प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 जुलाई पृ. २-७
  • सादोकजस्तै साहसी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सादोकजस्तै साहसी हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यलाई समर्थन गर्नुहोस्‌
  • भाइबहिनीलाई मदत गर्नुहोस्‌
  • यहोवाप्रति वफादार भइरहनुहोस्‌
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 जुलाई पृ. २-७

अध्ययन लेख २७

गीत ७३ साहस हाम्रो बढाइदेऊ

सादोकजस्तै साहसी हुनुहोस्‌

“[सादोक] वीर र साहसी जवान थिए।”—१ इति. १२:२८.

सिक्न सकिने कुरा

सादोकको उदाहरणबाट हामी पनि साहसी हुन सिक्न सक्छौँ।

१-२. सादोक को थिए? (१ इतिहास १२:२२, २६-२८)

यो दृश्‍य कल्पना गर्नुहोस्‌। दाउदलाई इस्राएलको राजा बनाउन हेब्रोननजिकैको एउटा डाँडामा ३ लाख ४० हजारभन्दा धेरै मानिसहरू भेला भएका छन्‌। तिनीहरू तीन दिनसम्म खाँदै, पिउँदै र यहोवाको प्रशंसा गर्दै गीतहरू गाउँछन्‌। (१ इति. १२:३९) त्यत्रो ठूलो भीडमा सादोक पनि थिए भनेर कसैले यादै नगरेको हुन सक्छ। तर यहोवाले तिनलाई याद गर्नुभयो र तिनीबारे बाइबलमा लेख्न लगाउनुभयो। किनभने हामीले पनि तिनलाई चिनेको यहोवा चाहनुहुन्छ। (१ इतिहास १२:२२, २६-२८ पढ्‌नुहोस्‌।) त्यसोभए वास्तवमा सादोक को थिए?

२ सादोक एक पुजारी थिए। तिनले प्रधानपुजारी अबियातारसँगै सेवा गरेका थिए। बाइबलमा तिनलाई दर्शी पनि भनिएको छ किनभने यहोवाले तिनलाई बुद्धि र उहाँको इच्छा बुझ्न सक्ने क्षमता दिनुभएको थियो। (२ समु. १५:२७) तिनी असाध्यै बुद्धिमान्‌ भएकोले मानिसहरू तिनीसित सल्लाह माग्न आउँथे। त्यति मात्र होइन, तिनी एक साहसी पुरुष थिए। तिनको यही गुणबारे हामी यस लेखमा छलफल गर्नेछौँ।

३. (क) हामी अहिले किन साहसी हुनुपर्छ? (ख) यस लेखमा के छलफल गर्नेछौँ?

३ यस अन्तको समयमा सैतान यहोवामाथिको हाम्रो विश्‍वासलाई कमजोर बनाउन लागिपरेको छ। (१ पत्रु. ५:८) त्यसैले यहोवाले सैतान र त्यसको दुष्ट संसारलाई नाश नगरुन्जेल हामी साहसी भइरहनुपर्छ। (भज. ३१:२४) आउनुहोस्‌, सादोकजस्तै साहसी हुन सक्ने तीन वटा क्षेत्रबारे विचार गरौँ।

परमेश्‍वरको राज्यलाई समर्थन गर्नुहोस्‌

४. परमेश्‍वरको राज्यलाई समर्थन गर्न किन साहस चाहिन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

४ हामी मनैदेखि परमेश्‍वरको राज्यलाई समर्थन गर्छौँ तर कहिलेकाहीँ त्यसो गर्न गाह्रो हुने भएकोले हामीलाई साहस चाहिन्छ। (मत्ति ६:३३) जस्तै: यस दुष्ट संसारमा यहोवाका स्तरहरूअनुसार जिउन र सुसमाचार सुनाउन हामीलाई साहस चाहिन्छ। (१ थिस्स. २:२) अनि राजनैतिक समस्याहरूले गर्दा संसार झन्‌झनै विभाजित भइरहेको छ। (युह. १८:३६) त्यसैले हामीलाई तटस्थ रहन पनि साहस चाहिन्छ। राजनीति र सैन्य गतिविधिमा भाग लिन इन्कार गरेकोले यहोवाका थुप्रै सेवकहरूले आर्थिक समस्या र दुर्व्यवहार भोग्नुपरेको छ। अनि तिनीहरूलाई कुटपिट गरिएको छ र झ्यालखानामा समेत हालिएको छ।

एक जना भाइलाई दुई जना सहकर्मीले आ-आफ्नो धारणा जोसका साथ सुनाउँदै छन्‌। तीमध्ये एक जना सहकर्मीले टिभीमा देखाइएका दुई जना उम्मेदवारको मतगणना देखाउँदै छन्‌।

अरूले कुनै राजनैतिक पार्टीको पक्ष लिँदा तपाईँ के गर्नुहुन्छ? (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. दाउदसँगसँगै युद्धमा जान सादोकलाई किन साहस चाहिएको थियो?

५ दाउद राजा भएको खुसीयाली मनाउन मात्र सादोक हेब्रोन गएका थिएनन्‌। बरु तिनी हातहतियार भिरेर गएका थिए। (१ इति. १२:३८) यसबाट तिनी दाउदसँगसँगै युद्धमा गएर शत्रुहरूसित लड्‌न तयार थिए भनेर देखिन्छ। हुनत सादोक निपुण योद्धा थिएनन्‌ तर तिनी निकै साहसी थिए।

६. सादोकले साहसी हुने सन्दर्भमा दाउदबाट के सिके? (भजन १३८:३)

६ सादोकले साहसी हुन कसरी सिके? तिनी थुप्रै वीर र साहसी पुरुषहरूलाई चिन्थे। तिनीहरूको उदाहरणबाट तिनले पक्कै पनि साहसी हुन सिकेको हुनुपर्छ। तिनीहरूमध्ये एक जना दाउद थिए। दाउदले साहसी हुँदै ‘लडाइँमा इस्राएलीहरूको नेतृत्व लिएको’ देखेकोले सबै इस्राएलीहरू उनलाई राजा बनाउन चाहन्थे। (१ इति. ११:१, २) आफ्ना शत्रुहरूसित लड्‌न दाउद सधैँ मदतको लागि यहोवामा भर पर्थे। (भज. २८:७; भजन १३८:३ पढ्‌नुहोस्‌।) सादोकले अरू साहसी पुरुषहरूलाई पनि चिनेका थिए। जस्तै: यहोयादा र तिनका छोरा बेनायाह। बेनायाहलाई बाइबलमा वीर पुरुष भनिएको छ। साथै सादोकले दाउदलाई साथ दिएका २२ जना नाइकेहरूलाई पनि चिनेका थिए। (१ इति. ११:२२-२५; १२:२६-२८) यी सबै पुरुषहरूले दाउदलाई राजा बनाउन साहस देखाए।

७. (क) अहिले हाम्रो समयमा पनि भाइबहिनीले कसरी साहस देखाएका छन्‌? (ख) भिडियोमा देखाइएका भाइ आएङ्‌गेबाट तपाईँले के सिक्नुभयो?

७ साहसी भई यहोवा र उहाँको राज्यलाई समर्थन गर्ने व्यक्‍तिहरूको उदाहरणमा मनन गऱ्‍यौँ भने हामी पनि बलियो र साहसी हुन सक्छौँ। हाम्रो राजा येसुले सैतानको संसारको राजनैतिक मामिलाहरूमा मुछिनदेखि ठाडै इन्कार गर्नुभयो। (मत्ति ४:८-११; युह. ६:१४, १५) उहाँ साहसको लागि सधैँ यहोवामा भर पर्नुभयो। अहिले हाम्रो समयमा पनि युद्धमा भाग नलिन र राजनैतिक मामिलाहरूमा नमुछिन दृढ अडान लिएका थुप्रै युवाहरू छन्‌। तिनीहरूको अनुभव हामी jw.org मा पाउन सक्छौँ। ती अनुभवहरू पढ्‌नुभए कसो होला?a

भाइबहिनीलाई मदत गर्नुहोस्‌

८. कस्तो अवस्थामा भाइबहिनीलाई मदत गर्न एल्डरहरूलाई साहस चाहिन सक्छ?

८ यहोवाका जनहरू एकअर्कालाई मदत गर्न चाहन्छन्‌। (२ कोरि. ८:४) तर कहिलेकाहीँ त्यसो गर्न साहस चाहिन्छ। जस्तै: युद्ध हुँदा भाइबहिनीलाई प्रोत्साहन, साथ, आध्यात्मिक भोजन र भौतिक कुराहरूको खाँचो पर्छ भनेर एल्डरहरूलाई थाह छ। भाइबहिनीप्रतिको प्रेमले गर्दा एल्डरहरू आफ्नै ज्यानलाई जोखिममा हालेर समेत तिनीहरूलाई मदत गर्छन्‌। (युह. १५:१२, १३) यसो गर्दा एल्डरहरूले सादोकले जस्तै साहस देखाइरहेका हुन्छन्‌।

९. दोस्रो समुएल १५:२७-२९ अनुसार दाउदले सादोकलाई के गर्न भने? (चित्र पनि हेर्नुहोस्‌।)

९ सादोकले खतरनाक अवस्थामा अरूलाई कसरी मदत गरे, विचार गरौँ। दाउदका छोरा अब्सालोम राजगद्दी हडप्न चाहन्थे। (२ समु. १५:१२, १३) त्यसैले दाउदको ज्यान जोखिममा परेको थियो। तिनी यरुसलेमबाट तुरुन्तै भाग्नुपर्ने थियो। तिनले आफूसँग भएका सबै सेवकलाई यसो भने: “उठ! हामी यहाँबाट भागौँ! नत्र हामीमध्ये कोही पनि अब्सालोमको हातबाट उम्कन सक्नेछैनौँ।” (२ समु. १५:१४) दाउदलाई अब्सालोमको षड्यन्त्रबारे थाह पाउन कोही न कोही त यरुसलेममै बस्नुपर्छ जस्तो लाग्यो। त्यसैले तिनले सादोक र अरू पुजारीहरूलाई यरुसलेम फर्कन र अब्सालोमको जासुसी गर्न भने। (२ समुएल १५:२७-२९ पढ्‌नुहोस्‌।) दाउदले ती पुजारीहरूलाई अह्राएको काम एकदमै जोखिमपूर्ण थियो। कसैले त्यसबारे थाह पायो भने तिनीहरूको ज्यानै जान सक्थ्यो। त्यसैले तिनीहरू निकै होसियार हुनुपर्थ्यो। अब्सालोम एकदमै अहङ्‌कारी, धोकेबाज अनि बदला लिने खालका मानिस थिए। सादोक र अरू पुजारीहरूले जासुसी गर्दै छन्‌ भनेर अब्सालोमले थाह पाएका भए तिनीहरूको हालत के हुन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त!

आफ्ना सेवकहरू यरुसलेम छोडेर जाँदै गर्दा राजा दाउद सादोकसित कुरा गरिरहेका छन्‌।

दाउदले सादोकलाई अह्राएको काम एकदमै जोखिमपूर्ण थियो (अनुच्छेद ९ हेर्नुहोस्‌)


१०. सादोकले अरू मानिसहरूसित मिलेर कसरी दाउदको ज्यान जोगाए?

१० दाउदले एउटा जुक्‍ति निकाले र त्यसलाई सफल बनाउन आफ्ना वफादार साथीहरू सादोक र हुसैको मदत लिए। (२ समु. १५:३२-३७) हुसैले अब्सालोमलाई समर्थन गरेको जस्तो देखाए र दाउदलाई कसरी मार्ने भनेर अब्सालोमलाई एउटा सुझाव दिए। हुसैको सुझावअनुसार गर्न अब्सालोमलाई केही समय लाग्ने थियो। अनि त्यतिन्जेल दाउदले पनि आवश्‍यक तयारी गर्न समय पाउने थिए। अब्सालोम हुसैको सुझावअनुसार गर्न राजी भएपछि हुसैले सादोक र अबियातारलाई त्यसबारे बताए। (२ समु. १७:८-१६) त्यसपछि तिनीहरूले त्यो खबर दाउदसम्म पुऱ्‍याए। (२ समु. १७:१७) सादोक र अरू पुजारीहरूले यहोवाको मदत पाएर दाउदको ज्यान जोगाउन सके।—२ समु. १७:२१, २२.

११. भाइबहिनीलाई मदत गर्दा हामी कसरी सादोकजस्तै साहसी हुन सक्छौँ?

११ भाइबहिनीहरू खतरनाक अवस्थामा पर्दा मदत गर्न हामीलाई बोलाइन सक्छ। त्यस्तो अवस्थामा हामी कसरी सादोकजस्तै साहसी हुन सक्छौँ। (१) निर्देशन पछ्याउनुहोस्‌। त्यस्ता अवस्थाहरूमा आफूखुसी गर्नुको साटो हामी एकताबद्ध हुनुपर्छ। त्यसको लागि स्थानीय तवरमा सङ्‌गठनबाट आएको निर्देशन पालन गर्नुपर्छ। (हिब्रू १३:१७) कुनै विपद्‌को लागि कसरी तयार रहने र विपद्‌ आइहाल्यो भने के गर्ने भन्‍नेबारे दिइएका निर्देशनहरू एल्डरहरूले बेलाबेलामा पढ्‌नुपर्छ र आवश्‍यक कदम चाल्नुपर्छ। (१ कोरि. १४:३३, ४०) (२) साहसी मात्र होइन चनाखो पनि हुनुहोस्‌। (हितो. २२:३) अनावश्‍यक जोखिम नमोल्नुहोस्‌। कुनै कदम चाल्नुअघि सोच्नुहोस्‌। (३) यहोवामा भर पर्नुहोस्‌। यहोवा तपाईँ अनि अरू भाइबहिनी सुरक्षित भएको चाहनुहुन्छ। तपाईँले भाइबहिनीलाई मदत गर्दा यहोवाले तपाईँलाई सुरक्षा दिनुहुनेछ।

१२-१३. भिक्टर र भिटालीको अनुभवबाट तपाईँले के सिक्नुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

१२ दुई जना एल्डर भिक्टर र भिटालीको अनुभव विचार गरौँ। ती दुईभाइहरूले युक्रेनमा भाइबहिनीहरूसम्म खानेकुरा र पानी पुऱ्‍याउन निकै मेहनत गरे। भिक्टर भन्छन्‌: “त्यतिबेला जताततै गोली चलिरहेको थियो। हामीले खानेकुरा नखोजेको कुनै ठाउँ नै थिएन। एक जना भाइले पछिको लागि भनेर जम्मा गरेर राखेको खानेकुरा अनुदानस्वरूप दिनुभयो। यी खानेकुराको भरमा थुप्रै भाइबहिनीले केही समयको लागि गुजारा चलाउनुभयो। एकचोटि हामीले ट्रकमा सामान लोड गरिरहेको बेला हाम्रो नजिकै एउटा बम खस्यो तर धन्‍न, विस्फोट भने भएन। त्यो बम खसेको ठाउँ हामी भएको ठाउँभन्दा २० मिटरजति मात्र टाढा थियो। त्यस्तो अवस्थामा भाइबहिनीलाई मदत गरिरहन मलाई निकै साहस चाहिएको थियो। त्यो दिन मैले यहोवालाई थुप्रै चोटि प्रार्थना गरेँ।”

१३ भिटाली भन्छन्‌: “भाइबहिनीलाई मदत गर्ने काममा लाग्न निकै साहस चाहिएको थियो। पहिलो चोटि भाइबहिनीहरूकहाँ सामान लिएर जान मलाई १२ घण्टा लाग्यो। मैले बाटोभरि यहोवालाई प्रार्थना गरेँ।” भिटाली साहसी थिए तर तिनी चनाखो पनि थिए। तिनी भन्छन्‌: “मैले यहोवालाई बुद्धि दिनुहोस्‌ र आफ्नो सीमितता बुझ्न मदत दिनुहोस्‌ भनेर प्रार्थना गरेँ। म अख्तियारवालाहरूले अनुमति दिएका बाटोहरू भएर मात्र जान्थेँ। भाइबहिनीले मिलेर काम गरेको देख्दा मेरो विश्‍वास बलियो भयो। उहाँहरूले बाटोबाट अवरोधहरू हटाइदिनुभयो। खानेकुरा, लत्ताकपडा अनि अन्य आवश्‍यक सरसामान जम्मा गरेर ट्रकमा लोड गरिदिनुभयो अनि यात्राको दौडान भिक्टर र मलाई आराम गर्ने ठाउँ अनि खानेकुराको व्यवस्था मिलाइदिनुभयो।”

दुई जना भाइ युद्धग्रस्त इलाकामा भ्यान चलाउँदै छन्‌। तिनीहरूको पछाडितिर धुवाँ, धुलो र आगोको मुस्लो देखिन्छ।

खतरनाक अवस्थामा भाइबहिनीलाई मदत गर्दा साहसी तर चनाखो हुनुहोस्‌ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)


यहोवाप्रति वफादार भइरहनुहोस्‌

१४. हामीलाई सहन एकदमै गाह्रो हुने एउटा अवस्था कुन हो? किन?

१४ हामीलाई असाध्यै गाह्रो हुने अवस्थाहरूमध्ये एउटा हो, परिवारको सदस्य वा घनिष्ठ साथीले यहोवालाई त्याग्दा। (भज. ७८:४०; हितो. २४:१०) हामी ती व्यक्‍तिसित जत्ति नजिक छौँ, त्यो अवस्था सहन हामीलाई त्यत्ति नै गाह्रो हुन सक्छ। तपाईँले त्यस्तै गाह्रो अवस्था सहनुपरेको थियो भने सादोकले देखाएको वफादारीबाट बल पाउन सक्नुहुन्छ।

१५. सादोकलाई यहोवाप्रति वफादार रहिरहन किन साहस चाहिएको थियो? (१ राजा १:५-८)

१५ आफ्नो मिल्ने साथी अबियातारले यहोवालाई त्याग्दा समेत सादोक यहोवाप्रति वफादार रहे। यो घटना दाउदको शासनकालको अन्ततिरको हो। दाउदको मृत्यु हुनै लागेको थियो। त्यतिबेला तिनका छोरा अदोनियाहले राजगद्दी हडप्न खोजे, जुन यहोवाले सुलेमानलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। (१ इति. २२:९, १०) अबियातारले अदोनियाहको पक्ष लिए र उनलाई मदत गर्न तयार भए। (१ राजा १:५-८ पढ्‌नुहोस्‌।) त्यसो गर्दा अबियातार दाउदप्रति मात्र होइन, यहोवाप्रति पनि अवफादार भइरहेका थिए। त्यतिबेला सादोक कत्ति दुःखी र निराश भए होलान्‌! तिनीहरूले ४० वर्षभन्दा धेरै सँगै मिलेर पुजारीको रूपमा सेवा गरेका थिए। (२ समु. ८:१७) तिनीहरूले मिलेर “साँचो परमेश्‍वरको सन्दुक”-को रेखदेख गरेका थिए। (२ समु. १५:२९) तिनीहरू दुवैले दाउदलाई साथ दिएका थिए र यहोवाको सेवामा थुप्रै काम गरेका थिए।—२ समु. १९:११-१४.

१६. सादोकलाई वफादार रहिरहन केले मदत गऱ्‍यो?

१६ अबियातारले यहोवालाई त्यागे पनि सादोक भने यहोवाप्रति वफादार रहिरहे। दाउदले सादोकको वफादारीमा कहिल्यै शङ्‌का गरेनन्‌। अदोनियाहको षड्यन्त्र पर्दाफास भएपछि दाउदले सुलेमानलाई राजा बनाउन सादोक, नातान र बेनायाहको मदत लिए। (१ राजा १:३२-३४) राजा दाउदलाई समर्थन गर्ने नातान र यहोवाका अन्य वफादार उपासकहरूबाट सादोकले बल र प्रोत्साहन पाएको हुनुपर्छ। (१ राजा १:३८, ३९) सुलेमान राजा भएपछि तिनले अबियातारको ठाउँमा सादोकलाई प्रधानपुजारी नियुक्‍त गरे।—१ राजा २:३५.

१७. तपाईँले माया गर्ने कसैले यहोवालाई त्याग्यो भने तपाईँ कसरी सादोकको अनुकरण गर्न सक्नुहुन्छ?

१७ तपाईँ कसरी सादोकको अनुकरण गर्न सक्नुहुन्छ? यदि तपाईँले माया गर्ने कसैले यहोवालाई त्याग्यो भने पनि तपाईँचाहिँ यहोवाप्रति वफादार रहिरहनुहोस्‌। (यहो. २४:१५) यहोवाले तपाईँलाई जे सही छ, त्यही गर्न बल र साहस दिनुहुनेछ। उहाँलाई प्रार्थना गरेर अनि उहाँका वफादार उपासकहरूसित नजिक रहिरहेर उहाँमा भर परेको देखाउनुहोस्‌। यहोवा तपाईँको वफादारीको मोल गर्नुहुन्छ र उहाँले तपाईँलाई इनाम दिनुहुनेछ।—२ समु. २२:२६.

१८. मार्को र सिड्‌सेको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१८ मार्को र तिनकी पत्नी सिड्‌सेको अनुभव विचार गरौँ। तिनीहरूका हुर्किसकेका दुई छोरीले यहोवालाई त्यागे। मार्को भन्छन्‌: “छोराछोरी जन्मेदेखि नै हामी तिनीहरूलाई असाध्यै माया गर्छौँ। तिनीहरूलाई कुनै हानि नहोस्‌ भनेर आफ्नो तर्फबाट सकेजति गर्छौँ। तर तिनीहरूले यहोवालाई त्याग्ने निर्णय गर्दा मुटु छियाछिया हुन्छ। हाम्रा छोरीहरूले यहोवालाई त्याग्दा हामीलाई निकै गाह्रो भयो। तर उहाँले हामीलाई सम्हाल्नुभएको छ। म निराश हुँदा मेरी श्रीमती मलाई सान्त्वना र प्रोत्साहन दिन्छिन्‌। अनि ऊ निराश हुँदा म पनि त्यसै गर्छु।” सिड्‌से भन्छिन्‌: “यहोवाले हामीलाई बल नदिनुभएको भए हामीले यस्तो गाह्रो अवस्था सहन सक्ने थिएनौँ। छोरीहरूले यहोवालाई त्याग्नुको कारण मै हुँ, दोष मेरै हो जस्तो मलाई लागिरहन्थ्यो। मैले आफ्नो मनको बह यहोवालाई पोखेँ। त्यसको केही समय नबित्दै एक जना बहिनी मलाई भेट्‌न आउनुभयो। मैले उहाँलाई नभेटेको वर्षौँ भइसकेको थियो। उहाँले मलाई अँगालो हाल्नुभयो अनि मतिर हेर्दै यसो भन्‍नुभयो: ‘हेर सिड्‌से, यसमा तिम्रो कुनै गल्ती छैन, आफैलाई दोष नदेऊ।’ यहोवाको मदत पाएर म उहाँको सेवामा आनन्दित भई लागिरहन सकेकी छु।”

१९. तपाईँले कस्तो व्यक्‍ति बन्‍ने सङ्‌कल्प गर्नुभएको छ?

१९ यहोवा आफ्ना सबै उपासकहरू सादोकजस्तै साहसी भएको चाहनुहुन्छ। (२ तिमो. १:७) तर हामी आफैमा होइन, उहाँमा भर परेको उहाँ चाहनुहुन्छ। त्यसैले साहस देखाउनुपर्ने अवस्था आइपर्दा यहोवामा भर पर्नुहोस्‌। त्यसो गर्नुभयो भने उहाँले तपाईँलाई सादोकलाई जस्तै साहसी बनाउनुहुनेछ!—१ पत्रु. ५:१०.

तपाईँ कसरी सादोकजस्तै साहसी हुन सक्नुहुन्छ?

  • परमेश्‍वरको राज्यलाई समर्थन गर्दा

  • भाइबहिनीलाई मदत गर्दा

  • यहोवाप्रति वफादार रहँदा

गीत १२६ जागा रहौँ, दह्रो होऔँ र पराक्रमी हुँदै जाऔँ!

a jw.org मा साँचो ख्रिष्टियनहरूलाई किन साहस चाहिन्छ?—तटस्थ रहन भन्‍ने भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने