चेला बनाउने अबिलम्बी कार्यलाई प्रगतिको भाव लिएर हेर्ने
१ पृथ्वी छोड्नुअघि येशूले आफ्ना अनुयायीहरूलाई “गएर सबै देशका जातिहरूलाई चेला बनाओ” भनेर आज्ञा गर्नुभयो। यसको मतलब तिनीहरूले प्रचार गर्ने तथा सिकाउने अभियानलाई जोडतोडले बढाउनु र आफ्नो गतिविधि पृथ्वीभरि विस्तृत पार्नु आवश्यक थियो। (मत्ती २८:१९, २०; प्रेरि. १:८) के तिनीहरूले यसलाई पूरा गर्नै नसकिने गह्रौं बोझ सम्झे? प्रेरित यूहन्नाअनुसार सम्झेनन्। चेला बनाउने काममा ६५ वर्ष बिताइसकेपछि तिनले लेखे: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्।”—१ यूह. ५:३.
२ धर्मशास्त्रमा लिपिबद्ध प्रारम्भिक मसीहीहरूका गतिविधिले तिनीहरू येशू ख्रीष्टका चेला बनाउने आफ्नो कार्यभारमा बिलम्ब नगरी लागेका थिए भन्ने प्रमाण दिन्छ। (२ तिमो. ४:१, २) तिनीहरूले कर्तव्यबोधका कारण नभई परमेश्वरको प्रशंसा गर्ने र अरूलाई छुटकाराको आशा प्रदान गर्ने उत्कट इच्छाको कारण त्यसो गरेका थिए। (प्रेरि. १३:४७-४९) किनकि चेला हुनेहरू सबैले पछि चेला बनाउन थालेकाले प्रथम शताब्दीमा मसीही मण्डली धमाधम बढ्न थाल्यो।—प्रेरि. ५:१४; ६:७; १६:५.
३ चेला बनाउने कार्य द्रुत गतिले अघि बढ्छ: अहिलेसम्म धेरैभन्दा धेरै चेला बनाउने कार्य यो २० औं शताब्दीमै भइरहेको छ! हालसम्म लाखौं व्यक्तिहरूले सुसमाचार स्वीकारेर त्यसैबमोजिम काम गरिरहेका छन्। (लूका ८:१५) वर्तमान रीतिरिवाजको समय झन् झन् छोट्टिंदै गएको हुँदा इमानदार हृदय भएका मानिसहरूले छिटो छिटो सत्य सिक्नसकून् भनेर “विश्वासी र बुद्धिमान दास[ले]” हामीलाई विभिन्न साधनहरू उपलब्ध गराएको छ।—मत्ती २४:४५.
४ सन् १९९५ मा हामीले ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक र १९९६ मा परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका प्राप्त गऱ्यौं। ज्ञान पुस्तकको सम्बन्धमा जनवरी १५, १९९६ को प्रहरीधरहरा, पृष्ठ १४ मा यसो भनिएको थियो: “यस १९२ पृष्ठे पुस्तक तुलनात्मक हिसाबले छोटो समयमा अध्ययन गर्न सकिन्छ। ‘अनन्त जीवनका लागि नियुक्त भएकाहरू जत्तिले’ यो अध्ययन गरेर यथेष्ट कुराहरू सिक्न सक्नुपर्ने हो ताकि तिनीहरूले समर्पण गरेर बप्तिस्मा लिन सकोस्।”—प्रेरि. १३:४८.
५ जून १९९६, हाम्रो राज्य सेवकाई-को परिशिष्ट, “ज्ञान पुस्तक चलाएर कसरी चेला बनाउने”-ले हामीलाई यो लक्ष्य निर्धारण गर्न प्रोत्साहन दिएको थियो: “तपाईंले अध्ययन गर्दा हतार नगरी विद्यार्थीको परिस्थिति र योग्यताअनुसार लगभग एक घण्टाभित्र अध्ययन सिध्याउन सम्भव होला। विद्यार्थी र शिक्षक दुवैले लगातार साप्ताहिक अध्ययन गरिरहेमा विद्यार्थीले अझ राम्ररी उन्नति गर्नेछन्।” त्यस लेखले यसो पनि भनेको थियो: “कुनै व्यक्तिले ज्ञान पुस्तकको अध्ययन सिध्याऊञ्जेल तिनको निष्कपटता र परमेश्वरको सेवाप्रति गहिरो रुचि स्पष्ट भइसकेको हुनेछ भनेर प्रत्याशा गर्नुपर्छ।” त्यसैगरि, अक्टोबर १९९६ हाम्रो राज्य सेवकाई-को प्रश्नपेटीले यसो भनेको थियो: “तुलनात्मक रूपमा छोटो समयावधिभित्रै प्रभावकारी शिक्षकले एक जना सामान्य निष्कपट विद्यार्थीलाई यहोवाको सेवा गर्नेसम्बन्धी बुद्धिमत्तापूर्ण निर्णय गर्न यथेष्ट ज्ञान दिनेछन् भन्ने आशा राखिन्छ।”
६ ज्ञान पुस्तकले फल फलाउँछ: एउटी युवतीले बप्तिस्मा लिएको बेला ज्ञान पुस्तक अध्ययन गर्दा आफूलाई मनमा लागेको कुरा बताइन्। केही समयदेखि तिनले सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक अध्ययन गरेकी थिइन्। ज्ञान पुस्तक विमोचन भएपछि तिनीसित अध्ययन सञ्चालन गरिरहेकी बहिनीले नयाँ पुस्तकबाट अध्ययन गर्न थालिन्। त्यस विद्यार्थीले थुप्रै निर्णयहरू गर्नुपर्ने आवश्यकता चाँडै बुझिन् र त्यसको निम्ति द्रुत गतिले प्रगति गर्न उत्साहित भइन्। अहिले हाम्री बहिनी भइसकेकी त्यस युवती भन्छिन्: “सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकले मलाई यहोवालाई माया गर्न मदत गऱ्यो तर ज्ञान पुस्तकले यहोवाको सेवा गर्ने निर्णय गर्न मदत गऱ्यो।”
७ यस्तै अर्की महिलाले कति छिटो सत्य सिकिन् विचार गर्नुहोस्। दोस्रो पटकको अध्ययनपछि परिभ्रमण निरीक्षकको भ्रमणको बेला सभामा उपस्थित भइन्। त्यो हप्ता अर्थात् तेस्रो पटकको अध्ययनपछि तिनले आफ्नो जीवन यहोवालाई समर्पण गरिसकेकी र बप्तिस्मा अप्राप्त प्रकाशक हुन चाहेको त्यस भाइलाई बताइन्। तिनले प्राचीनहरूलाई भेटिन् र तिनीहरूले तिनलाई प्रकाशक हुन योग्यको ठहराए। अनि लगत्तै अर्को हप्ता तिनी क्षेत्र सेवकाईमा जान थालिन्। बाइबल अध्ययनमा तिनी यति तल्लीन भइन् कि हप्तामा दुई वा तीन पटक अध्ययन गर्न तिनले जागिर खाने ठाउँमा छुट्टी नै मिलाइन् र सेवकाईमा धेरै समय बिताइन्। कहिलेकाहीं, तिनीहरू एक पटकमा दुई वा तीनवटा अध्यायहरू ढाक्थे। तिनले जीवनको हरेक पक्षमा सिकेका कुराहरू प्रयोग गर्न थालिन्, चार हप्तामै ज्ञान पुस्तक सिध्याइन् र बप्तिस्मा लिन तयार भइन्!
८ एउटी बहिनीका श्रीमान् आफूलाई “मसीही विश्वासमा नलाग्नेहरूमध्ये पनि विशिष्ट पति” भन्थे। एक दिन एक भाइले तिनीसित एक पटक वा केही दिन अध्ययन गरेपछि छोडे पनि हुने शर्तमा ज्ञान पुस्तकबाट गृह बाइबल अध्ययन गर्ने प्रस्ताव राखे। विद्यालयमा छँदा त्यति राम्ररी नपढेको र विगत २० वर्षदेखि एउटै धार्मिक साहित्य नपढे तापनि तिनले एक चोटि भए पनि कोसिस गरेर हेर्ने विचार गरे। ज्ञान पुस्तक पढेर तिनले कस्तो प्रतिक्रिया व्यक्त गरे? तिनले भने: “यो बाइबल सहायक पुस्तक यति सरल शब्दमा लेखिएको पाउँदा मलाई असाध्यै रमाइलो लाग्यो। जानकारीहरू अति नै स्पष्ट तथा तर्कपूर्ण ढंगमा पेश गरिएको हुँदा अब अर्को पटक अध्ययन कहिले गर्ने होला भनेर मलाई उत्सुक लाग्न थाल्यो। सोसाइटीले चेला बनाउन दिएका तरिकाहरू मेरो शिक्षकले बडो कुशलतासाथ सिकाए। फलतः यहोवाको आत्माको मदत पाएर मैले चार महिनापछि बप्तिस्मा लिएँ। चेला बनाउने कामप्रति प्रेम जगायौं, क्षेत्र सेवकाईमा धार्मिक झुकाउ भएका मानिसहरूलाई निरन्तर खोज्यौं, ज्ञान पुस्तकलगायत सोसाइटीले उपलब्ध गराएका अन्य बाइबल सहायकहरू प्रयोग गऱ्यौं र सबैभन्दा महत्त्वपूर्ण, यहोवालाई निर्देशनको निम्ति प्रार्थना गऱ्यौं भने चेला बनाउने अति विशेष मौकाहरू हामीले पाउनेछौं भनी म दृढ भई भन्नसक्छु।” उपरोक्त अनुभवहरू वास्तवमा अपवाद हुन्। अधिकांश विद्यार्थीहरू यति छिटो सच्चाइमा आउँदैनन्।
९ विद्यार्थीहरू भिन्नाभिन्नै गतिले उन्नति गर्छन्: परमेश्वरको वचनका शिक्षक तथा विद्यार्थी दुवैको क्षमतामा अकास जमिनको फरक हुन्छ भनेर मान्नैपर्छ। आध्यात्मिकतामा हुर्कने क्रम ढिलो वा चाँडो जस्तो पनि हुनसक्छ। कुनै कुनै विद्यार्थीले केही महिनामै प्रगति गर्छन् भने अन्य कतिपयलाई चाहिं त्यति नै प्रगति गर्न निकै समय लाग्नसक्छ। व्यक्तिविशेषको आध्यात्मिक प्रगति उसको शैक्षिक योग्यता, आध्यात्मिक कुराहरूप्रतिको मूल्यांकनको हद र यहोवाप्रति भक्तिको गहिराइमा भर पर्छ। हामीले अध्ययन गर्ने सबै जना पुरातन बिरियाका विश्वासी जनहरूजस्तै “हृदयमा ज्यादै तयारी भएर” दिनहुँ धर्मशास्त्र अध्ययन गर्दैनन्।—प्रेरि. १७:११, १२.
१० त्यसैकारण, मे १९९८, हाम्रो राज्य सेवकाई-को परिशिष्ट, “अझ धेरै बाइबल अध्ययन चाहियो”-ले यस्तो व्यवहारिक निर्देशन दिन्छ: “हो, सबै बाइबल विद्यार्थीले एकै गतिमा प्रगति गर्दैनन्। कोही कोही अरू जति आध्यात्मिक झुकाउका हुँदैनन्। साथै सिकाइएको कुरा टपक्क टिपेर दिमागमा थपक्क राख्न नसक्ने हुन्छन्। कतिपयलाई चाहिं जहिलेतहिले असारको पन्ध्र परिरहेको हुन्छ र तिनीहरूले हरेक हप्ता सग्लो एक अध्याय अध्ययन गर्ने समय नपाउलान्। तसर्थ, कुनै कुनै स्थितिमा पूरै अध्याय सिध्याउन हप्ताको दुई तीन पटक र पूरै किताब सिध्याउन थप महिना अध्ययन गराउनुपर्ने हुनसक्छ।”
११ चेला बनाउनेहरू हो, सन्तुलित दृष्टिकोण राख्नुहोस्: विद्यार्थीको परिस्थिति र योग्यता हेरेर अध्ययनको रफ्तार निर्धारण गर्नु आवश्यक छ। चाहनुहुन्छ पुस्तिकाबाट पनि अध्ययन थाल्ने प्रोत्साहन दिइएको हुँदा यो पुस्तिका सिध्याएर ज्ञान पुस्तक थाल्न दुई/तीन महिना जति लाग्नसक्छ। जून १९९६, हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका सम्पूर्ण सुझाउहरू प्रयोग गऱ्यौं भने ज्ञान पुस्तक सिध्याउन अर्को छदेखि नौ महिना लाग्नसक्छ। ज्ञान पुस्तकबाट भर्खरै मात्र अध्ययन थाल्ने कसै कसैले विद्यार्थीलाई बाइबलका आधारभूत सत्य छिट्टै सिक्ने मदत दिन चाहनुहुन्छ पुस्तिका पढ्न थाले। अनि उक्त पुस्तिका पढिसकेपछि फेरि ज्ञान पुस्तकबाटै अध्ययन गरे। अध्ययन ज्ञान पुस्तकबाट थालिएको हो र प्रगति राम्रो हुँदैछ भने पुस्तक अध्ययन गर्न सिद्धिसकेपछि चाहनुहुन्छ पुस्तिका अध्ययन गर्नु फाइदाजनक साबित हुनसक्छ। किनकि यसरी परमेश्वरको वचनका आधारभूत सत्यहरूलाई सरसरती पुनरावलोकन गर्न सकिन्छ। तथापि, छिटो सिध्याउने धुनमा हामी विद्यार्थीलाई सही ज्ञान हासिल गर्नदेखि वञ्चित पार्न चाहँदैनौं। हरेक विद्यार्थीले परमेश्वरको वचनमा पाएको नयाँ विश्वासलाई बलियो बनाउनुपर्छ।
१२ समयको रफ्तारमा हामी कहाँ छौं, हामीलाई थाह छ। अतः अरूलाई सच्चाइ सिकाउन मदत गर्न पहिलेभन्दा झन् बिलम्ब नगरी लाग्नु परेको छ। नयाँ बाइबल अध्ययनहरू सुरु गर्न सकौं भनेर निरन्तर प्रार्थना गर्नुको अतिरिक्त हामीसित अध्ययन गरिरहेकाहरूको निम्ति पनि प्रार्थना गरौं। त्यसो गऱ्यौं भने रमाउँदै “जगत्को अन्तसम्म” धेरैभन्दा धेरैलाई बप्तिस्मा दिंदै चेला बनाउन सक्नेछौं।—मत्ती २८:२०.