प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 फेब्रुअरी pp. २-७
  • “म तिमीलाई . . . कहिल्यै त्याग्नेछैनँ”!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म तिमीलाई . . . कहिल्यै त्याग्नेछैनँ”!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अरू भेडालाई के हुनेछैन?
  • शुद्ध उपासना भ्रष्ट हुनेछैन
  • अरू भेडालाई के हुनेछ?
  • वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवाले भविष्यमा गर्नुहुने न्यायबारे हामीलाई के थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 फेब्रुअरी pp. २-७

अध्ययन लेख ५

गीत २७ यहोवाका छोराहरू प्रकट हुनेछन्‌

“म तिमीलाई . . . कहिल्यै त्याग्नेछैनँ”!

“[परमेश्‍वरले] यसो भन्‍नुभएको छ: ‘म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।’”​—हिब्रू १३:५ख.

सिक्न सकिने कुरा

बाँकी रहेका अभिषिक्‍त जनहरू स्वर्ग लगिएपछि पृथ्वीमा रहेका परमेश्‍वरका सेवकहरू त्यागिनेछैनन्‌ भन्‍ने कुरामा ती सेवकहरू किन विश्‍वस्त हुन सक्छन्‌?

१. पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरू कहिले स्वर्ग लगिनेछन्‌?

वर्षौँअघि यहोवाका जनहरू यस्तो सोच्ने गर्थे: ‘पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूलाई कहिले स्वर्ग लगिनेछ?’ हाम्रो पहिलाको बुझाइ आरमागेडोनको युद्धपछि पनि सम्भवतः केही अभिषिक्‍त जन थोरै समयको लागि पार्थिव प्रमोदवनमै रहनेछन्‌ भन्‍ने थियो। तर जुलाई १५, २०१३ अङ्‌कको प्रहरीधरहरा-बाट पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रिष्टियनहरू आरमागेडोनको युद्ध सुरु हुनुभन्दा अघि स्वर्ग लगिनेछन्‌ भनेर हामीले थाह पायौँ।—मत्ति २४:३१.

२. कसै-कसैको मनमा कस्तो प्रश्‍न आउन सक्छ? यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ तर कसै-कसैको मनमा यस्तो प्रश्‍न आउन सक्छ: “महासङ्‌कष्ट”-को दौडान पृथ्वीमा वफादार भई यहोवाको सेवा गरिरहेका “अरू भेडा”-लाई चाहिँ के हुनेछ? (मत्ति २४:२१; युह. १०:१६) हाम्रा प्यारा अभिषिक्‍त भाइबहिनीलाई स्वर्ग लगिएपछि आफू बेसहारा हुने वा त्यागिने हो कि भनेर कोही-कोही चिन्ता गर्छन्‌। बाइबलका दुई वटा विवरणले गर्दा तिनीहरूलाई त्यस्तो लागेको हुन सक्छ। आउनुहोस्‌, ती विवरणहरू विचार गरौँ। अनि हामी चिन्तित हुनुपर्ने कुनै कारण छैन भनेर किन ढुक्क हुन सक्छौँ, त्यसबारे पनि छलफल गरौँ।

अरू भेडालाई के हुनेछैन?

३-४. कसै-कसैलाई कस्तो लाग्न सक्छ र किन?

३ परिचालक निकायका अभिषिक्‍त भाइहरू नभएपछि अरू भेडाले यहोवालाई त्याग्नेछन्‌ भन्‍ने कसै-कसैलाई लाग्न सक्छ। बाइबलका केही विवरणले गर्दा तिनीहरूको मनमा यस्तो डर पैदा भएको हुन सक्छ। तीमध्ये दुइटा विवरण विचार गरौँ। पहिलो विवरण प्रधानपुजारी यहोयादासित सम्बन्धित छ। तिनी परमेश्‍वरका वफादार सेवक थिए। तिनी र तिनकी पत्नी यहोसेबाले बालक यहोआसको ज्यान जोगाए अनि उनलाई असल र वफादार राजा बन्‍न मदत गरे। यहोयादा जीवित छउन्जेल यहोआसले यहोवाको नजरमा जे सही छ, त्यही गरिरहे। तर यहोयादाको मृत्यु भएलगत्तै उनले खराब काम गर्न थाले। उनले दुष्ट भारदारहरूको कुरा सुने र यहोवालाई त्यागे।—२ इति. २४:२, १५-१९.

४ दोस्रो विवरण इस्वी संवत्‌ दोस्रो शताब्दीका ख्रिष्टियनहरूको हो। प्रेषितहरूमध्ये सबैभन्दा अन्तमा युहन्‍नाको मृत्यु भएको थियो। जीवित छउन्जेल तिनले थुप्रै ख्रिष्टियनलाई वफादार भई यहोवाको सेवा गरिरहन मदत गरेका थिए। (३ युह. ४) येसुका अरू वफादार प्रेषितहरूले जस्तै युहन्‍नाले पनि त्यतिबेला फैलिरहेको धर्मत्यागबाट मण्डलीलाई जोगाउन निकै सङ्‌घर्ष गरेका थिए। (१ युह. २:१८; २ थिस्स. २:७) तर तिनको मृत्युपछि मण्डलीहरूमा धर्मत्याग आगोसरि फैलियो। त्यसको केही दशकभित्रै धर्मत्यागी शिक्षाले गर्दा सबै मण्डली भ्रष्ट भए।

५. यी दुई बाइबल विवरणबाट हामीले कस्तो निष्कर्ष निकाल्नु हुँदैन?

५ के यी दुई बाइबल विवरणले अभिषिक्‍त जनहरूलाई स्वर्ग लगिएपछि अरू भेडाले यहोवाको नजरमा खराब काम गर्नेछन्‌ र धर्मत्यागी हुनेछन्‌ भन्‍ने सङ्‌केत दिन्छ? अहँ, दिँदैन। अभिषिक्‍त जनहरूलाई स्वर्ग लगिएपछि पनि अरू भेडाले सही तरिकामा यहोवाको उपासना गरिरहनेछन्‌ र उहाँले तिनीहरूको ख्याल राखिरहनुहुनेछ। हामी यस कुरामा किन विश्‍वस्त हुन सक्छौँ?

शुद्ध उपासना भ्रष्ट हुनेछैन

६. हामी कुन तीन समयावधिबारे विचार गर्नेछौँ?

६ भविष्यमा जस्तोसुकै कठिन अवस्था आइपरे पनि शुद्ध उपासना भ्रष्ट हुनेछैन भनेर हामी किन विश्‍वस्त हुन सक्छौँ? किनभने बाइबलमा बताइएअनुसार इस्राएलीहरूको समय र प्रेषितहरूको मृत्यु भएपछिको समयभन्दा हामी बाँचिरहेको समय बिलकुलै फरक छ। त्यसैले आउनुहोस्‌, यी तीन समयावधिबारे गहिरिएर विचार गरौँ: (१) पुरातन इस्राएलीहरूको समय, (२) प्रेषितहरूको मृत्यु भएपछिको समय र (३) हाम्रो समय अर्थात्‌ “सबै कुरा पुनर्स्थापित हुने समय।”​—प्रेषि. ३:२१.

७. राजाहरू र थुप्रै इस्राएलीले दुष्ट मार्ग रोजे तापनि वफादार इस्राएलीहरू किन यहोवाको सेवामा लागिरहन सके?

७ पुरातन इस्राएलीहरूको समय। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि मोसाले इस्राएलीहरूलाई यसो भने: “मलाई थाह छ, म मरेपछि तिमीहरूले अवश्‍य दुष्ट काम गर्नेछौ र मैले जुन मार्गमा हिँड्‌नू भनी आज्ञा दिएको छु, त्यसबाट तर्केर जानेछौ।” (व्यव. ३१:२९) इस्राएलीहरूले विद्रोह गरे भने तिनीहरूलाई निर्वासनमा लगिनेछ भनेर पनि मोसाले चेतावनी दिए। (व्यव. २८:३५, ३६) के यो कुरा सही साबित भयो? भयो। शताब्दीऔँको दौडान थुप्रै राजाले दुष्ट मार्ग रोजे र इस्राएलीहरूले पनि उनीहरूको पछि लागेर झूटो उपासना गरे। नतिजास्वरूप यहोवाले दुष्ट इस्राएलीहरूलाई सजाय दिनुभयो र ती राजाहरूलाई राजसत्ताबाट हटाउनुभयो। (इज. २१:२५-२७) तर यहोवाले भन्‍नुभएको कुरा पूरा भएको देख्दा वफादार इस्राएलीहरूले उहाँको सेवामा लागिरहन बल पाए।​—यसै. ५५:१०, ११.

८. इस्वी संवत्‌ दोस्रो शताब्दीमा मण्डलीहरू झूटा शिक्षाहरूले भ्रष्ट भएकोमा के हामी छक्क पर्नुपर्छ, व्याख्या गर्नुहोस्‌।

८ प्रेषितहरूको मृत्यु भएपछिको समय। इस्वी संवत्‌ दोस्रो शताब्दीमा ख्रिष्टियन मण्डलीहरू झूटा शिक्षाहरूले भ्रष्ट भएकोमा के हामी छक्क पर्नुपर्छ? अहँ, पर्दैन। किनकि येसुले धर्मत्याग फैलँदै जानेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। (मत्ति ७:२१-२३; १३:२४-३०, ३६-४३) इस्वी संवत्‌ प्रथम शताब्दीमै येसुको भविष्यवाणी पूरा हुन थालिसकेको कुरा पावल, पत्रुस र युहन्‍नाले बताएका छन्‌। (२ थिस्स. २:३, ७; २ पत्रु. २:१; १ युह. २:१८) इस्वी संवत्‌ दोस्रो शताब्दीसम्ममा ख्रिष्टियन मण्डलीहरू झूटा शिक्षाहरूले भ्रष्ट भइसकेका थिए। यसरी धर्मत्यागी ख्रिष्टियन धर्म देखा पऱ्‍यो र त्यो धर्म महान्‌ बेबिलोन अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्यको प्रमुख भाग बन्यो। त्यतिबेला पनि येसुको भविष्यवाणी पूरा भइरहेको थियो।

९. पुरातन इस्राएलीहरूको समय र इस्वी संवत्‌ दोस्रो शताब्दीको समयभन्दा हामी बाँचिरहेको समय किन फरक छ?

९ “सबै कुरा पुनर्स्थापित हुने समय।” पुरातन इस्राएलीहरूको समय र इस्वी संवत्‌ दोस्रो शताब्दीमा व्यापक रूपमा धर्मत्याग फैलँदै गएको समयभन्दा हामी बाँचिरहेको समय बिलकुलै फरक छ। हामी बाँचिरहेको समयलाई अक्सर हामी यस दुष्ट युगको “अन्तको दिन” भन्‍ने गर्छौँ। (२ तिमो. ३:१) तर बाइबलले देखाएअनुसार त्यही समयमा एउटा महत्त्वपूर्ण र लामो समयावधि सुरु भयो। त्यो समयावधि मसीही राज्यले मानिसजातिलाई त्रुटिरहित अवस्थामा नपुऱ्‍याएसम्म र पृथ्वीलाई प्रमोदवनमा परिणत नगरेसम्म चलिरहनेछ। त्यस समयावधिलाई “सबै कुरा पुनर्स्थापित हुने समय” भनिन्छ। (प्रेषि. ३:२१) त्यो समयावधि इस्वी संवत्‌ १९१४ मा सुरु भयो। त्यतिबेला के पुनर्स्थापित भयो? स्वर्गमा येसुलाई राजा अभिषेक गरियो। यहोवाले फेरि आफ्नो प्रतिनिधित्व गर्ने शासक नियुक्‍त गर्नुभयो, जो वफादार राजा दाउदका उत्तराधिकारी थिए। त्यति मात्र होइन, यहोवाले त्यसको लगत्तै शुद्ध उपासना पुनर्स्थापित गर्न थाल्नुभयो। (यसै. २:२-४; इज. ११:१७-२०) के त्यो शुद्ध उपासना फेरि भ्रष्ट हुनेछ?

१०. (क) हाम्रो समयको शुद्ध उपासनाबारे बाइबलमा कस्तो भविष्यवाणी गरिएको छ? (यसैया ५४:१७) (ख) यस्ता भविष्यवाणीहरू किन सान्त्वनादायी छन्‌?

१० यसैया ५४:१७ पढ्‌नुहोस्‌। यस भविष्यवाणीबारे विचार गरौँ: “तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ”! यो भविष्यवाणी अहिले हाम्रो समयमा पूरा भइरहेको छ। अनि हाम्रो समयमा यो सान्त्वनादायी भविष्यवाणी पनि पूरा भइरहेको छ: “तिम्रा सबै सन्तानले यहोवाबाट शिक्षा पाउनेछन्‌ अनि तिनीहरूले अपार शान्ति पाउनेछन्‌। तिमी न्यायको जगमाथि बसालिनेछ्यौ। . . . तिमी कुनै कुरादेखि डराउनुपर्नेछैन, तिमी डरले काँप्नुपर्ने कुनै कारण हुनेछैन; डर र त्रास तिमीदेखि भाग्नेछ।” (यसै. ५४:१३, १४) यहोवाका जनहरूको शैक्षिक कार्यक्रमलाई “यस युगको ईश्‍वर” सैतानले समेत रोक्न सक्दैन। (२ कोरि. ४:४) शुद्ध उपासना पुनर्स्थापित भएको छ र यो फेरि कहिल्यै भ्रष्ट हुनेछैन, सधैँभरि रहिरहनेछ। हामीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ!

अरू भेडालाई के हुनेछ?

११. अभिषिक्‍त जनहरूलाई स्वर्ग लगिएपछि ठूलो भीड त्यागिनेछैन भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ?

११ अभिषिक्‍त जनहरूलाई स्वर्ग लगिएपछि के हुनेछ? नबिर्सनुहोस्‌, येसु हाम्रो गोठालो हुनुहुन्छ। उहाँ मण्डलीको शिर हुनुहुन्छ। उहाँ आफैले स्पष्टसित यसो भन्‍नुभयो: “तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रिष्ट हुनुहुन्छ।” (मत्ति २३:१०) स्वर्गमा शासन गरिरहनुभएका राजा येसुले आफ्ना अनुयायीहरूको सधैँ ख्याल राख्नुहुनेछ। ख्रिष्टले तिनीहरूलाई डोऱ्‍याइरहनुभएकोले तिनीहरू कुनै कुरादेखि डराउनुपर्दैन। हुनत एक जना पनि अभिषिक्‍त जन पृथ्वीमा नहुँदा ख्रिष्टले आफ्ना मानिसहरूलाई कसरी डोऱ्‍याउनुहुनेछ भन्‍नेबारे एक-एक कुरा हामीलाई थाह छैन। तर हामी बेसहारा भने हुनेछैनौँ। किन? आउनुहोस्‌, केही बाइबल विवरण विचार गरौँ।

१२. यहोवाले आफ्ना जनहरूको कसरी ख्याल राख्नुभयो (क) मोसाको मृत्युपछि? (ख) एलियाले अर्कै जिम्मेवारी पाएपछि? (चित्र पनि हेर्नुहोस्‌।)

१२ इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि मोसाको मृत्यु भयो। त्यतिबेला परमेश्‍वरका जनहरूलाई के भयो? के तिनीहरू बेसहारा भए? अहँ, भएनन्‌। तिनीहरू वफादार होउन्जेल यहोवाले तिनीहरूको आवश्‍यकता पूरा गरिदिनुभयो। यहोवाले मोसालाई तिनको मृत्यु हुनुअघि यहोसुलाई इस्राएलीहरूको अगुवा नियुक्‍त गर्नू भन्‍नुभएको थियो। मोसाले यहोसुलाई वर्षौँदेखि तालिम दिइरहेका थिए। (प्रस्थ. ३३:११; व्यव. ३४:९) अनि नेतृत्व लिन सक्ने अरू थुप्रै सक्षम पुरुष पनि थिए। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गरिएको थियो। (व्यव. १:१५) परमेश्‍वरले आफ्ना जनहरूको राम्रो ख्याल राख्नुभएको थियो। हामी त्यस्तै उदाहरण एलियाको समयमा पनि पाउँछौँ। तिनले दशकौँदेखि इस्राएलीहरूमाझ साँचो उपासनाको नेतृत्व लिइरहेका थिए। तर यहोवाले तिनलाई अर्कै जिम्मेवारी पूरा गर्न यहुदा सार्नुभयो। (२ राजा २:१; २ इति. २१:१२) के त्यतिबेला इस्राएलको दस गोत्रे राज्यका वफादार मानिसहरू बेसहारा भए? अहँ, भएनन्‌। एलियाले एलिसालाई वर्षौँदेखि तालिम दिइरहेका थिए। अनि त्यतिबेला “भविष्यवक्‍ताहरूका छोराहरू” पनि थिए। (२ राजा २:७) तिनीहरूले भविष्यवक्‍ताहरूलाई प्रशिक्षण दिइने केन्द्रबाट तालिम पाएका हुन सक्छन्‌। परमेश्‍वरका जनहरूलाई मदत गर्न थुप्रै वफादार पुरुष थिए। यसरी आफ्ना वफादार उपासकहरूको ख्याल राख्ने यहोवाको उद्देश्‍य पूरा हुँदै गयो।

चित्रहरूको सँगालो: १. मोसा इस्राएली पुरुषहरूको एउटा समूहको अगाडि यहोसुलाई अगुवा नियुक्‍त गर्दै छन्‌। २. एलिया यर्दन नदीलाई लुगाले हिर्काउन ठिक्क परेको एलिसा हेर्दै छन्‌। अरू भविष्यवक्‍ताहरू छेउमै उभिरहेका छन्‌।

मोसा (बायाँको चित्र) र एलिया (दायाँको चित्र) दुवैले आ-आफ्नो उत्तराधिकारीलाई तालिम दिए (अनुच्छेद १२ हेर्नुहोस्‌)


१३. हिब्रू १३:५ख मा कस्तो आश्‍वासन दिइएको छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

१३ यी विवरणहरू विचार गर्दा पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूलाई स्वर्ग लगिएपछि अरू भेडालाई के हुनेछ जस्तो तपाईँलाई लाग्छ? हामीले यस विषयमा चिन्ता लिइरहनुपर्दैन। बाइबलमा यस्तो सरल तर आश्‍वासनदायी सत्य बताइएको छ: यहोवाले पृथ्वीमा रहेका आफ्ना जनहरूलाई कहिल्यै त्याग्नुहुनेछैन। (हिब्रू १३:५ख पढ्‌नुहोस्‌।) मोसा र एलियाले जस्तै अहिले नेतृत्व लिइरहेका अभिषिक्‍त जनहरूको सानो समूहले अरू भाइहरूलाई तालिम दिनुको महत्त्व बुझेका छन्‌। परिचालक निकायका भाइहरूले दशकौँदेखि “अरू भेडा”-का भाइहरूलाई नेतृत्व लिन तालिम दिँदै आएका छन्‌। जस्तै: तिनीहरूले एल्डरहरू, परिभ्रमण निरीक्षकहरू, शाखा समितिका सदस्यहरू, बेथेलका निरीक्षकहरू र अरू थुप्रैलाई तालिम दिनको लागि विभिन्‍न स्कुलको आयोजना गरेका छन्‌। परिचालक निकायको विभिन्‍न समितिमा सेवा गर्ने सहयोगीहरूलाई त्यस निकायले तालिम दिँदै आएको छ। ती सहयोगीहरूले सङ्‌गठनमा थुप्रै गहन जिम्मेवारी सम्हालिरहेका छन्‌। तिनीहरू ख्रिष्टका अरू भेडाको ख्याल राख्न सक्षम छन्‌।

तस्बिरहरूको सँगालो: १. परिचालक निकायका एक सदस्य भाइबहिनीलाई कक्षाकोठामा पढाउँदै हुनुहुन्छ। २. भाइबहिनीहरू कक्षाकोठामा टिपोट लिँदै छन्‌। ३. एक प्रशिक्षक र एक विद्यार्थी कक्षाकोठामा भाइबहिनीको अगाडि हिब्रू अध्याय ८ र ९ छलफल गर्दै छन्‌। तिनीहरूको पछाडिपट्टि वासस्थानको चित्र छ भने अगाडिपट्टिचाहिँ वासस्थानको नमुना छ।

परिचालक निकायले विभिन्‍न समितिमा सेवा गर्ने सहयोगीहरूलाई तालिम दिन अनि एल्डरहरू, परिभ्रमण निरीक्षकहरू, शाखा समितिका सदस्यहरू, बेथेलका निरीक्षकहरू र मिसनरीहरूका लागि विभिन्‍न स्कुलको आयोजना गर्न कडा मेहनत गरिरहेको छ (अनुच्छेद १३ हेर्नुहोस्‌)


१४. यस छलफलबाट हामीले सिकेको मुख्य कुरा के हो?

१४ यस छलफलबाट हामीले सिकेको मुख्य कुरा हो: महासङ्‌कष्टको अन्ततिर पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूलाई स्वर्ग लगिएपछि पनि पृथ्वीमा यहोवाका जनहरूले शुद्ध उपासना गरिरहनेछन्‌। हो, त्यतिबेला मागोगको गोग अर्थात्‌ राष्ट्रहरूको गठबन्धनले परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्नेछ। (इज. ३८:१८-२०) तर त्यो क्षणिक आक्रमण विफल हुनेछ; त्यसले परमेश्‍वरका जनहरूलाई उहाँको उपासना गर्नदेखि रोक्न सक्नेछैन। यहोवाले पक्कै तिनीहरूलाई जोगाउनुहुनेछ! एउटा दर्शनमा प्रेषित युहन्‍नाले ख्रिष्टका अरू भेडा मिलेर बनेको “ठूलो भीड” देखेका थिए। युहन्‍नालाई त्यो “ठूलो भीड” “महासङ्‌कष्ट पार गरेर आएका मानिसहरू हुन्‌” भनेर बताइएको थियो। (प्रका. ७:९, १४) यहोवाले पक्कै तिनीहरूको रक्षा गर्नुहुनेछ!

१५-१६. प्रकाश १७:१४ अनुसार अभिषिक्‍त जनहरूले आरमागेडोनको युद्धको दौडान के गर्नेछन्‌? तिनीहरूलाई स्वर्ग लगिए पनि हामी किन निरुत्साहित हुनुपर्दैन?

१५ कसै-कसैको मनमा यस्तो प्रश्‍न पनि उठ्‌न सक्छ: ‘स्वर्ग गएपछि अभिषिक्‍त जनहरूले के गर्नेछन्‌?’ बाइबलले यस प्रश्‍नको स्पष्ट जवाफ दिएको छ। बाइबलमा संसारका सरकारहरूले “पाठोसित युद्ध गर्नेछन्‌” भनेर बताइएको छ। तर तिनीहरूको हार हुनेछ। हामी यस्तो लेखिएको पाउँछौँ: “[पाठोले] तिनीहरूमाथि विजय हासिल गर्नुहुनेछ।” उहाँलाई कसले मदत गर्नेछ? “बोलाइएका,” “चुनिएका” र “विश्‍वासीहरूले।” (प्रकाश १७:१४ पढ्‌नुहोस्‌।) तिनीहरू को हुन्‌? फेरि जीवित भएका अभिषिक्‍त जनहरू। महासङ्‌कष्टको अन्ततिर स्वर्ग लगिएका अभिषिक्‍त जनहरूले सुरुमा गर्ने एउटा काम भनेको पाठोलाई युद्धमा सघाउने हो। कस्तो महत्त्वपूर्ण काम! केही अभिषिक्‍त ख्रिष्टियन यहोवाको साक्षी बन्‍नुअघि हिंस्रक थिए। कतिपय भने सेनामा समेत थिए। तर पछि तिनीहरू साँचो ख्रिष्टियन बने र शान्तिको बाटोमा हिँड्‌न सिके। (गला. ५:२२; २ थिस्स. ३:१६) तिनीहरूले संसारको युद्धमा भाग लिन छोडे। तर स्वर्ग लगिएपछि तिनीहरूले ख्रिष्ट र स्वर्गदूतहरूसितै परमेश्‍वरका शत्रुहरूविरुद्ध अन्तिम लडाइँ लड्‌नेछन्‌।

१६ यसबारे सोच्नुहोस्‌: पृथ्वीमा बाँकी रहेका केही अभिषिक्‍त जन वृद्ध र कमजोर भइसकेका छन्‌। तर फेरि जीवित भएर स्वर्ग गएपछि तिनीहरू शक्‍तिशाली र अमर हुनेछन्‌ अनि योद्धा राजा येसुसँगै युद्धमा लड्‌नेछन्‌। आरमागेडोनको युद्धपछि तिनीहरूले मानिसजातिलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउन पनि येसुलाई सघाउनेछन्‌। त्रुटिपूर्ण मानिस हुँदा तिनीहरूले आफ्ना भाइबहिनीलाई मदत गर्न जे-जति गरे, स्वर्ग गएपछि त्योभन्दा कता हो कता धेरै मदत गर्न सक्नेछन्‌!

१७. आरमागेडोनको युद्धको बेला परमेश्‍वरका सबै सेवक सुरक्षित रहनेछन्‌ भनेर हामी किन भन्‍न सक्छौँ?

१७ के तपाईँ “अरू भेडा” हुनुहुन्छ? हुनुहुन्छ भने आरमागेडोनको निर्णायक युद्ध सुरु हुँदा तपाईँले के गर्नुपर्नेछ? गर्नुपर्ने कुरा भनेको यहोवामा भरोसा गर्नु र उहाँको निर्देशन पछ्याउनु हो। यसमा के समावेश छ? बाइबल यसो भन्छ: “आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर। मेरो क्रोध शान्त नहोउन्जेल केहीबेर लुकेर बस।” (यसै. २६:२०) स्वर्ग र पृथ्वीमा रहेका परमेश्‍वरका सबै वफादार सेवक त्यतिबेला सुरक्षित रहनेछन्‌। प्रेषित पावलजस्तै हामी पनि यस कुरामा ढुक्क छौँ: “न स्वर्गदूतहरूले न सरकारहरूले न अहिले यहाँ भएका कुराहरूले न त पछि आउने कुराहरूले . . . परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न सक्नेछ।” (रोमी ८:३८, ३९) यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ र उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रिष्टियनहरूलाई स्वर्ग लगिएपछि अरू भेडालाई के हुनेछैन?

  • शुद्ध उपासना भ्रष्ट हुनेछैन भनेर हामी किन ढुक्क हुन सक्छौँ?

  • यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौँ?

गीत ८ यहोवा हाम्रो शरण

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने