प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt pp. २४९९-२५०३
  • क४ हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क४ हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा को हुनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परमेश्‍वरको नाम—यसको प्रयोग अनि अर्थ
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
  • साँचो ईश्‍वरको नाम के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
पवित्र बाइबल नयाँ संसार अनुवाद
क४ हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम

क४

हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम

सुरुको हिब्रू टेट्राग्रामटन

इस्राएलीहरूलाई बेबिलोनको निर्वासनमा लैजानुअघि पुरातन हिब्रू अक्षरहरूमा परमेश्‍वरको नाम

पछिको हिब्रू टेट्राग्रामटन

इस्राएलीहरू बेबिलोनको निर्वासनबाट फर्केपछि हिब्रू अक्षरहरूमा परमेश्‍वरको नाम

हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम लगभग ७,००० चोटि प्रयोग गरिएको छ। यो नामको हिब्रू व्यञ्जन यसरी लेखिन्छ: יהוה (अङ्‌ग्रेजीमा YHWH)। टेट्राग्रामटन भनिने यी चार वटा हिब्रू अक्षरलाई यस नयाँ संसार अनुवाद-मा “यहोवा” भनेर अनुवाद गरिएको छ। बाइबलमा अरू सबै नामको तुलनामा यो नाम सबैभन्दा धेरै पटक प्रयोग गरिएको छ। हुनत परमेश्‍वरको प्रेरणा पाएका बाइबल लेखकहरूले परमेश्‍वरलाई चिनाउन विभिन्‍न पदवी चलाएका छन्‌, जस्तै, “सर्वशक्‍तिमान्‌,” “सर्वोच्च परमेश्‍वर” र “परमप्रभु।” तर परमेश्‍वरको नाम बताउन चाहिँ उनीहरूले यी चार वटा हिब्रू अक्षर नै प्रयोग गरेका छन्‌।

यहोवा परमेश्‍वरले नै बाइबल लेखकहरूलाई यो नाम प्रयोग गर्ने प्रेरणा दिनुभएको थियो। उदाहरणको लागि, उहाँले भविष्यवक्‍ता योएललाई यस्तो लेख्न प्रेरणा दिनुभयो: “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।” (योएल २:३२) उहाँले एक जना भजनरचयितालाई पनि यस्तो लेख्न लगाउनुभयो: “मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो, सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।” (भजन ८३:१८) वास्तवमा भजनसङ्‌ग्रहमा मात्रै परमेश्‍वरको नाम लगभग ७०० ठाउँमा पाइन्छ। कवितात्मक शैलीमा लेखिएको यस किताबका भजनहरू परमेश्‍वरका सेवकहरूले कण्ठ पार्थे र गाउँथे। त्यसोभए अहिले धेरैजसो बाइबल अनुवादमा परमेश्‍वरको नाम किन छैन? अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद-मा परमेश्‍वरको नामको लागि “जेहोभा” किन प्रयोग गरियो? अनि यहोवा नामको अर्थ के हो?

भजनसङ्‌ग्रहमा टेट्राग्रामटन थुप्रै ठाउँमा प्रयोग गरिएको थियो

मृतसागरमा फेला परेका पाण्डुलिपिहरूमा भएको भजनसङ्‌ग्रहको केही अंश, जुन इस्वी संवत्‌ ५० भन्दा अघिको हो। यसको लेखनशैली इस्राएलीहरू बेबिलोनको निर्वासनबाट फर्केपछिको समयको हो। तर प्रत्येक ठाउँमा परमेश्‍वरको नाम भने इस्राएलीहरूलाई बेबिलोनको निर्वासनमा लैजानुअघिको समयको हिब्रू लेखनशैलीमै राखिएको पाइन्छ

धेरैजसो बाइबल अनुवादमा परमेश्‍वरको नाम किन छैन? यसका थुप्रै कारण छन्‌। कसै-कसैको विचारमा सर्वोच्च परमेश्‍वरलाई चिनाउन कुनै खास नामको आवश्‍यकता छैन। कसै-कसैले चाहिँ सायद पुरातन समयको यहुदी परम्पराले गर्दा परमेश्‍वरको नाम प्रयोग गरेनन्‌ किनकि यसो गर्दा उनीहरूलाई परमेश्‍वरको नाम अपवित्र हुने हो कि भन्‍ने डर लागेको हुन सक्छ। अनि अरू कोही-कोहीलाई चाहिँ परमेश्‍वरको नामको सही उच्चारण कसैलाई पनि थाह नभएकोले “परमप्रभु” वा “परमेश्‍वर”-जस्ता पदवी मात्र चलाउनु नै बेस हो जस्तो लाग्छ। तर यस्ता तर्कहरूको कुनै ठोस आधार छैन। अब यसबारे विचार गरौँ:

  • सर्वोच्च परमेश्‍वरलाई कुनै खास नामको आवश्‍यकता छैन भनेर तर्क गर्नेहरूले यो महत्त्वपूर्ण कुरालाई बेवास्ता गरिरहेका छन्‌: परमेश्‍वरको वचनको सुरु-सुरुका प्रतिलिपिहरूमा परमेश्‍वरको नाम पाइन्छ र ती प्रतिलिपिहरूमध्ये केही त ख्रिष्ट पृथ्वीमा आउनुभएको समयभन्दा पनि अघिका थिए। माथि बताइएझैँ परमेश्‍वरले नै आफ्नो वचनमा आफ्नो नाम लगभग ७,००० चोटि लेख्न लगाउनुभएको थियो। त्यसैले कुरा स्पष्ट छ, परमेश्‍वर हामीले उहाँको नाम थाह पाएको र त्यो नाम प्रयोग गरेको चाहनुहुन्छ।

  • यहुदी परम्परा पालन गर्दै परमेश्‍वरको नाम हटाउने अनुवादकहरूले एउटा महत्त्वपूर्ण कुरा बुझेका छैनन्‌। कुन कुरा? हुनत केही यहुदी शास्त्रीहरूले आफ्नो मुखबाट परमेश्‍वरको नाम निकाल्दैनथे तैपनि तिनीहरूले बाइबलको प्रतिलिपि बनाउँदा त्यसबाट परमेश्‍वरको नामचाहिँ हटाएनन्‌। मृतसागरनजिकै पर्ने कुमरान भन्‍ने ठाउँमा भेटिएका पुरातन मुठाहरूमा पनि परमेश्‍वरको नाम थुप्रै ठाउँमा पाइन्छ। केही अङ्‌ग्रेजी बाइबलमा अनुवादकहरूले “परमप्रभु” भन्‍ने अर्थ लाग्ने पदवी ठूलो अक्षरमा लेखेर मौलिक लेखोटमा परमेश्‍वरको नाम थियो भन्‍ने कुराको छनक दिएका छन्‌। तर प्रश्‍न उठ्‌छ, मूल भाषाको बाइबलमा परमेश्‍वरको नाम हजारौँ पटक प्रयोग गरिएको थियो भन्‍ने कुरा थाह हुँदाहुँदै ती अनुवादकहरूले किन परमेश्‍वरको नामको सट्टा पदवीहरू मात्र चलाए वा बाइबलबाट परमेश्‍वरको नाम नै हटाइदिए? तिनीहरूलाई त्यस्तो ठूलो परिवर्तन गर्ने अधिकार कसले दियो? यसको जवाफ तिनीहरूले नै जानून्‌!

  • परमेश्‍वरको नामको सही उच्चारण थाह नभएकोले बाइबलमा यो नाम प्रयोग गर्नुहुँदैन भनेर तर्क गर्नेहरूले समेत येसुको नामचाहिँ कुनै धक नमानी प्रयोग गर्छन्‌। तर येसुका प्रथम शताब्दीका चेलाहरूले उहाँको नाम अहिलेका धेरैजसो ख्रिष्टियनले भन्दा बिलकुलै फरक तरिकामा उच्चारण गर्थे। सम्भवतः यहुदी ख्रिष्टियनहरूले येसु नामलाई येसुआ भनेर उच्चारण गर्थे अनि “ख्रिष्ट” भन्‍ने पदवीलाई चाहिँ मशियाक अर्थात्‌ “मसीह” भनेर उच्चारण गर्थे। ग्रीक भाषा बोल्ने ख्रिष्टियनहरूले उहाँको नाम इसोस्‌ ख्रिस्टोस भन्थे अनि ल्याटिन भाषा बोल्ने ख्रिष्टियनहरूले चाहिँ इसुस्‌ क्रिस्टुस भन्थे। परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको बाइबलमा येसु नामको ग्रीक हिज्जे समावेश गरियो किनकि त्यस समयमा ग्रीक भाषा चलनचल्तीको भाषा थियो। यसबाट स्पष्ट हुन्छ कि प्रथम शताब्दीका ख्रिष्टियनहरूले त्यसबेला जुन भाषा चलनचल्तीमा थियो, त्यही भाषाको हिज्जे चलाएर व्यावहारिकता देखाए। त्यसरी नै पुरातन समयको हिब्रू भाषामा परमेश्‍वरको नामको उच्चारण जसरी गरिन्थ्यो, त्यससित ठ्‌याक्कै मेल नखाने भए तापनि नयाँ संसार बाइबल अनुवाद समितिले अङ्‌ग्रेजीमा “जेहोभा” भन्‍ने नाम प्रयोग गर्नु नै उचित ठान्यो।

अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद-मा परमेश्‍वरको नामको लागि “जेहोभा” किन प्रयोग गरियो? टेट्राग्रामटन भनिने चार वटा हिब्रू अक्षरलाई (יהוה) अङ्‌ग्रेजीमा YHWH लेखिन्छ। पुरातन हिब्रू भाषा लेख्दा अक्षरहरूमा स्वर वर्ण जोडेर लेख्ने चलन थिएन। त्यसैले यी चार वटा हिब्रू अक्षरमा पनि स्वर वर्ण छैन। जुन समयमा पुरातन हिब्रू भाषा चलनचल्तीमा थियो, त्यस समयका मानिसहरूलाई कुन शब्दमा कुन स्वर वर्ण लगाउने भनेर राम्ररी थाह थियो।

हिब्रू धर्मशास्त्र लेख्न सिद्धिएको लगभग १,००० वर्षपछि यहुदी विद्वानहरूले हिब्रू भाषा पढ्‌दा कुन शब्दलाई कसरी उच्चारण गर्ने, त्यो ठम्याउन सजिलो होस्‌ भनेर स्वर-चिन्हहरूको आविष्कार गरे। त्यतिन्जेल परमेश्‍वरको नाम मुखबाट निकाल्नु गलत हो भन्‍ने अन्धविश्‍वास फैलिसकेकोले थुप्रै यहुदीले परमेश्‍वरको नामको सट्टा पदवीहरू चलाउन थालिसकेका थिए। त्यसैले प्रतिलिपि बनाउँदा तिनीहरूले टेट्राग्रामटनमा ती पदवीहरूमा प्रयोग हुने स्वर वर्ण थपेका हुन सक्छन्‌। त्यसैले त्यस्ता पाण्डुलिपिहरूमा भएका स्वर-चिन्हहरू हेरेर हिब्रूमा परमेश्‍वरको नाम यसरी नै उच्चारण गरिन्थ्यो भनेर किटान गर्न सकिँदैन। कसै-कसैले परमेश्‍वरको नाम “याहवे” भनेर उच्चारण गरिन्थ्यो भन्‍ने गर्छन्‌ अनि कोहीचाहिँ अरू नै तरिकामा उच्चारण गरिन्थ्यो भन्‍ने गर्छन्‌। मृतसागरमा फेला परेका पाण्डुलिपिहरूमा लेविको किताबका केही अंशहरू पनि थिए, जुन ग्रीक भाषामा थिए। त्यसमा परमेश्‍वरको नामलाई इयाओ भनेर उल्लेख गरिएको छ। यसबाहेक सुरु-सुरुका ग्रीक लेखकहरूले यसको उच्चारण इए, इयावे र इयाउवे हो भन्छन्‌। त्यसैले परमेश्‍वरको नाम यसरी नै उच्चारण गरिन्थ्यो भनेर ठोकुवा गर्न सकिँदैन। पुरातन समयका परमेश्‍वरका सेवकहरूले हिब्रू भाषामा परमेश्‍वरको नाम कसरी उच्चारण गर्थे भन्‍ने कुरा हामीलाई थाह छैन। (उत्पत्ति १३:४; प्रस्थान ३:१५) तर हामीलाई यो कुरा भने राम्ररी थाह छ: परमेश्‍वरले आफ्ना सेवकहरूसित कुरा गर्दा आफ्नो नाम बारम्बार प्रयोग गर्नुभएको थियो, परमेश्‍वरका सेवकहरूले पनि उहाँको नामै लिएर उहाँलाई सम्बोधन गर्थे अनि अरूसित कुरा गर्दा तिनीहरू त्यो नाम कुनै धक नमानी प्रयोग गर्थे।—प्रस्थान ६:२; १ राजा ८:२३; भजन ९९:९.

त्यसोभए अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद-मा “जेहोभा” भन्‍ने हिज्जे किन प्रयोग गरियो त? किनकि अङ्‌ग्रेजी भाषामा लामो समयदेखि परमेश्‍वरको नाम यसरी नै उच्चारण गरिँदै आएको छ।

परमेश्‍वरको नाम यहोवा

विलियम टिन्डेलको अनुवादमा उत्पत्ति १५:२ मा परमेश्‍वरको नाम। बाइबलको सुरुका पाँच वटा किताबको यो अनुवाद सन्‌ १५३० मा प्रकाशित भएको थियो

सन्‌ १५३० मा विलियम टिन्डेलले बाइबलको सुरुका पाँच वटा किताबलाई अङ्‌ग्रेजीमा अनुवाद गर्दा अङ्‌ग्रेजी भाषामा पहिलो चोटि परमेश्‍वरको नाम लेखियो। तिनले आफ्नो अनुवादमा परमेश्‍वरको नाम “इहोउवा” भनेर लेखेका थिए। तर समय बित्दै जाँदा अङ्‌ग्रेजी भाषा परिवर्तन हुँदै गयो अनि परमेश्‍वरको नामको हिज्जेमा पनि नयाँपन आयो। जस्तै, सन्‌ १६१२ मा हेन्री एन्स्‌वोर्थले भजनसङ्‌ग्रहको किताब अनुवाद गर्दा सबै ठाउँमा “इहोवा” चलाए। अनि सन्‌ १६३९ मा त्यस अनुवादलाई संशोधन गरेर बाइबलका सुरुका पाँच वटा किताबसँगै छापियो, जसमा “जेहोभा” प्रयोग गरिएको थियो। पछि सन्‌ १९०१ मा अनुवादकहरूले अमेरिकन स्टाण्डर्ड भर्सन बाइबल निकाले अनि त्यसमा हिब्रू भाषाको सुरुको बाइबलमा जहाँ-जहाँ परमेश्‍वरको नाम थियो, ती सबै ठाउँमा “जेहोभा” भन्‍ने नाम राखे।

सन्‌ १९११ मा प्रख्यात बाइबलविद्‌ जोसेफ ब्रायन्ट रथरहामले भजनसङ्‌ग्रहको अध्ययन (अङ्‌ग्रेजी) भन्‍ने किताब निकाले। तिनले आफ्नो किताबमा “याहवे”-को सट्टा “जेहोभा” नाम प्रयोग गरेका थिए। तिनले यसो गर्नुको कारण के थियो? तिनी “बाइबल पढ्‌ने सर्वसाधारण सबैलाई राम्ररी थाह भएको (अनि उनीहरूले कुनै धक नमानी चलाउन सक्ने) नाम” प्रयोग गर्न चाहन्थे। सन्‌ १९३० मा ए. एफ. कर्क्‌प्याट्रिकले पनि “जेहोभा” भन्‍ने नाम प्रयोग गर्ने विषयमा त्यस्तै कुरा बताए। तिनले भने: “आधुनिक व्याकरणविद्‌हरूले यस नामको उच्चारण याभे वा याहभे हुनुपर्छ भनेर तर्क गर्छन्‌। तर अङ्‌ग्रेजी भाषामा जेहोभा नामले बलियोसित जरा गाडिसकेको छ अनि महत्त्वपूर्ण कुरा भनेको यस नामलाई ठ्‌याक्कै कसरी उच्चारण गरिन्थ्यो भनेर थाह पाउनु होइन बरु यो ‘परमप्रभु’ जस्तो पदवी नभई व्यक्‍तिवाचक नाम हो भनेर बुझ्नु हो।”

टेट्राग्रामटन

टेट्राग्रामटन, YHWH: “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ”

हिब्रू क्रिया “बन्‍नु” हिब्रू अक्षरमा

हिब्रू क्रिया HWH: “बन्‍नु”

यहोवा नामको अर्थ के हो? हिब्रूमा यहोवा नाम एउटा क्रियाबाट आएको हो, जसको अर्थ हो, “बन्‍नु।” अनि थुप्रै बाइबलविद्‌को विचारमा यस क्रियाले ‘बनाउनु’ भन्‍ने अर्थ दिन्छ। त्यसैले नयाँ संसार बाइबल अनुवाद समितिको बुझाइमा परमेश्‍वरको नामको अर्थ “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ” भन्‍ने हो। यस सन्दर्भमा बाइबलविद्‌हरूको आ-आफ्नै धारणा छ। त्यसैले हामी यस नामको अर्थ यस्तै हो भनेर ठोकुवा गर्न सक्दैनौँ। तैपनि परमेश्‍वरको नामको यो अर्थ उहाँले निर्वाह गर्नुहुने भूमिकासित मेल खान्छ। किनकि उहाँ सबै कुरा सृष्टि गर्ने र आफ्नो उद्देश्‍य पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँले नै यो ब्रह्‍माण्ड र यसमा भएका सबै बौद्धिक प्राणी सृष्टि गर्नुभयो अथवा उहाँ नै यी सबै बन्‍नुको कारण हुनुभयो। अनि आवश्‍यकताअनुसार आफ्नो इच्छा र उद्देश्‍य पूरा गर्न उहाँले कदम चालिरहनुभएको पनि छ।

त्यसैले यहोवा नामको अर्थ प्रस्थान ३:१४ मा चलाइएको क्रियामा मात्र सीमित छैन, जहाँ यस्तो लेखिएको छ: “म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु।” स्पष्ट भन्‍नुपर्दा, यी शब्दहरूले परमेश्‍वरको नामको अर्थलाई पूरै ढाक्दैन। बरु यी शब्दहरूले उहाँ आफ्नो उद्देश्‍य पूरा गर्न परिस्थितिअनुसार जे बन्‍न आवश्‍यक छ, त्यही बन्‍न सक्नुहुन्छ भन्‍ने कुरा मात्र बुझाउँछ। हो, आफ्नो उद्देश्‍य पूरा गर्न जे आवश्‍यक छ, यहोवा त्यही बन्‍न सक्नुहुन्छ तर उहाँको नामको अर्थ यतिमै सीमित छैन। आफ्नो उद्देश्‍य पूरा गर्न उहाँ आफ्नो सृष्टिलाई जे पनि बनाउन सक्नुहुन्छ भन्‍ने अर्थ पनि यसमा समावेश छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने