नेतृत्व लिने निरीक्षकहरू—प्रहरीधरहरा अध्ययन सञ्चालक
१ प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ “विश्वासी र बुद्धिमान दास[ले]” हामीलाई “ठीक ठीक समयमा” आध्यात्मिक भोजन बाँड्ने प्रमुख प्रबन्ध हो। (मत्ती २४:४५) मसीही जीवनशैलीको राम्रो नमुना बसाल्ने दक्ष शिक्षक हुनु प्रहरीधरहरा अध्ययन सञ्चालन गर्ने प्राचीनको महत्त्वपूर्ण दायित्व हो।—रोमी १२:७; याकू. ३:१.
२ प्रभावकारी ढंगमा सिकाउन प्रहरीधरहरा अध्ययन सञ्चालकले हरेक हप्ता तयारी गर्न निकै मेहनत गर्नैपर्छ। तिनले प्रार्थनापूर्वक होसियारीसाथ त्यसो गर्छन्। मण्डलीप्रतिको तिनको गहिरो चासो, अध्ययन गरिरहेको विषयवस्तु हाम्रो हृदयसम्म पुऱ्याउन तिनले गरेको अथक प्रयासमा झल्कन्छ। तिनले पाठका मुख्य बुँदाहरूमा ध्यानकेन्द्रित गर्छन् र लेखको मूल विषयसित त्यसको सम्बन्ध बुझ्न हामीलाई मदत गर्छन्।
३ पूर्ण तयारी गर्नुमा शास्त्रपदहरू पहिल्यै हेरिराख्नु र तिनको प्रयोग जानिराख्नु बिथोलित छ। अध्ययन सञ्चालन भइरहँदा मण्डलीलाई बाइबल प्रशस्त मात्रामा प्रयोग गर्न प्रोत्साहन दिंदै तिनले परमेश्वरको वचनलाई महत्त्व दिन्छन्। भाइहरूले टिप्पणी गर्दा कुनै महत्त्वपूर्ण बुँदा छुटेको छ भने तिनले त्यसलाई स्पष्ट पार्न थप प्रश्नहरू सोध्छन्। मुख्य शास्त्रपदको प्रयोगबारे केही भनिएको छैन भने कसैको थप टिप्पणी छ कि भनेर सोध्छन्। यसप्रकार, तिनले हामीलाई सही निष्कर्षमा पुग्न र सिकेको कुरा जीवनमा प्रयोग गर्न मदत गर्छन्।
४ प्रहरीधरहरा अध्ययन सञ्चालकले आफ्नो शिक्षण कलालाई निरन्तर तिखार्ने कोसिस गर्छन्। तिनी आफै मात्र बोलेको बोलेकै गर्दैनन् बरु, हामीलाई आफ्नै भाषामा छोटोमीठो र सटीक जवाफ दिन उत्प्रेरित गर्छन्। अनुच्छेदमा सोधिएको प्रश्नको जवाफ दिने पहिलो व्यक्तिले छोटोमीठो र सटीक जवाफ दिनोस् भनेर तिनले हामीलाई यदाकदा भन्लान्। स्रोताहरूले शास्त्रपदको प्रयोग अनि विषयवस्तुको व्यवहारिक पक्षहरूबारे थप टिप्पणी गर्नसक्छन्। व्यक्तिगत तथा पारिवारिक तयारी गर्न प्रोत्साहित गर्दै प्रहरीधरहरा अध्ययन सञ्चालकले सबैलाई अध्ययनमा भाग लिन उत्प्रेरित गराउँछन्।
५ “परमप्रभुबाट सिकाइएका[हरू]” भएकाले हामी “शिक्षामा परिश्रम” गर्ने प्रहरीधरहरा अध्ययन सञ्चालकजस्ता “पुरुषहरूमध्ये वरदान[को]” (NW) मूल्यांकन गर्छौं।—यशै. ५४:१३; १ तिमो. ५:१७; एफि. ४:८, ११.