आफूलाई राजी-खुशीले अर्पण गर्ने
१ यहोवाका जनहरूले “राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्,” मतलब “तम्तयार स्वयंसेवकहरू” हुनेछन् भनी भजनरचयिता दाऊदले भविष्यवाणी गरे। (भज. ११०:३, पादटिप्पणी, NW) हाम्रा भाइहरूको विश्वव्यापी संगतिमा यो साँच्चै साकार भइरहेको छ। गत चार सेवा वर्षको दौडान यहोवाका जनहरूले परमेश्वरको राज्यको सुसमाचार फैलाउन दश करोडभन्दा बढी घण्टा बिताएका छन्। अनि प्रचारकार्य तथा चेला बनाउने कार्यको अलावा अरूलाई मदत गर्न आफूलाई राजी-खुशीले अर्पण गर्ने थुप्रै तरिकाहरू छन्।
२ हामीले राजी-खुशी मनोवृत्ति देखाउनसक्ने तरिकाहरू: मण्डलीका कसै कसैलाई सभाहरूमा जान मदत चाहिएको हुनसक्छ। तिनीहरूलाई आफूसित लैजान तम्सिए कसो होला? अरू चाहिं बिरामी, असक्त वा अस्पतालमा होलान्। तिनीहरूलाई भेट्न वा कुनै न कुनै ढंगमा सहयोग पुऱ्याउन अग्रसर हुन सकिन्छ कि? प्रोत्साहनको खाँचो परिरहेको व्यक्ति वा परिवार होला। त्यस्ता व्यक्तिहरूलाई तपाईंको पारिवारिक अध्ययनमा बस्न कहिलेकाहीं निमन्त्रणा दिन सकिन्छ कि? सेवकाईमा जान अग्रगामी वा प्रकाशकलाई साथी चाहिएको होला। सँगै प्रचारमा जाने प्रस्ताव राखे कसो होला? एउटै विश्वासमा भएकाहरूलाई स्वेच्छाले भलाइ गर्नसक्ने यी केही तरिकाहरू हुन्।—गला. ६:१०.
३ प्राचीन तथा सेवकाई सेवकहरूमा हुनुपर्ने गुनहरू हासिल गर्न प्रयत्न गरेर भाइहरूले यहोवाको संगठनका लागि उपयोगी हुने राजी-खुशी मनोवृत्ति देखाउनसक्छन्। (१ तिमो. ३:२-१०, १२, १३; तीत. १:५-९) हाम्रो संख्या बढ्दै जाँदा त्यस्ता योग्य भाइहरूको आवश्यकता पनि बढ्छ जो प्रचारकार्य, शिक्षणकार्य तथा मण्डलीको गोठालोरूपी कार्यमा अग्रसर हुन राजी-खुशी हुन्छन्।—१ तिमो. ३:१.
४ शायद हामीमध्ये कसै कसैले कहिलेकाहीं अग्रगामी गरेर यहोवाको सेवामा अझ बढी गर्नसक्छौं। साथै, हाम्रो तालिकामा सानातिना व्यवहारिक छाँटकाँटहरू गरेर अटुट रूपमा सहायक अग्रगामी गर्न वा नियमित अग्रगामी सेवा थाल्नसमेत सक्षम हुनसक्छौं। के हाम्रो परिस्थितिले मदतको बढी खाँचो भएको इलाकामा बसाइँ सर्न दिन्छ? के हामी बेथेलमा सेवा गर्न तयार भएर विश्वव्यापी कार्यको प्रगतिमा सोझै योगदान पुऱ्याउनसक्छौं? संसारभरि राज्यभवन, सम्मेलनभवन र शाखा कार्यालयहरूको निर्माण क्षेत्रमा पनि थुप्रै कामहरू भइरहेका छन् र त्यहाँ राजी-खुशी मनोवृत्ति असाध्यै खाँचो परिरहेको छ। यी असल कार्यहरू गर्न आफूलाई अर्पण गर्नेहरूको निकै मूल्यांकन गरिन्छ र तिनीहरूले प्रचुर आशिष् पाएका छन्!—लूका ६:३८.
५ यी रोमाञ्चकारी समय हुन्। राजी-खुशीले अर्पण गर्ने आफ्ना जनहरू मार्फत यहोवाले आफ्नो आत्माद्वारा यस पृथ्वीमा अद्भुत कार्य गरिरहनुभएको छ! यहोवाले आफ्नो संगठन मार्फत राज्यसम्बन्धी वृद्धि भइरहेको क्रियाकलापमा भाग लिने निमन्त्रणा दिनुहुँदा आफूलाई यो प्रश्न सोध्नु बेस हुनेछ: ‘के म अहिले पनि आफूलाई राजी-खुशीले अर्पण गरिरहेको छु?’ त्यसपछि आफ्नो हृदय तथा परिस्थितिलाई प्रार्थनापूर्वक जाँच्नुपर्छ। यहोवाको हृदय आनन्दित तुल्याउन हाम्रो ईश्वरीय भक्तिले पवित्र सेवामा यथाशक्य गर्न प्रेरित गर्नेछ!—सप. ३:१७.