‍तिलाई एकपछि अर्को विरोधहरू आइपर्छ भनेर हामीलाई थाह छ। पहिलो सम्पर्क भएको केही समयपछि नै भेट्‌न जाँदा आफन्त, नजीकका साथी र अरूबाट आएका दबाबहरूको सामना गर्न तिनीहरूले बल पाउँछन्‌।

२५ सार्वजनिक स्थलहरूमा भेट हुने मानिसहरूको चासो जगाउनुहोस्‌: हामीमध्ये धेरैलाई सडक, मोटर बिसौनी, सार्वजनिक स्थल, बजार, पार्क र त्यस्तै अन्य स्थानहरूमा प्रचार गर्न रमाइलो लाग्छ। त्यस्तो स्थलमा भेटेकाहरूलाई साहित्य दिनुको अलावा चासो पनि जगाउनुपर्छ। तसर्थ, चासो देखाउने हरेक व्यक्‍तिको नाउँ, ठेगाना र सम्पर्क राख्न मिल्ने टेलिफोन नम्बर लिने प्रयास गर्नुपर्छ। यस्तो टिपोट राख्नु तपाईंले सोच्नुभए जस्तो गाह्रो छैन। कुराकानी सिद्धिने बेलातिर नोटबुक झिक्नुहोस्‌ र सोध्नुहोस्‌: “अर्को समयमा हाम्रो यो कुराकानीलाई कायम राख्ने अरू कुनै उपाय छ कि?” अथवा यसो भन्‍नुहोस्‌: “तपाईं एउटा लेख पढ्‌नुहोस्‌ भन्‍ने म चाहन्छु, त्यसले पक्कै तपाईंको चासो जगाउनेछ। म त्यो तपाईंको घर अथवा कार्यालयमा आएर दिऊँ?” एक भाइ यसरी सोध्छन्‌: “तपाईंसित कुन फोन नम्बरमा कुरा गर्न सकिन्छ होला?” उनले तीन महिनासम्म त्यसो गर्दा तीन जनाले बाहेक अरू सबैले खुशीसाथ फोन नम्बर दिए।

२६ चासो जगाउन र बढाउन टेलिफोन प्रयोग गर्नुहोस्‌: कडा सुरक्षा भएको ठूल-ठूला घरहरूमा बस्ने मानिसलाई भेट्‌न एउटी अग्रगामी बहिनी टेलिफोन प्रयोग गर्छिन्‌। तिनी फोनकै माध्यमबाट पुनःभेट पनि गर्छिन्‌। सुरुको कुराकानीमा तिनी यसो भन्छिन्‌: “तपाईंले मलाई चिन्‍नुभएन भनेर मलाई थाह छ। म तपाईंको इलाकाका मानिसहरूलाई बाइबलको कुरा बाँड्‌न सम्पर्क राख्ने विशेष प्रयास गर्दैछु। यदि तपाईंसँग एकछिन फुर्सद छ भने, म तपाईंलाई . . . पाइने प्रतिज्ञा पढेर सुनाउँछु।” शास्त्रपद पढेपछि तिनी भन्छिन्‌: “त्यस्तो बेला आएको हामीले देख्न पायौं भने त गजबै हुँदैन र? तपाईंलाई यो पढेर सुनाउँदा मलाई आनन्द लाग्यो। तपाईंलाई पनि आनन्द लागेको हो भने, म पछि फेरि फोन गर्छु अनि अर्कै शास्त्रपदबारे छलफल गर्छु।”

२७ अर्को पटक टेलिफोनमा कुराकानी गर्दा तिनी घरधनीलाई पहिले गरेको कुराकानी सम्झाउँछिन्‌ अनि दुष्ट कुराहरू हटाइसकेपछि पृथ्वीमा कस्तो परिस्थिति हुनेछ, त्यो कुरा बाइबलबाट पढेर सुनाउन चाहन्छु भन्छिन्‌। अनि घरधनीसँग बाइबलबाट छोटकरीमा छलफल गर्छिन्‌। टेलिफोनको यस्तो कुराकानीबाट तिनलाई ३५ जनाले घरमा बोलाए अनि सातवटा गृह बाइबल अध्ययन सुरु भयो! के तपाईंलाई कहिलेकाहीं पानी परेर सडकहरू हिंड्‌नै नहुने भएको बेला अथवा आफू बिरामी पर्दा चासो देखाउने व्यक्‍तिलाई भेट्‌न जान अप्ठ्यारो भएको छ? त्यसो हो भने, सम्भव भएमा तिनीहरूलाई सम्पर्क राख्न टेलिफोन प्रयोग गरे कसो होला?

२८ व्यापारिक क्षेत्रका चासो देखाउनेहरूलाई भेट्‌नुहोस्‌: पसल पसलमा गएर प्रचार गर्नुमा पत्रिका दिने काम मात्र समावेश छैन। धेरै पसलेहरू सत्यप्रति निष्कपट चासो राख्छन्‌ र त्यस्तो चासोलाई हुर्काउने बढाउने गर्नैपर्छ। कुनै कुनै परिस्थितिमा पसलमै बाइबलबाट छलफल गर्न अथवा अध्ययन गर्नु सम्भव हुनसक्छ। अरू परिस्थितिमा भने तपाईं र त्यो व्यक्‍ति दिउँसोको खाजा खाने समयमा वा अर्कै कुनै उपयुक्‍त समयमा भेट्‌नु सम्भव होला।

२९ एक परिभ्रमण निरीक्षकले एउटा सानो किराना पसलेसँग कुरा गरे र बाइबल अध्ययन गर्ने तरिका देखाउने प्रस्ताव राखे। कति समय लाग्ला भन्‍ने प्रश्‍नको जवाफमा उक्‍त परिभ्रमण निरीक्षकले १५ मिनेट जति मात्र लाग्छ भने। त्यसपछि उक्‍त पसलेले “पसल २० मिनेटपछि खुल्छ” लेखेर ढोकामा झुन्ड्याए, दुइटा मेच ल्याए अनि ज्ञान पुस्तकबाट दुइ जना मिलेर पहिलो पाँच अनुच्छेद छलफल गरे। त्यो निष्कपट व्यक्‍ति आफूले सिकेका कुराबाट यति प्रभावित भए, त्यस हप्ताको जनभाषण र प्रहरीधरहरा अध्ययनको सभामा भाग लिए अनि अर्को हप्तादेखि लगातार अध्ययन गर्न राजी भए।

३० व्यापारिक क्षेत्रमा अध्ययन गर्ने प्रस्ताव राख्न तपाईंले यसो भने पनि हुन्छ: “हाम्रो अध्ययन कार्यक्रमको प्रस्तुति देखाउन जम्मा १५ मिनेट मात्र लाग्छ। यदि तपाईंको लागि उपयुक्‍त छ भने, अध्ययन गर्ने तरिका म खुशीसाथ देखाउँछु।” त्यसपछि, आफूले भनेको समयभित्रै सिध्याउनुहोस्‌। व्यापारिक क्षेत्रमा लामो छलफल गर्न सम्भव छैन भने, पसलेको घरमै गएर भेटघाट गर्नु बढी उपयुक्‍त होला।

३१ साहित्य नलिने व्यक्‍तिलाई पनि भेट्‌न जानुहोस्‌: साहित्य लिए पनि नलिए पनि, चासोको एक झिल्का मात्र देखिएको किन नहोस्‌, त्यहाँ पुनःभेट गर्न जानुपर्छ। यदि उक्‍त घरधनीले बेवास्ता गरेको पक्का भयो भने चाहिं अरू कसैलाई नै बताउने प्रयास गर्नु बेस हो।

३२ ढोका-ढोकाको सेवकाईमा एउटी बहिनीले एउटी एकदमै मित्रैलो आइमाई भेटिन्‌ तर तिनले पत्रिका लिन भने मानिनन्‌। उक्‍त बहिनी लेख्छिन्‌: “निकै दिनसम्म मैले उनको बारेमा सोचें र मलाई उनीसँग फेरि कुरा गर्न मन लागिरहेको छ भन्‍ने पक्का भयो।” अन्ततः त्यस बहिनीले प्रार्थना गरिन्‌, साहसका साथ त्यस आइमाईको घरको ढोका ढकढकाइन्‌। घरधनीले खुशीसाथ भित्र बोलाइन्‌। बाइबल अध्ययन सुरु गरियो र अर्को दिन पनि कायमै रह्‍यो। पछि गएर उक्‍त घरधनी सच्चाइमा आइन्‌।

३३ जतिसक्यो बढी उपलब्धि हासिल गर्न पूर्वयोजना बनाउनुहोस्‌: प्रत्येक हप्ता केही समय पुनःभेटमा बिताउन सल्लाह दिइएको छ। राम्रो योजना बनाइयो भने धेरै उपलब्धि हात पार्न सकिन्छ। आफूले घर-घरमा प्रचार गरिरहनुभएको क्षेत्रमा पहिलो भेट गरिसकेका व्यक्‍तिहरूलाई फेरि भेट्‌न जाने प्रबन्ध मिलाउनुहोस्‌। प्रत्येक पटक प्रचारमा निस्कनुहुँदा पुनःभेटको लागि पनि समय छुट्याउनुहोस्‌। समूहमा भेला भएर प्रचारमा जाँदा तपाईंको साथीलाई आफ्नो पुनःभेटमा लैजानुहोस्‌ अनि उनको पुनःभेटमा पनि तपाईं जानुहोस्‌। यसो गर्दा एकअर्काको दक्षता र अनुभवबाट धेरै कुरा सिक्न सकिन्छ।

३४ पुनःभेट र गृह बाइबल अध्ययन गर्न सफल हुने व्यक्‍तिहरू अरूलाई साँच्चैको चासो देखाउनुपर्छ अनि भेटघाट गरेको लगत्तैपछि त्यस व्यक्‍तिबारे सोच्ने गर्नुपर्छ भन्छन्‌। सुरुको भेट टुंग्याउनुभन्दा पहिले पुनःभेटको लागि आधार तयार गर्दा छलफल गर्न सकिने घतलाग्दो बाइबलको विषय पनि हुनुपर्छ। साथै, चासो सेलाउन नदिन जतिसक्यो चाँडो पुनःभेट गर्नु महत्वपूर्ण छ। पुनःभेट गर्नाको पछाडि बाइबल अध्ययन गर्ने लक्ष्य छ भन्‍ने कुरा कहिल्यै बिर्सनु हुँदैन।

३५ पुनःभेट गर्नमा सफल हुन चाहिने एउटा महत्वपूर्ण गुन हो साहस। यो कसरी प्राप्त गर्ने? प्रेरित पावल यसरी जवाफ दिन्छन्‌, अरूलाई सुसमाचार प्रचार गर्न ‘हाम्रा परमेश्‍वरमा हामी निर्भय रहेर।’ यस क्षेत्रमा तपाईंले पनि उन्‍नति गर्नु आवश्‍यक छ भने, सहयोगको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। अनि आफ्नो प्रार्थनाअनुरूप चासो देखाउने जति सबैलाई भेट्‌नुहोस्‌। तपाईंको प्रयासमा यहोवाले निश्‍चय नै आशिष्‌ दिनुहुनेछ!

[पृष्ठ ३-मा भएको पेटी]

पुनःभेट गर्दा कसरी सफलता हासिल गर्ने

◼ मानिसहरूप्रति साँचो चासो देखाउनुहोस्‌।

◼ छलफल गर्न बाइबलको घतलाग्दो विषय छान्‍नुहोस्‌।

◼ हरेक भेटमा अर्को पटक कुराकानीको लागि आधार तयार गर्नुहोस्‌।

◼ उक्‍त घरधनीसँग छुट्टिएपछि उनको बारेमा सोच्ने गर्नुहोस्‌।

◼ चासो सेलाउन नदिन एक दुइ दिनमै भेट्‌न जानुहोस्‌।

◼ बाइबल अध्ययन सुरु गर्ने आफ्नो लक्ष्य नबिर्सनुहोस्‌।

◼ यस कार्यमा निर्भयी हुन सहयोगको लागि प्रार्थना गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने