के तपाईंको मण्डलीसँग पर्याप्त इलाका छ?
१ येशूले यहूदीयाका शहरहरूदेखि लिएर गालीलको ग्रामीण भेकसम्म अथवा पुरातन इस्राएलको ठूलो इलाकामा बृहत् साक्षी दिनुभयो। (मर्कू. १:३८, ३९; लूका २३:५) हामीले पनि सकेसम्म धेरै मानिसहरूलाई सुसमाचार सुनाउनुपर्छ। (मर्कू. १३:१०) तथापि, भारतको भूभागको अत्यन्त थोरै भागमा मात्र मण्डलीहरूलाई खटाइएको छ र यी इलाकाहरू पनि पूर्ण रूपले व्यवस्थित तरिकामा ढाक्नुपर्ने आवश्यकता रिपोर्टहरूले देखाइरहेको छ। अझ धेरै मानिसहरूकहाँ पुग्न हामीले के गर्न सक्छौं?
२ होसियारीपूर्वक योजना बनाउनुहोस्: सेवा निरीक्षक र इलाका सेवकले हरेक इलाकामा २०० देखि ३०० भन्दा बढी घरहरू नपर्ने गरी मण्डलीको इलाका भाग-भाग गर्न सक्छन्। साथै, एक वर्ष भित्रमा पूर्ण रूपमा भ्याउन नसकिने इलाका ओगटिएको छ कि भनी तिनीहरूले पक्का गर्न सक्छन्। तिनीहरूलाई कुनै इलाकामा हाम्रो साक्षी कार्यको सधैं विरोध गर्ने जिद्दीवाल मानिसहरू छन् भनी थाह छ भने सम्भवतः यी इलाकाहरूको सट्टा सुन्न चाहने मानिसहरू भएको तथा पहिले काम नगरेको इलाकामा काम गर्न सकिन्छ। (तुलना गर्नुहोस् लूका ९:५, ६) तथापि, तिनीहरूले विवेक चलाउनुपर्छ, कहिलेकाहीं कुनै क्षेत्रमा एक जना खास व्यक्तिले मात्र विरोध गरेको हुन्छ, नक्सामा ऊ बस्ने घर वा गल्लीमा “फेरि नजानू” भन्ने संकेत राखेर त्यस क्षेत्रका अन्य घरहरूमा कुनै आपत् आईनपर्ने गरी बुद्धिमानीसाथ काम गर्न सकिन्छ।
३ पूरै मण्डलीलाई घर-घरको सेवकाईमा अझ बढी समय बिताउन प्रोत्साहन दिन सकिन्छ। प्रायजसो तयार हुन र क्षेत्र सेवाको सभामा उपस्थित हुनको लागि थुप्रै समय लाग्छ। यत्तिका प्रयत्न गरिसकेपछि हामीले आफ्ना छिमेकीहरूसँग कुरा गर्न एक घण्टा वा त्योभन्दा पनि कम समय मात्रै बिताउनु कत्ति दुःखलाग्दो कुरा हो। हामी पुनःभेट वा बाइबल अध्ययनमा जानुपर्ने हुन सक्छ तर आफूलाई खटाइएको इलाकामा दुई वा तीन घण्टा काम गरेपछि मात्र त्यहाँ गए कसो होला। कुनै सुकुमवासी वा बाक्लो बस्ती भएको इलाकामा तथा वरपर हजारौं मानिसहरू हुन्छन्। यी क्षेत्रहरू सुरक्षित छन् भने एक्ला-एक्लै काम गर्नु के लाभकारी हुँदैन र? सँगी साक्षीको नजिकै रहेर छुट्टा-छुट्टै काम गर्नाले हामी दोब्बर इलाका ढाक्न र हरेक घरमा आफैले साक्षी दिन सक्छौं।
४ राम्रो योजना बनाउनुमा, चाहिने भाषाका साहित्यहरू हुनु पनि समावेश छ। मण्डली पुस्तक अध्ययन निरीक्षकले आफ्नो समूहका हरेकलाई सुसज्जित पार्न सकून् भन्नका लागि सायद ठूलठूला शहरहरूको हरेक नक्सा कार्डमा चाहिने भाषाहरूको संकेत गर्न पनि आवश्यक पर्न सक्छ।
५ पूर्ण सहयोग गर्नुहोस्: ठूलो इलाकामा काम गर्नको लागि मण्डलीका सबैको सहयोग चाहिन्छ। कुरा गर्न इच्छुक घरधनी भेट्नुहुँदा विवेक चलाउनुपर्छ। त्यस इलाकाका सबैकहाँ पुग्नुपर्ने आवश्यकताबारे सधैं सजग रहनुहोस् र क्षेत्र सेवाको समूहमा तपाईंलाई कुरिरहेकाहरूको पनि विचार गर्नुहोस्। चासो देखाउने व्यक्तिसँग तपाईं लामो समयसम्म कुरा गरिरहन चाहनुहुन्छ भने समूहका अरू पर्खिरहनु नपरोस् भन्नका लागि के कुनै प्रबन्ध मिलाउन सकिन्छ?
६ चासो देखाउने सबैसँग भेट्न निश्चित प्रबन्ध मिलाउनुहोस्। ठेगानाको साथसाथै मिल्छ भने चासो देखाउने व्यक्तिको फोन नम्बर पनि माग्नुहोस् ताकि तपाईंले तिनीसँग टेलिफोनद्वारा सम्पर्क राखेर अझ बढी साक्षी दिन सक्नुहुन्छ। सडकको नाउँ तथा घर नम्बर दिइएको छैन भने होसियारीपूर्वक नक्सा बनाउनुहोस् वा चासो देखाउने व्यक्तिलाई पुनःभेट गर्न सकिने तरिका लेख्नुहोस्।
७ येशूको यस्तो निर्देशन पूरा गर्ने हामीले कत्ति ठूलो सुअवसर पाएका छौं: “जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनी सोधपूछ गर”! (मत्ती १०:११) सबैभन्दा इनामदायी यस काममा लाग्नु हुँदा पक्कै पनि यहोवाले तपाईंका प्रयत्नहरूमा आशिष् दिनुहुनेछ!