प्रचार गर्न नयाँ प्रकाशकहरूलाई कसरी प्रशिक्षण दिने?
१. प्रचारकार्यमा पहिलो पटक भाग लिंदा तपाईंलाई कस्तो लागेको थियो?
१ के तपाईंलाई पहिलो पटक घर-घरको प्रचारमा भाग लिएको समय याद छ? सायद तपाईं असाध्यै अत्तालिनुभएको थियो। यदि तपाईं आफ्नो बाइबल अध्ययन सञ्चालक वा अर्को प्रकाशकसँगै हुनुहुन्थ्यो भने तिनको साथ पाएकोमा तपाईं पक्कै पनि खुसी हुनुहुन्थ्यो। अहिले तपाईंले सेवकको रूपमा अनुभव बटुलिसक्नुभयो, त्यसैले प्रचार गर्न नयाँ प्रकाशकहरूलाई प्रशिक्षण दिने अवस्थामा हुनुहुन्छ।
२. नयाँ प्रकाशकहरूले के सिक्नुपर्छ?
२ घरधनीहरूसित कसरी वार्तालाप सुरु गर्ने, ढोकामा कसरी बाइबल प्रयोग गर्ने, पुनःभेट कसरी गर्ने र बाइबल अध्ययन सुरु तथा सञ्चालन कसरी गर्ने नयाँ व्यक्तिहरूले सिक्नुपर्छ। सडक साक्षी र व्यापारिक इलाकाका मानिसहरूलाई साक्षी दिनेजस्ता प्रचारकार्यका विभिन्न पक्षहरूमा कसरी भाग लिने, त्यो पनि तिनीहरूले सिक्नुपर्छ। तिनीहरूले घरधनीहरूको धार्मिक संवेदनशीलतालाई आदर गर्न र अरूलाई सुसमाचार सुनाउँदा समझदार र होसियार हुन सिक्नुपर्छ। (कल. ४:६) तपाईंले आफ्नो उदाहरण र सुझावद्वारा तिनीहरूलाई यी क्षेत्रमा उन्नति गर्न मदत दिन सक्नुहुन्छ।
३. आफूले उदाहरण बसालेर हामी अरूलाई कसरी मदत दिन सक्छौं?
३ उदाहरण बसालेर सिकाउनुहोस्: कसरी प्रचार गर्नुपर्छ, येशूले आफ्ना चेलाहरूलाई देखाउनुभयो। (लूका ८:१; १ पत्रु. २:२१) नयाँ प्रकाशकसँगै काम गर्ने प्रबन्ध मिलाउँदा उक्त प्रकाशकले अनुकरण गर्न सक्ने सरल प्रस्तुति तयार पार्नुहोस्। सायद हाम्रा कुनै प्रकाशनमा पाइने नमुना प्रस्तुति प्रयोग गर्न सक्नुहुन्छ। त्यसपछि, ती प्रकाशकले तपाईंको प्रचार गर्ने तरिका देखून् भन्नका लागि सुरुका एउटा वा दुइटा घरमा आफूले कुराकानी गर्छु भनी भन्नुहोस्। तपाईंको प्रस्तुति कत्तिको प्रभावकारी थियो, त्यसबारे ती प्रकाशकले गरेको अवलोकन एउटा घरबाट अर्कोमा जाँदा सोध्न सक्नुहुन्छ। यसले तिनलाई प्रचारकार्यमा अरूसँगै काम गर्नुको महत्त्व बुझ्न मदत दिनेछ र तिनको प्रस्तुतिपछि तपाईंले तिनलाई कुनै सुझाव दिंदा त्यो स्वीकार्न सजिलो बनाउनेछ।
४. नयाँ प्रकाशकको प्रस्तुति सुनेपछि हामी तिनलाई कसरी मदत गर्न सक्छौं?
४ सुझाव दिनुहोस्: कसरी प्रचार गर्नुपर्छ भनेर येशूले आफ्ना चेलाहरूलाई निर्देशन पनि दिनुभयो। (मत्ती १०:५-१४) नयाँ प्रकाशकलाई तपाईं पनि यस्तै तरिकामा मदत गर्न सक्नुहुन्छ। तिनको बोल्ने पालोमा ध्यान दिएर सुन्नुहोस्। अनि तिनले केही पक्षमा सुधार गर्नु आवश्यक छ जस्तो देख्नुभए तापनि घरबाट निस्केपछि तोकेरै निष्कपट प्रशंसा गर्नुहोस्। सुझाव दिनुअघि, त्यस पक्षमा तिनले अर्को घरमा केही सुधार ल्याए कि हेर्ने छनौट गर्न सक्नुहुन्छ। तिनी अत्तालिएका मात्र हुन सक्छन्। यो कुरा पनि मनमा राख्नुहोस्, सबै प्रकाशकको क्षमता उस्तै हुँदैन अनि कुनै कुरा गर्ने सही तरिका अक्सर एउटाभन्दा धेरै हुन्छ।—१ कोरि. १२:४-७.
५. सुझाव दिन अग्रसर हुँदा हामी के भन्न सक्छौं?
५ कहिलेकाहीं नयाँ प्रकाशकले तपाईंसित सुझाव माग्नेछन्। तर तिनले मागेनन् भने पनि तिनलाई मदत गर्न आफै अग्रसर हुनुहोस्। यो कसरी कौशलतापूर्वक गर्न सकिन्छ? केही अनुभवी प्रकाशकहरू यसरी सोध्ने गर्छन्, “म तपाईंलाई एउटा सुझाव दिऊँ?” वा “तपाईंको विचारमा अघिको प्रस्तुति कस्तो भयो होला?” यसो पनि भन्न सक्छौं, “म नयाँ प्रकाशक हुँदा मलाई . . . चुनौतीपूर्ण लाग्थ्यो तर . . . गर्दा मलाई सजिलो भयो।” कहिलेकाहीं सँगै बसेर हाम्रो राज्य सेवकाई-का सम्बन्धित लेखहरू छलफल गर्नु पनि लाभदायी हुन्छ। तिनको प्रस्तुतिको एउटा पक्षमा मात्र सुझाव दिनुहोस् र तिनलाई निराश नपार्नुहोस्।
६. प्रचारकार्यको सन्दर्भमा कसरी ‘फलामले फलामलाई उध्याउँछ’?
६ फलामले फलामलाई उध्याउँछ: जोसिला प्रचारक तिमोथीलाई पावलले शिक्षा दिने काममा लागिरहन र प्रगति प्रकट गरिरहन प्रोत्साहन दिए। (१ तिमो. ४:१३, १५) प्रचारकार्यमा पहिलो पटक भाग लिएको वर्षौं भइसके तापनि तपाईंले आफ्नो सीप तिखार्ने कोसिस गर्न कहिल्यै छोड्नुहुँदैन। प्रचारकार्यको थोरै अनुभव भएकाहरू नै किन नहोऊन्, आफूसितै गएका प्रकाशकहरूबाट सिक्नुहोस्। अनि अरूलाई, विशेषगरि नयाँ प्रकाशकहरूलाई सुसमाचारको सिपालु सेवक बन्नको लागि दयालुपूर्वक मदत गर्न सजग हुनुहोस्।—हितो. २७:१७.