प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 अप्रिल pp. ८-१३
  • “परमेश्‍वरको नजिक जानु उत्तम छ”!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमेश्‍वरको नजिक जानु उत्तम छ”!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘परमेश्‍वरको नजिक जाँदा’ आनन्दित हुन्छौँ
  • ‘परमेश्‍वरको नजिक हुँदा’ जीवनको उद्देश्‍य र आशा पाउँछौँ
  • हामी ‘परमेश्‍वरको अझ नजिक हुन’ के गर्न सक्छौँ?
  • आफूबाट गल्ती हुँदा समेत हामी ‘परमेश्‍वरको नजिक’ भइरहन सक्छौँ
  • सधैँभरि ‘परमेश्‍वरको नजिक’ भइरहनुहोस्‌
  • एकअर्कासित नजिक हुनु असल कुरा हो!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • तपाईँ शङ्‌का-उपशङ्‌काहरूलाई कसरी हटाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 अप्रिल pp. ८-१३

अध्ययन लेख १५

गीत ३० यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

“परमेश्‍वरको नजिक जानु उत्तम छ”!

“मेरो लागि भने परमेश्‍वरको नजिक जानु उत्तम छ।”—भज. ७३:२८.

सिक्न सकिने कुरा

हामी कसरी यहोवासित अझ नजिक हुन सक्छौँ र उहाँसित नजिक हुँदा कस्तो फाइदा हुन्छ?

१-२. (क) कसैसित घनिष्ठ मित्रता गाँस्न हामीले कस्तो प्रयास गर्नुपर्छ? (ख) हामी यस लेखमा के छलफल गर्नेछौँ?

के तपाईँको मिल्ने साथी छ? तपाईँहरू कसरी साथी बन्‍नुभयो? सायद तपाईँले ऊसित समय बिताउनुभयो। उसले आफ्नो सुख-दुःखबारे बताउँदा ध्यान दिएर सुन्‍नुभयो। अनि उसलाई के मन पर्छ, के मन पर्दैन भनेर पनि थाह पाउनुभयो। तपाईँले उसमा राम्रा-राम्रा गुणहरू देख्नुभयो र तपाईँलाई आफू पनि त्यस्ता गुणहरू विकास गर्न चाहन्छु जस्तो लाग्यो होला। त्यसपछि तपाईँले उसलाई अझ धेरै माया गर्न थाल्नुभयो।

२ कसैसित घनिष्ठ मित्रता गाँस्न समय लाग्छ र प्रयास गर्नुपर्छ। यहोवासित घनिष्ठ मित्रता गाँस्ने सन्दर्भमा पनि कुरा त्यही हो। यस लेखमा हामी कसरी यहोवासित नजिक हुन सक्छौँ र उहाँसित नजिक हुँदा कस्तो फाइदा हुन्छ भनेर छलफल गर्नेछौँ। सुरुमा उहाँलाई हाम्रो घनिष्ठ मित्र बनाउनु किन उत्तम हो, त्यो बुझौँ।

३. यहोवासित नजिक हुनुका फाइदाहरूबारे हामीले किन मनन गर्नुपर्छ? एउटा उदाहरण बताउनुहोस्‌।

३ यहोवासित नजिक हुनु उत्तम हो भन्‍ने कुरामा तपाईँ पक्कै सहमत हुनुहुन्छ होला। तर उहाँसित नजिक हुनु किन उत्तम हो भन्‍ने कुरामा मनन गऱ्‍यौँ भने उहाँसित झन्‌झन्‌ नजिक हुन चाहनेछौँ। (भज. ६३:६-८) जस्तै: सन्तुलित भोजन खानु, व्यायाम गर्नु, पर्याप्त मात्रामा आराम गर्नु र प्रशस्त पानी पिउनु राम्रो हो भनेर हामीलाई थाह छ। तर धेरैले त्यस्ता कुराहरूलाई वास्ता गर्दैनन्‌। त्यसैले तिनीहरूको स्वास्थ्य त्यति राम्रो हुँदैन। स्वस्थकर जीवनशैली बिताउँदा हुने फाइदाहरूबारे विचार गर्छौँ भने सायद हामी त्यस्तो जीवनशैली बिताउन प्रयास गर्छौँ। त्यसरी नै, यहोवासित नजिक हुनु उत्तम छ भनेर हामीलाई थाह छ होला। तर त्यसका फाइदाहरूबारे मनन गऱ्‍यौँ भने उहाँसित अझ नजिक हुन चाहनेछौँ।—भज. ११९:२७-३०.

४. भजन ७३:२८ मा भजनरचयिताले कस्तो भावना व्यक्‍त गरे?

४ भजन ७३:२८ पढ्‌नुहोस्‌। भजन ७३ का लेखक एक लेवी थिए र यहोवाको मन्दिरमा सङ्‌गीतकारको रूपमा सेवा गर्थे। हुनत तिनले वर्षौँदेखि वफादार भई यहोवाको सेवा गरिरहेका थिए। तैपनि तिनले “परमेश्‍वरको नजिक जानु उत्तम छ” भनेर आफूलाई सम्झाउनुपरेको थियो। साथै तिनी “परमेश्‍वरको नजिक जानु उत्तम छ” भनेर अरूले पनि थाह पाएको चाहन्थे। त्यसोभए परमेश्‍वरसित नजिक हुँदा कस्तो फाइदा हुन्छ?

‘परमेश्‍वरको नजिक जाँदा’ आनन्दित हुन्छौँ

५. (क) यहोवासित अझ नजिक हुँदा हामी किन आनन्दित हुन्छौँ? (ख) यहोवाको बुद्धिले तपाईँलाई व्यक्‍तिगत तवरमा कसरी मदत गरेको छ र जोगाएको छ? (हितोपदेश २:६-१६)

५ हामी यहोवासित जति नजिक हुन्छौँ, त्यति नै आनन्दित हुनेछौँ। (भज. ६५:४) त्यसका थुप्रै कारण छन्‌। जस्तै: उहाँको वचन बाइबलमा बुद्धिले भरिएका थुप्रै कुराहरू पाउन सक्छौँ। ती लागू गर्दा हाम्रै फाइदा हुन्छ। यस्तो बुद्धिले हामीलाई खराब प्रभावदेखि र गम्भीर गल्तीहरू गर्नदेखि जोगाउँछ। (हितोपदेश २:६-१६ पढ्‌नुहोस्‌।) त्यसैले बाइबल यसो भन्छ : “आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ; धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ।”—हितो. ३:१३.

६. भजनरचयिताले किन आफ्नो आनन्द गुमाए?

६ यहोवासित मित्रता गाँसेका व्यक्‍तिहरूसमेत कहिलेकाहीँ निराश हुन सक्छन्‌। भजन ७३ का लेखकले नकारात्मक कुराहरू सोच्न थाल्दा आफ्नो आनन्द गुमाए। तिनलाई परमेश्‍वर वा उहाँका स्तरहरूलाई बेवास्ता गर्ने मानिसहरूको फलिफाप भएको जस्तो लाग्यो। त्यसैले तिनी चिढिए र डाही भए। तिनलाई हिंस्रक र अहङ्‌कारी मानिसहरूले सुखविलासको जीवन बिताइरहेको, मोटाघाटा भएको र कुनै दुःख भोग्न नपरेको जस्तो लाग्यो। (भज. ७३:३-७, १२) यी सब देख्दा तिनी असाध्यै निराश भए। तिनलाई यहोवाको सेवा गर्न आफूले गरेको सबै प्रयास खेर गयो जस्तो समेत लाग्यो। तिनले आफ्नो दुखेसो यसरी पोखे: “मैले बेकारमा आफ्नो हृदय चोखो राखेछु र निर्दोषतामा आफ्नो हात धोएछु।”—भज. ७३:१३.

७. निराश हुँदा हामी के गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

७ ती भजनरचयिता निराशामा डुबिरहेनन्‌; तिनले कदम चाले। तिनी “परमेश्‍वरको शानदार पवित्रस्थानमा पसे” र यहोवाले तिनलाई आफ्नो सोचाइ सच्याउन मदत गर्नुभयो। (भज. ७३:१७-१९) हामी निराश हुँदा हाम्रो घनिष्ठ मित्र यहोवालाई त्यो थाह हुन्छ। त्यस्तो बेला हामी प्रार्थना गरेर उहाँसित मदत माग्न सक्छौँ। उहाँले हामीलाई आफ्नो वचन बाइबलद्वारा र मण्डलीका भाइबहिनीद्वारा मदत दिनुहुन्छ। त्यस्तो मदत स्विकाऱ्‍यौँ भने हामीले यहोवाको सेवा गरिरहन बल पाउनेछौँ। चिन्ता र फिक्रिले छोप्दा समेत यहोवाले हामीलाई सान्त्वना र दिलासा दिनुहुनेछ।—भज. ९४:१९.a

एक जना लेवी तामाको वेदी र मन्दिरको दलानको बीचमा उभिरहेका छन्‌।

भजन ७३ लेख्ने लेवी “परमेश्‍वरको शानदार पवित्रस्थानमा” उभिन्छन्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌)


‘परमेश्‍वरको नजिक हुँदा’ जीवनको उद्देश्‍य र आशा पाउँछौँ

८. परमेश्‍वरको नजिक हुँदा हामीलाई कस्तो फाइदा हुन्छ?

८ परमेश्‍वरको नजिक हुँदा हामीलाई अर्को दुई वटा फाइदा पनि हुन्छ। पहिलो, अहिले हामी उद्देश्‍यपूर्ण जीवन बिताउन सक्छौँ। दोस्रो, भविष्यको उज्ज्वल आशा पाउँछौँ। (यर्मि. २९:११) आउनुहोस्‌, यी दुई वटा फाइदाबारे अझ बुझौँ।

९. यहोवाको नजिक हुँदा हाम्रो जीवन किन उद्देश्‍यपूर्ण हुन्छ?

९ यहोवाको नजिक हुँदा हामी उद्देश्‍यपूर्ण जीवन बिताउन सक्छौँ। आज थुप्रैले परमेश्‍वरको अस्तित्वलाई स्विकार्दैनन्‌। त्यसैले तिनीहरू जीवनको कुनै उद्देश्‍य छैन र पछि गएर मानिसजातिको अस्तित्व रहनेछैन भन्‍ने सोचाइ राख्छन्‌। तर हामीले भने बाइबलबाट परमेश्‍वर “साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ” भनेर बुझेका छौँ। (हिब्रू ११:६) यहोवाको सेवा गऱ्‍यौँ भने हामी आनन्दित हुन सक्छौँ किनभने हामी त्यसरी नै बनिएका छौँ।—व्यव. १०:१२, १३.

१०. यहोवामा आशा राख्नेहरूको भविष्य कस्तो छ? (भजन ३७:२९)

१० थुप्रैले भविष्यको उज्ज्वल आशा पाएका छैनन्‌। तिनीहरूको लागि जीवन भनेको यति नै हो—काम गर्ने, विवाह गर्ने, छोराछोरी जन्माउने अनि बुढेसकालको लागि केही बचत गर्ने। तिनीहरूलाई परमेश्‍वरले भविष्यको लागि कस्तो आशा दिनुभएको छ भनेर थाह छैन। तर हामी भने यहोवामा आफ्नो आशा राख्छौँ। (भज. २५:३-५; १ तिमो. ६:१७) हामी आफ्नो घनिष्ठ मित्र यहोवामा पूरा भरोसा राख्छौँ र उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर ढुक्क छौँ। भविष्यमा हामीले सधैँभरि उहाँको उपासना गर्न सक्नेछौँ।—भजन ३७:२९ पढ्‌नुहोस्‌।

११. यहोवाको नजिक हुनुका अरू कस्ता फाइदा छन्‌? हामी यहोवासित नजिक हुँदा उहाँलाई कस्तो लाग्छ?

११ परमेश्‍वरको नजिक हुनुका अरू पनि थुप्रै फाइदा छन्‌। जस्तै: यहोवाले पश्‍चाताप गर्नेहरूको पाप क्षमा गर्ने प्रतिज्ञा गर्नुभएको छ। (यसै. १:१८) त्यसैले हामीले विगतमा गरेका पापहरूको लागि दोषी महसुस गरिरहनु पर्दैन। (भज. ३२:१-५) साथै यहोवालाई खुसी बनाइरहेका छौँ भनेर थाह पाउँदा हामी पनि खुसी हुन्छौँ। (हितो. २३:१५) यहोवासित घनिष्ठ मित्रता गाँस्दा तपाईँले पक्कै पनि अरू थुप्रै आशिष्‌ पाउनुभएको छ। तर परमेश्‍वरसित अझ नजिक हुन तपाईँ के गर्न सक्नुहुन्छ?

हामी ‘परमेश्‍वरको अझ नजिक हुन’ के गर्न सक्छौँ?

१२. परमेश्‍वरको नजिक हुन तपाईँले के गर्नुभयो?

१२ तपाईँले बप्तिस्मा गरिसक्नुभएको छ भने यहोवाको नजिक हुन निकै कदम चालिसक्नुभएको छ। तपाईँले यहोवा परमेश्‍वर र येसु ख्रिष्टबारे सत्य कुराहरू सिक्नुभयो। आफूले गरेका पापहरूको पश्‍चाताप गर्नुभयो। परमेश्‍वरमा बलियो विश्‍वास विकास गर्नुभयो र उहाँको इच्छाअनुसार जीवन बिताउन प्रयास गर्नुभयो। तर परमेश्‍वरसित अझ नजिक हुन हामीले यी कुराहरू गरिरहनुपर्छ।—कल. २:६.

१३. यहोवासित अझ नजिक हुन हामीले कुन तीन वटा कुरा गरिरहनुपर्छ?

१३ यहोवासित अझ नजिक हुन हामी के गर्न सक्छौँ? (१) हामीले बाइबल पढ्‌न र गहिरो अध्ययन गर्न छोड्‌नु हुँदैन। बाइबल पढ्‌नुको उद्देश्‍य केवल यहोवाबारे आधारभूत कुराहरू सिक्ने मात्र हुनु हुँदैन। बरु उहाँको इच्छा के हो, सो बुझ्ने अनि बाइबलमा दिइएका सिद्धान्तहरूअनुसार जीवन बिताउने प्रयास गर्नुपर्छ। (एफि. ५:१५-१७) (२) यहोवाले हामीलाई के-कस्ता तरिकामा प्रेम गर्नुभएको छ भन्‍ने कुरामा मनन गरेर आफ्नो विश्‍वासलाई बलियो बनाउँदै लैजानुपर्छ। (३) यहोवालाई मन नपर्ने कुराहरूलाई घृणा गरिरहनुपर्छ अनि त्यस्ता काम गर्ने मानिसहरूदेखि टाढै बस्नुपर्छ।—भज. १:१; १०१:३.

१४. हामीले दिनदिनै गर्ने कस्ता कुराहरूले यहोवालाई खुसी बनाउँछ? (१ कोरिन्थी १०:३१) (चित्रहरू पनि हेर्नुहोस्‌।)

१४ पहिलो कोरिन्थी १०:३१ पढ्‌नुहोस्‌। हामीले यहोवालाई मन पर्ने कुराहरू गरिरहनुपर्छ। उहाँलाई मन पर्ने कुराहरू गर्नुमा प्रचारकार्यमा भाग लिनु र मण्डलीका सभाहरूमा जानु मात्र समावेश छैन। हामीले दिनदिनै गर्ने कुराहरू पनि उहाँको इच्छासित मेल खाने हुनुपर्छ। जस्तै: हामी सबै कुरामा इमानदार भयौँ र आफूसित भएको कुरा अरूसित बाँडचुँड गऱ्‍यौँ भने यहोवा खुसी हुनुहुनेछ। (२ कोरि. ८:२१; ९:७) हामीलाई जीवन दिने यहोवा हुनुहुन्छ। त्यसैले हामीले जीवनको आदर गरेको उहाँ चाहनुहुन्छ। हामी खानपानको सन्दर्भमा सन्तुलित भयौँ र आफ्नो स्वास्थ्यको ख्याल राख्यौँ भने हामीले जीवनप्रति आदर देखाइरहेका हुन्छौँ। अनि हामीलाई जीवन दिनुहुने यहोवासित पनि अझ नजिक हुनेछौँ। हामीले एकदमै सानोजस्तो देखिने कुरामा समेत यहोवालाई खुसी बनाउने प्रयास गऱ्‍यौँ भने उहाँले हामीलाई अझ धेरै प्रेम गर्नुहुनेछ।—लुका १६:१०.

चित्रहरूको सँगालो: हामीले यहोवालाई खुसी बनाउन सक्ने तरिकाहरू। १. होसियार भई गाडी चलाउनु: एक भाइ रातो बत्तीमा गाडी रोक्छन्‌। २. आफ्नो स्वास्थ्यको ख्याल राख्नु: एक भाइ छिटोछिटो हिँड्‌छन्‌। ३. स्वस्थकर भोजन खानु: एउटा कचौरामा विभिन्‍न किसिमको पोसिलो खानेकुरा छ। ४. अतिथि-सत्कार गर्नु: एउटी बहिनी हात भाँचिएको दिदीको लागि फूल र खानेकुरा ल्याउँछिन्‌।

होसियार भई गाडी चलाउनु, व्यायाम गरेर अनि स्वस्थकर भोजन खाएर स्वास्थ्यको ख्याल राख्नु र अतिथि-सत्कार गर्नु भनेको हामीले यहोवालाई खुसी बनाउन सक्ने केही तरिकाहरू हुन्‌ (अनुच्छेद १४ हेर्नुहोस्‌)


१५. हामीले अरूसित कस्तो व्यवहार गरेको यहोवा चाहनुहुन्छ?

१५ यहोवा धर्मी र अधर्मी दुवैसित दयालु व्यवहार गर्नुहुन्छ। (मत्ति ५:४५) हामीले पनि अरूसित त्यस्तै व्यवहार गरेको उहाँ चाहनुहुन्छ। जस्तै: हामीले ‘कसैको बदनाम गर्नु हुँदैन, झगडालु हुनु हुँदैन बरु सबै मानिससित व्यवहार गर्दा कोमलता देखाउनुपर्छ।’ (ति. ३:२) त्यसैले हाम्रो भन्दा फरक आस्था भएका मानिसहरूलाई हामी तुच्छ ठान्दैनौँ। (२ तिमो. २:२३-२५) मानिसहरूसित व्यवहार गर्दा सँधै दयालु र विचारशील भयौँ भने हामी यहोवासित अझ नजिक हुन सक्छौँ।

आफूबाट गल्ती हुँदा समेत हामी ‘परमेश्‍वरको नजिक’ भइरहन सक्छौँ

१६. भजन ७३ का लेखकले एकचोटि कस्तो महसुस गरे?

१६ आफूले गरेको गल्तीले गर्दा कहिलेकाहीँ हामीलाई आफू यहोवाको मित्र बनिरहन लायक छैनँ जस्तो लाग्न सक्छ। भजन ७३ का लेखकले पनि त्यस्तै महसुस गरेका थिए। तिनले यसो भने: “मेरा खुट्टाहरूले बाटो बिराउनै लागेका थिए; मेरा पाइलाहरू झन्डै चिप्लेका थिए।” (भज. ७३:२) तिनले आफ्नो ‘मन कुँडिएको, मूर्ख भएको’ र यहोवासामु “निर्बुद्धि पशुजस्तै” भएको कुरा स्विकारे। (भज. ७३:२१, २२) तर के तिनी अब यहोवाले माया गर्नुहुन्‍न र कहिल्यै क्षमा दिनुहुन्‍न भन्‍ने निष्कर्षमा पुगे?

१७. (क) असाध्यै हताश हुँदा समेत भजनरचयिताले के गरे? (ख) तिनको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१७ ती भजनरचयिताले केही समयको लागि यहोवाबाट त्यागिएको महसुस गरेका हुन सक्छन्‌। असाध्यै हताश भएको अवस्थामा समेत तिनले यहोवाको नजिक हुन छोड्‌नु हुँदैन भन्‍ने कुरा बुझेका थिए र तिनले त्यसैअनुसार कदम पनि चाले। तिनले यहोवालाई यसो भने: “तर अब म सधैँ तपाईँकै साथमा रहन्छु; तपाईँले मेरो दाहिने हात समात्नुभएको छ। तपाईँ मलाई सल्लाह दिएर डोऱ्‍याउनुहुन्छ र पछि तपाईँले मेरो सम्मान गराउनुहुनेछ।” (भज. ७३:२३, २४) हामी पनि कमजोर वा निरूत्साहित हुँदा यहोवासित बल माग्नुपर्छ किनभने उहाँ हाम्रो चट्टान हुनुहुन्छ र उहाँले हामीलाई बलियो बनाउनुहुनेछ। (भज. ७३:२६; ९४:१८) हामीबाट गम्भीर गल्ती भइहाल्यो भने पनि हामी यहोवाकहाँ फर्कन सक्छौँ। किनभने उहाँ “क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।” (भज. ८६:५) भजनरचयिताजस्तै असाध्यै हताश हुँदा समेत हामी यहोवाको नजिक भइरहनुपर्छ।—भज. १०३:१३, १४.

चित्रहरूको सँगालो: १. एक भाइ निरुत्साहित भएर खाटमा बसिरहेका छन्‌। २. पछि ती भाइ सभाभवनमा एक दम्पतीलाई मुस्कुराउँदै अभिवादन गरिरहेका छन्‌।

आध्यात्मिक तवरमा कमजोर महसुस हुँदा हामी यहोवाको उपासनासित सम्बन्धित गतिविधिमा अझ धेरै भाग लिएर उहाँसित नजिक हुनुपर्छ (अनुच्छेद १७ हेर्नुहोस्‌)


सधैँभरि ‘परमेश्‍वरको नजिक’ भइरहनुहोस्‌

१८. यहोवाको नजिक हुने काम किन कहिल्यै सिद्धिँदैन?

१८ बाइबलमा बताइएझैँ यहोवाका मार्गहरू, उहाँको बुद्धि र ज्ञान “अपार छन्‌।” (रोमी ११:३३) त्यसैले उहाँबारे सिक्ने काम कहिल्यै सिद्धिँदैन। हामीले यहोवाबारे जति धेरै कुरा सिक्दै जान्छौँ, त्यति नै उहाँको नजिक हुँदै जानेछौँ। त्यसैले यहोवाको नजिक हुने काम पनि कहिल्यै सिद्धिँदैन।

१९. भजनको किताबबाट हामीले कस्तो आश्‍वासन पायौँ?

१९ भजन ७९:१३ यसो भन्छ: “हामी—तपाईँका मानिसहरू र तपाईँको खर्कका भेडाहरू, तपाईँलाई सदासदा धन्यवाद चढाउनेछौँ अनि पुस्तौँपुस्तासम्म हामी तपाईँको प्रशंसा गर्नेछौँ।” यहोवाको नजिक भइरहनुभयो भने तपाईँले पनि सधैँभरि उहाँको आशिष्‌ पाइरहनुहुनेछ। अनि तपाईँले पनि ढुक्क भई यसो भन्‍न सक्नुहुनेछ: “परमेश्‍वर मेरो मनको चट्टान हुनुहुन्छ र सदाको लागि मेरो अंश हुनुहुन्छ।”—भज. ७३:२६.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • ‘परमेश्‍वरको नजिक जाँदा’ हुने फाइदाहरूमा हामीले किन मनन गर्नुपर्छ?

  • ‘परमेश्‍वरको नजिक हुँदा’ के-कस्ता फाइदा हुन्छन्‌?

  • हामी परमेश्‍वरको अझ नजिक हुन के गर्न सक्छौँ?

गीत ३२ यहोवाको पक्ष लेऔँ

a लामो समयदेखि निराशा, फिक्री वा चिन्ताले सताइरहेकाहरूलाई डाक्टरको परामर्श चाहिन सक्छ। थप जानकारीको लागि प्रहरीधरहरा, न. १ २०२३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने