हामी प्रचारक मात्र होइन, शिक्षक पनि हुनुपर्छ
१ “यहोवाका साक्षीहरूले प्रचार गरेर पूरै पृथ्वी ढाकिसके।” यस्ता टिप्पणीहरू सुन्नमा आएका छन्। तर साक्षीहरूले कसरी पूरै पृथ्वीमा प्रचार गर्नसके? मानिसको शक्तिले गर्दा त पक्कै होइन, तर यहोवाका शक्तिले गर्दा, जुन उहाँका सेवकहरूले प्रचार गर्ने अनि सिकाउने विभिन्न तरिकाहरूको सदुपयोग गर्दा तिनीहरूमाथि सक्रिय रहन्छ।—जक. ४:६; प्रेरि. १:८.
२ हाम्रो प्रचारकार्य पूरा गर्ने एउटा प्रभावकारी तरिका पत्रपत्रिका तथा किताबहरू छाप्नु हो। राज्यको सुसमाचार फैलाउन यहोवाका साक्षीहरूले अरबौं किताब, साना-ठूला साइजका पुस्तिका, पत्रिका, पर्चाहरू छापेका, वितरण गरेका छन्। वार्षिकपुस्तक १९९७ (अंग्रेजी) हेऱ्यो भने साहित्यहरूको उत्पादनले पुरानो सबै रेकर्ड तोडेको थाह लागिन्छ। हालसम्म नौ करोड भन्दा बढी नयाँ विश्व अनुवाद छापिसकिएका छन्। संयुक्त राष्ट्रमा छापिने प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू एक वर्ष भित्रमा ७.१ प्रतिशतले वृद्धि भयो। जर्मनीमा चाहिं ३५ प्रतिशतले वृद्धि भयो। यस मुलुकमा छापिने एक तिहाइभन्दा धेरै पत्रिकाहरू रूसी भाषाका छन्। भारतमा १९९७ सेवा वर्षको दौडान किताबहरूको वितरण १९९५ सेवा वर्षको भन्दा १२० प्रतिशत धेरै थियो!
३ यति धेरै साहित्य किन चाहियो? मानिसहरूलाई जहाँ जहाँ भेटिन्छ, त्यहीं साक्षी दिनू भनी हामीलाई जुन प्रोत्साहन दिइएको थियो, संसारको चारै कुनाबाट ठूलो समर्थन प्राप्त भइरहेको छ। सार्वजनिक स्थल, सडक, व्यापारिक इलाकाहरूहुँदो साक्षी दिने काममा झन् झन् धेरै जना लाग्न थालेकोले चासो हुने व्यक्तिहरूको हातमा थुप्रै साहित्यहरू परेका छन्। यी साहित्य पाउनेहरूमध्ये कतिपयले पहिले कहिल्यै परमेश्वरको राज्यसन्देश सुन्ने मौका पाएका थिएनन्। अतः यस्तो अवस्थालाई ध्यानमा राखी मण्डलीहरू सेवकाईका विभिन्न क्षेत्रमा प्रयोग गर्नका लागि थरीथरीका प्रकाशनहरू राख्छन्।
४ साहित्य बाँड्नुपछाडि हाम्रो लक्ष्य के छ? हाम्रो लक्ष्य साहित्यहरू बाँड्नु मात्र होइन। चेला बनाउने कामका दुइ पक्ष छन्—प्रचार गर्ने र सिकाउने। प्रथमतः हामीसित राज्यको सुसमाचार प्रचार गर्ने सुअवसर छ र यसै कामद्वारा हामी मानिसजातिको एक मात्र आशा परमेश्वरको राज्य हो भनी औंल्याउँछौं। (मत्ती १०:७; २४:१४) हाम्रा बाइबल आधारित साहित्य फलदायी सिद्ध भइसकेका छन्। अतः अरूलाई परमेश्वरको राज्यको ज्ञानमाथि चासो जगाउने र ज्ञान दिने प्रभावकारी माध्यम हाम्रा साहित्य हुन्।
५ दोस्रो, चेला बनाउने हो भने येशूले आज्ञा गर्नुभएझैं हामीले सबै कुरा सिकाउनैपर्छ। (मत्ती ११:१; २८:१९, २०) यहाँ पनि साहित्यले महत्त्वपूर्ण भूमिका खेल्छ। किनकि साहित्य मार्फत हामी विद्यार्थीहरूको हृदय सच्चाइले सिंच्नसक्छौं, चेला बन्न मदत गर्नसक्छौं।
६ साहित्य स्वीकार्ने व्यक्तिहरू ‘वचन सुन्ने,’ खालका होलान्। अतः तिनीहरूलाई कुनै मदत नदिई त्यतिकै छाड्ने हो भने साहित्य पढेर वचन पालन गर्ने खालका बन्लान् भनेर त्यति आशा गर्न सकिंदैन। (याकू. १:२२-२५) डोऱ्याइ नपाई चेला बन्नेहरू कमै होलान्। (प्रेरि. ८:३०, ३१) धर्मशास्त्रमा दिइएका सत्य कुराहरूमाथि विश्वस्त हुन तिनीहरूलाई शिक्षक चाहिन्छ। (प्रेरि. १७:२, ३) हाम्रो लक्ष्य तिनीहरूलाई समर्पण र बप्तिस्मासम्म पुऱ्याउनु अनि अरूलाई सिकाउनसक्ने हदसम्म प्रशिक्षण दिनु हो।—२ तिमो. २:२.
७ अझ धेरै शिक्षकहरूको आवश्यकता छ: प्रचार गरेर हामी खुलेआम सुसमाचार सुनाउँछौं। तथापि, सिकाउनु भनेपछि त्यसमा हामीले व्यक्तिविशेषलाई प्रगतिशील ढंगमा प्रशिक्षण दिनु पनि समावेश हुन्छ। प्रचारकार्यले गर्दा मानिसहरूले राज्य सन्देश थाह पाउँछन् भने सिकाउँदा चाहिं व्यक्तिविशेषले सुसमाचारलाई स्वीकार्ने र त्यसअनुसार चल्ने मदत पाउँछ। (लूका ८:१५) शिक्षकले घोषणा गर्ने मात्र गर्दैन। उसले व्याख्या गर्छ, राम्रा तथ्यहरू अघि सारेर तर्क गर्छ, प्रमाण दिन्छ, बुझाउँछ।
८ यथासम्भव हामी सबै जना प्रचारक मात्र नभई शिक्षक पनि हुनुपर्ने हो। (हिब्रू ५:१२क) साहित्य वितरण गर्नु हाम्रो कामको अभिन्न अंग हो। तर हाम्रो सेवकाईको दोस्रो उद्देश्य हासिल गर्ने हो भने अन्ततः हामीले शिक्षकको हैसियतमा जे गर्छौं, त्यो नै निर्णायक हुन्छ। साहित्य वितरण गर्न पाउँदा हामीलाई आनन्द लाग्ने भए तापनि साहित्य दिनुलाई नै आफ्नो एक मात्र लक्ष्य ठान्नुहुँदैन। (२ तिमो. ४:५) साहित्य वितरण गर्नु अरूलाई सत्य सिकाउने मौकाहरूको ढोका खोल्ने असरदायी साँचो हो।
९ बाइबल अध्ययन सुरु गर्न पुनःभेट गर्नुहोस्: हामीमध्ये धेरैले प्रशस्त किताब, पुस्तिका अनि पत्रिकाहरू वितरण गरेर पुनःभेट गरेका छौं। जिज्ञासुहरूको चासो जगाउन नियमित तवरमा भेट्न जाने तालिका बनाउनुपर्छ। पुनःभेट गर्नुको उद्देश्य अझ धेरै साहित्य वितरण गर्नु होइन तर तिनीहरूले पहिले लिइसकेका साहित्यहरू पढ्न र त्यसबाट लाभ उठाउन प्रोत्साहित गर्नु हो। बारम्बार भेटेर सही ज्ञान हासिल गर्ने मदत नदिएको भए हामी आफैले पनि के नै आध्यात्मिक प्रगति गर्नेथियौं होला र?—यूह. १७:३.
१० परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने किताबबाट बाइबल अध्ययन सुरु गर्ने उद्देश्य राखेर चासो देखाउने जति सबैलाई भेट्न जानुहोस्। यी दुइ प्रकाशनहरूले सजिलै बुझ्न सकिने ढंगमा राज्य सन्देशलाई प्रस्तुत गरेका छन्। चाहनुहुन्छ पुस्तिकामा बाइबलका आधारभूत शिक्षाहरूलाई विस्तृत तवरमा बुझाइएको छ भने ज्ञान किताबले चाहिं कम समयमा सच्चाइलाई अझ गहिराइबाट तर सरल अनि स्पष्ट ढंगमा सिकाउन मदत गर्छ।
११ जून १९९६ अंकको हाम्रो राज्य सेवकाई-मा विस्तृत वर्णनका साथ प्रस्तुत गरिएको सिकाउने सरल तरिकाले शिक्षकलाई, सिकाउन र विद्यार्थीलाई, सिक्न सजिलो बनाएको छ। अतः माथि उल्लिखित राज्य सेवकाई-को परिशिष्ट सधैं आफूसँगै राखे प्रभावकारी साबित भइसकेका शिक्षण विधि अनि टेकनिकहरू दोहोऱ्याएर हेर्न सकिन्छ। यसमा दिइएका केही सुझाउहरू विद्यार्थीमाथि गहिरो व्यक्तिगत चासो कसरी लिने, हरेक पल्ट अध्ययन गर्दा कति अंश सिध्याउने, विषयसित सम्बन्ध नराख्ने प्रश्नहरू उठ्दा के गर्ने, शिक्षक तथा विद्यार्थी दुवैले कसरी पहिल्यै तयारी गर्ने अनि विद्यार्थीहरूको ध्यान कसरी यहोवाको संगठनतर्फ खिच्ने, त्यससँग सम्बन्धित छन्। यी सुझाउहरू व्यवहारमा उतारेमा नयाँलगायत हामीमध्ये प्रायः सबैले प्रगतिशील अध्ययन सञ्चालन गर्न सक्नेछौं।
१२ राम्रा सफलता हासिल भएका रिपोर्टहरू: चेला बनाउने कामलाई अझ गति दिन चाहनुहुन्छ पुस्तिका र ज्ञान किताब मूल्यवान् हतियार साबित भएका छन्। चाहनुहुन्छ पुस्तिका पाएपछि बोलिभियाको भाइले तुरुन्तै एक जना लोग्नेमान्छेसित अध्ययन सुरु गरे। अध्ययन गरेको चार महिनापछि तिनका यी विद्यार्थी जिल्ला सम्मेलनमा उपस्थित भए र बप्तिस्मा लिने अरू थुप्रै आनन्दित उम्मेदवारहरूसँगै बप्तिस्मा लिए!
१३ ज्ञान किताब अध्ययन गरिसकेपछि थुप्रै मानिसहरू यहोवालाई आफ्नो जीवन समर्पित गर्न उत्प्रेरित भएका छन्। एंगोला भन्ने देशको एउटा मण्डलीमा ज्ञान किताब प्रयोगमा आउन थालेपछि प्रकाशकहरूको बाइबल अध्ययन १९० बाट बढेर २६० पुग्यो र सभाहरूमा मानिसहरूको उपस्थिति दुइ गुना बढेर १८० बाट ३६० भयो। फलतः धेरै समय बित्न नपाउँदै अर्को मण्डली खडा गर्नु आवश्यक पऱ्यो।
१४ ज्ञान किताबबाट पहिलो चोटी अध्ययन गराउन थालेपछि एक जना भाइले “अध्ययन सञ्चालकले प्रश्न सोध्ने, लागू हुने दुइ चारवटा शास्त्रपद पढ्ने र विद्यार्थीले बुझेको छ छैन पक्का गरेमा” सजिलो हुन्छ भने। अति दक्ष प्रकाशकहरूले मात्र प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न सक्छन् र आफू दक्ष नभएकोले कहिल्यै बाइबल अध्ययन सञ्चालन गर्न सक्दिनँ भन्ने तिनको विचार भए तापनि ज्ञान किताबबाट अध्ययन सञ्चालन गर्न थालेपछि तिनको विचार परिवर्तन भएको छ। तिनी भन्छन्: “मैले सकें भने, जसले पनि सक्छ।”
१५ हाम्रो सेवकाईको अंग सम्झी बाइबल अध्ययन सञ्चालन गरेर हामी चेला बनाउने हाम्रो उद्देश्य पूरा गर्छौं। सेवकाईको यो पक्षमा भाग लिन आफ्नो क्षमता बढाउने यत्न गर्नेहरूले ठूलो सन्तुष्टि अनि इनाम पाएका छन्। त्यसकारण, हामी पनि ‘बिना रोक-टोक निर्धक्कसँग परमेश्वरको राज्यको प्रचार गर्छौं र प्रभु येशू ख्रीष्टको विषयका कुराहरू सिकाउँछौं’ भन्न सकियोस्।—प्रेरि. २८:३१.