प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 ७/८ pp. ८-१०
  • पीडाको उपचारमा प्रगति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पीडाको उपचारमा प्रगति
  • ब्यूँझनुहोस्‌!—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जहाँ पीडाको उपचार गरिन्छ
  • पीडा कसरी उपचार गर्न सकिन्छ?
  • निवारणका सम्भावनाहरू
  • फेरि कहिल्यै नहुने पीडा
    ब्यूँझनुहोस्‌!—१९९४
  • क्रूर शत्रु मात्रै होइन
    ब्यूँझनुहोस्‌!—१९९४
  • पीडारहित जीवन नजिकै!
    ब्यूँझनुहोस्‌!—१९९४
  • फाइब्रोमाइलजियालाई बुझ्ने र त्यसको सामना गर्ने
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९४
g94 ७/८ pp. ८-१०

पीडाको उपचारमा प्रगति

केही वर्षअघिसम्म मात्र निकै थोरै डाक्टरहरूलाई पीडाबारे केही जानकारी थियो र आजसम्म पनि कतिपय अनभिज्ञ नै छन्‌। इन्टरनेशनल पेन फाउन्डेशनका भूतपूर्व अध्यक्ष, डा. जोन लिब्स्‌किन्डले केही वर्ष अघि यो टिप्पणी गरे: “संसारका कुनै चिकित्सा पाठशालामा चार वर्षभित्र चार घण्टा पनि पीडासम्बन्धी समस्याहरू चिन्‍न र उपचार गर्न सिकाइन्छ जस्तो मलाई लाग्दैन।”

तर, पीडासम्बन्धी अध्ययनमा ठूला ठूला परिवर्तनहरूले उपचारविधिमा बृहत्‌ प्रयासहरू भएका छन्‌। तसर्थ, पीडा खपिरहेकाहरूको भविष्य उज्ज्वल भएको छ। अमेरिकन हेल्थ पत्रिकाले रिपोर्ट गऱ्‍यो, “चिरकालीन पीडा केवल लक्षण होइन तर उपचारात्मक रोग नै हो भनी चिकित्साविज्ञानले मानी लिएकोमा हामी कृतज्ञ हुन सक्छौं।” यस दृष्टिकोणले गर्दा पीडा उपचार क्लिनिकहरूको सङ्‌ख्यामा निकै वृद्धि भएको छ।

जहाँ पीडाको उपचार गरिन्छ

संयुक्‍त राज्यमा डा. जे बोनिकाले पीडा नियन्त्रणसम्बन्धी प्रथम क्लिनिक खोले। तिनले रिपोर्ट गरे: “सन्‌ १९६९ सम्म संसारमा त्यस प्रकारका क्लिनिकहरू १० वटा मात्रै थिए।” तर पीडा उपचार गर्न समर्पित क्लिनिकहरूको सङ्‌ख्या गत २५ वर्षमा नाटकीय ढङ्‌गले वृद्धि भएको छ। अहिले त्यस्ता क्लिनिकहरू हजारभन्दा बढी छन्‌ र “नयाँ क्लिनिकहरू दिन प्रतिदिन जसो खुलिरहेका छन्‌” भनी नेशनल क्रोनिक पेन आउटरिच एसोसिएशनका प्रतिनिधिले भने।a

त्यसको अर्थ के हो, यसो विचार गर्नुहोस्‌! न्यु योर्क शहरका एनस्थेसियोलोजिस्ट, डा. ग्यारी फेल्डस्टिनले यस्तो टिपोट गरे: “गम्भीर पीडाबाट छुटकारा पाउन हजारौं किलोमिटर यात्रा गर्नुपर्नेहरूले अब आफ्नै घर नजिकै त्यो उपचार पाउन सक्छन्‌।” पीडा भोगिरहेकाहरूमध्ये तपाईं पनि एक हुनुहुन्छ भने विशेषज्ञहरूको समूहबाट उपचार पाउनु कस्तो आशिष्‌ हुनेछ!

यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षककी पत्नी, लिन्डा पार्सनलाई निकै वर्षदेखि ढाड दुख्ने रोगले सताएको थियो। उनले थुप्रै चिकित्सकहरूबाट सरसल्लाह लिइन्‌ तर उनको पीडा भने जस्ताको तस्तै रह्‍यो। व्याकुल भएर गत साल मे महिनामा उनको पतिले टेलिफोन निर्देशिकामा पीडा शीर्षक अन्तर्गत सूचीबद्ध नाउँहरू हेरे। त्यहाँ उल्लिखित पीडा उपचार क्लिनिकहरूमध्ये तिनीहरू सेवारत दक्षिणी क्यालिफोर्नियाबाट नजिकैको एउटा पीडा उपचार क्लिनिक पनि थियो। समय मिलाइयो र केही दिनपश्‍चात्‌ प्रारम्भिक सरसल्लाह तथा परीक्षणको लागि डाक्टरसित लिन्डाले भेटिन्‌।

लिन्डालाई बहिरङ्‌ग रोगीको रूपमा उपचार गर्न प्रबन्धहरू मिलाइयो। उनी हप्ताको तीनपटक क्लिनिक धाउन थालिन्‌ र घरमा पनि त्यो उपचार कार्यक्रमअनुसार गरिन्‌। केही हप्तापछि उनले आफूमा उल्लेखनीय परिवर्तन भएको महसुस गर्न थालिन्‌। उनको पति यसरी बयान गर्छन्‌: “एक दिन साँझ उनले छक्क पर्दै भनेकी मलाई याद छ, ‘म त विश्‍वासै गर्न सक्दिनँ, मलाई पटक्कै दुख्दैन।’” केही महिनापश्‍चात्‌ त उनले नियमित तवरमा क्लिनिक धाउनु पनि परेन।

पीडा उपचारको लागि लिन्डाले पाएको मदत पीडा नियन्त्रणसम्बन्धी थुप्रै क्लिनिकहरूले प्रदान गर्ने मदतजस्तै छ। त्यस्ता क्लिनिकहरूमा स्वास्थ्य विशेषज्ञहरूको टोली संलग्न हुन्छन्‌। डा. बोनिकाअनुसार “चिरकालीन पीडा उपचार गर्ने त्यो सर्वोत्तम उपाय हो।” उदाहरणको लागि, लिन्डालाई कस्तो पीडा उपचार गरिएको थियो?

पीडा कसरी उपचार गर्न सकिन्छ?

क्लिनिकमा पुग्नेबित्तिकै त्यहाँ दिइने एउटा पुस्तिकाले सम्पूर्ण प्रक्रिया वर्णन गर्छ: “पीडाको कारण पत्ता लगाउन चिकित्सकद्वारा व्यक्‍तिविशेषको जाँच गरिन्छ र त्यसपछि व्यावहारिक लक्ष्य तथा उपचार कार्यक्रमहरूको रूपरेखा तयार पारिन्छ। . . . पीडा तथा चिन्ता कम गर्न र औषधिमा निर्भरता हटाउन शरीरले “एन्डोर्फिन” (शरीरले स्वतः निकाल्ने रासायनिक तत्त्व) निकाल्नुपर्छ। त्यसका लागि विशिष्ट प्रविधि तथा तरिकाहरू अपनाइन्छन्‌।”

लिन्डाले पाएकी उपचारहरूमध्ये अक्युपङ्‌कचर र टेन्स्‌ (TENS) थियो जसको विस्तृत रूप, ट्रान्सक्युटेनस (छालाभित्र) इलेक्ट्रिकल नर्भ स्टीम्युलेशन अर्थात्‌ छालाभित्र स्नायुहरूमा पठाइने विद्युतीय उत्प्रेरणा हो। क्लिनिकमा उनलाई विद्युतीय उत्प्रेरणा उपचारविधि अपनाइयो र घरमा प्रयोगको लागि सानो टेन्स्‌ एकाइ पनि दिइयो। बायोफिडब्याक अर्थात्‌ आफ्नो शरीरका प्रतिक्रियाहरू सञ्चालन गर्ने र पीडाको प्रभाव घटाउने प्रक्रिया पनि प्रयोग गरिएको थियो।

छालामुनिका तन्तुहरूलाई मालिश गर्ने शारीरिक उपचारविधि पनि एउटा अर्को पक्ष थियो। समय बित्दै जाँदा लिन्डा तयार भएपछि क्लिनिकको व्यायामशालामा व्यायाम कार्यक्रम पनि सिकाइयो। अनि यो उपचारको एउटा अत्यावश्‍यक भाग बन्यो। व्यायाम अपरिहार्य छ किनभने चिरकालीन पीडाले नाश गरेको एन्डोर्फिनलाई यसले पूर्ति गर्छ भनी पत्ता लागेको छ। तर, चुनौती चाहिं पीडित मानिसहरूलाई लाभकारी व्यायाम कार्यक्रम गर्न मदत दिनु हो।

चिरकालीन पीडा भोगिरहेका असङ्‌ख्य व्यक्‍तिहरू क्लिनिकमा आउँदा ठूलो परिमाणमा पेनकिलरहरू खाने गरेका हुन्छन्‌ र लिन्डा पनि त्यसै गर्थिन्‌। तर छिट्टै उनलाई यो बानी छुटाइयो र त्यसो गर्नु पीडा उपचार क्लिनिकहरूको महत्त्वपूर्ण लक्ष्य हो। औषधि खान छोड्‌दा लिन्डाले त्यसको कुनै प्रतिकूल असरहरू महसुस गरिनन्‌ तर त्यो असामान्य कुरा होइन। “आगोले पोलेका १०,००० बिरामीहरूमा गरिएको सर्वेक्षणअनुसार . . . कुनै एउटा औषधि नखाइ नहुने गरी लग्गू भएकाहरूमध्ये कसैले पनि अस्पतालमा बसुञ्जेल प्रयोग गरेका पेनकिलरहरूलाई दोष दिन मिल्दैन” भनी पीडा विशेषज्ञ डा. रोनाल्ड मेल्जाकले भने।

चिरकालीन पीडामा मनोवैज्ञानिक पक्षले ठूलो भूमिका निभाउने हुँदा पीडाको प्रभावलाई बिर्सन क्लिनिकहरूले बिरामीलाई मदत गर्छ। हाभर्ड मेडिकल स्कूलका प्राध्यापक, डा. आर्थर बार्स्कीले यसप्रकार वर्णन गरे: “पीडाबारे तपाईं जति सोच्नुहुन्छ, जति आशा गर्नुहुन्छ र कस्तो महसुस हुन्छ भनी जति ध्यान दिनुहुन्छ—ती सबै कुराहरूले तपाईं वास्तवमा जे महसुस गर्नुहुन्छ, त्यसमा भयङ्‌कर असर गर्छ।” त्यसकारण बिरामीहरूलाई पीडाबाहेक अन्य कुराहरू नै सोच्न मदत दिइन्छ।

निवारणका सम्भावनाहरू

के यी नयाँ क्लिनिकहरू मानवजातिका पीडासम्बन्धी समस्याहरूका समाधान हुन्‌? यहाँ वर्णन गरिएका पीडा उपचारविधिहरू मदतकारी हुन सक्छन्‌ तर उपयुक्‍त क्लिनिक अथवा पीडा विशेषज्ञ छान्दा होशियार हुनुपर्छ। त्यसो गर्दा पनि आफ्ना प्रत्याशाहरू व्यावहारिक हुनुपर्छ।

एउटा नमूनारूपी सफलताको कथालाई विचार गरौं: स्टिभन काउफ्मन ओलम्पिक भारत्तोलक थिए। एक जना लुटाहाले घाँटीमा गोली हिर्काउँदा भोग्नु परेको चिरकालीन पीडाले गर्दा उनी झन्डै पूर्णतया अशक्‍त भए। पीडा उपचार कार्यक्रममा आठ महिना बिताइसकेपछि पूर्ण-समय काम गर्न र अन्तमा प्रतिस्पर्धात्मक भारत्तोलनमा समेत सहभागी हुन सके। यद्यपि उनले भने: “प्रायजसो मेरा खुट्टाका औंलाहरू उम्लेको पानीमा डुबाएझैं गरी पोल्छ।”

अतः, यी सबै उत्साहवर्धक प्रगतिहरूको बावजूद ‘फेरि पीडा कहिल्यै हुनेछैन’ भन्‍ने बाइबलको प्रतिज्ञा पूरा गर्नु मानिसको हातको कुरा होइन भनेर स्पष्ट हुन्छ। (प्रकाश २१:४) उसोभए, त्यो लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ? (g94 6/22)

[फुटनोट]

a ब्यूँझनुहोस्‌! (अवेक!) ले कुनै खास पीडा उपचार क्लिनिक अथवा उपचारविधिलाई समर्थन गर्दैन।

[पृष्ठ ८-मा भएको चित्र]

विद्युतीय स्नायु उत्प्रेरणा लगायत पीडा उपचार गर्ने विधिहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने