प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 जनवरी pp. १४-१९
  • यहोवा तपाईँलाई सफल तुल्याउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा तपाईँलाई सफल तुल्याउनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिस्थिति अचानक परिवर्तन हुँदा
  • परिस्थिति झनै बिग्रँदा
  • यहोवा तपाईँलाई कसरी सफल तुल्याउनुहुन्छ?
  • आफूले पाएका आशिष्‌हरू सम्झनुहोस्‌
  • ‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • एक जना दासले परमेश्‍वरको आज्ञा पालन गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यूसुफलाई जेलमा हालिन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • असल पति, असल बुबा, असल सेवक
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 जनवरी pp. १४-१९

अध्ययन लेख ३

यहोवा तपाईँलाई सफल तुल्याउनुहुन्छ

“यहोवा परमेश्‍वर युसुफसित हुनुहुन्थ्यो। त्यसैले तिनी हर काममा सफल भए।”—उत्प. ३९:२.

गीत ३० यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

परिचयa

१-२. (क) परीक्षाहरू आइपर्दा हामी किन अचम्म मान्दैनौँ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

हामी यहोवाका सेवकहरू परीक्षाहरू आइपर्दा अचम्म मान्दैनौँ किनकि बाइबलमा लेखिएको यो कुरा हामीलाई थाह छ: “हामी धेरै सङ्‌कष्ट सहेर परमेश्‍वरको राज्यमा पस्नेछौँ।” (प्रेषि. १४:२२) साथै परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार नआउन्जेल कुनै-कुनै समस्या पूर्णतया हट्‌नेछैन भनेर हामीले बुझेका छौँ। त्यतिबेला मात्रै “मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रका. २१:४.

२ यहोवाले हामीमाथि परीक्षा नै आइपर्न दिनुहुन्‍न भन्‍ने होइन। तर उहाँ हामीलाई परीक्षा सहन भने मदत गर्नुहुन्छ। प्रेषित पावलले रोमका ख्रिष्टियनहरूलाई के लेखे, याद गर्नुहोस्‌। तिनले सुरुमा आफू र त्यहाँका अरू भाइहरूले भोगिरहेका परीक्षाहरूबारे लेखे। त्यसपछि तिनले यस्तो लेखे: “हामीलाई प्रेम गर्नुहुनेको मदतद्वारा यी सबै कुरामाथि हामी पूरै विजयी भएका छौँ।” (रोमी ८:३५-३७) यसको अर्थ, तपाईँले परीक्षा भोगिरहेको बेला पनि यहोवाले तपाईँलाई सफल तुल्याउन सक्नुहुन्छ। अब हामी यहोवाले युसुफलाई कसरी सफल तुल्याउनुभयो र उहाँले तपाईँलाई पनि कसरी सफल तुल्याउनुहुन्छ, विचार गरौँ।

परिस्थिति अचानक परिवर्तन हुँदा

३. युसुफको जीवनमा अचानक कस्तो परिवर्तन आयो?

३ कुलपिता याकुब आफ्ना सबै छोरालाई भन्दा युसुफलाई धेरै माया गर्थे। (उत्प. ३७:३, ४) त्यसैले युसुफका दाइहरू तिनको ईर्ष्या गर्थे। तिनीहरूले मौका पाउनेबित्तिकै युसुफलाई मिद्यानी व्यापारीहरूको हातमा बेचिदिए। ती व्यापारीहरूले युसुफलाई सयौँ किलोमिटर टाढा मिश्रमा लगे र त्यहाँ तिनलाई पोतिफरको हातमा बेचिदिए, जो फारोको दरबारको पहरेदारहरूका कप्तान थिए। युसुफको जीवनले क्षणभरमै अर्कै मोड लियो। तिनी बुबाको प्यारो छोराबाट एक मिश्रीको तुच्छ दास बन्‍न पुगे!—उत्प. ३९:१.

४. हामीले युसुफले जस्तै कस्ता परीक्षाहरू भोग्नुपर्ने हुन्छ?

४ बाइबलमा “समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ” भनेर बताइएको छ। (उप. ९:११, संशोधित संस्करण) हामी कहिलेकाहीँ “साधारणतया सबै मानिस”-माथि आइपर्ने कठिनाइहरू भोग्छौँ। (१ कोरि. १०:१३) अथवा हामी येसुको चेला भएकोले परीक्षाहरू भोग्छौँ। जस्तै, हाम्रो विश्‍वासले गर्दा हामीलाई गिल्ला, विरोध वा खेदोसमेत गरिन सक्छ। (२ तिमो. ३:१२) तर हामीले जस्तोसुकै परीक्षा भोग्नुपरे पनि यहोवाले हामीलाई सफल तुल्याउन सक्नुहुन्छ। उहाँले युसुफलाई कसरी सफल तुल्याउनुभयो? 

पोतिफर युसुफलाई आफ्नो दास बनाउन किन्दै छन्‌।

युसुफ पोतिफरको घरमा दासको रूपमा बेचिए पनि यहोवाले तिनलाई सफल तुल्याउनुभयो (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. युसुफको सफलता देखेर पोतिफर कस्तो निष्कर्षमा पुगे? (उत्पत्ति ३९:२-६)

५ उत्पत्ति ३९:२-६ पढ्‌नुहोस्‌। पोतिफरले युसुफ प्रतिभाशाली अनि परिश्रमी भएको याद गरे। उनलाई यसको कारण पनि थाह थियो। “यहोवा परमेश्‍वरले [युसुफको] हरेक काम सफल तुल्याउनुभएको” उनले याद गरेका थिए।b पछि पोतिफरले युसुफलाई आफ्नो निजी सेवक नियुक्‍त गरे। उनले युसुफलाई आफ्नो घर र सबै धनसम्पत्ति रेखदेख गर्ने जिम्मा पनि दिए। नतिजास्वरूप पोतिफरको फलिफाप भयो।

६. युसुफलाई आफ्नो अवस्था देखेर कस्तो लागेको हुनुपर्छ?

६ आफैलाई युसुफको ठाउँमा राखेर हेर्नुहोस्‌। तिनी के चाहन्थे? पोतिफरले तिनको काम याद गरेको र त्यसको लागि इनाम दिएको चाहन्थे कि? सायद तिनी दासत्वबाट मुक्‍त भएर आफ्नो बुबाकहाँ फर्कन चाहन्थे। तिनले पोतिफरको घरमा जति नै ठूलो जिम्मेवारी पाएको भए तापनि तिनी आखिर एक मूर्तिपूजकको दास मात्र थिए। यहोवाले पोतिफरलाई चलाएर युसुफलाई मुक्‍त गर्नुभएन। तिनको परिस्थिति झनै बिग्रँदै जाने थियो।

परिस्थिति झनै बिग्रँदा

७. युसुफको परिस्थिति कसरी झन्‌झनै बिग्रँदै गयो? (उत्पत्ति ३९:१४, १५)

७ उत्पत्ति अध्याय ३९ अनुसार पोतिफरकी पत्नी युसुफप्रति आकर्षित भइन्‌ र तिनलाई बारम्बार आफ्नो मायाजालमा फसाउन खोजिन्‌। युसुफले प्रत्येक चोटि उनको प्रस्ताव अस्वीकार गरे। त्यसले गर्दा उनी युसुफदेखि साह्रै रिसाइन्‌ र आफूलाई बलात्कार गर्न खोजेको आरोप लगाइन्‌। (उत्पत्ति ३९:१४, १५ पढ्‌नुहोस्‌।) पोतिफरले यो खबर सुनेपछि युसुफलाई झ्यालखानामा हाले र तिनले केही वर्ष कैदीको जीवन बिताउनुपऱ्‍यो। (उत्प. ३९:१९, २०) त्यो झ्यालखाना कस्तो थियो? युसुफले “झ्यालखाना”-को लागि चलाएको हिब्रू शब्दले “कुण्ड” वा “खाडल”-लाई पनि बुझाउँछ। यसबाट झ्यालखाना अँध्यारो थियो र युसुफले त्यहाँ निस्सहाय महसुस गरे भन्‍ने सङ्‌केत पाइन्छ। (उत्प. ४०:१५; फुटनोट) साथै केही समयको लागि युसुफको खुट्टा नेलले बाँधिएको थियो र घाँटीमा फलामको साङ्‌ला लगाइएको थियो भनेर बाइबल सङ्‌केत गर्छ। (भज. १०५:१७, १८) युसुफको परिस्थिति झन्‌झनै बिग्रँदै गइरहेको थियो। तिनी एक भरोसायोग्य दासबाट तुच्छ कैदी बन्‍न पुगे!

८. परिस्थिति बिग्रँदै गए पनि हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

८ जति नै प्रार्थना गरे पनि आफ्नो परिस्थिति झनै बिग्रँदै गएको के तपाईँले कहिल्यै अनुभव गर्नुभएको छ? यस्तो हुन सक्छ। यहोवाले सैतानको यस संसारमा हामीमाथि परीक्षा नै आइपर्न दिनुहुन्‍न भन्‍ने त होइन। (१ युह. ५:१९) तर तपाईँ यस कुरामा ढुक्क हुन सक्नुहुन्छ: यहोवालाई तपाईँले कस्तो परीक्षा भोग्दै हुनुहुन्छ भनेर राम्ररी थाह छ र उहाँ तपाईँको ख्याल राख्नुहुन्छ। (मत्ति १०:२९-३१; १ पत्रु. ५:६, ७) साथै उहाँले यस्तो प्रतिज्ञा पनि गर्नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।” (हिब्रू १३:५) तपाईँको अवस्था आशाविहीन देखिए पनि यहोवा तपाईँलाई सहने बल दिनुहुन्छ। उहाँले युसुफलाई कसरी मदत गर्नुभयो, आउनुहोस्‌ हेरौँ।

युसुफ अरू कैदीलाई निर्देशन दिँदै छन्‌।

युसुफ झ्यालखानामा हुँदा समेत यहोवा तिनको साथमा हुनुहुन्थ्यो; त्यसैले तिनले सबै कैदीलाई हेर्ने जिम्मा पाए (अनुच्छेद ९ हेर्नुहोस्‌)

९. यहोवा युसुफको साथमा हुनुहुन्थ्यो भनेर केले देखाउँछ? (उत्पत्ति ३९:२१-२३)

९ उत्पत्ति ३९:२१-२३ पढ्‌नुहोस्‌। झ्यालखानामा राखिएको कष्टकर अवस्थामा पनि यहोवाले युसुफलाई सफल तुल्याउनुभयो। कसरी? युसुफले पोतिफरको जस्तै झ्यालखानाका हाकिमको पनि भरोसा र आदर कमाए। पछि ती हाकिमले सबै कैदीलाई युसुफको जिम्मा लगाए। “झ्यालखानाका हाकिमले युसुफको निगरानीमा भएको कुनै कुराको चिन्ता लिँदैनथे।” अब भने युसुफसित आफूलाई व्यस्त राख्न सक्ने केही काम थियो। कस्तो अकल्पनीय परिवर्तन! दरबारका अफिसरकी पत्नीलाई बलात्कार गर्ने प्रयास गरेको आरोप लागेका कैदी अहिले झ्यालखानाको ठूलो ओहदामा नियुक्‍त भएका छन्‌। यसो हुन सक्नुको एउटै मात्र कारण छ। उत्पत्ति ३९:२३ भन्छ: “यहोवा परमेश्‍वर युसुफसित हुनुहुन्थ्यो अनि यहोवा परमेश्‍वरले तिनको हरेक काम सफल तुल्याइदिनुभयो।”

१०. युसुफले आफूलाई हरेक कुरामा सफल ठानेका थिएनन्‌ भनेर किन भन्‍न सक्छौँ?

१० फेरि एकचोटि आफूलाई युसुफको ठाउँमा राखेर हेर्नुहोस्‌। तपाईँको विचारमा झूटो आरोपमा कैदमा परेका युसुफले आफूलाई हरेक कुरामा सफल ठाने होलान्‌? तिनी के चाहन्थे? के तिनी झ्यालखानाका हाकिमको निगाह पाउन चाहन्थे? सायद युसुफ निर्दोष साबित भएर झ्यालखानाबाट मुक्‍त हुन चाहन्थे। त्यसैले तिनले झ्यालखानाबाट रिहा हुन लागेका कैदीलाई फारोसित आफ्नो विषयमा कुरा गरिदिन आग्रह गरे। (उत्प. ४०:१४) तर ती कैदीले त्यसो गर्न बिर्से। यसले गर्दा युसुफ अझै दुई वर्ष झ्यालखानामा बस्नुपऱ्‍यो। (उत्प. ४०:२३; ४१:१, १४) तैपनि यहोवाले तिनलाई सफल तुल्याउनुभयो। कसरी?

११. यहोवाले युसुफलाई कस्तो क्षमता दिनुभयो र यसले यहोवाको उद्देश्‍य पूरा गर्नमा कस्तो भूमिका खेल्यो?

११ युसुफ झ्यालखानामा हुँदा यहोवाले मिश्रका राजालाई दुइटा डरलाग्दा सपना देखाउनुभयो। फारोलाई आफ्नो सपनाको अर्थ के होला भनेर छटपटी भयो। युसुफले सपनाको अर्थ खोलिदिन सक्छन्‌ भनेर थाह पाएपछि फारोले तिनलाई ल्याउन लगाए। यहोवाको मदत पाएर युसुफले सपनाको अर्थ खोलिदिए अनि व्यावहारिक सल्लाह दिएर फारोको मन जिते। यी जवान मानिससित यहोवाको साथ छ भन्‍ने कुरा देखेपछि फारोले युसुफलाई मिश्रको अन्‍न भण्डारको अधिकारी नियुक्‍त गरे। (उत्प. ४१:३८, ४१-४४) पछि मिश्रमा मात्र होइन, युसुफको परिवार बस्ने कनानमा पनि ठूलो अनिकाल पऱ्‍यो। युसुफ आफ्नो परिवारलाई बचाउन सक्ने अवस्थामा थिए। यसले गर्दा मसीह आउने वंश जोगिने थियो।

१२. यहोवाले युसुफलाई कसरी सफल तुल्याउनुभयो?

१२ युसुफको जीवनका अचम्मका घटनाहरूबारे विचार गरौँ। तुच्छ दास युसुफलाई याद गर्न पोतिफरलाई कसले उत्प्रेरित गऱ्‍यो? तुच्छ कैदी युसुफलाई निगाह देखाउन झ्यालखानाका हाकिमलाई कसले उत्प्रेरित गऱ्‍यो? फारोलाई डरलाग्दा सपनाहरू कसले देखायो र ती सपनाहरूको अर्थ खोल्ने क्षमता युसुफलाई कसले दियो? युसुफलाई मिश्रको अन्‍न भण्डारको अधिकारी बनाउने निर्णयको पछाडि कसको हात थियो? (उत्प. ४५:५) स्पष्ट छ, यहोवाले नै युसुफलाई सबै कुरामा सफल तुल्याउनुभयो। यसरी युसुफका दाइहरूको षड्यन्त्रलाई यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्ने माध्यम बनाउनुभयो।

यहोवा तपाईँलाई कसरी सफल तुल्याउनुहुन्छ?

१३. के यहोवाले हाम्रो हरेक परिस्थितिमा हस्तक्षेप गर्नुहुन्छ? व्याख्या गर्नुहोस्‌।

१३ युसुफको जीवनीबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ? के यहोवाले हाम्रो हरेक परिस्थितिमा हस्तक्षेप गर्नुहुन्छ? अथवा के उहाँले राम्रै कारणको लागि हामीमाथि दुःखकष्ट ल्याउनुहुन्छ? बाइबलले यस्तो कुरा सिकाउँदैन। (उप. ८:९; ९:११) तर हामीलाई यो कुरा थाह छ: हामीले परीक्षा भोग्दा यहोवालाई त्यो थाह हुन्छ र उहाँ हाम्रो गुहार सुन्‍नुहुन्छ। (भज. ३४:१५; ५५:२२; यसै. ५९:१) अझ महत्त्वपूर्ण कुरा, यहोवा हामीलाई कठिनाइहरू सफलतापूर्वक सहन मदत गर्नुहुन्छ। कसरी?

१४. कठिन अवस्थामा यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

१४ यहोवाले हामीलाई मदत गर्नुहुने एउटा तरिका अक्सर चाहिएकै समयमा सान्त्वना र प्रोत्साहन दिएर हो। (२ कोरि. १:३, ४) तुर्कमेनिस्तानका अजिजको सन्दर्भमा पनि त्यस्तै भयो। तिनलाई विश्‍वासको खातिर दुई वर्षको जेल सजाय दिइएको थियो। तिनी भन्छन्‌: “मेरो मुद्दाको सुनुवाइ हुने दिनको बिहान एक जना भाइले मलाई यसैया ३०:१५ देखाउनुभयो, जहाँ यसो भनिएको छ: ‘शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।’ यस पदले मलाई शान्त रहन र हरेक कुरामा यहोवामा भर पर्न मदत गऱ्‍यो। यस पदमा मनन गर्दा मैले झ्यालखानाको अवधिभर बल पाएँ।” यहोवाले तपाईँलाई चाहिएकै सान्त्वना र प्रोत्साहन दिनुभएको क्षण के तपाईँ सम्झन सक्नुहुन्छ?

१५-१६. टिनाको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१५ कठिन अवस्था पार गरिसकेपछि मात्र अक्सर यहोवाले हामीलाई कसरी मदत गर्नुभयो भनेर महसुस गर्छौँ। टिनाc बहिनीको सन्दर्भमा पनि त्यस्तै भयो। उनको छोरा मेसनले छ वर्षसम्म क्यान्सरसित लडे। पछि तिनको मृत्यु भयो र यो पीडा सहन टिनालाई निकै गाह्रो भयो। उनी भन्छिन्‌: “एउटी आमाको लागि योभन्दा पीडादायी कुरा अरू कुनै हुन सक्दैन।” उनी अझै यसो भन्छिन्‌: “आफ्नो सन्तानले पीडा भोगेको देख्नुपर्दा असह्‍य हुन्छ। यत्तिको पीडा त आफैले दुःख भोग्दा पनि हुँदैन। यो कुरामा अरू आमाबुबा पनि पक्कै सहमत हुनुहुन्छ।”

१६ हुनत टिनालाई यो पीडा सहन निकै गाह्रो भयो। तर पछि उनले यहोवाले पीडा सहन कसरी मदत गर्नुभयो भनेर मनन गरिन्‌। उनी भन्छिन्‌: “छोरा बिरामी भएको बेला यहोवाले मलाई कसरी मदत गर्नुभयो भनेर मैले सम्झन सकेँ। जस्तै, मेसन एकदमै बिरामी भएकोले कसैलाई भेट्‌न नसक्ने अवस्थामा हुँदा पनि भाइबहिनीहरू दुई घण्टा यात्रा गरेर अस्पताल आउनुहुन्थ्यो। हामीलाई मदत गर्न प्रतीक्षालयमा कोही न कोही त सधैँ हुन्थ्यो। साथै भाइबहिनीले हाम्रो भौतिक आवश्‍यकता पनि पूरा गरिदिनुभयो। एकदमै गाह्रो अवस्थामा पनि हामीलाई कहिल्यै कुनै कुराको कमी भएन।” यहोवाले टिना र मेसनलाई सहने बल दिनुभयो।—“यहोवा हामीलाई चाहिएकै मदत दिँदै हुनुहुन्थ्यो” भन्‍ने पेटी हेर्नुहोस्‌।

“यहोवा हामीलाई चाहिएकै मदत दिँदै हुनुहुन्थ्यो”

मेसन सात वर्षको छँदा तिनलाई क्यान्सर भएको पत्ता लाग्यो र यसपछि छ वर्षसम्म तिनले साहसका साथ यस रोगसित लडे। बिरामी भएपछि तिनलाई पटक-पटक अस्पतालमै भर्ना गर्नुपर्थ्यो। तर मण्डलीका भाइबहिनीले तिनको एउटा कुरा याद गरे। अस्पतालबाट घर फर्केपछि तिनी सकेसम्म छिट्टै साक्षीकार्यमा भाग लिन्थे। मेसनलाई साक्षीकार्य यत्ति मन पर्थ्यो कि आफूसित बल होउन्जेल तिनले साक्षीकार्यमा भाग लिन छोडेनन्‌।

मेसनको मृत्युपछि तिनको अन्त्येष्टि कार्यक्रममा ७०० जनाभन्दा धेरै उपस्थित भए; त्यस कार्यक्रममा तिनको स्कुलका थुप्रै साथी अनि शिक्षकहरू पनि आएका थिए। तिनको मृत्यु हुनुभन्दा केही समयअघि तिनलाई भेट्‌न आएका शिक्षिकाले आफ्नो छोराछोरीको विश्‍वास पनि मेसनको जस्तै बलियो भएको चाहन्छिन्‌ भनेर बताइन्‌। साथै उनी त्यस इलाकामा सरेको पाँच वर्ष भइसकेको तर यहोवाका साक्षीहरूसित भेट हुन नसकेको कुरा उनले बताइन्‌। त्यसको भोलिपल्ट साक्षीहरू उनलाई भेट्‌न उनको घरमा गए। ती शिक्षिका मण्डलीका सभाहरूमा उपस्थित हुन राजी भइन्‌।

मेसनकी आमा टिना यसो भन्छिन्‌: “यहोवाले मेसनलाई चमत्कार गरेर निको पार्नुभएन। यही कुरा मनमा खेलिरहेकोले यहोवाले हामीलाई कसरी सफल तुल्याउँदै हुनुहुन्छ भन्‍ने कुरामा ध्यान दिन सकिनँ। तर वास्तवमा उहाँले मदत गर्दै हुनुहुन्थ्यो। यहोवा हामीलाई चाहिएकै मदत दिँदै हुनुहुन्थ्यो, त्यो पनि एकदमै ठीक समयमा।”

आफूले पाएका आशिष्‌हरू सम्झनुहोस्‌

१७-१८. परीक्षाको बेला यहोवाले मदत गर्दै हुनुहुन्छ भनेर थाह पाउन र त्यसको लागि कृतज्ञ हुन केले मदत गर्छ? (भजन ४०:५)

१७ भजन ४०:५ पढ्‌नुहोस्‌। एक जना पर्वतारोहीले शिखरसम्म पुग्ने लक्ष्य राखेका हुन्छन्‌। तर यात्राको दौडान तिनी ठाउँ-ठाउँमा रोकिन्छन्‌ र मनोरम दृश्‍यको आनन्द उठाउँछन्‌। त्यसैगरि तपाईँ पनि बेलाबेलामा रोकिएर कठिन अवस्थामा यहोवाले तपाईँलाई कसरी सफल तुल्याउनुभयो भनेर सोच्न सक्नुहुन्छ। हरेक दिनको अन्तमा आफैलाई सोध्नुहोस्‌: ‘मैले आज यहोवाबाट कस्तो आशिष्‌ पाएँ? मैले भोगिरहेको परीक्षा सहन यहोवाले मलाई कसरी मदत गरिरहनुभएको छ?’ तपाईँलाई सफल तुल्याउन यहोवाले गर्नुभएको कम्तीमा पनि एउटा कुरा सम्झने कोसिस गर्नुहोस्‌।

१८ तपाईँ आफ्नो परीक्षा अन्त होस्‌ भनेर प्रार्थना गर्दै हुनुहुन्छ होला अनि यो स्वाभाविक र उचित पनि हो। (फिलि. ४:६) तर अहिले हामीले कस्ता आशिष्‌हरू पाइरहेका छौँ भनेर पनि याद गर्नुपर्छ। किनकि यहोवाले हामीलाई परीक्षाहरू सहन बल दिने प्रतिज्ञा गर्नुभएको छ। त्यसैले उहाँले तपाईँलाई साथ दिइरहनुभएकोमा सधैँ कृतज्ञ हुनुहोस्‌। यसो गर्नुभयो भने परीक्षाको बेलासमेत यहोवाले युसुफलाई जस्तै तपाईँलाई पनि सफल तुल्याउनुभएको महसुस गर्न सक्नुहुनेछ।—उत्प. ४१:५१, ५२.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • युसुफ पोतिफरको निजी सेवक छँदा यहोवाले तिनलाई कसरी सफल तुल्याउनुभयो?

  • युसुफ झ्यालखानामा हुँदा यहोवाले तिनलाई कसरी सफल तुल्याउनुभयो?

  • यहोवाले तपाईँलाई कसरी सफल तुल्याउन सक्नुहुन्छ?

गीत ३२ यहोवाको पक्ष लेऔँ!

a कुनै कठिन परीक्षा भोगिरहेको बेला हामी आफूलाई “सफल” ठान्दैनौँ होला। कुनै समस्या समाधान भएपछि मात्र हामी आफूलाई सफल भएको सम्झन्छौँ होला। तर युसुफको जीवनीबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। त्यो हो, परीक्षा भोगिरहेको बेला पनि यहोवा हामीलाई सफल तुल्याउन सक्नुहुन्छ। यसबारे हामी यस लेखमा छलफल गर्नेछौँ।

b युसुफ दासत्वमा बेचिएपछि तिनको जीवनमा भएका सुरु-सुरुका परिवर्तनहरूको विवरण थोरै बाइबल पदमै सीमित छ। तर ती परिवर्तनहरू केही वर्षको अन्तरालमा भएको हुन सक्छ।

c नाम परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने