पाठकहरूको प्रतिक्रिया
पुनर्जन्म “के तपाईंको पूर्वजुनी पनि छ?” के तपाईंले फेरि जुनी फेर्नु हुनेछ?” (जून ८, १९९४) भन्ने उत्कृष्ट श्रृंखलाबद्ध लेखहरूका लागि तपाईंहरूलाई धन्यवाद। मृतकहरूको अवस्थाबारे यी लेखहरूले सरल र तर्कसंगत तरिकामा सही कुरा गर्छन्। यस विषयमा सत्य के हो भनी खोजिरहेका व्यक्तिहरूले तपाईंहरूले लेख्नु भएको कुरा ग्रहण गर्न बाध्य हुनेछन् भन्ने विश्वास मैले राखेको छु।
एफ. पि., इटाली
भूतपूर्व मुक्केबाज “जसलाई म प्रेम गर्थें त्यसलाई घृणा गर्न सिकें” (जून ८, १९९४) भन्ने लेखको लागि तपाईंहरूलाई मुरी मुरी धन्यवाद छ। ओब्दुलिओ नुन्येज्को कथा पढेर मैले मेरो पतिका केही स्वस्थसम्बन्धी समस्याहरू राम्ररी बुझ्न मदत पाएँ। भूतपूर्व मुक्केबाज भएकोले उहाँ पनि निराशाको शिकार हुनुहुन्छ। वास्तवमा, यहोवा परमेश्वरले नै मेरो पतिलाई आफ्नो जीवन पद्धति बदल्न मदत गर्नु भयो!
एस. एस., संयुक्त राज्य
पीडा म पेशेवर मालिश विशेषज्ञ हुँ र म “के पीडारहित जीवन सम्भव छ?” (जुलाई ८, १९९४) भन्ने श्रृंखलाबद्ध लेखहरूका लागि तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। यस जानकारीको प्रस्तुति र अनुसन्धानमा देखिएका अन्तर्दृष्टि, सन्तुलन र बुद्धिबाट म ज्यादै प्रभावित भएँ। विशेषज्ञहरू, बिरामीहरू र अरूको लागि यो लेख बहुमूल्य मदतकारी साधन प्रमाणित हुनेछ। मालिश प्रविधिद्वारा पीडाविरूद्ध लड्दै चिरकालीन पीडा नरहने परमेश्वरको राज्यलाई म पर्खिरहनेछु।
डि. टि., डेनमार्क
यी लेखहरूले मलाई धेरै सान्त्वना प्रदान गऱ्यो। मजस्तै दिनहुँ पीडा भोगिरहेका अरूसित पनि मैले यी लेखमा भएका कुराहरू बाँडें।
एम. जि., संयुक्त राज्य
खाटैमा पल्टेर म तपाईंहरूलाई यो लेख्दैछु। ढाडको दुइटा गेडी फुस्कनाले बिगत साढे दुई वर्षदेखि म समय समयमा ओछ्यानमा परिरहन्छु। “के तपाईं कम्मरको पीडाले पीडित हुनुहुन्छ?” (जून ८, १९९४) भन्ने अत्युत्तम लेखको लागि तपाईंहरूलाई धन्यवाद। पढ्दा पढ्दै म रोएँ। तपाईंहरूले नै मसित कुरा गरिरहनुभएको जस्तो मलाई लाग्यो। यो समस्यालाई कसैले यति राम्ररी बुझ्न सक्दो रहेछ भनेर मैले कल्पना समेत गर्न सकेकी थिइनँ।
बि. एच., बेलाइत
दश दिनअघिमात्र मेरो ढाडको शल्यक्रिया भएको थियो, र यसबारे सही जानकारी दिनु भएको लागि तपाईंहरूलाई धन्यवाद। यस लेखले मलाई मेरो पीडाको कारण बुझ्न मदत गऱ्यो। दिइएका सुझावहरू निकै लाभकारी छन् र मलाई आशा छ, धेरैले ती सुझावहरू पालन गर्नेछन् र शल्यक्रियाबाट टाढै बस्नेछन्।
के. जि., हङ्गेरी
आत्महत्या सशंकित र उत्तेजित हुँदै मैले, “जवान व्यक्तिहरू सोध्छन् . . . के आत्महत्या नै समाधान हो?” (अप्रिल ८, १९९४) नामक लेख पढें। म २० वर्षकी भइसकें र हाल पूर्ण-समय सेवक हुँ। केही समयअघि म आत्महत्या गर्न चाहन्थें। यहोवाले मलाई मदत गर्नुभयो र उहाँले निरन्तर मलाई डोऱ्याइ नै रहनुभएको छ। केही दिनअघि मात्र मेरो एउटा घनिष्ठ सँगिनीले आत्महत्या गर्न खोजेकी कुरा मलाई बताइन्। हतोत्साही नहुन तिनलाई दिन सकिने व्यवहारिक सुझाव के होला भनी मैले खोज्न थालें। यो लेखले मेरा प्रार्थनाहरूको जवाफ दियो।
ए. के., इटाली
गत हप्ता मात्र आत्महत्या गर्ने तीव्र इच्छा मभित्र उर्लिएको थियो। एक मसीही प्राचीन र उनकी पत्नी घनिष्ठ विश्वासपात्रहरू भए र उहाँहरूले सफलतापूर्वक यो विचार त्याग्न मलाई मदत पनि दिनु भएको थियो। निराशाबारे प्रकाशन गर्नुभएका लेखहरू मेरो निम्ति जीवन-रक्षक साबित भएका छन्।
डि. जे., संयुक्त राज्य
यस लेखको लागि तपाईंहरूलाई हार्दिक धन्यवाद नदिइ म बस्नै सक्दिनँ। मैले सम्झन सकेजति लेखहरूमध्ये कुनैले पनि यस्तो तीव्र भावना मभित्र जगाउन सकेको थिएन। केही वर्षअघिसम्म सहनै नसकिने परिस्थितिबाट उम्कन सकिने एकमात्र बाटो आत्महत्या हो भनेर म विश्वास गर्थें। यद्यपि, आमाबाबु र साथीहरूको मदतबाट जीवितै रहनु पर्ने असल कारण मैले देखें। त्यो हो, यहोवा म जीवितै भएको देख्न चाहनु हुन्छ।
एम. भी., संयुक्त राज्य
यो लेख सजिलै बुझ्न सकिने र राम्ररी लेखिएको मैले पाएँ। आत्महत्या गर्नेबारे सोचिरहेका जोसुकैको मदतका लागि यो लेख अत्यन्त बहुमूल्य साधन साबित हुन्छ जस्तो मलाई लाग्छ। लेखमा भएका उदाहरणहरूले मेरो मनै छोयो।
एल. एस., संयुक्त राज्य