क्रूर शत्रु मात्रै होइन
अविरल पीडाले मानिसहरूको जीवनलाई भताभुङ्ग पार्न सक्छ। यसले तिनीहरूको शान्ति, आनन्द तथा जीविका हरण गरेर जीवनलाई असाध्यै दुःखदायी बनाउने हुनाले केही व्यक्तिहरू आत्महत्याको सहारा लिन्छन्। चिकित्सा मिसनरी अलबर्ट श्वाइट्जर यो निष्कर्षमा पुगे: “मानवजातिको लागि मृत्युभन्दा पनि भयानक शत्रु पीडा हो।”
साँच्चै, लाखौं मानिसहरूले अचाक्ली दुःख भोग्छन्। एक फ्रान्सेली शल्यचिकित्सकले यसो भने, ‘घुमिरहेको पृथ्वीको आवाज सुनिने गरी हामीलाई खाँदमाथि अनन्त वायुमण्डलमा राखियो भने पीडितहरूका अन्तर्निहित पीडा एकै स्वरजस्तो गरी सुन्ने थियौं।’
निस्सन्देह, मसीही प्रेरित पावलले १,९०० वर्षभन्दा अघि भनेको कुरा आज झन् बढी सत्य साबित भएको छ: “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।”—रोमी ८:२२.
प्रमुख स्वास्थ्य समस्या
आठ अमेरिकीहरूमध्ये एक जनाले बात रोगको सामान्य प्रकार, सन्धिगत बातले गर्दा हुने भयङ्कर पीडा अनुभव गर्छ। अरू थुप्रै मानिसहरूलाई असह्य ढाड दुख्छ। अरूले भने अर्बुद रोग र हृदयसम्बन्धी रोगको पीडादायी असर सहनु पर्छ।
अन्य लाखौं व्यक्तिहरू टाउको, दाँत, कान अथवा हर्साको असह्य दुखाइ तथा अरू थुप्रै बिमारीहरू र चोटपटकबाट पीडित छन्। अतः हालसालै अमेरिकीहरूले प्रतिवर्ष २१० करोड अमेरिकी डलर डाक्टरद्वारा असुझावित पेनकिलरहरूमा मात्रै खर्च गर्नु कुनै अचम्मको कुरा होइन। त्यस पीडालाई “अमेरिकाको गुप्त महामारी” भनिन्छ।
पीडा विशेषज्ञ, जोन जे. बोनिकाले यसो भने: “आर्थिक तथा मानवीय पीडाको दृष्टिकोणमा अरू सबै स्वास्थ्य हेरचाह समस्याहरूभन्दा चिरकालीन पीडा बढी महत्त्वपूर्ण छ।”
पीडारहित जीवन?
त्यस्तो कटु वास्तविकतासमक्ष पीडारहित जीवनको सम्भाव्यता समेत व्यावहारिक देखिंदैन। तसर्थ, विशेषगरि बाइबलको यो कुरा असम्भव देखिन सक्छ: “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, . . . औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन।”—प्रकाश २१:४.
यद्यपि, पीडारहित जीवन असम्भव छैन। तर एकछिन विचार गर्नुहोस्। वास्तवमा उक्त शास्त्रपदको अर्थ के हो? आज पनि कुनै पीडा अनुभव नगर्ने मानिसहरू छन्। तिनीहरू पीडारहित जन्मिएका हुन्छन्। के तिनीहरूको डाह गर्नु? शरीर-रचना विज्ञानी एलन बासबोमले यसो भने: “कुनै पीडा नै महसुस नहुनु एउटा विपत्ति हो।”
तपाईंले कुनै पीडा महसुस गर्न सक्नुहुन्न भने घाउ असाध्यै नपाकेसम्म शायद तपाईंलाई खटिरो आएको थाहै हुन्न। एउटा समाचार रिपोर्टअनुसार कुनै पीडा अनुभव नगर्ने एउटी केटीको आमाबाबुले “कहिलेकाहीं मासु पोलेको गन्ध सुँघ्दा आफ्नी छोरी भने चालै नपाई स्टोभमा अडेस लगाइरहेकी पाउँथे।” तसर्थ, पीडा क्रूर शत्रु मात्रै होइन। यो एउटा आशिष् पनि हुन सक्छ।
उसोभए, “पीड़ा फेरि हुनेछैन” भन्ने बाइबलको प्रतिज्ञाबारे के भन्न सकिन्छ? के हामी यो भविष्यवाणी साँच्चै पूरा भएको चाहन्छौं?
आँसुरहित जीवन?
स्मरण रहोस्, उक्त पदको सन्दर्भले यसो पनि भन्छ: “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रकाश २१:४) आँसु अत्यावश्यक हुनाले यो महत्त्वपूर्ण छ। पीडाको अनुभूतिले झैं आँसुले पनि हाम्रो सुरक्षा गर्छ।
आँसुले हाम्रो आँखालाई ओसिलो बनाउँछ र आँखा तथा आँखाको ढकनीबीच घर्षण हुनबाट रोक्छ। त्यसले हाम्रो आँखाबाट बाह्य पदार्थहरू पनि निकाल्छ। यसको अलावा, आँसुमा लाइसोजोम नामक एन्टिसेप्टिक हुन्छ जसले आँखालाई जीवाणुरहित पार्छ र सङ्क्रमण हुनबाट जोगाउँछ। यसप्रकार पीडाको अनुभूति हुनुजस्तै आँसु पनि आश्चर्यरीतिले बनिएको हाम्रो शरीरको एउटा अद्भुत पक्ष हो।—भजनसंग्रह १३९:१४.
तर, दुःख, वेदना र चिन्तासित पनि आँसुको निकटतम सम्बन्ध छ। बाइबलकालीन राजा दाऊदले यसप्रकार बिलौना गरे: “विलाप गर्दा म थाकिसकेको छु। हरेक रात आँसुले म मेरो ओछ्यान डुबाउँछु। म रोएर मेरो ओछ्यान भिजाउँछु।” (भजनसंग्रह ६:६) आफ्नो प्रिय मित्रको मृत्यु हुँदा येशू पनि “रुनुभयो।” (यूहन्ना ११:३५) मानिसले त्यस्तो दुःखको आँसु बगाओस् भन्ने उद्देश्य परमेश्वरले सुरुमा राख्नुभएको थिएन। सम्पूर्ण मानव परिवारको असिद्ध, मरणशील अवस्थाको लागि प्रथम मानव, आदमको पाप दोषी छ। (रोमी ५:१२) यसर्थ, हाम्रो असिद्ध, मरणशील अवस्थाको कारण फेरि कहिल्यै आँसु बग्नेछैन।
खास प्रकारको आँसु हटाइनेछ भनी बाइबलले उल्लेख गरेकोले पीडा कहिल्यै हुनेछैन भन्ने प्रतिज्ञा कसरी पूरा हुनेछ? कहिलेकाहीं मात्र भए पनि के मानिसहरूले दुःख र रोदन ल्याउने पीडा अनुभव गर्नेछैनन् र? (g94 6/22)