प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 अप्रिल pp. ८-१३
  • “तिम्रो भाइ ब्युँतनेछ”!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिम्रो भाइ ब्युँतनेछ”!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी किन फेरि जीवित हुने प्रतिज्ञामा विश्‍वास गर्न सक्छौँ?
  • येसुको प्यारो साथीको मृत्यु
  • “ए लाजरस, बाहिर आऊ!”
  • फेरि जीवित हुने आशालाई हामी कसरी अझ वास्तविक बनाउन सक्छौँ?
  • मरिसकेकाहरूका लागि आशा—पुनर्जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • अहिले मरिसकेका लाखौं फेरि जीउनेछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मृतकहरूका लागि पक्का आशा
    तपाईंको प्रियजनको मृत्यु हुँदा
  • मरिसकेका प्रियजनहरूका लागि साँचो आशा
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 अप्रिल pp. ८-१३

अध्ययन लेख १६

“तिम्रो भाइ ब्युँतनेछ”!

“येसुले [मार्थालाई] भन्‍नुभयो: ‘तिम्रो भाइ ब्युँतनेछ।’”—युह. ११:२३.

गीत १५१ जिउनेछन्‌ मृतक फेरि

परिचयa

१. म्याथ्युले फेरि जीवित हुने आशामाथि विश्‍वास गरेको कसरी देखाए?

म्याथ्यु भन्‍ने केटालाई गम्भीर रोग लागेकोले थुप्रै शल्यक्रिया गर्नुपऱ्‍यो। तिनी सात वर्षको हुँदा आफ्नो परिवारसँगै JW ब्रोडकास्टिङको मासिक कार्यक्रम हेर्दै थिए। कार्यक्रमको अन्तमा फेरि जीवित भएका प्रियजनलाई स्वागत गरिएको म्युजिक भिडियो थियो।b कार्यक्रम सकेपछि म्याथ्युले आमाबुबाको हात समाउँदै यसो भने: “देख्नुभयो ममी-ड्याडी, म मरे भने पनि फेरि जीवित हुनेछु। त्यतिन्जेल तपाईँहरूले मलाई पर्खिनुपर्छ। सबै ठीक हुन्छ।” आफ्नो छोरालाई फेरि जीवित हुने आशा कत्ति वास्तविक लागेको रहेछ भनेर थाह पाउँदा ती आमाबुबाले कस्तो महसुस गरे होलान्‌, के तपाईँ कल्पना गर्न सक्नुहुन्छ?

२-३. फेरि जीवित हुने प्रतिज्ञामा मनन गर्नु किन बेस हो?

२ बेलाबेलामा हामीले फेरि जीवित हुने आशामा मनन गर्नु बेस हो। (युह. ५:२८, २९) किन? किनकि हामीलाई कुनै पनि बेला प्राणघातक रोग लाग्न सक्छ वा अकस्मात्‌ हाम्रो प्रियजनको मृत्यु हुन सक्छ। (उप. ९:११; याकु. ४:१३, १४) फेरि जीवित हुने आशाले हामीलाई यस्ता चुनौतीहरूको सामना गर्न मदत गर्छ। (१ थिस्स. ४:१३) हाम्रो स्वर्गमा बस्नुहुने बुबा हामीलाई राम्ररी चिन्‍नुहुन्छ र धेरै माया गर्नुहुन्छ भनेर बाइबलमा बताइएको छ। (लुका १२:७) हाम्रो व्यक्‍तित्व र सम्झना पहिलाको जस्तै बनाइदिन यहोवा परमेश्‍वरलाई हामीबारे कत्ति धेरै कुरा थाह हुनुपर्छ होला, सोच्नुहोस्‌ त। उहाँ हामीलाई धेरै माया गर्नुहुन्छ; त्यसैले उहाँले हामीलाई सधैँभरि बाँच्ने आशा दिनुभएको छ। हाम्रो मृत्यु भयो भने पनि उहाँले हामीलाई फेरि जीवित पार्नुहुनेछ!

३ यस लेखमा फेरि जीवित हुने प्रतिज्ञामा किन विश्‍वास गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ। त्यसपछि हाम्रो विश्‍वास बलियो बनाउने बाइबल विवरण केलाउनेछौँ, जसमा यस लेखको मूल शास्त्रपद समावेश छ: “तिम्रो भाइ ब्युँतनेछ।” (युह. ११:२३) साथै फेरि जीवित हुने आशालाई कसरी अझ वास्तविक बनाउन सक्छौँ भनेर सिक्नेछौँ।

हामी किन फेरि जीवित हुने प्रतिज्ञामा विश्‍वास गर्न सक्छौँ?

४. कुनै प्रतिज्ञामा विश्‍वास गर्न हामी कुन कुरामा विश्‍वस्त हुनुपर्छ? उदाहरण दिनुहोस्‌।

४ प्रतिज्ञा गर्ने व्यक्‍तिसित त्यो पूरा गर्ने इच्छा र शक्‍ति छ भन्‍ने कुरामा विश्‍वस्त छौँ भने हामी त्यस प्रतिज्ञामा विश्‍वास गर्न सक्छौँ। कल्पना गर्नुहोस्‌, तपाईँको घर आँधीहुरीले पूरै क्षतिग्रस्त भएको छ। तपाईँको साथीले तपाईँलाई यस्तो वाचा गर्छ: ‘म तिम्रो घर फेरि बनाउन मदत गर्छु।’ तिनी इमानदार छन्‌; त्यसैले तिनी मदत गर्न इच्छुक छन्‌ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुनुहुनेछ। साथै तिनीसित घर बनाउने सीप छ र आवश्‍यक सरसामान छ भने तिनीसित आफ्नो वाचा पूरा गर्ने क्षमता पनि छ भन्‍ने कुरामा तपाईँ ढुक्क हुनुहुनेछ। त्यसैले तपाईँ तिनले गरेको वाचामा विश्‍वास गर्नुहुन्छ। त्यसोभए फेरि जीवित पार्ने परमेश्‍वरको प्रतिज्ञाबारे चाहिँ के भन्‍न सकिन्छ? के उहाँसित साँच्चै त्यो प्रतिज्ञा पूरा गर्ने इच्छा र शक्‍ति छ?

५-६. यहोवासित मरेकाहरूलाई जीवित पार्ने इच्छा छ भनेर किन भन्‍न सक्छौँ?

५ के यहोवासित मरेकाहरूलाई जीवित पार्ने इच्छा छ? पक्कै छ! उहाँले फेरि जीवित पार्ने प्रतिज्ञाबारे केही बाइबल लेखकलाई लेख्न लगाउनुभयो। (यसै. २६:१९; होसे १३:१४; प्रका. २०:११-१३) उहाँले कुनै प्रतिज्ञा गर्नुभएपछि त्यो सधैँ पूरा गर्नुहुन्छ। (यहो. २३:१४) हो, यहोवा मरेकाहरूलाई जीवित पार्न उत्सुक हुनुहुन्छ। हामी किन यसो भन्‍न सक्छौँ?

६ कुलपिता अय्युबले भनेका शब्दहरू विचार गरौँ। तिनी मरिहाले भने पनि यहोवाले तिनलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भन्‍ने कुरामा तिनी ढुक्क थिए। (अय्यु. १४:१४, १५) मरिसकेका आफ्ना सबै उपासकलाई पनि यहोवा जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ। उहाँ तिनीहरू फेरि स्वस्थ र आनन्दित भएको हेर्न चाहनुहुन्छ। यहोवाबारे सत्य कुरा सिक्ने मौका नपाई मरेका करोडौँ मानिसबारे चाहिँ के भन्‍न सकिन्छ? हाम्रो मायालु परमेश्‍वर तिनीहरूलाई पनि जीवित पार्न चाहनुहुन्छ। (प्रेषि. २४:१५) उहाँ तिनीहरूलाई आफ्नो साथी बन्‍ने र पृथ्वीमा सधैँभरि जीवन बिताउने मौका दिन चाहनुहुन्छ। (युह. ३:१६) स्पष्ट छ, यहोवासित मरिसकेका मानिसहरूलाई जीवित पार्ने इच्छा छ।

७-८. यहोवासित मरेकाहरूलाई जीवित पार्ने शक्‍ति छ भनेर किन भन्‍न सक्छौँ?

७ के यहोवासित मरेकाहरूलाई जीवित पार्ने शक्‍ति पनि छ? पक्कै छ! उहाँ “सर्वशक्‍तिमान्‌” हुनुहुन्छ। (प्रका. १:८) त्यसैले उहाँसित जुनसुकै शत्रु यहाँसम्म कि मृत्युलाई समेत हराउने अथाह शक्‍ति छ। (१ कोरि. १५:२६) यस तथ्यले हामीलाई बल अनि सान्त्वना दिन्छ। एमा आर्नोल्ड बहिनीको अनुभव विचार गरौँ। तिनी र तिनको परिवारले दोस्रो विश्‍वयुद्धको दौडान चरम यातना भोग्नुपरेको थियो। नाजी यातना शिविरमा आफ्ना प्रियजनहरू गुमाएकोले दुःखी भएकी छोरीलाई सान्त्वना दिन एमाले यसो भनिन्‌: “यदि मृत्युले मानिसलाई सधैँको लागि जकडेर राख्यो भने त्यो त परमेश्‍वरभन्दा पनि शक्‍तिशाली भयो नि, होइन र?” वास्तवमा यहोवाभन्दा शक्‍तिशाली अरू कोही छैन! सर्वशक्‍तिमान्‌ परमेश्‍वर जसले जीवन सृष्टि गर्नुभयो, उहाँसित मरेकाहरूलाई जीवित पार्ने शक्‍ति पनि छ।

८ परमेश्‍वरसित मरेकाहरूलाई जीवित पार्ने शक्‍ति छ भन्‍न सकिने अर्को कारण हो, उहाँको सम्झना-शक्‍ति अथाह छ। उहाँ प्रत्येक तारालाई नामै काढेर बोलाउनुहुन्छ। (यसै. ४०:२६) साथै उहाँ मरेका मानिसहरूलाई पनि सम्झनुहुन्छ। (अय्यु. १४:१३; लुका २०:३७, ३८) उहाँ तिनीहरूको ससाना कुराहरू पनि सजिलै सम्झन सक्नुहुन्छ। जस्तै: तिनीहरूको रूपरङ्‌ग, आनीबानी, गुणहरू, जीवनका अनुभवहरू र सम्झनामा भएका कुराहरू।

९. फेरि जीवित पार्ने यहोवाको प्रतिज्ञामा तपाईँ किन विश्‍वास गर्नुहुन्छ?

९ फेरि जीवित पार्ने यहोवाको प्रतिज्ञामा हामी विश्‍वास गर्न सक्छौँ किनकि उहाँसित त्यो पूरा गर्ने इच्छा र शक्‍ति दुवै छ। यस प्रतिज्ञामा विश्‍वास गर्न सक्ने अर्को कारण हो, यहोवाले पहिला पनि मरेकाहरूलाई जीवित पार्नुभएको थियो। बाइबलकालीन समयमा उहाँले येसुलगायत केही वफादार पुरुषलाई फेरि जीवित पार्ने शक्‍ति दिनुभएको थियो। युहन्‍ना अध्याय ११ मा येसुले फेरि जीवित पार्नुभएको एउटा घटना विचार गरौँ।

येसुको प्यारो साथीको मृत्यु

१०. येसुले यर्दनपारि साक्षी दिइरहनुभएको बेला कस्तो खबर पाउनुहुन्छ र उहाँले के गर्नुहुन्छ? (युहन्‍ना ११:१-३)

१० युहन्‍ना ११:१-३ पढ्‌नुहोस्‌। इस्वी संवत्‌ ३२ को अन्ततिर बेथानिमा भएको घटना कल्पना गर्नुहोस्‌। यहाँ येसुको मिल्ने साथीहरू लाजरस र तिनका दुई जना दिदी मरियम र मार्था बस्छन्‌। लाजरस सिकिस्त बिरामी परेका छन्‌ र तिनका दिदीहरू निकै चिन्तित छन्‌। (लुका १०:३८-४२) त्यसैले तिनीहरू यर्दनपारि येसुलाई एउटा खबर पठाउँछन्‌। बेथानिदेखि त्यहाँसम्म हिँडेर जान लगभग दुई दिन लाग्छ। (युह. १०:४०) दुःखको कुरा, सन्देशवाहक त्यहाँ पुग्नुअघि नै लाजरसको मृत्यु हुन्छ। यो खबर पाएपछि पनि येसु अझै दुई दिन पहिलेकै ठाउँमा बस्नुहुन्छ र त्यसपछि बेथानि जानुहुन्छ। उहाँ त्यहाँ पुग्नुहुँदा लाजरस मरेको चार दिन भइसकेको हुन्छ। येसु यहोवाको महिमाको लागि र आफ्ना साथीहरूको लागि केही गर्न चाहनुहुन्छ।—युह. ११:४, ६, ११, १७.

११. यस विवरणबाट मित्रताबारे कस्तो पाठ सिक्न सक्छौँ?

११ यस विवरणबाट हामी मित्रताबारे एउटा पाठ सिक्न सक्छौँ। यो कुरा विचार गरौँ: मरियम र मार्थाले येसुलाई खबर पठाउँदा उहाँलाई बेथानि आउन आग्रह गरेका थिएनन्‌। तिनीहरूले उहाँको प्यारो साथी बिरामी परेका छन्‌ मात्र भनेका थिए। (युह. ११:३) लाजरसको मृत्यु भएपछि येसुले आफू टाढै भए पनि तिनलाई जीवित पार्न सक्नुहुन्थ्यो। तर आफ्ना साथीहरू मरियम र मार्थालाई साथ दिन उहाँ बेथानि जानुभयो। के तपाईँको पनि यस्तो साथी छ, जो तपाईँले केही मदत नमागे पनि तपाईँलाई मदत गर्न अग्रसर हुन्छ? “दुःखमा” त्यस्तो साथीमा भर पर्न सकिन्छ भनेर तपाईँलाई थाह छ। (हितो. १७:१७) हामी पनि येसुजस्तै सहयोगी साथी बनौँ। अब हामी फेरि त्यही विवरणमा फर्कौँ र त्यसपछि के हुन्छ, हेरौँ।

१२. येसु मार्थालाई कस्तो प्रतिज्ञा गर्नुहुन्छ र यो किन खोक्रो प्रतिज्ञा थिएन? (युहन्‍ना ११:२३-२६)

१२ युहन्‍ना ११:२३-२६ पढ्‌नुहोस्‌। येसु बेथानिनजिकै आइपुग्नुभएको खबर पाउनेबित्तिकै मार्था उहाँलाई भेट्‌न जान्छिन्‌ र यसो भन्छिन्‌: “हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” (युह. ११:२१) हुनत उहाँले लाजरसलाई निको पार्न सक्नुहुन्थ्यो। तर उहाँ त्योभन्दा अझै अकल्पनीय काम गर्न चाहनुहुन्थ्यो। उहाँ मार्थालाई यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “तिम्रो भाइ ब्युँतनेछ।” आफूले भनेको कुरामा विश्‍वास दिलाउन उहाँ अझै यसो भन्‍नुहुन्छ: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ।” उहाँले परमेश्‍वरबाट मरेकाहरूलाई जीवित पार्ने शक्‍ति पाउनुभएको छ। यसअघि उहाँले एउटी सानी केटीलाई उनी मर्नेबित्तिकै अनि एक युवकलाई सम्भवतः तिनी मरेकै दिन ब्युँताउनुभएको थियो। (लुका ७:११-१५; ८:४९-५५) तर के उहाँले मरेको चार दिन भइसकेको र कुहिन थालेको व्यक्‍तिलाई ब्युँताउन सक्नुहुन्छ?

“ए लाजरस, बाहिर आऊ!”

मरियम, मार्था र अरू शोकाकुल व्यक्‍तिहरूसँगै येसु पनि रुँदै हुनुहुन्छ।

आफ्ना साथीहरू शोकमा डुबेको देखेर येसु करुणाले भरिनुभयो (अनुच्छेद १३-१४ हेर्नुहोस्‌)

१३. युहन्‍ना ११:३२-३५ अनुसार मरियम र अरू रोइरहेको देख्दा येसु के गर्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१३ युहन्‍ना ११:३२-३५ पढ्‌नुहोस्‌। त्यसपछि के हुन्छ? लाजरसकी अर्की दिदी मरियम येसुलाई भेट्‌न जान्छिन्‌। मार्थाले जस्तै तिनी पनि यसो भन्छिन्‌: “हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” लाजरसको मृत्युले गर्दा तिनी र अरू मानिसहरू निकै दुःखी छन्‌। तिनीहरू रोइरहेको देखेर येसु पनि असाध्यै दुःखी हुनुहुन्छ र रुनुहुन्छ। आफ्नो प्रियजन गुमाउनुपर्दाको पीडा उहाँ बुझ्नुहुन्छ। हो, उहाँ तिनीहरूको दुःखको कारणलाई हटाउन उत्सुक हुनुहुन्छ!

१४. मरियम रुँदा येसुले देखाउनुभएको प्रतिक्रियाबाट यहोवाबारे के सिक्न सक्छौँ?

१४ मरियम रुँदा येसुले देखाउनुभएको प्रतिक्रियाबाट यहोवा कोमल करुणाका परमेश्‍वर हुनुहुन्छ भनेर सिक्न सक्छौँ। हामी किन यसो भन्‍न सक्छौँ? अघिल्लो लेखमा सिकेझैँ येसु आफ्नो बुबाको सोचाइ र भावना हुबहु झल्काउनुहुन्छ। (युह. १२:४५) त्यसैले आफ्ना साथीहरू शोकमा डुबेको देखेर येसु रुनुभएको विवरण पढ्‌दा यहोवा पनि हाम्रो दुःखको आँसु देख्दा दयाले भरिनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्न सक्छौँ। (भज. ५६:८) के तपाईँ यस्तो दयालु परमेश्‍वरको अझै नजिक हुन चाहनुहुन्‍न र?

येसुले कपडाले बेरिएको लाजरसलाई चिहानबाट बाहिर निस्कन भन्‍नुहुन्छ। मार्था, मरियम र अरूहरू छक्क पर्दै चिहानबाहिरबाट हेर्दै छन्‌।

येसुले आफूसित मरिसकेकाहरूलाई जीवित पार्ने शक्‍ति छ भनेर देखाउनुभयो (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)

१५. युहन्‍ना ११:४१-४४ अनुसार लाजरसको चिहानमा कस्तो घटना घट्‌छ? (चित्र पनि हेर्नुहोस्‌।)

१५ युहन्‍ना ११:४१-४४ पढ्‌नुहोस्‌। येसु लाजरसको चिहानमा पुग्नुभएपछि ओडारको ढुङ्‌गा हटाउन भन्‍नुहुन्छ। तर लाजरसको शरीर गन्हाउन थालिसक्यो होला भनेर मार्था आपत्ति जनाउँछिन्‌। येसु तिनलाई यसो भन्‍नुहुन्छ: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले विश्‍वास गऱ्‍यौ भने परमेश्‍वरको महिमा देख्नेछ्यौ?” (युह. ११:३९, ४०) अनि येसु आकाशतिर हेरेर सबैको अगाडि प्रार्थना गर्नुहुन्छ। किनकि उहाँ सबै कुराको लागि यहोवालाई श्रेय दिन चाहनुहुन्छ। त्यसपछि येसु ठूलो स्वरमा यसो भन्‍नुहुन्छ: “ए लाजरस, बाहिर आऊ!” अनि लाजरस चिहानबाट उठेर बाहिर निस्कन्छन्‌! येसुले कसै-कसैलाई असम्भव जस्तो लागेको काम गर्नुभयो।—नयाँ संसार अनुवाद-मा (अङ्‌ग्रेजी) युहन्‍ना ११:१७ को अध्ययन नोट हेर्नुहोस्‌।

१६. युहन्‍ना अध्याय ११ को विवरणले फेरि जीवित हुने आशामाथिको हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउँछ?

१६ युहन्‍ना अध्याय ११ मा पाइने विवरणले फेरि जीवित हुने आशामाथिको हाम्रो विश्‍वासलाई बलियो बनाउँछ। कसरी? येसुले मार्थालाई गर्नुभएको प्रतिज्ञा फेरि याद गर्नुहोस्‌: “तिम्रो भाइ ब्युँतनेछ।” (युह. ११:२३) आफ्नो बुबासित जस्तै येसुसित पनि त्यो प्रतिज्ञा पूरा गर्ने इच्छा र शक्‍ति छ। येसु रुनुभएको कुराबाट उहाँ मरेकाहरूलाई जीवित पार्न र मृत्युले गर्दा हुने दुःख हटाउन तीव्र इच्छा गर्नुहुन्छ भनेर प्रस्ट भयो। लाजरसलाई फेरि जीवित पारेर येसुले आफूसित मरेकाहरूलाई जीवित पार्ने शक्‍ति छ भनेर फेरि प्रमाणित गर्नुभयो। साथै येसुले मार्थालाई भन्‍नुभएको कुरा पनि विचार गर्नुहोस्‌: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले विश्‍वास गऱ्‍यौ भने परमेश्‍वरको महिमा देख्नेछ्यौ?” (युह. ११:४०) फेरि जीवित पार्ने परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गर्ने हामीसित ठोस कारणहरू छन्‌। तर यस आशालाई अझ वास्तविक बनाउन हामी के गर्न सक्छौँ?

फेरि जीवित हुने आशालाई हामी कसरी अझ वास्तविक बनाउन सक्छौँ?

१७. बाइबलमा फेरि जीवित पारिएकाहरूको विवरण पढ्‌दा हामी कस्ता कुराहरूमा मनन गर्न सक्छौँ?

१७ फेरि जीवित भएकाहरूको विवरण पढ्‌नुहोस्‌ र त्यसमा मनन गर्नुहोस्‌। बाइबलमा आठ जना व्यक्‍तिलाई यसै पृथ्वीमा फेरि जीवित पारिएको विवरण पाइन्छ।c ती प्रत्येक विवरण ध्यान दिएर पढ्‌नुभए कसो होला? यी विवरणहरू पढ्‌दा ती पुरुष, स्त्री र केटाकेटी वास्तविक व्यक्‍ति थिए भनेर याद गर्नुहोस्‌। त्यसबाट सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌। ती प्रत्येक विवरणले परमेश्‍वरसित मरेकाहरूलाई फेरि जीवित पार्ने इच्छा र शक्‍ति छ भनेर कसरी देखाउँछ, विचार गर्नुहोस्‌। साथै सबैभन्दा महत्त्वपूर्ण पुनर्जीवनमा मनन गर्नुहोस्‌। त्यो हो, येसुको पुनर्जीवन। उहाँ फेरि जीवित हुनुभएपछि सयौँ मानिससामु देखा पर्नुभएको थियो। यस तथ्यले पुनर्जीवनमाथिको हाम्रो विश्‍वासलाई अझ बलियो बनाउँछ।—१ कोरि. १५:३-६, २०-२२.

१८. फेरि जीवित हुने आशासित सम्बन्धित गीतहरूबाट पूरापूर लाभ उठाउन तपाईँ के गर्न सक्नुहुन्छ? (फुटनोट पनि हेर्नुहोस्‌।)

१८ फेरि जीवित हुने आशासित सम्बन्धित “आध्यात्मिक गीतहरू”-बाट पूरापूर लाभ उठाउनुहोस्‌।d (एफि. ५:१९) ती गीतहरूले फेरि जीवित हुने आशालाई अझ वास्तविक बनाउँछ र यस अनमोल आशामाथिको हाम्रो भरोसालाई बलियो बनाउँछ। ती गीतहरू सुन्‍नुहोस्‌, अभ्यास गर्नुहोस्‌ र पारिवारिक उपासनामा ती गीतका शब्दहरूको अर्थबारे छलफल गर्नुहोस्‌। ती गीतहरू कण्ठ पार्नुहोस्‌। यसो गर्नुभयो भने ज्यानै जोखिममा पार्ने परीक्षाहरूको सामना गर्नुपर्दा वा प्रियजन गुमाउनुपर्दा पवित्र शक्‍तिले ती गीतहरू सम्झन अनि त्यसबाट सान्त्वना र बल पाउन मदत गर्नेछ।

१९. नयाँ संसारबारे हामी कस्ता कुराहरू कल्पना गर्न सक्छौँ? (“तपाईँ कस्ता प्रश्‍नहरू सोध्न चाहनुहुन्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१९ कल्पनाशक्‍ति चलाउनुहोस्‌। यहोवाले हामीलाई नयाँ संसारमा भएको कल्पना गर्न सक्ने क्षमता दिनुभएको छ। एक बहिनी यसो भन्छिन्‌: “म नयाँ संसारबारे यत्ति धेरै कल्पना गर्छु कि म प्रमोदवनमा फुलेको गुलाफको फूलको मगमग बासनासमेत कल्पना गर्न सक्छु।” पुरातन समयका वफादार पुरुष तथा स्त्रीहरूलाई भेटेको कल्पना गर्नुहोस्‌। तपाईँ कसलाई भेट्‌न चाहनुहुन्छ? तिनीहरूलाई कस्ता प्रश्‍नहरू सोध्न चाहनुहुन्छ? फेरि जीवित भएर आएका प्रियजनहरूलाई भेटेको कल्पना गर्नुहोस्‌। तिनीहरूलाई भेट्‌दा तपाईँ के भन्‍नुहुन्छ? तिनीहरूलाई न्यानो अङ्‌गालोमा बाँध्न पाउँदा खुसीले तपाईँको आँखा रसाउँछ होला।

तपाईँ कस्ता प्रश्‍नहरू सोध्न चाहनुहुन्छ?

नयाँ संसारमा फेरि जीवित भएकाहरूलाई निम्न प्रश्‍नहरू सोधेको कल्पना गर्नुहोस्‌:

नुहकी पत्नी: तपाईँको नाम के हो? पृथ्वी हिंसाले भरिएको बेला तपाईँहरूले छोराहरूलाई कसरी जोगाउनुभयो? (उत्प. ६:५, १३)

इसहाक: दाउरा बोकेर डाँडातिर उक्लँदै गर्दा तपाईँको मनमा कस्ता कुराहरू खेलिरहेका थिए? (उत्प. २२:६-८)

अय्युब: तपाईँले परीक्षा भोगिरहेको बेला स्वर्गमा के भएको थियो भनेर अहिले थाह पाउँदा तपाईँलाई कस्तो लागिरहेको छ? (अय्यु. १:६-१२; २:१-७)

बप्तिस्मा गराउने युहन्‍ना: यहोवाको आवाज सुन्‍नुहुँदा तपाईँलाई कस्तो लागेको थियो? (मत्ति ३:१३-१७)

येसुसँगै टाँगिएको अपराधी: तपाईँलाई येसुसँगै खम्बामा झुन्ड्याइएको बेला अरू के-के भएको थियो? (लुका २३:३९-४३)

तपाईँ निम्न व्यक्‍तिहरूलाई के सोध्न चाहनुहुन्छ?

हाबिल

अब्राहाम

यिप्तहकी छोरी

दाउद

योना

२०. हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

२० यहोवाले मरेकाहरूलाई जीवित पार्ने प्रतिज्ञा गर्नुभएकोमा हामी उहाँप्रति धेरै आभारी छौँ। उहाँको यो प्रतिज्ञा पूरा हुनेछ भन्‍ने कुरामा हामी ढुक्क छौँ। किनभने उहाँसित त्यो पूरा गर्ने इच्छा र शक्‍ति दुवै छ। यस अनमोल आशामाथिको हाम्रो विश्‍वासलाई बलियो बनाइरहने सङ्‌कल्प गरौँ। यसो गर्दा हामी परमेश्‍वरसित अझै नजिक हुनेछौँ, जसले हामी प्रत्येकलाई यसो भन्दै हुनुहुन्छ, ‘तिम्रो प्रियजन ब्युँतनेछ!’’

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • फेरि जीवित पार्ने यहोवाको प्रतिज्ञामा हामी किन विश्‍वास गर्न सक्छौँ?

  • येसुले लाजरसलाई फेरि जीवित पार्नुभएको विवरणबाट हामीले के सिक्यौँ?

  • फेरि जीवित हुने आशालाई अझ वास्तविक बनाउन तपाईँ के गर्न सक्नुहुन्छ?

गीत १४७ वाचा अनन्त जीवनको

a तपाईँको प्रियजनको मृत्यु भएको छ भने तपाईँले फेरि जीवित हुने प्रतिज्ञाबाट पक्कै सान्त्वना पाउन सक्नुहुन्छ। तर त्यस प्रतिज्ञामा विश्‍वास गर्नुको कारणबारे तपाईँ अरूलाई कसरी बुझाउनुहुन्छ? अनि फेरि जीवित हुने आशालाई तपाईँ कसरी अझ वास्तविक बनाउन सक्नुहुन्छ? यस लेखको उद्देश्‍य फेरि जीवित हुने आशामाथिको हाम्रो विश्‍वासलाई अझ बलियो बनाउन मदत गर्नु हो।

b यस म्युजिक भिडियोको शीर्षक हो, नयाँ संसार नजिकै (हिन्दी)। यो नोभेम्बर २०१६ को ब्रोडकास्टिङमा आएको थियो।

c यी विवरणहरू निम्न पदहरूमा पाइन्छन्‌: १ राजा १७:१७-२४; २ राजा ४:३२-३७; १३:२०, २१; लुका ७:११-१५; ८:४१-५६; युहन्‍ना ११:३८-४४; प्रेषित ९:३६-४२; २०:७-१२.

d यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ किताबमा निम्न गीतहरू हेर्नुहोस्‌: “नयाँ संसारको जीवन कल्पना गरौँ!” (गीत १३९), “इनाममा दृष्टि राखौँ!” (गीत १४४) र “जिउनेछन्‌ मृतक फेरि” (गीत १५१)। jw.org मा यी मौलिक गीतहरू पनि हेर्नुहोस्‌: “नयाँ संसार नजिकै” (हिन्दी), “नयाँ संसारको आशा” र “मसँगै हेर न।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने