प्रचार गर्नुअघि खोज्नुहोस्
१. बहुभाषी इलाकामा किन भाषाअनुसार इलाका विभाजन गरिएको छ?
१ इ.सं. ३३ पेन्तिकोसको दिन येशूका चेलाहरूले पवित्र शक्ति पाएपछि तिनीहरू संसारका विभिन्न ठाउँबाट आएका मानिसहरूसित उनीहरूकै “भाषामा बोल्न थाले।” (प्रेषि. २:४) परिणामस्वरूप लगभग ३,००० जनाले बप्तिस्मा गरे। रोचक कुरा, ती मानिसहरूमध्ये धेरैजसोले चलनचल्तीको भाषा अर्थात् हिब्रू वा ग्रीक भाषा पनि बोल्न सक्थे जस्तो देखिन्छ। तैपनि यहोवाले उनीहरूले मातृभाषामै राज्य सन्देश सुनेको चाहनुभयो। किनभने आफ्नै भाषामा सुसमाचार सुन्न पाउँदा धेरैजसोले सकारात्मक प्रतिक्रिया देखाउँछन्। त्यसैले आज बहुभाषी इलाकामा भाषाअनुसार इलाका विभाजन गरिएको छ। (हाम्रो राज्य सेवकाई, फेब्रुअरी, २००७, पृ. १०, अनु. १-२ [od-E पृ. १०७, अनु. २-३]) विदेशी भाषा समूहको लागि प्रचार गर्ने इलाका तोकिएको हुँदैन, बरु त्यस समूहले तिनीहरूलाई सहयोग गर्ने मण्डलीको इलाकामा वा नजिकैका मण्डलीहरूको इलाकामा तिनीहरूको भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्छन्।
२. (क) खोज्ने काम किन र कस्तो इलाकामा गर्नुपर्छ? (ख) बहुभाषी इलाकामा मण्डलीहरूले एकअर्कालाई कसरी मदत गर्न सक्छन्? (ग) अर्कै भाषा बोल्ने जिज्ञासु मानिस भेट्दा हामीले के गर्नुपर्छ?
२ यदि तपाईं एउटै भाषा बोलिने इलाकामा बस्नुहुन्छ भने सजिलै घरघरको प्रचार गर्न सक्नुहुन्छ। तर विभिन्न भाषा बोल्ने मानिसहरू भएको ठूलो सहरमा बस्नुहुन्छ भने परिस्थिति फरक हुन सक्छ। अरू भाषाका मण्डलीहरूले पनि एउटै इलाकामा प्रचार गरिरहेका हुन सक्छन्। ती मण्डलीले तपाईंको भाषा बोल्ने मानिसहरू भेट्टाउँदा त्यसबारे तपाईंलाई जानकारी दिन सक्ने भए तापनि तिनीहरूलाई खोज्ने मुख्य जिम्मेवारी तपाईंकै मण्डली वा समूहको हो। (“एकअर्कालाई मदत गर्नुहोस्” भन्ने पेटी हेर्नुहोस्) त्यसकारण तपाईंले कुनै खास भाषा बोल्ने मानिसहरू भेट्टाउन तिनीहरूलाई खोज्नुपर्छ। कसरी खोज्ने?
३. मण्डली वा समूहले कहाँ खोजी गर्ने अनि यसको लागि कति समय लाग्छ भन्ने कुरा केमा भर पर्छ?
३ व्यवस्थित तरिकामा खोज्नुहोस्: बहुभाषी इलाकामा मानिसहरू खोज्न कति समय लाग्छ, त्यो स्थानीय परिस्थितिमा भर पर्छ। उदाहरणका लागि, त्यस इलाकामा तपाईंले खोज्न लागेको खास भाषा बोल्ने मानिसहरू कति छन्? त्यस इलाकामा कति प्रकाशक छन्? मण्डली वा समूहसित कति जनाको ठेगाना छ? हरेक इलाकामा खोजी गर्नु आवश्यक छैन, मण्डलीको सीमाभित्र पर्ने जुन इलाकामा मानिसहरू धेरै छन् र जुन इलाका तपाईंको मण्डलीबाट धेरै टाढा पर्दैन, त्यहाँ मात्र खोज्ने निर्णय गर्न सकिन्छ। तर सकेसम्म धेरैभन्दा धेरै मानिसलाई यहोवाको नाम पुकार्ने मौका दिन सकियोस् भनेर व्यवस्थित तरिकामा खोज्नु आवश्यक छ।—रोमी १०:१३, १४.
४. (क) खोज्ने कामलाई कसरी व्यवस्थित पार्न सकिन्छ? (ख) तपाईंको भाषा बोल्ने मानिसहरूलाई खोज्ने केही तरिका के-के हुन्?
४ एउटै इलाकामा खोजी गर्ने काम नदोहोरियोस् भनेर एल्डरहरूको निकायले, अझ विशेषगरि सेवा निरीक्षकले खोज्ने कामलाई व्यवस्थित गर्नु अनि निरीक्षण गर्नु आवश्यक छ। (१ कोरि. ९:२६) विदेशी भाषा समूहलाई सहयोग गर्ने मण्डलीको एल्डरहरूको निकायले रोजेको एक जना योग्य भाइले (एल्डर वा सहायक सेवक भए बेस) खोज्ने काममा नेतृत्व लिन सक्छन्। खोज्नुपर्ने खास भाषाका मानिसहरूमध्ये धेरैजसोले राख्ने नाम सङ्कलन गर्न टेलिफोन डाइरेक्टरी वा इन्टरनेट प्रयोग गरेर थुप्रै मण्डली तथा समूहले खोजी गर्ने काम व्यवस्थित गरेका छन्। त्यसपछि आफ्नो इलाकामा उक्त ठेगाना समावेश गर्ने कि नगर्ने भनेर निधो गर्न फोन गरेर वा भेट्न गएर खोज्ने काम गर्न सकिन्छ। व्यावहारिक छ भने विदेशी भाषा समूहलाई सहयोग गर्ने मण्डलीको एल्डरहरूको निकायले बेलाबेलामा पूरै मण्डली मिलेर खोजी गर्ने काममा भाग लिने प्रबन्ध मिलाउन सक्छ।—“तपाईंको भाषा बोल्ने मानिसहरूलाई खोज्ने तरिका” भन्ने पेटी हेर्नुहोस्।
५. (क) खोजी गर्दा प्रकाशकहरूले लागू गर्न सक्ने केही सुझाव के-के हुन्? (ख) मानिसहरू खोज्दा हामी के भन्न सक्छौं?
५ प्रत्येक चोटि मानिसहरू खोज्न जाँदा हाम्रो उद्देश्य स्पष्ट हुनुपर्छ। खोज्ने काम पनि प्रचारकार्यसित सम्बन्धित भएकोले हाम्रो पहिरन प्रचारमा जाँदाखेरिको जस्तो हुनुपर्छ। घरधनीलाई के भन्ने भनेर अभ्यास गर्दा र खोज्ने क्रममा उनीहरूकै भाषामा बोल्दा थुप्रैले उत्साह कायम राख्न र उक्त भाषा बोल्ने क्षमता तिखार्न सकेका छन्। हामीले खोजी गर्न बिताएको समय क्षेत्र सेवाको रिपोर्टमा लेख्न सकिन्छ तर इलाकाको नक्सा र सूची तयार गर्न बिताएको समय भने लेख्नु हुँदैन। खोजी गरिरहेको खास भाषा बोल्ने मानिस भेट्दा सुसमाचार बाँड्ने सक्दो कोसिस गर्नुपर्छ र तुरुन्तै सेवा निरीक्षक वा तिनले खटाएको कुनै भाइलाई जानकारी गराउनुपर्छ ताकि इलाकाको रेकर्डमा छाँटकाँट गर्न सकियोस्। घरधनीले चासो देखाएका छैनन् भने पनि यसबारे जानकारी गराउनुपर्छ। खोज्ने काम महत्त्वपूर्ण भए तापनि हामी सन्तुलित हुनुपर्छ र क्षेत्र सेवाका सबै पक्षमा भाग लिनुपर्छ।—“मानिसहरू खोज्दा के भन्ने” विषयक पेटी हेर्नुहोस्।
६. बहिराहरूको खोजी गर्नुमा कस्ता विशेष चुनौतीहरू छन्?
६ बहिराहरूलाई खोज्नुहोस्: बहिराहरूलाई खोज्नुका आफ्नै चुनौती छन् र त्यसको लागि विशेष प्रयास र लगनशीलता चाहिन्छ। बहिरालाई तिनको नामको हिज्जे वा रूपरङ्ग वा पहिरनको आधारमा चिन्न सकिंदैन। साथै परिवार र साथीहरूले तिनलाई कुनै हानि पुग्ने हो कि भन्ने डरले सोधपुछ गर्ने प्रकाशकलाई जानकारी दिन हिचकिचाउन सक्छन्। बहिराहरूलाई खोज्न यसपछिका अनुच्छेदहरूमा दिइएका सुझावहरू सुन्ने व्यक्तिहरू खोज्दा पनि मदतकारी हुन सक्छ।
७. (क) आवास क्षेत्रहरूमा बहिराहरूलाई भेट्टाउन कसरी सोधपुछ गर्न सकिन्छ? (ख) हामी घरधनीको शङ्का कसरी हटाउन सक्छौं?
७ साङ्केतिक भाषा मण्डली तथा समूहले आवास क्षेत्रहरूमा सोधपुछ गरेर राम्रो नतिजा हासिल गरेका छन्। घरधनीले छिमेकी, काम गर्ने ठाउँको साथी वा स्कूलको साथीले साङ्केतिक भाषा प्रयोग गरेको देखेका हुन सक्छन्। कुनै-कुनै देशमा बहिरा बालबालिका भएको इलाकामा सवारी चालकलाई सजग गराउन सङ्केत-पाटी राखिएको हुन्छ र त्यो पनि तिनले याद गरेका हुन सक्छन्। तिनको नातेदार बहिरा होलान्। यो कुरा मनमा राख्नुहोस्, त्यसरी सोधपुछ गर्दा कसै-कसैले तपाईंलाई शङ्काको दृष्टिले हेर्न सक्छन्। तैपनि मित्रैलो हुनुभयो र इमानदार हुँदै छोटोमीठो कुराकानी गरेर आफू आउनुको कारण आदरपूर्वक बताउनुभयो भने घरधनीको शङ्का अनि डर कम गर्न सक्नुहुन्छ। कुनै बहिरालाई चिनेका छन् कि भनेर सोधपुछ गर्ने क्रममा कुनै-कुनै भाइबहिनीले बाइबल वा साङ्केतिक भाषाको डीभीडी देखाएर राम्रो नतिजा हासिल गरेका छन्। अनि ती भाइबहिनी बहिराहरूलाई पनि बाइबलको आशा बाँड्न चाहेको कुरा बताउँछन्। बहिरा नातेदार वा साथीबारे जानकारी दिन घरधनी हिचकिचाउँछन् भने पनि तिनी उनीहरूलाई तपाईंको ठेगाना दिन वा सभाको निम्तोपर्ची दिन इच्छुक हुन सक्छन्।
८. साङ्केतिक भाषा मण्डलीलाई नजिकैको मण्डलीले कसरी मदत गर्न सक्छ?
८ साङ्केतिक भाषा मण्डलीले वर्षमा एक दिन वा दुई दिन आफ्नो ठूलो इलाकाको कुनै एउटा इलाकामा बहिराहरू खोज्ने काममा सहयोग गरिदिन नजिकैको मण्डलीलाई आग्रह गर्न सक्छ। साङ्केतिक भाषा मण्डलीले क्षेत्र सेवाको सभामा खोज्ने कामको लागि आवश्यक निर्देशन र प्रदर्शन समावेश गर्न सक्छ। खोजी गर्ने प्रत्येक समूहमा कम्तीमा एक जना प्रकाशक साङ्केतिक भाषा मण्डलीबाट खटाउन सकिन्छ र मानिसहरू खोजी गर्ने इलाकाको नक्सा दिन सकिन्छ।
९. बहिराहरूले सरसङ्गत गर्ने र रमाइलो गर्ने ठाउँमा अथवा उनीहरूलाई सेवा-सुविधा उपलब्ध गराइने ठाउँमा कसरी खोज्ने काम गर्न सकिन्छ?
९ बहिराहरूले सरसङ्गत गर्ने र रमाइलो गर्ने ठाउँमा अथवा उनीहरूलाई सेवा-सुविधा उपलब्ध गराइने ठाउँमा खोज्ने काम गर्न सकिन्छ। खोजी गर्न त्यस्ता ठाउँहरूमा जाँदा ठाउँअनुसारको उपयुक्त पहिरन लगाउनुपर्छ। त्यहाँ भएका सबैलाई भेला गरेर एकैचोटि सोधपुछ गर्नुको साटो चनाखो भई एक वा दुई जनासित कुरा गर्नु बेस हुन्छ। कुराकानी फलदायी साबित भयो भने सम्पर्क ठेगाना लिन-दिन सकिन्छ।
१०. स्थानीय व्यापारिक इलाकामा कसरी खोज्ने काम गर्न सक्छौं?
१० खोजी गर्ने अर्को तरिका स्थानीय व्यापारिक इलाकाको नक्सा तयार गर्नु र उपयुक्त समयमा त्यहाँ जानु हो। एउटा नक्सामा पेट्रोल पम्प कहाँ-कहाँ छ, चिन्ह लगाउन सकिन्छ भने अर्कोमा चाहिं ड्राइ-क्लीन गर्ने पसल; क्याफे, रेस्टुराँ, होटेल वा अन्य व्यापारिक स्थल कहाँ-कहाँ छ, चिन्ह लगाउन सकिन्छ। प्रत्येक नक्सामा एउटै किसिमका व्यापारिक स्थलहरूमा चिन्ह लगाइएको छ भने प्रकाशकहरूले एउटै तरिकामा कुराकानी थाल्न र अनुभव बटुलेर सीप तिखार्न सक्छन्। जस्तै:- अक्सर होटेलहरूमा बहिराहरू पनि बास बस्न आउने भएकोले रिसेप्सनमा हामी आफ्नो कामबारे छोटकरीमा बताउन सक्छौं र त्यहाँ आउने बहिराहरूको लागि भनेर डीभीडी अनि सभाको निम्तोपर्चीसहितको प्याकेट छोड्न सक्छौं। कुनै-कुनै व्यापारिक इलाकामा भने त्यहाँ साङ्केतिक भाषा जान्ने कोही कामदार वा नियमित ग्राहक छ कि भनेर सोधपुछ गर्न सक्छौं। इलाकामा बहिराहरू पढ्ने स्कूल छ भने पुस्तकालयको लागि हाम्रा केही डीभीडी दिन सक्छौं।
११. खोज्ने काम हाम्रो सेवाको महत्त्वपूर्ण पक्ष हो, किन?
११ महत्त्वपूर्ण काम: तपाईंको भाषा बोल्ने घरधनी भेट्टाउन निकै समय र शक्ति खर्च गर्नुपर्ने हुन्छ। साथै कुनै-कुनै टोलमा धेरै मानिस कोठा सरेर जाने वा आउने भएकोले बहुभाषी इलाकाको रेकर्ड दुरुस्त राख्न गाह्रो हुन्छ। तैपनि बढ्दै गइरहेको बहुभाषिक इलाकामा मानिसहरू खोज्ने काम हाम्रो सेवाको महत्त्वपूर्ण पक्ष हो। हामीलाई प्रचार गर्ने जिम्मेवारी दिने यहोवा पक्षपाती हुनुहुन्न। (प्रेषि. १०:३४) “उहाँ सबै किसिमका मानिसहरूले उद्धार पाऊन् र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ।” (१ तिमो. २:३, ४) त्यसकारण विभिन्न भाषा बोल्ने “असल मन भएका” मानिसहरूलाई भेट्टाउन यहोवा र एकअर्कालाई सहयोग गरिरहौं।—लूका ८:१५.
[पृष्ठ ५-मा भएको पेटी]
एकअर्कालाई मदत गर्नुहोस्
यदि कुनै मण्डली वा समूहलाई आफ्नो भाषा बोल्ने मानिस भेट्टाउन मदत चाहिएको छ भने सेवा निरीक्षकले नजिकैको अन्य भाषाको मण्डलीका एल्डरहरूसित सम्पर्क गर्नेछन्। तपाईंको मण्डलीबाट धेरै टाढा नपर्ने मण्डलीहरू वा इलाकामा तपाईंको भाषा बोल्ने मानिसहरू धेरै भएका मण्डलीहरूलाई मात्र सम्पर्क गर्नु बेस हुन्छ। त्यसपछि उक्त भाषा बोल्ने कसैलाई भेटेमा तिनको ठेगाना लेखेर सेवा निरीक्षकलाई दिन मदत गर्ने मण्डलीले आफ्ना प्रकाशकहरूलाई जानकारी दिन सक्छ। अनि सेवा निरीक्षकले उक्त ठेगाना मदत माग्ने मण्डली वा समूहलाई दिनेछन्। बहुभाषी इलाकामा पर्ने मण्डलीका सेवा निरीक्षकहरूले सबैलाई स्वीकार्य हुने किसिमको योजना बनाएर त्यसअनुसार प्रचार गर्ने अनि जिज्ञासु व्यक्तिहरूलाई पूर्व निर्धारित मण्डली वा समूहमा पठाउने व्यवस्था मिलाउनुपर्छ।
यदि साँच्चै चासो देखाएको अर्कै भाषा बोल्ने व्यक्ति (वा बहिरा) प्रकाशकले भेट्टाएका छन् भने तिनले तुरुन्तै कृपया भेट्नुहोस् (S-43) फाराम भर्नुपर्छ र मण्डलीको सचिवलाई दिनुपर्छ। यसो गर्दा उक्त व्यक्तिले तुरुन्तै आध्यात्मिक मदत पाउनेछन्।—km ५/११ पृ. ५ हेर्नुहोस्।
[पृष्ठ ६-मा भएको पेटी]
तपाईंको भाषा बोल्ने मानिसहरूलाई खोज्ने तरिका
• सोधपुछ गर्नुहोस्। जस्तै:- बाइबल विद्यार्थीलाई, परिवारको सदस्यलाई, सहकर्मीलाई र अरूलाई।
• खोजी गर्नुपर्ने खास भाषाका मानिसहरूमध्ये धेरैजसोले राख्ने नाम सङ्कलन गर्न टेलिफोन डाइरेक्टरी प्रयोग गर्नुहोस्। इन्टरनेटमा वा टेलिफोन कम्पनीमा ठेगानाको आधारमा नाम सूचीकृत गरिएको डाइरेक्टरी उपलब्ध हुन सक्छ।
• सर्वसाधारणलाई सेवा प्रदान गर्ने ठाउँहरूमा चनाखो हुँदै सोधपुछ गर्नुहोस्। जस्तै:- पुस्तकालय, सरकारी कार्यालय अनि कलेज।
• विदेशीहरू कुनै कार्यक्रम आयोजना गर्दै छन् कि भनेर थाह पाउन स्थानीय अखबार हेर्नुहोस्।
• विदेशीहरूको लागि खोलिएका पसल अनि व्यापारिक इलाकामा जानुहोस्।
• तपाईंले खोज्न लागेको खास भाषा बोल्ने मानिसहरू अक्सर भेला हुने ठाउँमा जस्तै: व्यापारिक इलाकामा, बसपार्कमा, कलेजका विद्यार्थी जम्मा हुने ठाउँमा जानुहोस्। त्यहाँको सम्बन्धित व्यक्तिसँग टेबुल राख्ने अनुमति माग्नुहोस् र त्यसमा विभिन्न साहित्य राख्नुहोस्।
• सरकारले अनुमति दिएको छ भने व्यापारिक डाइरेक्टरी वा विदेशीहरू बस्ने इलाका पत्ता लगाउन मदत गर्ने कम्प्युटर प्रोग्राम किन्न सकिन्छ
[पृष्ठ ७-मा भएको पेटी]
मानिसहरू खोज्दा के भन्ने
मित्रैलो अनि इमानदार भएर खुलस्त कुराकानी गर्दा घरधनीको शङ्का हटाउन सकिन्छ। प्रायः सुरुमै घरधनीले बोल्ने भाषाको साहित्य देखाएर कुरा थाल्नु मदतकारी हुन्छ।
अभिवादन गरिसकेपछि यसो भन्न सक्नुहुन्छ: “हामी ______ भाषा बोल्ने मानिसहरूलाई भेट्ने कोसिस गरिरहेका छौं। हामी उनीहरूसित बाइबलको आशा बाँड्न चाहन्छौं। तपाईंले ______ भाषा बोल्ने कसैलाई चिन्नुभएको छ?”
बहिराहरूलाई खोज्दा तपाईं यसो भन्न सक्नुहुन्छ: “नमस्कार! हामी सुस्त श्रवण भएका व्यक्तिहरूलाई भेट्ने कोसिस गर्दै छौं। भगवान्बारे साँचो कुरा सिक्न चाहने सुस्त श्रवण भएकाहरूको लागि हामीले विभिन्न कार्यक्रम आयोजना गरेका छौं। यी कार्यक्रमबाट लाभ उठाउन कुनै शुल्क लाग्दैन। तपाईंले कुनै सुस्त श्रवण भएका व्यक्ति वा कान त्यत्ति राम्ररी नसुन्ने अथवा साङ्केतिक भाषा प्रयोग गर्ने कसैलाई चिन्नुहुन्छ?” घरधनीले सम्झन सकेनन् भने सायद तिनले काम गर्ने ठाउँमा, स्कूलमा वा टोलछिमेकमा बहिराहरूलाई देखेका थिए कि भनेर सोध्दा अक्सर हामीले खोजेको जवाफ पाउन सक्छौं।