के तपाईँले सम्झनुभएको छ?
के तपाईँले यस वर्षको प्रहरीधरहरा पत्रिकाका अङ्कहरू ध्यान दिएर पढ्नुभयो? उसोभए तपाईँ निम्न प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ कि:
हामी किन यहोवाको महिमा गर्छौँ?
हामी यहोवाको महिमा गर्छौँ किनभने हामी उहाँलाई गहिरो आदर गर्छौँ र उहाँलाई असाध्यै प्रेम गर्छौँ। साथै मानिसहरूले उहाँबारे सत्य कुरा थाह पाएको चाहन्छौँ।—w२५.०१, पृ. ३.
कसैले हाम्रो चित्त दुख्ने कुरा भन्दा वा गर्दा तिनलाई क्षमा दिन हामी के गर्न सक्छौँ?
हामी आफ्ना भावनाहरूलाई बेवास्ता गरिहाल्दैनौँ; बरु रिस र द्वेष हटाउन प्रयास गऱ्यौँ भने हाम्रो मन भारी भइरहँदैन र अरूसित राम्रो व्यवहार गर्न सक्छौँ।—w२५.०२, पृ. १५-१६.
जवान भाइहरूको लागि मर्कुस किन राम्रो उदाहरण हुन्?
मर्कुस खुसीसित अर्कै इलाकामा सेवा गर्न गए। एउटा परिस्थितिले गर्दा तिनको निकै चित्त दुखेको र तिनी निराश भएको हुनुपर्छ। तर तिनले हरेस खाएनन्। तिनले पावल र अरू परिपक्व भाइहरूसित घनिष्ठ सम्बन्ध गाँसे।—w२५.०४, पृ. २७.
येसुले प्रार्थनामा किन यसो भन्नुभयो: “मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु”? (युह. १७:२६)
उहाँका चेलाहरूलाई परमेश्वरको नाम के हो भनेर थाह थियो। वास्तवमा उहाँले चेलाहरूलाई त्यो नाम बहन गर्ने परमेश्वर कस्तो हुनुहुन्छ भनेर बताउँदै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई यहोवाका उद्देश्यहरू, उहाँका गुणहरू र कामहरूबारे बताउनुभयो।—w२५.०५, पृ. २०-२१.
हामी नम्र छौँ भने कुन कुरा स्विकार्छौँ?
हामीलाई सबै कुरा थाह छैन भनेर स्विकार्छौँ। उदाहरणको लागि, अन्त कहिले आउँछ र त्यतिबेला यहोवाले हाम्रो लागि कस्तो कदम चाल्नुहुनेछ, हामीलाई थाह छैन। भोलि के हुन्छ वा यहोवा हामीलाई कत्तिको राम्ररी चिन्नुहुन्छ, त्यो पनि हामीलाई थाह छैन।—w२५.०६, पृ. १५-१८.
कुनै लेख वा जनभाषणबाट लाभ उठाउन हामी के गर्न सक्छौँ?
आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘बाइबलको यो शिक्षालाई सही साबित गर्ने कस्तो प्रमाण दिइएको छ? कसैलाई सिकाउँदा यहाँ चलाइएको उदाहरण म कसरी प्रयोग गर्न सक्छु? यो सत्यबारे म कसलाई बताउन सक्छु?’—w२५.०७, पृ. १९.
परमेश्वरले दाउदसित गर्नुभएको व्यवहारबाट उहाँको क्षमाबारे के सिक्न सक्छौँ?
दाउदले गम्भीर गल्तीहरू गरे। तर तिनले मनैदेखि पश्चात्ताप गरेपछि यहोवाले तिनलाई क्षमा दिनुभयो। (१ राजा ९:४, ५) परमेश्वरले हामीलाई क्षमा दिनुभएपछि हामीले गरेको पापलाई सम्झेर बस्नुहुन्न वा फेरि त्यही गल्ती कोट्ट्याइरहनुहुन्न।—w२५.०८, पृ. १७.
बाइबल विद्यार्थीलाई कुनै कुरा बुझ्न गाह्रो भइरहेको छ भने तपाईँ के गर्न सक्नुहुन्छ?
तपाईँले विद्यार्थीलाई बाइबलबाट कुनै कुरा बुझाउन निकै प्रयास गर्नुभयो तर तिनलाई अझै पनि त्यो कुरा बुझ्न गाह्रो भइरहेको छ भने अध्ययनलाई अगाडि बढाएर त्यसबारे पछि छलफल गर्न सक्नुहुन्छ।—w२५.०९, पृ. २४.
बाइबलले पापको ‘शक्ति भ्रामक’ हुन्छ भनी बताउँछ। (हिब्रू ३:१३) कुन अर्थमा?
पापी अवस्थाले गर्दा हामी गलत काम गर्ने प्रलोभनमा पर्छौँ। त्यति मात्र नभई यसले गर्दा नै हामीलाई यहोवाको प्रेममा बेलाबेलामा शङ्का लाग्न सक्छ वा त्यस्तो शङ्का हाम्रो मनमा लामो समयसम्म रहन सक्छ।—w२५.१०, पृ. १६.
मन खोलेर प्रार्थना गर्न हामी के गर्न सक्छौँ?
(१) हामी यहोवाका गुणहरूमा मनन गर्न सक्छौँ। (२) आफूले अहिले कस्ता समस्याहरू भोगिरहेको छु भनेर विचार गर्न सक्छौँ; जस्तै, कसैलाई क्षमा दिनुपर्ने छ कि? अनि त्यसबारे प्रार्थना गर्न सक्छौँ। (३) हामी समय लगाएर प्रार्थना गर्न सक्छौँ। यसो गर्दा यहोवालाई आफ्नो भित्री भावनाहरूसमेत पोखाउन सक्छौँ।—w२५.१०, पृ. १९-२०.
हामी कसरी वृद्धहरूलाई मदत गर्न सक्छौँ?
हामी वृद्ध भाइबहिनीलाई भेट्न जान वा फोन गर्न सक्छौँ। हामी तिनीहरूसँगै डाक्टरकहाँ गइदिन सक्छौँ। अथवा हामी तिनीहरूसित प्रचारकार्यको विभिन्न पक्षमा भाग लिन सक्छौँ।—w२५.११, पृ. ६-७.
विवाह समारोह यहोवाको आदर हुने किसिमको बनाउन के गर्नुपर्छ?
कानुनी आवश्यकता पूरा गर्नुहोस्। विवाह समारोहमा संसारको मनोभाव नभई पवित्र शक्तिको फल झल्काउनुहोस्। भद्र पहिरन लगाउनुहोस् र बाइबलसित मेल नखाने रीतिथितिलाई तिरस्कार गर्नुहोस्। योजना बनाउँदा स्पष्टसित तर आदर झल्किने तरिकामा कुराकानी गर्नुहोस्।—w२५.१२, पृ. २१-२४.