प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 फेब्रुअरी pp. १-३२
  • शान्तिको पछि लागौँ, ईर्ष्याको होइन!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शान्तिको पछि लागौँ, ईर्ष्याको होइन!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईर्ष्या पैदा हुनुका कारण के-के हुन्‌?
  • नम्रता र सन्तुष्ट मनोभाव खेती गर्नुहोस्‌
  • “शान्ति कायम हुने . . . कुराहरूको पछि लागौँ”
  • हाम्रो दिमागलाई विषाक्‍त बनाउन सक्ने अवगुण ईर्ष्या
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के तपाईं अरूसित आफ्नो तुलना गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • ईर्ष्यालु मानिस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ, शान्ति कायम गरौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 फेब्रुअरी pp. १-३२

अध्ययन लेख ८

शान्तिको पछि लागौँ, ईर्ष्याको होइन!

“हामी आपसमा शान्ति कायम हुने अनि एकअर्काको उत्थान हुने कुराहरूको पछि लागौँ।”—रोमी १४:१९.

गीत ११३ शान्ति—हाम्रो सम्पत्ति

परिचयa

१. ईर्ष्याले गर्दा युसुफको परिवारमा के भयो?

याकुब आफ्ना सबै छोरालाई माया गर्थे तर १७ वर्षका युसुफलाई भने धेरै माया गर्थे। यसले गर्दा युसुफका दाइहरूले कस्तो प्रतिक्रिया देखाए? उनीहरूले युसुफको ईर्ष्या गरे र तिनलाई घृणा गर्न थाले। आफ्ना दाइहरूको घृणाको पात्र हुनुपर्ने कुनै पनि काम युसुफले गरेका थिएनन्‌। तैपनि तिनका दाइहरूले तिनलाई दासको रूपमा बेचिदिए र युसुफलाई जङ्‌गली जनावरले माऱ्‍यो भनेर बुबालाई झूटो कुरा बताए। ईर्ष्याले गर्दा उनीहरूको परिवारको शान्ति खलबलियो र उनीहरूको बुबाको मुटु छियाछिया भयो।—उत्प. ३७:३, ४, २७-३४.

२. गलाती ५:१९-२१ अनुसार ईर्ष्या किन हानिकारक छ?

२ बाइबलमा ईर्ष्यालाईb मृत्युतर्फ धकेल्ने “शरीरका कामहरू”-को सूचीमा राखिएको छ, जसले मानिसलाई परमेश्‍वरको राज्यको हकदार हुन अयोग्य बनाउँछ। (गलाती ५:१९-२१ पढ्‌नुहोस्‌) दुस्मनी, कलह र रिसजस्ता विषालु फलहरूको जड प्रायजसो ईर्ष्या नै हो।

३. यस लेखमा के छलफल गर्नेछौँ?

३ ईर्ष्याले परिवारका सदस्यहरूबीचको राम्रो सम्बन्ध बिगार्छ र शान्तिमय वातावरण खलबल्याउँछ भनेर युसुफका दाइहरूको उदाहरणले देखाउँछ। हामी युसुफका दाइहरूले गरेजस्तो काम त कहिल्यै गर्दैनौँ होला तर हाम्रो हृदय त्रुटिपूर्ण र छली छ भनेर बिर्सनु हुँदैन। (यर्मि. १७:९) त्यसैले कहिलेकाहीँ हामी अरूको ईर्ष्या गर्न पुग्न सक्छौँ। हाम्रो हृदयमा ईर्ष्याले जरा गाड्‌न सक्ने कारणहरू पत्ता लगाउन बाइबलमा दिइएका केही चेतावनीमूलक उदाहरण विचार गरौँ। त्यसपछि हामी ईर्ष्याविरुद्ध लड्‌न र शान्ति कायम गर्न मदत गर्ने केही व्यावहारिक तरिका छलफल गर्नेछौँ।

ईर्ष्या पैदा हुनुका कारण के-के हुन्‌?

४. पलिस्तियालीहरूले किन इसहाकको ईर्ष्या गरे?

४ भौतिक सम्पन्‍नता। इसहाक धनी थिए। त्यसैले पलिस्तियालीहरूले तिनको सम्पत्तिको ईर्ष्या गरे। (उत्प. २६:१२-१४) इसहाकले आफ्ना गाईवस्तुलाई पानी खुवाउन प्रयोग गरिरहेको इनारसमेत तिनीहरूले पुरिदिए। (उत्प. २६:१५, १६, २७) पलिस्तियालीहरूले जस्तै आज पनि कसै-कसैले आफूसित भन्दा धेरै सम्पत्ति भएकाहरूको ईर्ष्या गर्छन्‌। तिनीहरू अरूसँग भएको कुरा पाउन खोज्ने मात्र नभई उनीहरूले पनि ती कुराहरू नपाओस्‌ भन्‍ने चाहन्छन्‌।

५. धर्मगुरुहरूले किन येसुको ईर्ष्या गरे?

५ मानिसहरूले अरूलाई मन पराउँदा। धेरै मानिसहरूले येसुलाई मन पराएकोले यहुदी धर्मगुरुहरूले उहाँको ईर्ष्या गरे। (मत्ति ७:२८, २९) येसु परमेश्‍वरको प्रतिनिधि हुनुहुन्थ्यो अनि उहाँ सत्य सिकाउनुहुन्थ्यो। तैपनि ती धर्मगुरुहरूले येसुको बदनाम गर्न उहाँबारे झूट फैलाए र उहाँको निन्दा गरे। (मर्कु. १५:१०; युह. ११:४७, ४८; १२:१२, १३, १९) यस विवरणबाट हामी कस्तो चेतावनी पाउन सक्छौँ? मण्डलीमा कोही-कोही भाइबहिनी उनीहरूको असल गुणहरूले गर्दा सबैको प्यारो हुन्छन्‌। यस्तो अवस्थामा हामीले उनीहरूको ईर्ष्या गर्नु हुँदैन, बरु उनीहरूका असल गुणहरूको अनुकरण गर्ने प्रयास गर्नुपर्छ।—१ कोरि. ११:१; ३ युह. ११.

६. डियोत्रिफसले कसरी ईर्ष्यालु भएको देखाए?

६ अरूले मण्डलीमा सुअवसरहरू पाउँदा। प्रथम शताब्दीमा डियोत्रिफसले मण्डलीमा नेतृत्व लिइरहेकाहरूको ईर्ष्या गरे। तिनले मण्डलीका अरू सदस्यहरूमाझ “पहिलो स्थान” ओगट्‌न चाहेकोले प्रेषित युहन्‍ना अनि अरू जिम्मेवार भाइहरूबारे दुष्ट कुरा फैलाउँदै हिँडे। (३ युह. ९, १०) हुनत हामी डियोत्रिफसले जस्तो त नगरौँला तैपनि आफूले चाहेको जिम्मेवारी अरू ख्रिष्टियनले पाउँदा हामी तिनीप्रति ईर्ष्यालु हुन सक्छौँ। विशेषगरि ती ख्रिष्टियनजत्तिकै आफू पनि त्यो जिम्मेवारी सम्हाल्न योग्य भएको महसुस हुँदा त्यस्तो भावना आउन सक्छ।

चित्रहरूको सँगालो: १. असल जमिनमा जरा गाडेर सप्रिरहेको फूल। २. त्यही फूललाई झारहरूले निसासिदिन्छ। ३. तीन जना बहिनी राज्यभवनमा हाँसीखुसी कुरा गरिरहेका छन्‌ तर एउटी बहिनी एक्लै उभिरहेकी छिन्‌ र रिसाएजस्तो देखिन्छिन्‌।

हाम्रो मन जमिनजस्तै र हाम्रा असल गुणहरू सुन्दर फूलहरूजस्तै हो। तर ईर्ष्या विषालु झारजस्तै हो। ईर्ष्याले प्रेम, करुणा र दयाजस्ता असल गुणहरूलाई निसासिदिन सक्छ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. ईर्ष्याले हामीमा कस्तो असर गर्न सक्छ?

७ ईर्ष्या विषालु झारजस्तै हो। यसको बिउले हाम्रो मनमा जरा गाड्‌न थालेपछि त्यसलाई हटाउन गाह्रो हुन सक्छ। डाह, महत्त्वाकाङ्‌क्षा र स्वार्थजस्ता नकारात्मक भावनाहरूले ईर्ष्यालाई मलजल गर्न सक्छ। यसले प्रेम, करुणा र दयाजस्ता असल गुणहरूलाई निसासिदिन सक्छ। ईर्ष्या पलाउन थालेको याद गर्नेबित्तिकै हामीले त्यसलाई आफ्नो मनबाट जरैसमेत उखेल्नुपर्छ। हामी कसरी ईर्ष्यालाई पलाउनदेखि रोक्न सक्छौँ?

नम्रता र सन्तुष्ट मनोभाव खेती गर्नुहोस्‌

चित्रहरूको सँगालो: १. असल जमिनमा जरा गाडेर सप्रिरहेको फूल। २. कसैले त्यो फूलवरिपरिको झार उखेल्दै छ। ३. चार जना बहिनी राज्यभवनमा हाँसीखुसी कुरा गरिरहेका छन्‌।

ईर्ष्याजस्तो झारलाई हामी कसरी उखेल्न सक्छौँ? परमेश्‍वरको पवित्र शक्‍तिको मदतले हामी ईर्ष्यालाई उखेल्न अनि त्यसको ठाउँमा नम्रता र सन्तुष्ट मनोभाव राख्न सक्छौँ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)

८. कस्ता गुणहरूले ईर्ष्याविरुद्ध लड्‌न मदत गर्छ?

८ हामीले नम्रता र सन्तुष्ट मनोभाव खेती गरेर ईर्ष्याविरुद्ध लड्‌न सक्छौँ। हाम्रो मन यी असल गुणहरूले भरिएका छन्‌ भने ईर्ष्याको लागि कुनै ठाउँ बाँकी रहनेछैन। नम्र व्यक्‍तिले आफूलाई अति नै महत्त्वपूर्ण ठान्दैन। उसले आफू सबै कुरामा अरूभन्दा योग्य छु भन्‍ने सोचाइ राख्दैन (गला. ६:३, ४) सन्तुष्ट मनोभाव भएको व्यक्‍ति आफूसित भएको कुरामै खुसी हुन्छ र आफूलाई अरूसित तुलना गर्दैन। (१ तिमो. ६:७, ८) नम्र र सन्तुष्ट मनोभाव भएको व्यक्‍ति अरूले केही असल कुरा पाउँदा ऊसँगसँगै रमाउँछ।

९. गलाती ५:१६ र फिलिप्पी २:३, ४ अनुसार पवित्र शक्‍तिले हामीलाई के गर्न मदत गर्छ?

९ ईर्ष्याजस्तो शारीरिक इच्छा पलाउन नदिन अनि नम्रता र सन्तुष्ट मनोभाव खेती गर्न हामीलाई परमेश्‍वरको पवित्र शक्‍तिको मदत चाहिन्छ। (गलाती ५:१६; फिलिप्पी २:३, ४ पढ्‌नुहोस्‌) यहोवाको पवित्र शक्‍तिले हाम्रो भित्री विचार र मनसाय जाँच्न मदत गर्छ। परमेश्‍वरको मदतले हामी आफूमा भएको हानिकारक सोचाइ र भावनालाई हटाएर त्यसको ठाउँमा उत्थानदायी सोचाइ भर्न सक्छौँ। (भज. २६:२; ५१:१०) मोसा र पावलको उदाहरण विचार गर्नुहोस्‌, जो ईर्ष्यालु झुकावविरुद्ध लड्‌न सफल भए।

मोसा, यहोसु र इस्राएलीहरूको एउटा समूह भेट हुने पालनजिकै उभिरहेका छन्‌। भविष्यवक्‍ताको रूपमा काम गरिरहेका दुई जना पुरुषलाई रोक्नुहोस्‌ भनी यहोसु मोसालाई भन्दै छन्‌।

दुई जना नाइकेले भविष्यवक्‍ताको रूपमा काम गर्न थालेका छन्‌ भनेर मोसा र यहोसुलाई बताउन एक जवान इस्राएली दौडेर आउँछन्‌। दुई जना नाइकेलाई रोक्नुहोस्‌ भनेर यहोसु मोसालाई भन्छन्‌। यहोवाले दुई जना मानिसमाथि पवित्र शक्‍ति खन्याउनुभएकोमा आफू खुसी भएको कुरा मोसा यहोसुलाई बताउँछन्‌। (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. कस्तो अवस्थाले गर्दा मोसाको जाँच भएको हुन सक्छ? (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌)

१० मोसाले परमेश्‍वरका जनहरूमाथि निकै अख्तियार पाएका थिए। तर अरू कसैले पनि त्यस्तो अख्तियार नपाओस्‌ भन्‍ने इच्छा तिनले राखेनन्‌। उदाहरणको लागि, एकचोटि यहोवाले मोसामा भएको पवित्र शक्‍ति अलिकता लिएर भेट हुने पालको नजिकै उभिरहेका इस्राएली नाइकेहरूलाई दिनुभयो। त्यसको केही समयपछि, मोसाले भेट हुने पालमा नगएका दुई जना नाइकेले पनि पवित्र शक्‍ति पाएर भविष्यवक्‍ताको रूपमा काम गर्न थालेका छन्‌ भन्‍ने कुरा सुने। यहोसुले ती दुई नाइकेलाई रोक्नुहोस्‌ भन्दा मोसाले कस्तो प्रतिक्रिया देखाए? ती दुई नाइकेले यहोवाको निगाह पाएकोमा मोसाले तिनीहरूको ईर्ष्या गरेनन्‌ बरु तिनीहरूले सुअवसर पाएकोमा नम्र हुँदै रमाए। (गन्ती ११:२४-२९) मोसाबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

चित्रहरूको सँगालो: १. एल्डरहरूको निकायको सभामा एक जना पाको भाइलाई आफूभन्दा जवान भाइलाई प्रहरीधरहरा अध्ययन सञ्चालन गर्ने तालिम दिन आग्रह गरिन्छ। २. जवान एल्डर प्रहरीधरहरा अध्ययन सञ्चालन गर्दै छन्‌ र पाको भाइ ध्यान दिएर सुन्दै छन्‌। ३. पाको भाइ जवान एल्डरसित हात मिलाउँदै तिनलाई सराहना गर्दै छन्‌।

एल्डरहरू कसरी मोसाजस्तै नम्र हुन सक्छन्‌? (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)c

११. एल्डरहरूले कसरी मोसाको अनुकरण गर्न सक्छन्‌?

११ तपाईँ एल्डर हुनुहुन्छ र अहिले आफूले सम्हालिरहेको जिम्मेवारी तपाईँलाई असाध्यै मन पर्छ। तर त्यो जिम्मेवारी सम्हाल्न अबउसो अर्को भाइलाई तालिम दिनू भनेर के तपाईँलाई कहिल्यै भनिएको छ? उदाहरणको लागि, हरेक हप्ता प्रहरीधरहरा अध्ययन सञ्चालन गर्ने सुअवसर तपाईँलाई मन पर्छ होला। तर यदि तपाईँ मोसाजस्तै नम्र हुनुहुन्छ भने त्यो जिम्मेवारी सम्हाल्न अर्को भाइलाई तालिम दिनुहोस्‌ भनेर बताइँदा तपाईँलाई आफ्नो महत्त्व घटेको महसुस हुनेछैन। बरु तपाईँ ती भाइलाई मदत गर्न पाएकोमा खुसी हुनुहुनेछ।

१२. आज थुप्रै ख्रिष्टियनले कसरी सन्तुष्ट मनोभाव र नम्रता देखाइरहेका छन्‌?

१२ धेरैजसो वृद्ध भाइहरूले सामना गरिरहेको अर्को अवस्थाबारे विचार गर्नुहोस्‌। धेरै वर्षसम्म तिनीहरूमध्ये कतिपयले एल्डरहरूको निकायको संयोजकको रूपमा सेवा गरे। तर तिनीहरू ८० वर्ष पुगेपछि आफूले सम्हालिरहेको जिम्मेवारी खुसीसाथ अरूलाई सुम्पन्छन्‌। साथै क्षेत्रीय निरीक्षकहरू ७० वर्ष पुगेपछि आफूले सम्हालिरहेको जिम्मेवारी नम्र हुँदै अरूलाई सुम्पन्छन्‌ र आफूलाई दिइने जुनसुकै जिम्मेवारी स्विकार्छन्‌। हालैका वर्षहरूमा संसारभरिका धेरै बेथेल सेवकहरूलाई क्षेत्रमा सेवा गर्न खटाइएको छ। यी वफादार भाइबहिनीहरू पहिला आफूले सम्हालिरहेको जिम्मेवारी अरूले सम्हाल्दा तिनीहरूप्रति वैरभाव राख्दैनन्‌।

१३. पावल १२ प्रेषितहरूप्रति ईर्ष्यालु हुन सक्ने कस्तो अवस्था थियो?

१३ सन्तुष्ट मनोभाव र नम्रता खेती गरेका अर्को राम्रो उदाहरण प्रेषित पावल हुन्‌। पावलले आफूमा ईर्ष्या पैदा हुन दिएनन्‌। तिनले प्रचारकार्यमा धेरै मेहनत गरे तापनि नम्र हुँदै यसो भने: “प्रेषितहरूमध्ये म सबैभन्दा सानो हुँ र म प्रेषित भनिन लायक पनि छैनँ।” (१ कोरि. १५:९, १०) येसुले पृथ्वीमा सेवा गर्नुहुँदा १२ प्रेषित छान्‍नुभएको थियो तर पावल भने येसु मृत्युबाट ब्युँतिसक्नुभएपछि मात्र ख्रिष्टियन बनेका थिए। पछि तिनी “अन्यजातिहरूको प्रेषित” नियुक्‍त भए तापनि १२ प्रेषितमध्ये एक हुने विशेष सुअवसर पाएनन्‌। (रोमी ११:१३; प्रेषि. १:२१-२६) ती १२ प्रेषितको अनि तिनीहरूले येसुसँग घनिष्ठ सम्बन्ध विकास गरेकोमा ईर्ष्या गर्नुको साटो पावल आफूले पाएको कुरामा सन्तुष्ट रहे।

१४. हामी सन्तुष्ट र नम्र छौँ भने के गर्नेछौँ?

१४ हामी सन्तुष्ट र नम्र हुँदा पावलजस्तै भइरहेका अनि यहोवाले अरूलाई दिनुभएको अख्तियारप्रति आदर देखाइरहेका हुन्छौँ। (प्रेषि. २१:२०-२६) यहोवाले मण्डलीमा नेतृत्व लिन योग्य भाइहरू नियुक्‍त गर्नुभएको छ। तिनीहरू त्रुटिपूर्ण भए पनि यहोवा तिनीहरूलाई “वरदानको रूपमा पुरुषहरू” ठान्‍नुहुन्छ। (एफि. ४:८, ११) यी नियुक्‍त पुरुषहरूको आदर गर्दा अनि नम्र भई तिनीहरूले दिएको निर्देशन पछ्याउँदा हामी यहोवासित घनिष्ठ भइरहन र सङ्‌गी भाइबहिनीसँग शान्तिमा रहन सक्छौँ।

“शान्ति कायम हुने . . . कुराहरूको पछि लागौँ”

१५. हामीले के गर्नुपर्छ?

१५ ईर्ष्या भएको ठाउँमा शान्ति हुन सक्दैन। हामीले आफ्नो मनबाट ईर्ष्यालाई जरैदेखि उखेल्नु पर्छ र अरूको मनमा पनि ईर्ष्याको बिउ रोप्नु हुँदैन। हामीले यी कुराहरू लागू गऱ्‍यौँ भने मात्र “आपसमा शान्ति कायम हुने अनि एकअर्काको उत्थान हुने कुराहरूको पछि” लाग्नू भन्‍ने यहोवाको आज्ञा पालन गर्न सक्नेछौँ। (रोमी १४:१९) अरूलाई ईर्ष्याविरुद्ध लड्‌न हामी आफ्नो तर्फबाट के गर्न सक्छौँ? साथै शान्ति कायम गर्न हामी के गर्न सक्छौँ?

१६. अरूलाई ईर्ष्याविरुद्ध लड्‌न हामी कसरी मदत गर्न सक्छौँ?

१६ हाम्रो मनोभाव र कामले अरूमा ठूलो प्रभाव पार्न सक्छ। संसार हामीले आफूसँग भएका कुराहरूको “तडकभडक” गरेको चाहन्छ। (१ युह. २:१६) यस्तो मनोभावले ईर्ष्यालाई मलजल गर्छ। अरूको मनमा ईर्ष्यालाई नबढाउन हामीले आफूसँग भएका कुराहरू वा आफूले किन्‍न लागेका कुराहरूको बारेमा हरबखत कुरा गरिरहनु हुँदैन। अरूको मनमा ईर्ष्या नबढाउने अर्को तरिका भनेको आफूले मण्डलीमा पाएका जिम्मेवारीहरूबारे घमन्ड नगरेर हो। यदि हामी आफूले पाएको जिम्मेवारीप्रति अरूको ध्यान खिच्छौँ भने ईर्ष्या बढ्‌नको लागि मलिलो माटो तयार पारिरहेका हुन्छौँ। त्यसको ठीक विपरीत, हामीले अरूलाई निष्कपट चासो देखायौँ र उनीहरूले गरेको राम्रो कामको प्रशंसा गऱ्‍यौँ भने उनीहरूलाई सन्तुष्ट हुन मदत गरिरहेका हुन्छौँ र मण्डलीमा एकता अनि शान्ति कायम गरिरहेका हुन्छौँ।

१७. युसुफका दाइहरूले के गर्न सके र किन?

१७ हामी ईर्ष्याविरुद्धको लडाइँमा विजयी हुन सक्छौँ! युसुफका दाइहरूको उदाहरण फेरि विचार गर्नुहोस्‌। उनीहरूले युसुफसित दुर्व्यवहार गरेको वर्षौँपछि तिनलाई मिश्रमा भेटे। युसुफले दाइहरूलाई आफ्नो साँचो चिनारी प्रकट गर्नुअघि उनीहरूको मनोवृत्ति परिवर्तन भएको छ कि छैन भनेर जाँचे। तिनले एउटा भोजको आयोजना गरे र कान्छो भाइ बिन्यामिनलाई अरू सबैलाई भन्दा बढी खानेकुरा पस्कन लगाए। (उत्प. ४३:३३, ३४) तर यतिबेला ती दाइहरूले बिन्यामिनको ईर्ष्या गरेको कुनै सङ्‌केत पाइँदैन। बरु उनीहरूले आफ्नो कान्छो भाइ र बुबा याकुबप्रति निष्कपट चासो देखाए। (उत्प. ४४:३०-३४) युसुफका दाइहरूले आफ्नो मनबाट ईर्ष्या हटाइसकेको हुँदा उनीहरूले परिवारमा शान्ति कायम गर्न सके। (उत्प. ४५:४, १५) त्यसरी नै, हामीले ईर्ष्यालाई मनबाट जरैदेखि उखेल्यौँ भने आफ्नो परिवार र मण्डलीमा शान्ति कायम गर्न योगदान पुऱ्‍याइरहेका हुन्छौँ।

१८. याकुब ३:१७, १८ अनुसार हामीले शान्तिपूर्ण अवस्था सृजना गर्न मदत गऱ्‍यौँ भने के हुनेछ?

१८ हामी ईर्ष्याविरुद्ध लडेको र शान्तिको पछि लागेको यहोवा चाहनुहुन्छ। यी दुवै कुरा गर्न हामीले निकै प्रयास गर्नुपर्छ। यस लेखमा छलफल गरिएझैँ हामीमा ईर्ष्या गर्ने झुकाव छ। (याकु. ४:५) अनि हामी बाँचिरहेको संसारले ईर्ष्यालु झुकावलाई बढाउँछ। तर हामीले नम्रता, सन्तुष्ट मनोभाव र कृतज्ञताजस्ता गुणहरू खेती गऱ्‍यौँ भने हाम्रो मनमा ईर्ष्याको लागि कुनै ठाउँ बाँकी रहनेछैन। बरु हामीले शान्तिपूर्ण अवस्था सृजना गर्न मदत गरिरहेका हुन्छौँ, जहाँ धार्मिकताको फल फल्नेछ।—याकुब ३:१७, १८ पढ्‌नुहोस्‌।

ईर्ष्याविरुद्ध लड्‌न . . .

  • पवित्र शक्‍तिले कसरी मदत गर्न सक्छ?

  • सन्तुष्ट मनोभाव र नम्रताले कसरी मदत गर्न सक्छ?

  • आफूले सही मनोवृत्ति राख्दा अरूलाई कसरी मदत गर्न सक्छौँ?

गीत १३० क्षमा दिने गरौँ!

a यहोवाको सङ्‌गठनमा शान्तिपूर्ण अवस्था छ। तर हामीमा ईर्ष्या पैदा हुन दियौँ भने यो शान्ति खलबलिन सक्छ। यस लेखमा ईर्ष्या पैदा गर्ने कारणहरूबारे छलफल गर्नेछौँ। साथै यस्तो हानिकारक दुर्गुणसित कसरी लड्‌न सक्छौँ र शान्ति कायम गर्न सक्छौँ, त्यसबारे पनि छलफल गर्नेछौँ।

b थप व्याख्या: बाइबलमा प्रयोग गरिएको ईर्ष्याले अरूसँग भएको कुरा पाउन खोज्नुलाई मात्र नभई उनीहरूले पनि ती कुराहरू नपाओस्‌ भन्‍ने चाहनालाई बुझाउँछ।

c चित्रको व्याख्या: एल्डरहरूको निकायको सभामा एक जना पाको भाइ, जो मण्डलीमा प्रहरीधरहरा अध्ययन सञ्चालन गर्छन्‌, तिनलाई आफूभन्दा जवान भाइलाई त्यो जिम्मेवारी सँभाल्ने तालिम दिन आग्रह गरिन्छ। हुनत ती पाको भाइलाई आफ्नो असाइनमेन्ट मन पर्छ तर तिनी एल्डरहरूको निर्णयलाई खुसीसाथ समर्थन गर्छन्‌ अनि जवान भाइलाई व्यावहारिक सुझाव दिन्छन्‌ र मनैदेखि सराहना गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने