महान् शिक्षकको अनुकरण गर्दै बाइबलले सिकाउँछ पुस्तक चलाएर अध्ययन गराउनुहोस्
१. येशू कसरी सिकाउनुहुन्थ्यो?
१ महान् शिक्षक येशू सधैं सरल अनि स्पष्ट तरिकामा सिकाउनुहुन्थ्यो। उहाँ अक्सर सुरुमा नै स्रोतालाई सोच्न बाध्य पार्ने प्रश्नहरू सोध्नुहुन्थ्यो। (मत्ती १७:२४-२७) उहाँ परमेश्वरको वचनतिर तिनीहरूको ध्यान खिच्नुहुन्थ्यो। (मत्ती २६:३१; मर्कू. ७:६) चेलाहरूले सिक्नुपर्ने कुरा अझै बाँकी भएकोले चेलाहरूलाई चाहिनेभन्दा बढी जानकारी दिएर अलमल्लमा नपार्न उहाँ सधैं होसियार हुनुहुन्थ्यो। (यूह. १६:१२) सिकाएको कुरामा चेलाहरूको विश्वास छ कि छैन अनि तिनीहरूले बुझे कि बुझेनन्, येशू त्यो पनि जान्न चाहनुहुन्थ्यो। (मत्ती १३:५१) हामीले पनि येशूले सिकाउनुभएको जस्तै तरिकामा सिकाउन सकोस् भनेर नै बाइबलले सिकाउँछ पुस्तक तयार पारिएको हो।
२. प्रत्येक अध्यायको सुरुमा सोधिएका प्रश्नहरूलाई हामी कुन-कुन तरिकामा सोध्न सक्छौं?
२ सुरुमा सोधिएका प्रश्नहरू: अध्ययन सुरु गर्दा शीर्षकमुनि सोधिएका प्रश्नहरूतिर विद्यार्थीको ध्यान खिच्नु प्रभावकारी हुन्छ। ती प्रश्नहरू विद्यार्थीको चासो जगाउने गरी सोध्नुहोस्। अथवा ती प्रश्नहरू कस्तो लाग्छ, छोटकरीमा बताउन लगाउनुहोस्। विद्यार्थीले दिएको जवाफमा लामो छलफल गर्नु अथवा तिनले दिएको प्रत्येक गलत जवाफलाई सुधारिहाल्नु आवश्यक छैन। विद्यार्थीको विचार बुझ्न पाएकोमा तिनलाई धन्यवाद दिंदै छलफल अघि बढाउन सक्नुहुन्छ। सुरुमा सोधिएका प्रश्नहरूबारे विद्यार्थीले दिएको टिप्पणीले छलफल गरिने पाठको कुनचाहिं बुँदालाई विशेष ध्यान दिएर बुझाउनुपर्ने रहेछ, त्यो थाह पाउने मदत तपाईं पाउन सक्नुहुन्छ।
३. अध्ययनलाई कसरी सरल बनाउन सक्छौं?
३ शास्त्रपदहरू: अध्ययन बाइबलमा आधारित हुनुपर्छ। (हिब्रू ४:१२) तर त्यसो भन्दैमा उद्धरण गरिएको हरेक शास्त्रपद पढ्नै पर्छ भन्ने छैन। कुनै खास कुरा हामी किन विश्वास गर्छौं, त्यो बुझाउने शास्त्रीय आधारहरूमा विशेष जोड दिनुहोस्। थप जानकारी दिने बाइबल पदहरू पढिरहनु आवश्यक छैन। बाइबलले सिकाउँछ पुस्तकमा बाइबल सत्य सजिलो तरिकामा प्रस्तुत गरिएको छ। त्यसैले अध्ययन पनि सजिलो बनाउनुहोस्। मुख्य बुँदाहरूमा ध्यान केन्द्रित गर्नुहोस्। अध्ययन गर्दा थप जानकारी दिने अथवा विषयसित सम्बन्ध नभएका अनावश्यक कुरा छलफल गर्ने सकसकी हामीलाई लाग्न सक्छ। यस्तो झुकाव त्याग्नुहोस्।
४. अध्ययन गर्दै जाँदा परिशिष्टमा दिइएको जानकारी छलफल गर्ने अथवा नगर्ने के-कस्ता कुराले निर्धारण गर्छ?
४ परिशिष्ट: परिशिष्टमा मुख्य विषयमाथि थप प्रकाश पार्ने १४ वटा विषयहरू छन्। अध्ययन गर्दा यी विषयमा पनि छलफल गर्नै पर्छ भन्ने छैन। विद्यार्थीले छलफल गरिएको अध्याय बुझेका छन् र त्यो जानकारी स्वीकारेका छन् भने परिशिष्टमा दिइएका केही थप जानकारी विद्यार्थीलाई नै पढ्न प्रोत्साहन दिन सक्नुहुन्छ। जस्तै: येशू नै मसीह हुनुहुन्छ भन्ने विश्वास विद्यार्थीलाई छ भने, अध्याय ४ मा “येशू ख्रीष्ट को हुनुहुन्छ?” भन्ने विषय छलफल गर्दा परिशिष्टको “येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह” भन्ने विषय छलफल गर्नु आवश्यक नहुन सक्छ। तर कहिलेकाहीं अध्ययन गर्दै जाँदा परिशिष्टमा दिइएको थप जानकारी पूरै अथवा केही अंश छलफल गर्नु फाइदाजनक हुन सक्छ।
५. परिशिष्टमा दिइएको जानकारी छलफल गर्ने निधो गर्नुभएको छ भने के-के गर्न सकिन्छ?
५ परिशिष्टमा दिइएको जानकारी छलफल गर्ने निधो गर्नुभएको छ भने, मुख्य पाठ पहिल्यै पढेर तयार गरेझैं परिशिष्टको पनि तयारी गर्नुपर्छ र आफैले प्रश्नहरू बनाउनुपर्छ। अथवा विद्यार्थीको आवश्यकताअनुसार मुख्य पाठ छलफल गर्दागर्दै एकछिन परिशिष्टमा दिइएको जानकारी सरसर्ती छलफल गर्न पनि सक्नुहुन्छ। यसो गर्दा विद्यार्थीले आफै पढेको जानकारी बुझेका रहेछन् की रहेनछन्, पक्का गर्न सक्नुहुन्छ।
६. अध्ययनको अन्तमा पुनरावलोकन पेटी कसरी छलफल गर्न सकिन्छ?
६ पुनरावलोकन पेटी: पाठको सुरुमा सोधिएका प्रश्नहरूको जवाफ प्रत्येक अध्यायको अन्तमा भएको पेटीमा प्रायजसो दिइएको हुन्छ। मुख्य बुँदा पुनरावलोकन गर्न तपाईं यी जवाफहरू प्रयोग गर्न सक्नुहुन्छ। केही प्रकाशकहरूले पुनरावलोकन पेटीका प्रत्येक वाक्य अनि सँगै दिइएका शास्त्रपदहरू विद्यार्थीसँगै पढ्नु मदतकारी पाएका छन्। त्यसपछि पेटीमा दिइएको जवाफलाई सँगैको बाइबल पदले कसरी पुष्टि गर्छ, विद्यार्थीलाई व्याख्या गर्न लगाउँछन्। यसो गर्दा विद्यार्थीले पाठको मुख्य बुँदा स्पष्टसित बुझेका छन् कि छैनन्, ती बुँदाहरूलाई बाइबलले कसरी समर्थन गर्छ थाह पाएका हुन् कि होइनन् अनि विद्यार्थी ती बुँदासित सहमत छन् कि छैनन्, अध्ययन सञ्चालकले थाह पाउन सक्छन्। यसो गर्दा अरूलाई बाइबल सत्यबारे बताउँदा बाइबल प्रयोग गर्ने तरिका पनि विद्यार्थीले सिक्छन्।
७. हामीले पाएको जिम्मेवारी पूरा गर्न बाइबलले सिकाउँछ पुस्तक कसरी प्रयोग गर्न सक्छौं?
७ मानिसहरूलाई बाइबल सत्य सिकाउने र चेला बनाउने जिम्मा पूरा गर्ने सबैभन्दा प्रभावकारी तरिका येशूको अनुकरण गर्दै सिकाउनु हो। (मत्ती २८:१९, २०) त्यसो गर्ने मदत हामी बाइबलले सिकाउँछ पुस्तकबाट पाउँछौं। अरूलाई बाइबल सत्य स्पष्ट, सरल अनि रोचक तरिकामा सिकाउन यस पुस्तकको पूरापूर सदुपयोग गर्नुहोस्।