ओ हो! हामीलाई साह्रै नियाँस्रो लाग्यो!
१ बेला बेलामा हामी मण्डलीका सभाहरू छोड्ने गर्छौं। ‘अरूले मलाई के सम्झलान् र; म भए नभएको अरूलाई यादै हुँदैन’ भन्ने तर्क हाम्रो होला। तर यो साँचो होइन! जीवन धान्न शरीरको सबै अंगको महत्वपूर्ण भूमिका भएजस्तै मण्डली चलाउन हामी सबैको महत्त्वपूर्ण भूमिका छ। (१ कोरि. १२:१२) हप्तेवारी सभामा अनुपस्थित हुँदा त्यसले उपस्थित हुनेहरूको आध्यात्मिक स्वास्थ्यलाई असर गर्नसक्छ। तपाईं मान्नुस् नमान्नुस्, सभामा आउनुभएन भने—अरूलाई साह्रै नियाँस्रो लाग्नेछ!
२ तपाईंले खेल्ने महत्त्वपूर्ण भूमिका: पावल आफ्ना भाइहरूसित संगत गर्न असाध्यै मन पराउँथे। किन? रोमी १:११, १२ यसरी जवाफ दिन्छ: “केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर . . . तिमीहरू र मेरो, दुवैको विश्वासबाट हामी प्रत्येकले आपसमा, मैले तिमीहरूसित र तिमीहरूमानै, सान्त्वना पाऔं।” एवम् रीतिले टिप्पणी दिंदा, सभामा आफूले पाएको जिम्मेवारी पूरा गर्दा र सभामा उपस्थित हुँदा मात्र पनि हामीले एकअर्कालाई विश्वासी भइरहन धेरै मदत पुऱ्याइरहेका हुन्छौं।—१ थिस्स. ५:११.
३ के तपाईं मण्डलीका सभाहरूमा अरूहरूलाई भेट्ने इच्छा गर्नुहुन्न र? अवश्य तपाईं ध्यान दिएर तिनीहरूको टिप्पणी सुन्नुहुन्छ अनि तिनीहरूको विश्वासको अभिव्यक्तिको मूल्यांकन गर्नुहुन्छ। तिनीहरूको यस्ता आध्यात्मिक वरदानहरूले स्वयं तपाईंको उत्थान गर्छ। तिनीहरू सभामा उपस्थिति भइदिएनन् भने तपाईंलाई नियाँस्रो लाग्छ। तपाईंका भाइबहिनीहरूलाई पनि त्यस्तै लाग्छ, यदि तपाईं उपस्थित हुनुभएन भने।
४ सभाहरूले खेल्ने महत्त्वपूर्ण भूमिका: आध्यात्मिक तवरमा जीवित रहन सभाहरू कत्तिको महत्त्वपूर्ण छन्, प्रहरीधरहरा-ले (अंग्रेजी) एकपटक यस्तो टिप्पणी गरेको थियो: “कलह अनि अनैतिकताले भिजेको यो संसारमा एक मात्र असली आध्यात्मिक आश्रय स्थल . . . शान्ति अनि प्रेमको स्रोत मसीही मण्डली हो। अतः मण्डलीका सबै सभाहरूमा नियमित तवरले भेला हुने गर्नुहोस्।” (w९३ ८/१५ ११) हामी दिनहुँ आध्यात्मिक तवरमा थकाउने परिस्थितिहरूको सामना गर्छौं। होसियार भएनौं भने हामी आफ्नै चिन्ताहरूले यति नराम्रो गरी घेरिनसक्छौं कि आध्यात्मिक कुराजस्ता अझ महत्त्वपूर्ण कुराहरूमा हाम्रो ध्यानै नजानसक्छ। एकताबद्ध भएर बस्न अनि जोसिलो भई परमेश्वरको सेवा गर्न हामी सबैलाई प्रोत्साहन चाहिन्छ र त्यस्तो प्रोत्साहनका लागि हामी सबै एकअर्कामा निर्भर छौं।—हिब्रू १०:२४, २५.
५ सभाहरूमा उपस्थित हुन असाध्यै आवश्यक छ। कहिलेकाहीं बिरामी परेकोले वा अपर्झट केही भईपरी आएकोले हामी सभामा उपस्थित हुन नसकौंला। अन्यथा आउनुहोस्, एकसाथ यहोवाको प्रशंसा गर्न भेला भएका भीडबीच हामी सधैं उपस्थित हुने दृढ निर्णय गरौं!—भज. २६:१२.