प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 अप्रिल pp. १४-१९
  • हामी साक्षीकार्यमा कसरी अझै रमाउन सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी साक्षीकार्यमा कसरी अझै रमाउन सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको वचनबाट बल पाउनुहोस्‌
  • साक्षीकार्यको लागि राम्ररी तयारी गर्नुहोस्‌
  • साहसको लागि प्रार्थना गर्नुहोस्‌
  • लचिलो र सकारात्मक हुनुहोस्‌
  • यहोवा र छिमेकीप्रतिको प्रेमलाई बढाउँदै लैजानुहोस्‌
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • साक्षीकार्यमा येसुजस्तै जोसिलो हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • प्रेमले उत्प्रेरित भएर साक्षीकार्यमा लागिरहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 अप्रिल pp. १४-१९

अध्ययन लेख १६

गीत ६४ रम्दै सरिक होऊ कटनीकार्यमा

हामी साक्षीकार्यमा कसरी अझै रमाउन सक्छौँ?

“रमाउँदै यहोवाको सेवा गर।”​—भज. १००:२.

सिक्न सकिने कुरा

साक्षीकार्यमा अझै रमाउन हामीले चाल्न सक्ने कदमहरूबारे यस लेखमा छलफल गर्नेछौँ।

१. कसै-कसैलाई साक्षीकार्य कस्तो लाग्छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

हामी परमेश्‍वरका सेवकहरू अरूलाई सुसमाचार सुनाउँछौँ। किनभने हामी स्वर्गमा हुनुहुने बुबालाई धेरै प्रेम गर्छौँ र हाम्रा छिमेकीहरूले पनि उहाँलाई चिनेको चाहन्छौँ। थुप्रै प्रकाशक साक्षीकार्यमा रमाउँछन्‌। तर कोही-कोही भने साक्षीकार्यमा रमाउन नसकिरहेका हुन सक्छन्‌। किन? किनभने तिनीहरू स्वभावैले लजालु हुन सक्छन्‌ र आफूले राम्ररी सिकाउन सक्दिनँ जस्तो लाग्न सक्छ। कतिपयलाई भने चिन्दै नचिनेका मानिसहरूको घरमा जान अप्ठ्यारो लाग्न सक्छ। कसै-कसैलाई भने मानिसहरू रिसाउलान्‌ भनेर डर लाग्न सक्छ। कसैलाई भने सानैदेखि अरूलाई रिस उठाउने काम गर्नु हुँदैन भनेर सिकाइएको हुन्छ। हुनत ती भाइबहिनी यहोवालाई धेरै प्रेम गर्छन्‌ तर तिनीहरूलाई आफूले चिन्दै नचिनेका मानिसहरूलाई सुसमाचार सुनाउन गाह्रो लाग्छ। तैपनि यस कामको महत्त्व बुझेकोले तिनीहरू नियमित रूपमा साक्षीकार्यमा भाग लिन्छन्‌। यो देखेर यहोवा कत्ति खुसी हुनुहुन्छ होला!

 दुई जना बहिनी घरघरको साक्षीकार्यमा भाग लिँदै छन्‌। तिनीहरूमध्ये एक जना खुसी छिन्‌ भने अर्की डराएकी छिन्‌ र अप्ठेरो महसुस गरिरहेकी छिन्‌।

के तपाईँ साक्षीकार्यमा रमाउँदै हुनुहुन्छ? (अनुच्छेद १ हेर्नुहोस्‌)


२. साक्षीकार्यमा रमाउन गाह्रो भइरहेको छ भने तपाईँ किन निराश हुनुपर्दैन?

२ के तपाईँलाई पनि यस्ता भावनाहरूले गर्दा साक्षीकार्यमा रमाउन कहिलेकाहीँ गाह्रो भइरहेको छ? छ भने निराश नहुनुहोस्‌। यस्ता भावनाहरूले तपाईँ नम्र हुनुहुन्छ, अरूको ध्यान आफूतर्फ खिच्न चाहनुहुन्‍न र अरूसित वादविवाद गर्न चाहनुहुन्‍न भनेर देखाउँछ। हामीले जसको लागि भलाइको काम गरिदिन्छौँ, उसैले हामीलाई तिरस्कार गरेको हामी चाहँदैनौँ। यहोवा तपाईँले कस्ता चुनौतीहरूको सामना गर्दै हुनुहुन्छ भनेर राम्ररी बुझ्नुहुन्छ र तपाईँलाई आवश्‍यक मदत दिन चाहनुहुन्छ। (यसै. ४१:१३) यस लेखमा यस्ता भावनाहरूको सामना गर्न र साक्षीकार्यमा रमाउन मदत गर्ने पाँच वटा सुझावबारे छलफल गर्नेछौँ।

परमेश्‍वरको वचनबाट बल पाउनुहोस्‌

३. भविष्यवक्‍ता यर्मियालाई साहसी हुन केले मदत गऱ्‍यो?

३ विगतमा पनि परमेश्‍वरका सेवकहरूले आफूलाई सुम्पिइएको जिम्मेवारी पूरा गर्न परमेश्‍वरले दिनुभएको सन्देशबाट बल पाएका थिए। भविष्यवक्‍ता यर्मियालाई विचार गरौँ। यहोवाले तिनलाई उहाँको सन्देश घोषणा गर्न भन्‍नुहुँदा तिनी हिचकिचाएका थिए। यर्मियाले यसो भने: “म त राम्रोसँग बोल्न पनि जान्दिनँ; म सानै छु।” (यर्मि. १:६) तिनी कसरी साहसी हुन सके? तिनले परमेश्‍वरले भन्‍नुभएको कुराबाट बल पाए। तिनले यसो भने: “मलाई साह्रै छटपटी भयो, मेरो हड्डीभित्र आगो थुनिएझैँ भयो। त्यसलाई गुम्साएर राख्दा-राख्दा म थकित भएँ।” (यर्मि. २०:८, ९) यर्मियाले सन्देश सुनाउनुपर्ने इलाका चुनौतीपूर्ण थियो। तर आफूले सुनाउनुपर्ने सन्देशबाटै तिनले आफ्नो जिम्मेवारी पूरा गर्न बल पाए।

४. परमेश्‍वरको वचन पढ्‌दा र त्यसमा मनन गर्दा कस्तो फाइदा हुन्छ? (कलस्सी १:९, १०)

४ ख्रिष्टियनहरूले पनि परमेश्‍वरको वचनमा पाइने सन्देशबाट बल पाउँछन्‌। प्रेषित पावलले कलस्सीका भाइबहिनीलाई लेखेको पत्रमा सही ज्ञानले ‘यहोवा परमेश्‍वरको सेवक कहलाइन योग्य जीवन बिताउन’ र ‘हरकिसिमको असल कामको फल फलाउन’ उत्प्रेरित गर्नेछ भनेर लेखे। (कलस्सी १:९, १० पढ्‌नुहोस्‌।) त्यस असल काममा सुसमाचार सुनाउने काम पनि पर्छ। त्यसैले परमेश्‍वरको वचन पढ्‌दा र त्यसमा मनन गर्दा यहोवामाथिको हाम्रो विश्‍वास अझ बलियो हुन्छ। साथै हामीले अरूलाई राज्य सन्देश सुनाउनुको महत्त्व अझ राम्ररी बुझ्नेछौँ।

५. बाइबल पढाइ र अध्ययनबाट पूरापूर लाभ उठाउन हामीले के गर्नुपर्छ?

५ परमेश्‍वरको वचनबाट पूरापूर लाभ उठाउन समय लगाएर पढ्‌नुपर्छ, अध्ययन गर्नुपर्छ र मनन गर्नुपर्छ; हतार गर्नु हुँदैन। पढ्‌दै गर्दा कुनै पदको अर्थ बुझ्नुभएन भने त्यसलाई त्यत्तिकै नछोड्‌नुहोस्‌। बरु यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी प्रयोग गरेर त्यस पदबारे अनुसन्धान गर्नुहोस्‌। समय लगाएर अध्ययन गर्नुभयो भने परमेश्‍वरको वचन सत्य हो भन्‍ने कुरामा तपाईँ अझ विश्‍वस्त हुनुहुनेछ। (१ थिस्स. ५:२१) तपाईँको विश्‍वस्तता जत्ति बढ्‌छ, साक्षीकार्यमा तपाईँ त्यत्ति नै रमाउन सक्नुहुन्छ।

साक्षीकार्यको लागि राम्ररी तयारी गर्नुहोस्‌

६. साक्षीकार्यको लागि किन राम्ररी तयारी गर्नुपर्छ?

६ साक्षीकार्यको लागि राम्ररी तयारी गर्नुभयो भने तपाईँलाई अरूसित कुराकानी गर्न अझ सजिलो लाग्नेछ। येसुले चेलाहरूलाई साक्षीकार्यमा पठाउनुअघि तयारी गर्न मदत गर्नुभयो। (लुका १०:१-११) तिनीहरूले सिकेको कुरा लागू गरेकोले आफूलाई सुम्पिइएको काम पूरा गर्न सके र त्यसमा रमाउन सके।​—लुका १०:१७.

७. साक्षीकार्यको लागि हामी कसरी तयारी गर्न सक्छौँ? (तस्बिर पनि हेर्नुहोस्‌।)

७ साक्षीकार्यको लागि हामी कसरी तयारी गर्न सक्छौँ? बाइबलको सन्देश आफ्नै शब्दमा कसरी प्रभावकारी तरिकामा बताउने भनेर विचार गर्न सक्छौँ। साथै इलाकाका मानिसहरूले साधारणतया देखाउने दुई-तीन वटा प्रतिक्रिया र त्यतिबेला के भन्‍ने भनेर सोच्नु पनि मदतकारी हुन्छ। अनि मानिसहरूलाई भेट्‌दा मुस्कुराउँदै, मित्रैलो हुँदै अनि नआत्तीकन कुरा गर्ने कोसिस गर्न सक्छौँ।

अगाडिको तस्बिरमा डराएकी र अप्ठेरो महसुस गरेकी बहिनी घर फर्केर “मानिसलाई प्रेम गर्नुहोस्‌​—चेला बनाउनुहोस्‌” पुस्तिका पढ्‌दै छिन्‌।

साक्षीकार्यको लागि राम्ररी तयारी गर्नुहोस्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌)


८. ख्रिष्टियनहरू कुन अर्थमा माटाका भाँडाहरू हुन्‌?

८ प्रेषित पावलले साक्षीकार्यमा हाम्रो भूमिकाबारे यसो भने: “हामीसित यो धन माटाका भाँडाहरूमा छ।” (२ कोरि. ४:७) यो धन के हो? जीवन बचाउने साक्षीकार्य। (२ कोरि. ४:१) अनि माटाका भाँडाहरूले केलाई बुझाउँछ? त्यसले परमेश्‍वरका सेवकहरूलाई बुझाउँछ, जसले अरूलाई सुसमाचार सुनाउँछन्‌। पावलको समयमा व्यापारीहरूले खानेकुरा, दाखमद्य र पैसाजस्ता बहुमूल्य कुराहरू ओसारपसार गर्न माटाका भाँडाहरू प्रयोग गर्थे। त्यसैगरि यहोवाले बहुमूल्य सुसमाचार हामीलाई सुम्पनुभएको छ। अनि हामी उहाँबाटै बल पाएर राज्य सन्देश सुनाइरहन सक्छौँ।

साहसको लागि प्रार्थना गर्नुहोस्‌

९. हामी कसरी मानिसको डरलाई जित्न सक्छौँ? (तस्बिर पनि हेर्नुहोस्‌।)

९ हामीलाई साक्षीकार्यमा मानिसहरूले विरोध गर्ने हुन्‌ कि भनेर डर लाग्न सक्छ। हामी यस्तो चुनौतीको कसरी सामना गर्न सक्छौँ? प्रेषितहरूलाई साक्षीकार्य बन्द गर्ने आदेश दिइँदा तिनीहरूले गरेको प्रार्थना विचार गरौँ। डराएर पछि हट्‌नुको सट्टा तिनीहरूले “अझ निर्भयी भएर [यहोवाको] वचन बोलिरहन मदत गर्नुहोस्‌” भनेर प्रार्थना गरे। यहोवाले तुरुन्तै तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। (प्रेषि. ४:१८, २९, ३१) साक्षीकार्यमा विरोधको सामना गर्नुपर्ला भनेर डर लागिरहेको छ भने हामीले पनि मदतको लागि यहोवालाई प्रार्थना गर्नुपर्छ। मानिसहरूप्रतिको प्रेम बढाइदिनुहोस्‌ भनेर उहाँसित मदत माग्नुहोस्‌। यसले तपाईँलाई निर्भयी भएर सुसमाचार सुनाउन मदत गर्नेछ।

ती बहिनी बजारमा छिन्‌ र मनमनै प्रार्थना गर्दै छिन्‌।

साहसको लागि प्रार्थना गर्नुहोस्‌ (अनुच्छेद ९ हेर्नुहोस्‌)


१०. हाम्रो जिम्मेवारी पूरा गर्न यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ? (यसैया ४३:१०-१२)

१० यहोवाले हामीलाई उहाँको साक्षी नियुक्‍त गर्नुभएको छ र हामीलाई साहसी हुन मदत दिने प्रतिज्ञा गर्नुभएको छ। (यसैया ४३:१०-१२ पढ्‌नुहोस्‌।) उहाँले मदत गर्नुहुने चार वटा तरिकाबारे विचार गरौँ। पहिलो, हामीले सुसमाचार सुनाउँदा येसु सधैँ हामीसितै हुनुहुन्छ। (मत्ति २८:१८-२०) दोस्रो, हामीलाई मदत गर्न यहोवाले स्वर्गदूतहरूलाई खटाउनुभएको छ। (प्रका. १४:६) तेस्रो, यहोवाले हामीलाई सिकेका कुराहरू स्मरण गराउन मदतगारको रूपमा पवित्र शक्‍ति दिनुभएको छ। (युह. १४:२५, २६) चौथो, हामीलाई मदत गर्न यहोवाले भाइबहिनी दिनुभएको छ। यहोवा र मायालु भाइबहिनीको मदत पाएर हामी साहसी भई साक्षीकार्यमा लागिरहन सक्छौँ।

लचिलो र सकारात्मक हुनुहोस्‌

११. साक्षीकार्यमा तपाईँ कसरी अझ धेरै मानिसलाई भेट्‌न सक्नुहुन्छ? (तस्बिर पनि हेर्नुहोस्‌।)

११ घरघरको साक्षीकार्यमा मानिसहरूलाई नभेटेकोले के तपाईँ निराश हुनुभएको छ? त्यसो हो भने आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘मेरो इलाकाका मानिसहरू यो समयमा कहाँ हुन्छन्‌?’ (प्रेषि. १६:१३) ‘तिनीहरू बजार वा काममा गएका छन्‌ कि?’ त्यसो हो भने सडक साक्षीमा भाग लिँदा अझ धेरै मानिसलाई भेट्‌न सकिन्छ कि? जासुवा भाइले यसो भने: “सपिङ मलहरू र पार्किङ गर्ने ठाउँहरूमा मैले अझ धेरै मानिसलाई भेट्‌ने र साक्षी दिने मौका पाएको छु।” जासुवा र तिनकी पत्नी ब्रिजेटले साँझतिर र आइतबार दिउँसोतिर साक्षीकार्यमा भाग लिँदा अझ धेरै मानिसलाई घरमै भेट्‌न सकेका छन्‌।​—एफि. ५:१५, १६.

ती बहिनी बजारमा तरकारी बेचिरहेकी एक महिलालाई jw.org कार्ड दिँदै छिन्‌।

आफ्नो समयतालिकामा छाँटकाँट गर्नुहोस्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)


१२. मानिसहरूले हाम्रो सन्देशमा खासै चासो नदेखाउँदा हामी के गर्न सक्छौँ?

१२ मानिसहरूले हाम्रो सन्देशमा खासै चासो देखाउँदैनन्‌ भने तिनीहरू केमा विश्‍वास गर्छन्‌ वा कस्ता कुराहरूमा चासो राख्छन्‌ भनेर थाह पाउने कोसिस गर्नुहोस्‌। जासुवा र ब्रिजेट पर्चाहरूमा भएको प्रश्‍न प्रयोग गर्छन्‌। जस्तै, बाइबल कस्तो किताब हो? भन्‍ने पर्चा प्रयोग गर्दै तिनीहरू यस्तो प्रश्‍न गर्छन्‌: “कोही-कोही बाइबल परमेश्‍वरको वचन हो भन्छन्‌ तर कसै-कसैलाई भने त्यस्तो लाग्दैन। तपाईँलाई चाहिँ कस्तो लाग्छ?” यस्तो प्रश्‍न सोध्दा अक्सर कुराकानी अघि बढ्‌छ।

१३. मानिसहरूले हाम्रो कुरा नसुने पनि हामी साक्षीकार्यमा सफल भयौँ भनेर किन भन्‍न सक्छौँ? (हितोपदेश २७:११)

१३ साक्षीकार्यमा हामी सफल भयौँ कि भएनौँ भन्‍ने कुरा मानिसहरूको प्रतिक्रियामा निर्भर हुँदैन। किनभने महत्त्वपूर्ण कुरा, यहोवा र येसुको आज्ञा पालन गर्नु हो। अनि हामीले साक्षीकार्यमा भाग लिँदा त्यसै गरिरहेका हुन्छौँ। (प्रेषि. १०:४२) साक्षीकार्यमा मानिसहरूलाई नभेट्‌दा वा तिनीहरूले हाम्रो सन्देश इन्कार गर्दा पनि हामी रमाउन सक्छौँ किनभने हामीले स्वर्गमा बस्नुहुने बुबालाई प्रसन्‍न तुल्याइरहेका हुन्छौँ।​—हितोपदेश २७:११ पढ्‌नुहोस्‌।

१४. कुनै प्रकाशकले चासो देखाउने मानिस भेट्टाउँदा हामी सबै जना किन रमाउन सक्छौँ?

१४ कुनै प्रकाशकले चासो देखाउने मानिस भेट्टाउँदा हामी पनि रमाउन सक्छौँ। एउटा प्रहरीधरहरा-मा हाम्रो कामलाई हराएको बच्चा खोज्ने कामसित तुलना गरिएको थियो। त्यस खोजीकार्यमा थुप्रै मानिस जुटेका हुन्छन्‌। तिनीहरू समूह-समूह बनाएर चारैतिर त्यस बच्चालाई खोज्न जान्छन्‌। बच्चा भेटिएपछि भेट्टाउने व्यक्‍ति मात्र होइन, सबै जना रमाउँछन्‌। त्यसैगरि चेला बनाउने काम पूरै मण्डली मिलेर गर्ने काम हो। मण्डलीको इलाका ढाक्न सबैको मदत चाहिन्छ र कुनै व्यक्‍ति सभामा आउन थाल्दा सबै जना रमाउँछन्‌।

यहोवा र छिमेकीप्रतिको प्रेमलाई बढाउँदै लैजानुहोस्‌

१५. मत्ति २२:३७-३९ लागू गरेर हामी कसरी साक्षीकार्यप्रतिको जोसलाई बढाउन सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

१५ यहोवा र छिमेकीहरूप्रतिको प्रेममा ध्यान केन्द्रित गर्दा हामी साक्षीकार्यप्रतिको जोसलाई बढाउँदै लैजान सक्छौँ। (मत्ति २२:३७-३९ पढ्‌नुहोस्‌।) हामीले यस काममा भाग लिइरहेको देख्दा यहोवालाई कत्ति खुसी लाग्छ होला! अनि बाइबल अध्ययन सुरु गर्ने व्यक्‍तिहरू पनि कत्ति खुसी हुन्छन्‌ होला, सोच्नुहोस्‌ त! साथै हाम्रो सन्देश स्विकारेर यहोवाको सेवा गर्ने मानिसहरूले अनन्त जीवन पाउनेछन्‌ भन्‍ने कुरा पनि मनमा राख्नुहोस्‌।​—युह. ६:४०; १ तिमो. ४:१६.

दुई बहिनी घरघरको साक्षीकार्यमा भाग लिँदै छन्‌। अगाडिका तस्बिरहरूमा देखाइएकी बहिनी विश्‍वस्त हुँदै एउटी महिलासित पत्रिकाबाट छलफल गर्दै छिन्‌।

यहोवा र छिमेकीप्रतिको प्रेमलाई बढाउँदै लैजाँदा हामी साक्षीकार्यमा अझै रमाउन सक्छौँ (अनुच्छेद १५ हेर्नुहोस्‌)


१६. घरबाट निस्कन नसक्ने अवस्थामा पनि साक्षीकार्यमा कसरी रमाउन सक्छौँ, उदाहरणसहित बताउनुहोस्‌।

१६ के तपाईँ कुनै कारणले गर्दा घरबाट निस्कन नसक्ने अवस्थामा हुनुहुन्छ? हुनुहुन्छ भने यहोवा र छिमेकीप्रतिको प्रेम देखाउन सक्ने तरिकाहरूमा ध्यान केन्द्रित गर्नुहोस्‌। कोभिड-१९ महामारीको बेला साम्वेल र तिनकी पत्नी दानिया घरबाट निस्कन नसक्ने अवस्थामा थिए। यस कठिन अवस्थाभरि नै तिनीहरूले नियमित रूपमा टेलिफोन र चिठीमार्फत साक्षी दिए अनि जुममार्फत बाइबल अध्ययनहरू सञ्चालन गरे। साम्वेल एउटा क्लिनिकमा क्यान्सरको उपचार गराउँदै थिए। तिनले त्यहाँ भेटेका मानिसहरूलाई साक्षी दिए। तिनी यसो भन्छन्‌: “जीवनमा यस्तो कठिनाइ आइपर्दा हामी मानसिक र शारीरिक रूपमा थकित हुन्छौँ अनि हाम्रो विश्‍वासको जाँच पनि हुन सक्छ। यस्तो अवस्थामा पनि हामीले यहोवाको सेवामा रमाउने कोसिस गर्नुपर्छ।” यसैबीच दानिया लडिन्‌ र तीन महिनासम्म थला परिन्‌। त्यसपछि छ महिनासम्म उनले यताउता गर्न ह्विलचेयरको सहारा लिनुपऱ्‍यो। उनी भन्छिन्‌: “मैले आफ्नो परिस्थितिले दिएसम्म सबै गर्ने कोसिस गरेँ। मैले मेरो ख्याल राख्ने नर्सलाई र घरमा सामानहरू ल्याइदिने मानिसहरूलाई साक्षी दिएँ। अनि स्वास्थ्य उपचारसम्बन्धी एउटा कम्पनीकी महिलासित पनि टेलिफोनमार्फत राम्रो कुराकानी गर्न सकेँ।” आफ्नो परिस्थितिले गर्दा साम्वेल र दानियाले पहिलाजति गर्न सकेनन्‌। तर तिनीहरूले आफ्नो तर्फबाट सक्दो गरे र त्यसमा रमाउन सके।

१७. यस लेखमा बताइएका सुझावहरूबाट तपाईँ कसरी पूरापूर लाभ उठाउन सक्नुहुन्छ?

१७ यस लेखमा बताइएका पाँचै वटा सुझाव लागू गर्ने कोसिस गर्नुहोस्‌। प्रत्येक सुझाव खाना पकाउन चाहिने सामग्रीहरूजस्तै हुन्‌। सबै सामग्री राम्ररी मिसाएर पकाउनुभयो भने खाना मीठो हुन्छ। त्यसैगरि यी पाँचै वटा सुझाव लागू गऱ्‍यौँ भने हामीले नकारात्मक भावनाहरूसित लड्‌न बल पाउनेछौँ र साक्षीकार्यमा अझ रमाउन सक्नेछौँ।

निम्न कुरा गर्दा तपाईँ साक्षीकार्यमा कसरी रमाउन सक्नुहुन्छ?

  • राम्ररी तयारी गर्दा

  • साहसको लागि प्रार्थना गर्दा

  • यहोवा र छिमेकीप्रतिको प्रेमलाई बढाउँदै लैजाँदा

गीत ८० ‘चाखेर हेर यहोवा छन्‌ भलो’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने