प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 मे p. ६
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं प्राकृतिक प्रकोपको सामना गर्न तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००७
  • प्राकृतिक प्रकोपपछि हामी कसरी मदत गर्न सक्छौँ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • कठिन परिस्थितिमा परेकाहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • राहत कार्यले यहोवाको महिमा गर्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 मे p. ६

प्रश्‍न पेटी

▪ घरधनीले यहोवाका साक्षीहरूलाई उसको घरमा फेरि फेरि नआउनू भनेमा के गर्नुपर्छ?

धार्मिक विषय लिएर आउन मनाही छ भनेर ढोका वा गेटमा लेखेको र अझ त्यसमाथि विशेषगरि यहोवाका साक्षीहरूलाई तोकेरै प्रवेश निषेध भनिएको छ भने घरधनीको इच्छालाई कदर गर्दै ढोका नढकढकाउनु नै बेस हुनसक्छ।

कहिलेकाहीं हामी घर-घर डुलिहिंड्‌ने थोक बिक्रेता वा चन्दा माग्ने मानिसहरूलाई प्रवेश निषेध गरिएको सूचना देख्छौं। हामीले चाहिं धार्मिक परोपकारी कार्य गरिरहेको हुनाले त्यो सूचना हामीमा पक्कै पनि लागू हुँदैन। तर ढोका ढकढकाउँदा घरधनीले प्रवेश निषेध भनेमा आफूलाई किन त्यो सूचना लागू हुँदैन जस्तो लाग्यो, ढंग पुऱ्‍याएर बताउन सकिन्छ। अनि घरधनीले त्यो सूचना यहोवाका साक्षीहरूका लागि पनि हो भनेमा तिनको इच्छाको कदर गर्नेछौं।

क्षेत्रमा प्रचारको दौडान हामीलाई देख्नासाथ अँध्यारो मुख पार्ने घरधनी भेटिएला अनि तिनले फेरि फेरि आउँदै नआउनू भन्लान्‌। हामीले त्यसबारे सफाइ दिन चाहँदा तिनले सुन्‍न नचाहेमा चुपचाप तिनको कुरा मान्‍नुपर्छ। त्यस क्षेत्रको नक्साको पछाडिपट्टि पेन्सिलले मितिसहित टिप्पणी लेख्नुपर्छ ताकि पछि अरू प्रकाशकहरू त्यो टिप्पणी हेरेर त्यस घरमा जानेछैनन्‌।

त्यस्ता घरहरूमा फेरि जाँदै नजाने चाहिं होइन। अहिलेको घरधनी पछि कतै सर्नसक्छन्‌। त्यहाँ हाम्रो कुरा सुन्‍ने अर्कै परिवार भेट्टाउन सकौंला। नभए, पहिला हाम्रो कुरा सुन्दै नसुन्‍ने घरधनीको मन फर्केर हाम्रै खातिरदार बन्‍न पनि के बेर। तसर्थ, केही समय बितेपछि ती घरधनीहरूको सोचाइमा हेरफेर आयो आएन पत्ता लाउन बुद्धि पुऱ्‍याएर जाँचबुझ गर्नुपर्छ।

हामीलाई नजान भनिएको घरहरूको सूची तयार पार्दै वर्षमा एकपल्ट क्षेत्रको फाइल पुनः निरीक्षण गर्नुपर्छ। सेवा निरीक्षकको निर्देशनमा सिपालु र अनुभवी केही प्रकाशकहरूलाई ती घरहरूमा खटाउन सकिन्छ। त्यतिबेला, पहिलाकै घरधनी हुन्‌ कि अरू नै बसेका छन्‌ भनेर बुझ्न आएको भनेर बताउन सकिन्छ। त्यहाँ जाने प्रकाशक तर्क (अंग्रेजी) पुस्तकको पृष्ठ १५-२४ मा “वार्तालापमा अड्‌को लाउनेहरूलाई कसरी जवाफ दिन सक्नुहुन्छ” शीर्षकअन्तर्गतका कुराहरूसित राम्ररी परिचित हुनुपर्छ। घतलाग्दो प्रतिक्रिया देखाएमा अरूलाई जस्तै फेरि भेट्‌न जान सकिन्छ। घरधनीले अझै पनि बाङ्‌गै कुरा गरेमा अर्को वर्ष नलागेसम्म भेट्‌न जानु हुँदैन। कुनै कुनै यस्तो समस्यालाई परिस्थितिअनुसार अर्कै पाराले सम्हाल्न सकिन्छ कि भनेर स्थानीय प्राचीनहरूको निकायले निर्णय गर्नसक्छ।

▪ हाम्रा भाइहरू प्रकोपको चपेटामा पर्दा के गर्नुपर्छ?

आफ्नो इलाकामा प्रकोप आइपर्दा: नआत्तिनुहोस्‌। शान्त रहनुहोस्‌ र धनसम्पत्तिभन्दा जीवन नै मूल्यवान्‌ हो भनेर मनमा ठप्प राख्नुहोस्‌। आफ्नो परिवारलाई नभई नहुने भौतिक खाँचोहरूको चाँजोपाँजो मिलाइहाल्नुहोस्‌। त्यसपछि, तपाईंको परिस्थिति र आफू बस्ने हालको इलाकाबारे प्राचीनहरूलाई अवगत गराउनुहोस्‌।

राहत सहयोग दिने काममा प्राचीन र सेवकाई सेवकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्‌। ठूलो आँधीबेह्री चलेर प्रकोप आउन लागेको अग्रिम लक्षण देखिएमा सबै जना सुरक्षित इलाकामा छन्‌ या छैनन्‌, यी भाइहरूले निधो गर्नुपर्छ र भ्याएमा आवश्‍यक चीजबीजहरू बन्दोबस्त गरेर बाँड्‌नुपर्छ।

त्यसपछि, पुस्तक अध्ययन संचालकले प्रत्येक परिवार कहाँ कहाँ छन्‌ सोध्दै खोज्दै गएर तिनीहरूसित भलाकुसारी गर्नुपर्छ। हरेक परिवार राम्रो-नराम्रो के कस्तो स्थितिबाट गुज्रिरहेको छ, अध्यक्ष वा अर्को प्राचीनलाई जानकारी दिनुपर्छ। यदि कोही घाइते भएको छ भने प्राचीनहरूले उपचारको प्रबन्ध गर्ने कोसिस गर्नेछन्‌। तिनीहरूले चाहिने सरसामानहरू जस्तै खानेकुरा, लत्ताकपडा, बस्ने ठाउँ वा घरेलु चीजबीजहरूको पनि बन्दोबस्त मिलाउनेछन्‌। (यूह. १३:३५; गला. ६:१०) स्थानीय प्राचीनहरूले मण्डलीलाई आध्यात्मिक र भावनात्मक सहयोग दिनेछन्‌ र जतिसक्दो चाँडो मण्डलीका सभाहरू फेरि थाल्ने प्रबन्ध गर्नेछन्‌। राम्ररी जाँचबुझ गरिसकेपछि प्राचीनहरूको निकायबाट कुनै एक प्राचीनले क्षेत्रीय निरीक्षकसँग सम्पर्क राख्नुपर्छ र तिनलाई घाइते भएको, राज्यभवन वा भाइहरूको घरबारमा क्षति पुगेको र विशेष आवश्‍यकताबारे जानकारी दिनुपर्छ। त्यसपछि, क्षेत्रीय निरीक्षकले टेलिफोन मार्फत शाखा कार्यालयलाई त्यस इलाकाको हालखबरको रिपोर्ट दिनेछन्‌। शाखा कार्यालयले पर्याप्त मात्रामा चाहिएको राहतको बन्दोबस्त मिलाउन सहयोग गर्नेछ।

अन्यत्र प्रकोप आइपर्दा: प्रकोपमा पर्ने भाइबहिनीको निम्ति प्रार्थना गर्नुहोस्‌। (२ कोरि. १:८-११) यदि तपाईं आर्थिक सहयोग दिन चाहनुहुन्छ भने सोसाइटीमा चन्दा पठाउन सक्नुहुन्छ। ठेगाना यसप्रकार छ: Watch Tower Society, H-58 Old Khandala Road, Lonavla, MAH 410 401. (प्रेरि. २:४४, ४५; १ कोरि. १६:१-३; २ कोरि. ९:५-७; डिसेम्बर १, १९८५ प्रहरीधरहरा [अंग्रेजी], पृष्ठ २०-२ हेर्नुहोस्‌।) प्रकोप इलाकाको रेखदेख गर्ने भाइले खास के कुराको आवश्‍यकता परेको छ, त्यो अवगत नगराएसम्म चीजबीज वा चाहिने सरसामानहरू नपठाउनुहोस्‌। यसो गर्दा व्यवस्थित ढंगमा राहत पुऱ्‍याउन र चीजबीज ठीकसित बाँड्‌न सकिनेछ। (१ कोरि. १४:४०) कृपया, अनावश्‍यक रूपले सोसाइटीमा टेलिफोन नगर्नुहोला अन्यथा प्रकोप इलाकाबाटको जरुरी रिपोर्ट प्राप्त गर्न गाह्रो पर्नसक्छ।

सोसाइटीले राम्ररी जाँचबुझ गरिसकेपछि राहत समिति गठन गर्नुपर्ने नपर्ने, निर्णय गर्नेछ। जिम्मेवार भाइहरूलाई सूचित गरिनेछ। अगुवाइ लिने प्राचीनहरूसित सबैले काँधमा काँध मिलाउनुपर्छ। त्यसो गर्दा सबै भाइहरूको नाजुक खाँचोहरू राम्ररी टार्न सकिन्छ।—यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू (अंग्रेजी), पृष्ठ ३१०-१५ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने