क्रियाकलापको ठूलो ढोका खुल्ला छ
१ पावलले सुसमाचारका जोसिलो प्रचारकको हैसियतमा आवश्यकता बढी भएका क्षेत्रहरू उत्सुकतासाथ खोजे। ती क्षेत्रहरूमध्ये एउटा थियो एफिसस शहर। त्यहाँ तिनले प्रचारकार्यमा राम्रो सफलता हासिल गरेका हुनाले सँगी मसीहीहरूलाई यसो लेखे: “मेरो निम्ति एउटा ठूलो र अभिप्राय पूरा गर्ने ढोका खुला भएको छ।” (१ कोरि. १६:९) पावलले त्यस क्षेत्रमा सेवा गरिरहे अनि थुप्रै एफिसीहरूलाई मसीही विश्वास स्वीकार्न मदत दिए।—प्रेरि. १९:१-२०, २६.
२ त्यस्तैगरि, हाम्रोनिम्ति पनि आज क्रियाकलापको ठूलो ढोका खुल्ला छ। नियमित अग्रगामी गर्ने, सम्भव भएमा प्रचार इलाका ठूलो भएको सानो मण्डलीमा काम गर्न स्वेच्छाले त्यहाँ सर्ने खुल्ला निमन्त्रणा हामी सबैलाई दिइएको छ। तसर्थ, त्यसतर्फ हामीले गरेका प्रयासहरूले कतिपय क्षेत्रका आवश्यकताहरू पूरा गर्नसक्छन्।—२ कोरिन्थी ८:१३-१५ तुलना गर्नुहोस्।
३ के तपाईं नियमित अग्रगामी गर्न सक्नुहुन्छ? नियमित अग्रगामी गर्न सकिन्छ कि भनेर के तपाईंले प्रार्थनापूर्वक विचार गर्नुभएको छ? वास्तवमा, भारतको क्षेत्र ठूलो छ र फसल बटुल्नुपर्ने व्यापक कार्य गर्न अझ बाँकी नै छ। अग्रगामी गर्ने सन्दर्भमा परिवार, मण्डलीका प्राचीनहरू र क्षेत्रीय निरीक्षकसित समेत कुरा गरे कसो होला। नियमित अग्रगामी गर्नसक्न कसरी तालिका मिलाउन सकिन्छ, तिनीहरूसित सल्लाह माग्नुहोस्। ठूलो परिवार छ भने, कुनै एक सदस्यलाई अग्रगामी गर्न परिवारका सबै सदस्यले सहयोग गर्नसक्छन् कि? परिवारमा पतिपत्नी मात्र छन् र आर्थिक खाँचो टार्न दुवै जनाले पूर्ण-समय जागिर खानु पर्दैन भने, पत्नीले पहिला केही वर्षसम्म नियमित अग्रगामी गर्नसक्न के अलिक ढिलो बच्चा जन्माउने विचार गर्न सक्नुहुन्छ?
४ हालका दशकहरूमा, विश्वभरि हजारौं मसीही परिवारहरू फसल उठाउने काममा पूर्ण सहभागी हुन अरू क्षेत्रतिर बसाइँ सरेका छन्। त्यसरी सर्ने एक दम्पतीले यसो भने: “जहाँ सबैभन्दा धेरै मदत गर्नसक्थ्यौं त्यहीं यहोवाको सेवा गर्न चाहन्थ्यौं।” ठूलो मण्डलीले राम्ररी प्रचार गर्न भ्याउनसक्ने इलाकामा हुनुहुन्छ र राज्य उद्घोषकहरू थोरै छन् भनी तपाईंलाई थाह भएको अर्को क्षेत्रमा सर्ने मौका छ भने, त्यहाँ स्वेच्छाले सर्न इच्छुक हुनुहुन्छ? त्यस नयाँ क्षेत्रमा नियमित अग्रगामी गर्न सक्नुभएन भने पनि तपाईंको उपस्थिति सानो मण्डलीको लागि लाभकारी हुनसक्छ। तपाईंलाई यसो गर्ने इच्छा लागेको छ भने, यो सम्भव छ कि छैन मण्डलीका प्राचीनहरू वा क्षेत्रीय निरीक्षकसित कुरा गर्न सक्नुहुन्छ।
५ यहोवाको नाउँ धारण गर्नु विशेषाधिकार हो। हामी सबैले अग्रगामी गर्न सक्दैनौं तर कतै सकिन्छ कि भनेर प्रत्येकले गम्भीरतापूर्वक विचार गर्नुपर्छ। मुख्यतः जबसम्म क्रियाकलापको ढोका खुल्ला रहन्छ हामी सबै यहोवाको सेवामा तल्लीन भइरहौं।—१ कोरि. १५:५८.