प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 डिसेम्बर पृ. २६-३०
  • तपाईँ वृद्ध भाइबहिनीहरू मण्डलीको गहना हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ वृद्ध भाइबहिनीहरू मण्डलीको गहना हुनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा तपाईँले के गरेको चाहनुहुन्छ?
  • तपाईँबाट अरूले धेरै सिक्न सक्छन्‌
  • यहोवा तपाईँको वफादार सेवाको मोल गर्नुहुन्छ
  • अरूलाई मदत गर्ने काममा व्यस्त भइरहनुहोस्‌
  • यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • यहोवालाई सबैभन्दा उत्तम सेवा चढाएर आनन्दित हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • वफादार वृद्ध भाइबहिनीलाई अनमोल ठान्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 डिसेम्बर पृ. २६-३०
चित्रहरूको सँगालो: यहोवाको सेवामा रमाइरहेका वृद्ध भाइबहिनीहरू। १. एक भाइ अगाडि हेरेर मुस्कुराइरहेका छन्‌। २. ह्वीलचेयरमा बसिरहेकी एक बहिनी नर्सलाई पर्चा दिँदै छिन्‌। ३. एक बहिनी सभामा टिप्पणी दिँदै छिन्‌। ४. एक वृद्ध बहिनी जवान भाइको हात समाएर प्रचारमा भाग लिँदै छिन्‌। ५. एक भाइ सभाभवनमा दुई जना बाबु-नानी र तिनीहरूको आमासित समय बिताउँदै छन्‌।

तपाईँ वृद्ध भाइबहिनीहरू मण्डलीको गहना हुनुहुन्छ

“पहिला मैले के-के गर्न सक्थेँ भनेर सम्झँदा दङ्‌गै पर्छु। अहिले भने उमेरले साथ दिँदैन।”—कोनी, ८३ वर्ष।

के तपाईँले पनि यस्तै महसुस गर्नुभएको छ? तपाईँले वर्षौँदेखि वफादार भई यहोवाको सेवा गर्दै हुनुहुन्छ होला। तर ढल्कँदो उमेरले गर्दा सायद पहिला जतिको गर्न सक्नुहुन्‍न। त्यसैले आफूले गर्न नसकेको कुरा सोचेर निराश हुनुहुन्छ होला। यस्तो महसुस हुँदा तपाईँ के गर्न सक्नुहुन्छ, अब विचार गरौँ।

यहोवा तपाईँले के गरेको चाहनुहुन्छ?

आफैलाई सोध्नुहोस्‌, ‘यहोवा मैले के गरेको चाहनुहुन्छ?’ तपाईँ यसको जवाफ व्यवस्था ६:५ मा पाउन सक्नुहुन्छ, जहाँ यस्तो लेखिएको छ: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा बलले प्रेम गर्नू।”

यस पदअनुसार यहोवा तपाईँले आफ्नो सारा हृदयले, ज्यानले र बलले उहाँको सेवा गरेको चाहनुहुन्छ। यसको अर्थ के हो? तपाईँले अहिले यहोवाको सेवामा जे-जति गर्दै हुनुहुन्छ, त्यसलाई अरूले गरिरहेको कुरासित वा आफूले जवान छँदा गरेका कुराहरूसित तुलना गर्नु हुँदैन।

यो कुरा विचार गर्नुहोस्‌: जवान छँदा तपाईँले आफ्नो अवस्थाले दिएसम्म यहोवाको सेवा गर्दै हुनुहुन्थ्यो होला। सायद त्यतिबेला तपाईँले गर्न सक्ने सर्वोत्तम कुरा त्यही नै थियो। तर अहिले तपाईँको अवस्था परिवर्तन भएको छ। तैपनि तपाईँ अहिले आफ्नो अवस्थाले दिएसम्म यहोवाको सेवा गर्दै हुनुहुन्छ। अनि त्यो नै तपाईँले अहिले गर्न सक्ने सर्वोत्तम कुरा हो। यो कुरा विचार गर्ने हो भने वास्तवमा तपाईँले जवान छँदा जसरी यहोवाको सेवा गर्दै हुनुहुन्थ्यो, अहिले पनि त्यसरी नै गर्दै हुनुहुन्छ। तपाईँले त्यतिबेला यहोवालाई सर्वोत्तम सेवा चढाउँदै हुनुहुन्थ्यो; अहिले पनि सर्वोत्तम सेवा चढाउँदै हुनुहुन्छ।

चित्रहरूको सँगालो: वर्षौँदेखि वफादार भई यहोवाको सेवा गरेकी एक बहिनी। १. तिनी जवान छँदा घरघरको प्रचारमा एक महिलासित कुरा गर्दै छिन्‌। २. अहिले वृद्ध भइसकेकी ती बहिनी एक जवान बहिनीसित टेलिफोन साक्षी दिँदै छिन्‌।

तपाईँले जवान छँदा यहोवालाई सर्वोत्तम सेवा चढाउनुभयो; अहिले वृद्धावस्थामा पनि सर्वोत्तम सेवा चढाउँदै हुनुहुन्छ

तपाईँबाट अरूले धेरै सिक्न सक्छन्‌

आफ्नो उमेरको कारण गर्न नसकेका कुराहरूमा ध्यान दिनुको साटो तपाईँ अहिले पनि अरूलाई कसरी मदत दिन सक्नुहुन्छ भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। वास्तवमा तपाईँले उमेर ढल्किसकेपछि मात्र गर्न सक्ने कुराहरू पनि छन्‌। जस्तै:

आफ्नो अनुभव अरूलाई बताउनुहोस्‌। यहोवाका यी दुई जना वफादार सेवकले भनेको कुरा विचार गर्नुहोस्‌:

राजा दाउद: “म जवान थिएँ, अहिले बूढो भएको छु तर धर्मी मानिसको बिचल्ली भएको र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको मैले कहिल्यै देखेको छैनँ।”—भज. ३७:२५.

यहोसु: “हेर! अब म मर्ने बेला आइसक्यो। यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएका सबै असल प्रतिज्ञामा एउटा पनि अधुरो रहेको छैन भनी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले थाह पाएकै छौ। ती सबै पूरा भएका छन्‌; तीमध्ये एउटा कुरा पनि फरक परेको छैन।”—यहो. २३:१४.

दाउद र यहोसुले वर्षौँसम्म वफादार भई यहोवाको सेवा गरे अनि थुप्रै अनुभव बटुले। तिनीहरूले यी कुराहरू आफ्नै जीवनको भोगाइबाट बताएका थिए। त्यसैले तिनीहरूले भनेका यी कुराहरू निकै अर्थपूर्ण छन्‌।

के तपाईँले पनि लामो समयदेखि यहोवाको सेवा गर्दै हुनुहुन्छ? त्यसो हो भने तपाईँले पनि थुप्रै राम्रा अनुभवहरू सङ्‌गाल्नुभएको छ होला। के तपाईँलाई यहोवाले आफ्ना सेवकहरूलाई अचम्मलाग्दो तरिकामा मदत गर्नुभएको कुनै क्षण याद छ? त्यो कुरा अरूलाई बताउनुहोस्‌। यसरी अरूलाई आफ्नो अनुभव बाँड्‌दा तपाईँ आफैलाई पनि थप ऊर्जा मिल्छ अनि तपाईँको अनुभव सुन्‍नेहरूले पनि त्यसबाट निकै प्रोत्साहन पाउन सक्छन्‌।—रोमी १:११, १२.

तपाईँ अर्को तरिकामा पनि अरूको लागि प्रोत्साहनको स्रोत बन्‍न सक्नुहुन्छ। कसरी? सम्भव भएसम्म सभाभवनमै उपस्थित भएर। यसो गर्दा तपाईँ आफैले पनि प्रोत्साहन पाउन सक्नुहुन्छ अनि अरू भाइबहिनीले पनि तपाईँबाट प्रोत्साहन पाउन सक्छन्‌। अगाडि उल्लेख गरिएकी कोनी भन्छिन्‌: “सभामा जाँदा म छुट्टै स्फूर्ति पाउँछु। त्यहाँ मैले भाइबहिनीहरूको धेरै माया पाउँछु। यत्ति धेरै माया पाएपछि निराश हुने त कुरै आउँदैन। म उहाँहरूलाई सानो भए पनि केही उपहार दिएर कृतज्ञता व्यक्‍त गर्ने कोसिस गर्छु। अनि म भाइबहिनीसँगै मिलेर आध्यात्मिक गतिविधिहरूमा भाग लिन सक्दो गर्छु।”

यहोवा तपाईँको वफादार सेवाको मोल गर्नुहुन्छ

बाइबलमा त्यस्ता थुप्रै व्यक्‍तिहरूबारे उल्लेख गरिएको छ, जसले आफ्नो अवस्थाले गर्दा यहोवाको सेवामा आफूले चाहेजति गर्न सकेनन्‌। तैपनि यहोवाले तिनीहरूलाई माया गर्न छोड्‌नुभएन। एक जना वृद्ध इस्राएली सिमियोनबारे विचार गरौँ। येसुको जन्म हुँदा तिनी जीवितै थिए। तिनी मन्दिरमा जाँदा जवानहरूले थुप्रै गहन जिम्मेवारीहरू सम्हालिरहेको देखेको हुनुपर्छ। त्यो देख्दा सिमियोनलाई आफूले जवानहरूले जस्तो यहोवाको सेवा गर्न सकिरहेको छैनँ जस्तो लागेको हुन सक्छ। त्यसैले तिनलाई आफू यहोवाको नजरमा खासै मोलको छैनँ जस्तो लाग्न सक्थ्यो। तर यहोवाको सोचाइ भने बिलकुलै फरक थियो। यहोवाले तिनलाई “धर्मी अनि भक्‍त” व्यक्‍ति ठान्‍नुभयो अनि बालक येसुलाई देख्ने सुअवसर पनि दिनुभयो। यहोवाले तिनलाई ती बालक नै पछि मसीह हुनेछन्‌ भन्‍ने भविष्यवाणी गर्न पनि लगाउनुभयो। (लुका २:२५-३५) स्पष्ट छ, यहोवाले सिमियोनको बूढो शरीरमा होइन, तिनको बलियो विश्‍वासमा ध्यान दिनुभयो। साथै उहाँले तिनलाई आफ्नो “पवित्र शक्‍ति” पनि दिनुभयो।

युसुफ र मरियम खुसी हुँदै सिमियोनलाई बालक येसु देखाउँदै छन्‌।

यहोवाले सिमियोनलाई बालक येसुलाई देख्ने अनि तिनी पछि मसीह हुनेछन्‌ भन्‍ने भविष्यवाणी गर्ने सुअवसर दिनुभयो

हुनत तपाईँको पनि केही सीमितताहरू होलान्‌। तर यहोवा तपाईँको वफादार सेवाको मोल गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। यहोवा ‘मानिसले आफूसित जे छ, त्यही दिएको आशा गर्नुहुन्छ, नभएको कुरा होइन।’ अनि त्यो नै उहाँको नजरमा ‘ग्रहणयोग्य हुन्छ।’—२ कोरि. ८:१२.

त्यसैले तपाईँ जे गर्न सक्नुहुन्छ, त्यो गर्नुहोस्‌। जस्तै: तपाईँ अझै पनि साक्षीकार्यको कुनै-कुनै पक्षमा भाग लिन सक्नुहुन्छ होला। लामो समय सक्नुहुन्‍न भने एकछिन भए पनि गर्न सक्नुहुन्छ कि? अथवा तपाईँ फोन गरेर वा कार्ड पठाएर कसैलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि? यसरी स-सानो तरिकामा भए पनि अरूलाई प्रेम देखाउँदा भाइबहिनीमा ठूलो प्रभाव पर्न सक्छ। अझ विशेषगरि तपाईँजस्तो लामो समयदेखि यहोवाको सेवा गरिरहेको व्यक्‍तिले त्यसरी प्रेम देखाउँदा भाइबहिनीले अझ प्रोत्साहन पाउन सक्छन्‌।

कोही-कोही शारीरिक रूपमा अशक्‍त छन्‌। पूर्वी अफ्रिकाको एउटा अनुभव पढ्‌न “तिनले जिउने आधार पाइन्‌” भन्‍ने पेटी हेर्नुहोस्‌।

तपाईँले वर्षौंदेखि वफादार भई यहोवाको सेवा गरिरहेको देख्दा अरूले निकै प्रोत्साहन पाउनेछन्‌। सहनशीलता देखाउने सन्दर्भमा तपाईँले निकै राम्रो उदाहरण बसाल्नुभएको छ। अनि ‘तपाईँले परमेश्‍वरको नामको निम्ति देखाउनुभएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न’ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—हिब्रू ६:१०.

अरूलाई मदत गर्ने काममा व्यस्त भइरहनुहोस्‌

अध्ययनहरूले देखाएअनुसार अरूलाई मदत गर्ने धेरैजसो वृद्धहरूको स्वास्थ्य राम्रो हुन्छ, दिमाग टाठो हुन्छ अनि आयु पनि लामो हुन्छ।

तर अरूको हित हुने काम गर्दैमा बुढ्यौली रोक्न सकिँदैन भनेर हामीलाई थाह छ। जन्मजातै पाएको पापले गर्दा भएको बुढ्यौली र मृत्युलाई परमेश्‍वरको राज्यले मात्र नामेट पार्न सक्नेछ।—रोमी ५:१२.

तपाईँले यहोवाको सेवामा जे-जति गर्दै हुनुहुन्छ, त्यसको उहाँ मोल गर्नुहुन्छ। उहाँबारे अरूलाई बताउँदा तपाईँको आफ्नै आशा बलियो हुन्छ अनि यसो गर्नु स्वास्थ्यको लागि पनि राम्रो हो। वृद्ध भाइबहिनीहरू, यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: तपाईँ मण्डलीको गहना हुनुहुन्छ र यहोवा तपाईँलाई बहुमूल्य ठान्‍नुहुन्छ!

एक वृद्ध बहिनी ट्रली साक्षीकार्यमा भाग लिँदै छिन्‌। तिनले एक युवतीलाई बाइबल पद देखाउँदै गर्दा उनी रोइरहेकी छिन्‌।

तिनले जिउने आधार पाइन्‌

एउटी युवती हाम्रो ट्रली राखिएको बाटो हुँदै गइरहेकी थिइन्‌। ट्रलीमा बसेकी हाम्री वृद्ध बहिनीले तिनलाई अभिवादन गरिन्‌ अनि एउटा प्रोत्साहनदायी बाइबल पद देखाउन सकिन्छ कि भनेर सोधिन्‌। ती बहिनीले यर्मिया २९:११ पढेर सुनाइन्‌। त्यस पदमा यहोवा हाम्रो शान्ति चिताउनुहुन्छ, विपत्ति होइन भनेर लेखिएको छ। त्यसपछि ती बहिनीले उक्‍त युवतीलाई सोधिन: “परमेश्‍वर तपाईँको भविष्य कस्तो भएको चाहनुहुँदो रहेछ?”

यो कुराले ती युवतीको असाध्यै मन छोयो। तिनले रुँदै यसो भनिन: “परमेश्‍वर मैले उज्ज्वल भविष्य र आशा पाएको चाहनुहुँदो रहेछ। यस्तो राम्रो कुरा सुनाइदिनुभएकोमा धेरै धन्यवाद। यो त मेरै प्रार्थनाको जवाफ हो जस्तो लाग्यो। जीवनमा एकपछि अर्को समस्याहरू आइरहेकोले मलाई सहन एकदमै गाह्रो भइरहेको थियो। मैले आत्महत्या गर्ने विचार गरिरहेकी थिएँ। आज बिहान मात्रै मैले परमेश्‍वरलाई ‘यदि तपाईँ अझै पनि मेरो ख्याल राख्नुहुन्छ भने एउटा चिन्ह दिनुहोस्‌’ भनेर प्रार्थना गरेकी थिएँ। हेर्नुस्‌ त, कस्तो अचम्म! मैले तपाईँलाई कहिल्यै देखेकी छैनँ, चिनेकी पनि छैनँ। तर तपाईँले मलाई एकछिन रोक्नुभयो। अनि परमेश्‍वर मबारे के सोच्दै हुनुहुन्छ भनेर बताउनुभयो। यो संयोग हुनै सक्दैन।”

हाम्री बहिनीले ती युवतीलाई jw.org बाट आत्महत्या गर्ने सोचाइ त्याग्न बाइबलले कसरी मदत गर्छ भनेर बताइएको केही लेखहरू देखाइन्‌। उनले तिनलाई बाइबल अध्ययन कसरी गरिन्छ भनेर बताइन्‌। अनि हाम्रो सभामा आउन निम्तो पनि दिइन्‌। त्यसपछिको हप्ता नै ती युवती हाम्रो सप्ताहन्तको सभामा आइन्‌। अनि अहिले तिनी सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाबाट अध्ययन गर्दै छिन्‌।

जवान होऔँ वा वृद्ध, हामी सबैले नै ट्रली साक्षीमा भाग लिन सक्छौँ। तपाईँ पनि सक्नुहुन्छ कि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने