प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 जून pp. २६-३१
  • यहोवालाई आफ्नो चट्टान बनाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई आफ्नो चट्टान बनाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई किन चट्टान भनिएको?
  • यहोवाका गुणहरू अनुकरण गर्नुहोस्‌
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • हामी कहिल्यै एक्लो छैनौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 जून pp. २६-३१

अध्ययन लेख २६

गीत ८ यहोवा हाम्रो शरण

यहोवालाई आफ्नो चट्टान बनाउनुहोस्‌

“हाम्रा परमेश्‍वरजस्तो चट्टान अरू कोही छैन।”—१ समु. २:२.

सिक्न सकिने कुरा

यहोवासित कस्ता गुणहरू भएकोले हामी उहाँलाई चट्टान भन्‍न सक्छौँ र हामी ती गुणहरू कसरी अनुकरण गर्न सक्छौँ, त्यसबारे यस लेखमा छलफल गर्नेछौँ।

१. भजन १८:४६ मा दाउदले यहोवालाई केसित तुलना गरे?

हामी बाँचिरहेको समयमा जुनसुकै बेला जे पनि हुन सक्छ। यसले गर्दा हाम्रो जीवन अझ कठिन हुन सक्छ वा पूरै परिवर्तन पनि हुन सक्छ। तर त्यस्तो बेला मदतको लागि हामी यहोवालाई पुकार्न सक्छौँ। अघिल्लो लेखमा हामीले यहोवा जीवित परमेश्‍वर हुनुहुन्छ र उहाँ हामीलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ भनेर छलफल गऱ्‍यौँ। दाउदले “यहोवा जीवित हुनुहुन्छ!” भने। (भजन १८:४६ पढ्‌नुहोस्‌।) उहाँको साथ पाउँदा हामी पनि त्यो कुरा महसुस गर्छौँ। तर दाउदले त्यसपछि तुरुन्तै यहोवा “मेरा चट्टान” हुनुहुन्छ भने। जीवित परमेश्‍वर यहोवालाई दाउदले किन निर्जीव चट्टानसित तुलना गरे?

२. यस लेखमा हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

२ यस लेखमा हामी यी प्रश्‍नहरू छलफल गर्नेछौँ: बाइबलमा यहोवालाई किन चट्टान भनिएको छ? हामी उहाँबारे के सिक्न सक्छौँ? हामी उहाँलाई कसरी आफ्नो चट्टान बनाउन सक्छौँ? अनि हामी कसरी उहाँका गुणहरू अनुकरण गर्न सक्छौँ?

यहोवालाई किन चट्टान भनिएको?

३. बाइबलमा अक्सर यहोवालाई “चट्टान” भनिएको छ, किन? (चित्र हेर्नुहोस्‌।)

३ बाइबलमा यहोवालाई “चट्टान” भनिएको छ। यस्तो तुलनाबाट हामी उहाँका केही गुणबारे राम्ररी बुझ्न सक्छौँ। थुप्रै विवरणमा यहोवाका सेवकहरूले उहाँका मनमोहक गुणहरूको प्रशंसा गर्दा उहाँलाई चट्टान भनेका छन्‌। यहोवालाई “चट्टान” भनिएको पहिलो बाइबल पद व्यवस्था ३२:४ हो। हन्‍नाले आफ्नो प्रार्थनामा “हाम्रा परमेश्‍वरजस्तो चट्टान अरू कोही छैन” भनिन्‌। (१ समु. २:२) हबकुकले यहोवालाई “मेरा चट्टान” भने। (हब. १:१२) भजन ७३ का लेखकले “परमेश्‍वर मेरो मनको चट्टान हुनुहुन्छ” भने। (भज. ७३:२६) अनि यहोवा स्वयम्‌ले आफूलाई चट्टान भन्‍नुभयो। (यसै. ४४:८) आउनुहोस्‌, यहोवालाई चट्टानजस्तो बनाउने तीन वटा गुणबारे र हामी कसरी उहाँलाई “हाम्रो चट्टान” बनाउन सक्छौँ, त्यसबारे छलफल गरौँ।—व्यव. ३२:३१.

आमाबुबा सानी छोरीसँगै ठूलो चट्टाने पहाड हेरिरहेका छन्‌।

यहोवा आफ्ना सेवकहरूको लागि स्थिर र अटल चट्टानजस्तो हुनुहुन्छ (अनुच्छेद ३ हेर्नुहोस्‌)


४. यहोवालाई किन हाम्रो शरणस्थान भन्‍न सक्छौँ? (भजन ९४:२२)

४ यहोवा शरणस्थान हुनुहुन्छ। जसरी घनघोर वर्षा हुँदा हामी गुफामा गयौँ भने सुरक्षित रहन सक्छौँ, त्यसैगरि जीवनमा गाह्रोसाह्रो परिस्थिति आइपर्दा यहोवा हामीलाई सुरक्षा दिनुहुन्छ। (भजन ९४:२२ पढ्‌नुहोस्‌।) उहाँसितको सम्बन्धलाई जोगाउन उहाँले हामीलाई मदत गर्नुहुन्छ। अनि कुनै पनि कुराले हामीलाई सदाको लागि हानि पुऱ्‍याउन सक्दैन भनेर उहाँले हामीलाई विश्‍वस्त पार्नुभएको छ। त्यति मात्र होइन, हामीलाई दुःखी र चिन्तित बनाउने सबै कुरा सदाको लागि हटाउने प्रतिज्ञा गर्नुभएको छ।—इज. ३४:२५, २६.

५. हामी कसरी यहोवालाई आफ्नो शरणस्थान बनाउन सक्छौँ?

५ यहोवालाई आफ्नो शरण लिने चट्टान बनाउने एउटा तरिका उहाँलाई प्रार्थना गरेर हो। प्रार्थना गर्दा हामी “परमेश्‍वरको शान्ति” पाउँछौँ। (फिलि. ४:६, ७) यसले हाम्रो हृदय र सोच्ने क्षमताको रक्षा गर्छ। यहोवाको साक्षी भएकोले झ्यालखानामा परेका आर्टयाम भाइको अनुभव विचार गरौँ। तिनलाई पटक-पटक केरकारको लागि लगिन्थ्यो। तिनलाई केरकार गर्ने प्रहरी रुखो स्वभावका थिए। ती प्रहरीले आर्टयाम भाइलाई डरधम्की देखाउँथे र दुर्व्यवहार पनि गर्थे। आर्टयाम भाइ यसो भन्छन्‌: “केरकारको लागि लगिँदा एकदमै तनाव हुन्थ्यो। . . . म जहिले पनि यहोवालाई प्रार्थना गर्थेँ अनि शान्त रहन मदत दिनुहोस्‌ र बुद्धि दिनुहोस्‌ भन्थेँ। ती प्रहरीले मलाई जत्ति नै तर्साउन खोजे पनि म शान्त रहेँ। यहोवाको मदत पाएकोले मलाई आफू बलियो पर्खालको आड लिएर उभिरहेको जस्तो महसुस भयो।”

६. हामी किन सधैँ यहोवामा भरोसा गर्न सक्छौँ? (यसैया २६:३, ४)

६ यहोवा भरोसायोग्य हुनुहुन्छ। जसरी एकदमै ठूलो चट्टान वा हिमाल स्थिर र अटल रहन्छ, त्यसैगरि यहोवा पनि स्थिर र अटल हुनुहुन्छ। त्यसैले हामीलाई मदत चाहिएको बेला उहाँले सधैँ मदत दिनुहुन्छ भनेर हामी भरोसा गर्न सक्छौँ। उहाँ “सनातनका चट्टान” हुनुहुन्छ। (यसैया २६:३, ४ पढ्‌नुहोस्‌।) “सनातन” भन्‍ने शब्दबाट उहाँ सधैँभरि रहिरहनुहुन्छ भनेर बुझ्न सक्छौँ। त्यसैले उहाँ सधैँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ। उहाँ हाम्रा प्रार्थनाहरू सुन्‍नुहुन्छ र हामीलाई चाहिएको बेला मदत दिनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। साथै उहाँ वफादारप्रति वफादार हुनुहुन्छ। (२ समु. २२:२६) यसकारणले पनि हामी उहाँमा भर पर्न सक्छौँ। हामीले उहाँको सेवामा जे-जति गऱ्‍यौँ, त्यो उहाँ कहिल्यै बिर्सनुहुन्‍न र उहाँ हामीलाई इनाम दिनुहुन्छ।—हिब्रू ६:१०; ११:६.

७. यहोवामा भरोसा गर्दा हामी कस्तो महसुस गर्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

७ यहोवामा पूरापूर भरोसा राख्दा हामीले उहाँलाई आफ्नो चट्टान बनाइरहेका हुन्छौँ। एकदमै कठिन अवस्थामा पनि उहाँको आज्ञा पालन गर्दा हाम्रै भलो हुन्छ भनेर हामी भरोसा गर्छौँ। (यसै. ४८:१७, १८) उहाँको साथ पाएको महसुस गर्दा उहाँमाथिको हाम्रो भरोसा अझ बढ्‌नेछ। यस्तो भरोसाले गर्दा एकदमै गाह्रो परीक्षा सहन पनि हामी तयार हुन्छौँ। हामीलाई मदत गर्ने कोही नहुँदा हामी यहोवामा भर पर्न सक्छौँ र उहाँ कत्ति भरोसायोग्य हुनुहुन्छ भनेर महसुस गर्न सक्छौँ। भ्लाडिमिर भाइ यसो भन्छन्‌: “झ्यालखानामा म यहोवासित एकदमै नजिक भएँ। मैले उहाँसित यत्तिको नजिक पहिला कहिल्यै महसुस गरेको थिइनँ। झ्यालखानामा म एक्लै थिएँ र उहाँले मात्र मलाई यो परीक्षा सहन मदत गर्न सक्नुहुन्छ भनेर मलाई थाह थियो। त्यसैले मैले यहोवामा अझ धेरै भरोसा राख्न सिकेँ।”

झ्यालखानामा थुनिएका एक भाइ हातमा बाइबल समातेर बाहिर हेर्दै छन्‌।

यहोवामा पूरापूर भरोसा राख्दा हामीले उहाँलाई आफ्नो चट्टान बनाइरहेका हुन्छौँ (अनुच्छेद ७ हेर्नुहोस्‌)


८. (क) यहोवा कहिल्यै परिवर्तन हुनुहुन्‍न भनेर हामी किन भन्‍न सक्छौँ? (ख) यहोवालाई आफ्नो चट्टान बनाउँदा हामी कस्तो लाभ उठाउन सक्छौँ? (भजन ६२:६, ७)

८ यहोवा कहिल्यै परिवर्तन हुनुहुन्‍न। यहोवा एकदमै ठूलो चट्टानजस्तो हुनुहुन्छ, जुन कहिल्यै परिवर्तन हुँदैन। उहाँ आफ्नो व्यक्‍तित्व र उद्देश्‍य कहिल्यै परिवर्तन गर्नुहुन्‍न। (मला. ३:६) आदम र हव्वाले विद्रोह गरे पनि यहोवाले मानिसजातिको लागि आफ्नो उद्देश्‍य परिवर्तन गर्नुभएन। यहोवा “आफैलाई ढाँट्‌न सक्नुहुन्‍न” भनेर प्रेषित पावलले लेखे। (२ तिमो. २:१३) यसको मतलब जे भए पनि वा अरूले जे गरे पनि यहोवा आफ्नो व्यक्‍तित्व, उद्देश्‍य र स्तर कहिल्यै परिवर्तन गर्नुहुन्‍न। त्यसैले गाह्रो अवस्थामा उहाँले हामीलाई मदत गर्नुहुनेछ र उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ।—भजन ६२:६, ७ पढ्‌नुहोस्‌।

९. टाट्याना बहिनीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

९ यहोवाका गुणहरू र उहाँको उद्देश्‍यमा मनन गरेर पनि हामी उहाँलाई आफ्नो चट्टान बनाउन सक्छौँ। यसो गर्दा हामी परीक्षाको बेला शान्त रहन र उहाँप्रति वफादार रहन सक्छौँ। (भज. १६:८) त्यस्तै महसुस गरेकी टाट्याना बहिनीको अनुभव विचार गरौँ। यहोवाको साक्षी भएकोले तिनलाई आफ्नै घरमा नजरबन्दमा राखिएको थियो। तिनी भन्छिन्‌: “घरमा एक्लै हुँदा सुरुमा त एकदमै गाह्रो भयो। म निराश हुन्थेँ।” तर तिनले आफूले भोगिरहेको परीक्षा यहोवा र उहाँको उद्देश्‍यसित कसरी सम्बन्धित छ भनेर मनन गरिन्‌। त्यसपछि तिनले शान्त र वफादार रहन बल पाइन्‌। तिनी भन्छिन्‌: “यहोवालाई खुसी पार्न चाहेकोले नै म यस्तो अवस्थामा परेकी हुँ भनेर मैले बुझेँ। यसले मलाई आफ्नै कुरा मात्र ध्यान नदिन मदत गऱ्‍यो।”

१०. हामी कसरी यहोवालाई आफ्नो चट्टान बनाउन सक्छौँ?

१० आउँदा दिनहरूमा हामीले अझ धेरै गाह्रा परीक्षाहरूको सामना गर्नुपर्नेछ। त्यतिबेला हामीले यहोवामाथि अझ धेरै भरोसा गर्नुपर्नेछ। यहोवाले हामीलाई वफादार रहिरहन मदत गर्नुहुनेछ भन्‍ने कुरामाथिको भरोसालाई बलियो बनाउने समय अहिल्यै हो। हामी कसरी त्यसो गर्न सक्छौँ? बाइबल विवरणहरू र आधुनिक समयका साक्षीहरूको अनुभवहरू पढ्‌नुहोस्‌। परमेश्‍वरले आफ्ना सेवकहरूलाई कसरी मदत गर्नुभयो, याद गर्नुहोस्‌। ती विवरणहरूबारे गहिरिएर सोच्नुहोस्‌। यी कुराहरू गर्नुभयो भने तपाईँले यहोवालाई आफ्नो चट्टान बनाउन सक्नुहुनेछ।

यहोवाका गुणहरू अनुकरण गर्नुहोस्‌

११. हामी किन यहोवाका गुणहरू अनुकरण गर्न चाहन्छौँ? (“जवान भाइहरूले राख्न सक्ने लक्ष्य” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

११ यहोवाले आफूलाई कसरी चट्टान साबित गर्नुभएको छ भनेर हामीले छलफल गऱ्‍यौँ। अब हामी कसरी उहाँका गुणहरू अनुकरण गर्न सक्छौँ, विचार गरौँ। हामी जत्ति यहोवाका गुणहरू अनुकरण गर्ने कोसिस गर्छौँ, त्यत्ति नै हामीले भाइबहिनीलाई बलियो बनाउन सक्नेछौँ। जस्तै: येसुले सिमोनलाई केफास (जसको ग्रीक अनुवाद हो, “पत्रुस”) भन्‍ने नाम दिनुभयो, जसको अर्थ “चट्टानको टुक्रा” हो। (युह. १:४२) पत्रुसले मण्डलीका भाइबहिनीलाई सान्त्वना दिनेछन्‌ र तिनीहरूको विश्‍वास बलियो बनाउनेछन्‌ भनेर येसुले भन्‍न खोज्दै हुनुहुन्थ्यो। बाइबलमा मण्डलीका एल्डरहरूलाई “ठूलो चट्टानको छाया” भनिएको छ। यसले तिनीहरूले मण्डलीलाई सुरक्षा दिने कुरालाई सङ्‌केत गर्छ। (यसै. ३२:२) एल्डरहरूले मात्र होइन, हामी सबैले पनि यहोवाका गुणहरू अनुकरण गरेर एकअर्कालाई बलियो बनाउन सक्छौँ।—एफि. ५:१.

एक जना एल्डरले एक जवान भाइलाई माइकको ब्याट्री फेर्न सिकाइरहेका छन्‌।

जवान भाइहरूले राख्न सक्ने लक्ष्य

युवावस्था यहोवाका गुणहरूबारे सिक्ने र उहाँको अनुकरण गर्ने राम्रो समय हो। यसो गर्नुभयो भने तपाईँले एल्डरमा हुनुपर्ने गुणहरू विकास गर्न सक्नुहुनेछ। सायद तपाईँ २०/२१ वर्षको उमेरमै एल्डर नियुक्‍त हुन सक्नुहुन्छ।

  • शरणस्थान बन्‍नुहोस्‌। सभामा अरूसित कुरा गरेर तिनीहरूलाई स्वागत गरिएको महसुस गराउनुहोस्‌। बाजेबज्यैहरूलाई व्यक्‍तिगत चासो देखाउनुहोस्‌।

  • भरोसायोग्य हुनुहोस्‌। सभाभवनमा गर्नुपर्ने काम थुप्रै हुन्छन्‌। ती कामहरू गर्न अग्रसर हुनुहोस्‌। तपाईँले कुनै असाइनमेन्ट पाउनुभयो भने निर्देशनअनुसारै त्यो पूरा गर्नुहोस्‌।

  • जे सही छ, त्यही गर्नुहोस्‌। दिनहुँ बाइबल पढ्‌नुहोस्‌ र पढेको कुरामा मनन गर्नुहोस्‌। बाइबल सिद्धान्तहरूको आधारमा निर्णयहरू गर्न सिक्नुहोस्‌।

१२. हामी शरणस्थान बन्‍न सक्ने केही तरिका बताउनुहोस्‌।

१२ शरणस्थान बन्‍नुहोस्‌। “अन्तको दिनमा” अवस्था झन्‌झनै बिग्रँदै जाँदा हामीले एकअर्कालाई अझ धेरै मदत गर्नुपर्ने हुन्छ। (२ तिमो. ३:१) हामीले भाइबहिनीलाई प्राकृतिक प्रकोप वा युद्धको बेला आफ्नो घरमा शरण दिन सक्छौँ। साथै हामी भाइबहिनीलाई भावनात्मक अनि आध्यात्मिक मदत पनि दिन सक्छौँ। यसो गर्ने एउटा तरिका तिनीहरूलाई सभाभवनमा स्वागत गर्नु हो। किनकि हामी मण्डलीको वातावरण न्यानो बनाइरहन चाहन्छौँ। आज थुप्रै मानिस एकअर्कासित रुखो व्यवहार गर्छन्‌। यसले गर्दा हाम्रा भाइबहिनीलाई निकै तनाव भएको छ र आफू अपहेलित भएको महसुस गरेका छन्‌। त्यसैले हाम्रा भाइबहिनीहरू सभामा उपस्थित हुँदा हामी तिनीहरूलाई माया, स्फूर्ति र सुरक्षा पाएको महसुस गराउन चाहन्छौँ।

१३. एल्डरहरू कसरी भाइबहिनीको लागि शरणस्थान बन्‍न सक्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

१३ भाइबहिनीलाई गाह्रो अवस्थामा मदत गरेर एल्डरहरू तिनीहरूको लागि शरणस्थान बन्‍न सक्छन्‌। एल्डरहरू विपत्ति र स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थाहरूमा भाइबहिनीलाई व्यावहारिक मदत दिन अग्रसर हुन्छन्‌। साथै एल्डरहरू भाइबहिनीलाई आध्यात्मिक मदत पनि दिन्छन्‌। एल्डरहरू अरूसित दयालुपूर्वक बोल्छन्‌, ध्यान दिएर सुन्छन्‌ र भाइबहिनीको भावना बुझ्ने कोसिस गर्छन्‌ भने तिनीहरूलाई एल्डरहरूकहाँ मदत माग्न जान अप्ठ्यारो लाग्दैन। एल्डरहरूले यस्ता गुणहरू देखाउँदा भाइबहिनीले माया पाएको महसुस गर्छन्‌ र एल्डरहरूले दिने बाइबलआधारित सल्लाह लागू गर्न तिनीहरूलाई सजिलो लाग्छ।—१ थिस्स. २:७, ८, ११.

गाह्रा अवस्थाहरूमा एल्डरहरू भाइबहिनीको लागि शरणस्थान बन्‍न सक्छन्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)a


१४. हामी कसरी भरोसायोग्य हुन सक्छौँ?

१४ भरोसायोग्य हुनुहोस्‌। आफू गाह्रो अवस्थामा पर्दा मण्डलीका अरूले पक्कै मदत गर्छन्‌ भन्‍ने कुरामा भाइबहिनीहरू ढुक्क भएको हामी चाहन्छौँ। (हितो. १७:१७) हामी कसरी भरोसायोग्य व्यक्‍ति भनेर चिनिन सक्छौँ? हामी हरेक दिन यहोवाको अनुकरण गर्न सक्दो कोसिस गर्न सक्छौँ। जस्तै: आफ्नो बोलीको पक्का भएर र समयनिष्ठ हुन सक्दो गरेर। (मत्ति ५:३७) साथै हामी कसैलाई मदत चाहिएको कुरा थाह पाउँदा तिनीहरूलाई मदत दिन अग्रसर हुन सक्छौँ। अनि मण्डलीमा कुनै जिम्मेवारी पाउँदा निर्देशनअनुसार नै त्यो पूरा गर्न सक्दो कोसिस गर्छौँ।

१५. भरोसायोग्य एल्डरहरू मण्डलीको लागि किन आशिष्‌ हुन्‌?

१५ भरोसायोग्य एल्डरहरू मण्डलीको लागि आशिष्‌ हुन्‌। किनभने भाइबहिनीले आफ्नो समूह निरीक्षकलाई वा कुनै एल्डरलाई जुनसुकै बेला सम्पर्क गर्न सक्छन्‌ भनेर थाह पाउँदा तिनीहरू ढुक्क महसुस गर्छन्‌। अनि एल्डरहरू तिनीहरूलाई मदत गर्न इच्छुक छन्‌ भनेर थाह पाउँदा तिनीहरू माया पाएको महसुस गर्छन्‌। एल्डरहरूले आफ्नो विचारधारामा नभई बाइबल र बाइबलआधारित प्रकाशनमा आधारित भएर सल्लाह दिँदा भाइबहिनीले तिनीहरूलाई अझ धेरै भरोसा गर्छन्‌। भाइबहिनीको गोप्य कुरालाई गोप्य नै राखिदिने र सधैँ आफ्नो वचन पूरा गर्ने एल्डरहरूलाई तिनीहरूले भरोसा गर्छन्‌।

१६. जे सही छ, त्यही गर्दा हामी आफैलाई अनि अरूलाई कस्तो लाभ हुन्छ?

१६ यहोवाको नजरमा जे सही छ, त्यही गर्नुहोस्‌। यदि हामी जे सही छ, त्यो गर्न दृढ भयौँ र बाइबल सिद्धान्तहरूमा आधारित भएर निर्णय गऱ्‍यौँ भने त्यसले अरूलाई पनि त्यसै गर्न उत्प्रेरित गर्नेछ। हामीले बाइबल अध्ययन गऱ्‍यौँ र यहोवामाथिको विश्‍वासलाई बलियो बनायौँ भने हामी उहाँका स्तरहरूअनुसार चल्नेछौँ। साथै हामी दोमनका अनि अस्थिर हुनेछैनौँ वा झूटा शिक्षाहरू र सांसारिक सोचाइले गर्दा बहकिनेछैनौँ। (एफि. ४:१४; याकु. १:६-८) कुनै नराम्रो समाचार सुन्‍नुपर्दा नआत्तिन हामीलाई यहोवा र उहाँका प्रतिज्ञाहरूमाथिको विश्‍वासले मदत गर्छ। (भज. ११२:७, ८) साथै परीक्षा भोगिरहेकाहरूलाई पनि हामीले मदत गर्न सक्नेछौँ।—१ थिस्स. ३:२, ३.

१७. एल्डरहरूमा कस्ता गुणहरू हुनुपर्छ?

१७ एल्डरहरू सन्तुलित आनीबानी भएको, सुझबुझ भएको, व्यवस्थित र व्यावहारिक हुनुपर्छ। ‘विश्‍वासयोग्य वचनलाई दह्रोसित पक्रिराखेर’ तिनीहरू भाइबहिनीलाई शान्त रहन र यहोवामाथिको विश्‍वासलाई बलियो बनाइराख्न मदत गर्छन्‌। (ति. १:९; १ तिमो. ३:१-३) गोठालोले झैँ हेरविचार गरेर र असल उदाहरण बसालेर तिनीहरू भाइबहिनीलाई नियमित रूपमा सभामा उपस्थित हुन, क्षेत्र सेवामा भाग लिन र व्यक्‍तिगत अध्ययन गर्न मदत गर्छन्‌। भाइबहिनीले तनावपूर्ण अवस्थाको सामना गर्नुपर्दा तिनीहरूलाई यहोवामा भरोसा गर्न र उहाँका प्रतिज्ञाहरूमा ध्यान दिन प्रोत्साहन दिन्छन्‌।

१८. हामी किन यहोवाको प्रशंसा गर्न र उहाँसित घनिष्ठ भइरहन चाहन्छौँ? (“यहोवासित नजिक हुने तरिका” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१८ हामीले यहोवाका केही मनमोहक गुणहरूबारे विचार गऱ्‍यौँ। त्यसैले हामी पनि राजा दाउदले जस्तै यसो भन्‍न सक्छौँ: “यहोवाको प्रशंसा होस्‌, जो मेरो चट्टान हुनुहुन्छ।” (भज. १४४:१) हामी सधैँ यहोवामा भर पर्न सक्छौँ। यहोवाले हामीलाई जीवनभर उहाँसित घनिष्ठ भइरहन मदत गर्नुहुनेछ। अनि बुढेसकालमा पनि हामी ढुक्क भएर यसो भन्‍न सक्नेछौँ: “उहाँ मेरो चट्टान हुनुहुन्छ।”—भज. ९२:१४, १५.

यहोवासित नजिक हुने तरिका

व्यक्‍तिगत अध्ययन गर्दा तपाईँ यहोवाका निम्न पदवीहरूबारे अझ गहिरिएर अध्ययन गर्न सक्नुहुन्छ:

  • सर्वशक्‍तिमान्‌—उत्प. १७:१

  • अतिप्राचीन—दानि. ७:९

  • सृष्टिकर्ता—भज. ११५:१५

  • बुबा—यसै. ६४:८

  • शिक्षक—अय्यु. ३६:२२; यसै. ३०:२०

  • गोठालो—भज. २३:१

बाइबलमा यहोवाका लागि यस्ता थुप्रै पदवीहरू र अभिव्यक्‍तिहरू प्रयोग गरिएका छन्‌, जसबारे अध्ययन गरेर हामी उहाँसितको सम्बन्धलाई बलियो बनाउन सक्छौँ। अध्ययन सामग्रीहरू प्रयोग गरेर निम्न कुराहरू गर्नुहोस्‌:

  • प्रसङ्‌ग केलाउनुहोस्‌। यो कसले भनेको हो? त्यतिबेलाको परिस्थिति कस्तो थियो? यो अभिव्यक्‍ति किन प्रयोग गरिएको होला?

  • अरू पदहरू खोज्नुहोस्‌। यो अभिव्यक्‍ति अन्त कहाँ पाइन्छ? ती विवरणहरूबीच कस्ता समानता छन्‌?

  • यी प्रश्‍नहरूमा मनन गर्नुहोस्‌। यस पदवीबाट म यहोवाबारे के सिक्न सक्छु? यहोवालाई यो पदवी सुहाउँछ भनेर म किन भन्‍न सक्छु? यस पदवीबारे बुझेपछि यहोवाबारे मेरो दृष्टिकोण कस्तो भएको छ? आफूले सिकेको कुरा म कसरी लागू गर्न सक्छु?

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • बाइबलमा यहोवालाई किन “चट्टान”-सित तुलना गरिएको छ?

  • हामी कसरी यहोवालाई आफ्नो चट्टान बनाउन सक्छौँ?

  • हामी कसरी यहोवाका गुणहरूको अनुकरण गर्न सक्छौँ?

गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!

a चित्रको व्याख्या: सभाभवनमा एउटी बहिनी दुई जना एल्डरसित अप्ठ्यारो नमानी कुरा गर्दै छिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने