हिन्दू धर्मावलम्बीसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?
१ तपाईंहरूलाई थाहै भएको कुरा हो, हामीले क्षेत्र सेवकाईको दौडान यस देशमा भेट्ने थुप्रै मानिसहरू हिन्दू हुन्। तिनीहरूलाई भेट्नुहुँदा तपाईं कसरी कुरा गर्नुहुन्छ?
२ यी बुँदाहरू सम्झनुहोस्: सच्चाइलाई सरल अनि बुद्धिमानी ढंगमा प्रस्तुत गर्दा प्रायः सकारात्मक प्रतिक्रिया देखाइन्छ। सर्वप्रथम, घरको मूलीसित कुरा गर्न सकिन्छ कि भनेर अनुरोध गर्नुहोस्। यदि तिनको प्रतिक्रिया सकारात्मक भएमा परिवारका अन्य सदस्यहरूसित कुरा गर्न सजिलो हुनेछ। हिन्दू संस्कृतिले सबै जीवित प्राणीहरूलाई आदर गर्न सिकाउँछ, मानिसहरूप्रति चासो राख्छ। त्यसैले, सबै मानिसहरूले चासो राखेको विषयबारे कुरा गर्नुहोस्। यसले अर्थपूर्ण तथा पारस्परिक लाभ हुने वार्तालाप सुरु गर्न बाटो खोल्नसक्छ। हिन्दूधर्मले आध्यात्मिक कुरालाई प्रोत्साहित गर्छ। त्यसैले त हिन्दूहरू व्यक्तिगत तवरमा घनिष्ठ सम्बन्ध राख्नसकिने परमेश्वरको उपासना गर्ने रहर गर्छन्। तसर्थ, आफू पनि तिनीहरूसित सहमत भएको भान पार्ने बुँदाहरू प्रयोग गर्नुहोस् र बाइबल अनि हाम्रा साहित्यहरूले मानिसहरूलाई आफ्नो सृष्टिकर्तासित मित्रता बढाउन मदत गर्छ भनी देखाउनुहोस्। प्रायः सबै हिन्दूहरू नम्र अनि मित्रैला छन्। त्यसको मतलब हामी पनि तिनीहरूजस्तै हुनुपर्छ र वादविवाददेखि होसियार हुनुपर्छ। हिन्दू धर्मको गहन अध्ययन हुनु आवश्यक नभए तापनि तिनीहरूको विश्वासबारे केही जानकारी हुनु मदतकारी हुनसक्छ।
३ सही औजार प्रयोग गर्नुहोस्: हिन्दूहरूलाई ध्यानमा राख्दै थरी थरीका पत्रिकाहरू छापिएका छन्। हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? अङ्ग्रेजीबाहेक १३ वटा भारतीय भाषाहरूमा प्रकाशित छन्। “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” अनि के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाहरू पनि हिन्दू पृष्ठभूमि भएकाहरूलाई साक्षी दिन प्रभावशाली साबित भएका छन्। कुरुक्षेत्रदेखि आरमागेडोनसम्म—अनि तपाईंको बचावट नामक सानो पुस्तिका बंगाली, अङ्ग्रेजी, गुजराती, कन्नडा, मल्यालम अनि पंजाबीमा उपलब्ध छ। मृत्यु माथि विजय–के यो तपाईंको लागि सम्भव छ? सानो पुस्तिका अङ्ग्रेजी, गुजराती, नेपाली र पंजाबी अनि स्वतन्त्रता तर्फ लैजाने ईश्वरीय सत्य-चाहिं अङ्ग्रेजी, मल्यालम, मीजो, तेलेगु अनि उर्दू भाषाहरूमा उपलब्ध छन्। बाइबल अध्ययन सफलतासाथ सञ्चालन गर्न चाहनुहुन्छ पुस्तिका अनि ज्ञान पुस्तक चलाउनसकिन्छ।
४ दुवैले चासो दिने विषयमा कुरा थाल्नुहोस्: हिन्दूहरूले चासो दिने विषयहरू भेट्टाउन गाह्रो छैन। हाम्रो समयमा दुष्टता चरम सीमामा पुगेको छ अनि परमेश्वरले ठूलो प्रलयद्वारा यसलाई संसारबाट हटाउनुहुनेछ र सत्ययुग आउनेछ भन्ने कुरामा तिनीहरू विश्वास गर्छन्। यी विश्वासहरूलाई बाइबलका अन्तिम दिनहरू, महा संकष्ट अनि आउँदै गरेको नयाँ संसारको शिक्षासित एकदम सजिलैसित जोड्नसकिन्छ। हिन्दूहरूले जीवनलाई समाधान हुन नसक्ने एकपछि अर्को समस्याहरूको शृङ्खला भन्ठाने तापनि पारिवारिक जीवन, हिंसा अनि सुरक्षा र मरेपछि के हुन्छ भन्ने विषयहरूमा तिनीहरू चासो राख्छन्। यहाँ दुइटा प्रस्तुतिहरू नमुनाको रूपमा दिइएका छन्। यसलाई तपाईंले प्रयोग गरेर हेर्न सक्नुहुन्छ।
५ परिवार भएको मानिसलाई यसो भन्दा चासो जाग्नसक्छ:
▪ “म संसारका थुप्रै देशहरूको वर्तमान पारिवारिक अवस्था देखेर चिन्तित मानिसहरूलाई भेट्दैछु। तपाईंको विचारमा परिवारहरूलाई कुन कुराले टुक्रिनदेखि जोगाउनसक्छ होला? [जवाफ दिने मौका दिनुहोस्।] केही मानिसहरूलाई परिवारको बारेमा हिन्दू धर्मशास्त्रको भनाइ थाह छ तर त्यस विषयमा बाइबलले के भन्छ भनी तुलना गर्ने मौका नै पाएका छैनन्। यस सन्दर्भमा बाइबलले कलस्सी ३:१२-१४ सम्ममा के भनेको छ म तपाईंलाई बताउन चाहन्छु।” शास्त्रपद पढिसकेपछि घरधनीलाई ज्ञान पुस्तकको अध्याय १५ देखाएर यसो भन्नुहोस्: “यो अध्याय तपाईंसित बसेर केहीबेर पढ्नपाए हुन्थ्यो।”
६ जवान मानिसलाई यसो भन्दा राम्रो प्रतिक्रिया देखाउलान्:
▪ “तपाईं पक्कै पनि परमेश्वरमाथि विश्वास गर्नुहुन्छ होला। हाम्रोलागि परमेश्वरको उद्देश्य के होला जस्तो तपाईंलाई लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। त्यसपछि उत्पत्ति १:२८ पढेर यसो भन्नुहोस्: “पृथ्वीको धेरै भागमा जनसंख्या बढेर समस्याहरूले महामारीको रूप लिइरहेका छन्। सृष्टिकर्ता हाम्रो समस्याहरू हटाउन इच्छुक हुनुहुन्छ जस्तो तपाईंलाई लाग्छ?” प्रतिक्रिया सुनिसकेपछि उपयुक्त प्रकाशन देखाउनुहोस्।
७ सकारात्मक परिणामको आनन्द उठाउनुहोस्: एक जना बहिनी बजारमा साक्षी दिइरहेको बेला २२ वर्षीय हिन्दू युवक तिनीकहाँ आएर बाइबल अध्ययन गराइदिन अनुरोध गरे। आफूले आठ वर्ष अगाडि आफ्नी आमासित त्यस बहिनीले बाइबलसम्बन्धी छलफल गरेको सुनेको कुरा उक्त युवकले बहिनीलाई बताए। तिनले, मानिसजातिका समस्याहरूबारे बाइबलले दिएको व्यावहारिक समाधानहरूबाट आफू प्रभावित भएको भए तापनि आफ्नी आमाले चासो नदेखाएको र सच्चाइलाई अपनाउन आफू सानै भएको महसुस गरे। तर अब वयस्क भइसकेकाले तिनी अझ धेरै कुरा सिक्न चाहन्थे। त्यस जवान मानिसले चाँडचाँडो उन्नति गरे। जम्मा २३ दिनमा तिनले ज्ञान पुस्तकको अध्ययन सिध्याए अनि त्यस बहिनीलाई बजारमा भेटेको चार महिना भित्रै तिनले बप्तिस्मा लिने इच्छा जाहेर गरे!
८ एक जना भाइले रेलमा भेटेको हिन्दू मानिससित अध्ययन थाले। उक्त मानिसले वैवाहिक समस्याहरूको सामना गरिरहेका थिए। तिनी पियक्कड पनि थिए। उक्त साक्षीले त्यस मानिसकहाँ फेरि आएर पारिवारिक जीवनबारे बाइबलले दिने सल्लाहहरू बताउने प्रस्ताव राखे र तिनले स्वीकारे। बाइबलका नैतिक शिक्षाहरू तिनलाई मन पऱ्यो अनि तिनी बाइबल अध्ययन गर्न राजी भए। तिनी र तिनका परिवार सँगै सभाहरू धाउन थाले। पछि तिनीहरूले आफ्ना साथी तथा नातेदारहरूसित सच्चाइ बाँड्न थाले। यहाँसम्म कि तिनीहरूमध्ये छ जनाले सच्चाइ स्वीकारे!
९ “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा” परमेश्वरको छ। (१ तिमो. २:४) यसमा हिन्दू जस्ता गैर-मसीही धर्ममान्ने पुरुष तथा स्त्रीहरू पनि समावेश छन्। तपाईंले प्रचार गर्ने क्षेत्रमा हिन्दूहरूलाई भेट्दा यस लेखमा सुझावित केही प्रस्तुतिहरू चलाउनु हुने होइन त?