प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ७/८ pp. १५-२०
  • म कानुनविरोधी थिएँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कानुनविरोधी थिएँ
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • म किन कानुनविरोधी भएँ
  • कानुनविरोधी क्रियाकलाप
  • कैद र दण्ड
  • बाइबल सत्यहरू सिक्ने
  • पादरीबाट विरोध
  • झ्यालखानामा राज्यभवन
  • झ्यालखानामा बप्तिस्मा
  • झ्यालखानामा चेलाहरू बनाउने
  • अत्यधिक आनन्दका अवसरहरू
  • न्यायको एक मात्र आशा
  • इनामदायी जीवन
  • “तपाईंहरूले यहोवाका साक्षीहरूबारे मेरो विचारधारा नै परिवर्तन गरिदिनुभयो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • राजनैतिक कार्यकर्ताबाट एक जना तटस्थ मसीही
    ब्यूँझनुहोस्‌!—२००२
  • हर अवसरमा राज्यको बीउ छर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ७/८ pp. १५-२०

म कानुनविरोधी थिएँ

सिसिलीमा सन्‌ १९४७ मे १ तारिखको घटना हो। वार्षिक श्रमिक दिवस मनाउन बच्चा बोकेका स्त्रीहरूलगायत लगभग ३,००० मानिसहरू भन्ज्याङमा भेला भएका थिए। नजीकैका पहाडहरूमा लुकेको खतराबारे तिनीहरू अनभिज्ञ थिए। त्यसपछि भएको दुःखद घटनाबारे तपाईंले पढ्‌नुभएको वा चलचित्रमा समेत हेर्नुभएको होला। त्यो नरसंहारलाई पोर्टेला डेला झेनास्ट्राको संहार भनी नामाकरण गरिएको छ र त्यसमा ११ जना मर्नुका साथै ५६ जना घाइते भए।

मैले त्यस दुःखद घटनामा रत्तिभर भाग लिएको थिइनँ तापनि त्यसको लागि जिम्मेवार पृथक्‌तावादी समूहको सदस्य भने थिएँ। तिनीहरूका नेता साल्भाटोर जुलियानो थिए र हामी दुवै जना मोन्टेलाप्रे गाउँमा सँगै हुर्केका थियौं। तिनी मभन्दा एक वर्षले मात्र जेठो थिए। सन्‌ १९४२ मा १९ वर्षको हुँदा मलाई दोस्रो विश्‍वयुद्धको सैनिक सेवामा भर्ती हुन बोलाइयो। त्यसै सालको सुरुतिर भीटा मोटिजसित मायाप्रीती बसेर हाम्रो विवाह भइसकेको थियो। हाम्रो जम्मा तीन जना छोराहरू भए। जेठो चाहिं सन्‌ १९४३ मा जन्मियो।

म किन कानुनविरोधी भएँ

सन्‌ १९४५ मा दोस्रो विश्‍वयुद्ध अन्त भएपछि म सिसिलीयाली स्वतन्त्रताको लागि स्वंयसेवक सेनाको (इभीआइएस) पश्‍चिमी डफ्फामा भर्ती भएँ। यो पृथक्‌तावादी राजनैतिक दलको सैनिक डफ्फा थियो र सिसिलीको स्वतन्त्रताको लागि आन्दोलन (एमआइएस) गर्ने समूहको नाउँले चिनिन थाल्यो। भागी भागी हिंड्‌न थालिसकेका साल्भाटोर जुलियानो, इभीआइएस र एमआइएस-को उच्च पदमा नियुक्‍त भए र हाम्रो डफ्फा तिनको जिम्मामा थियो।

सिसिली टापु र आफ्ना मानिसहरूप्रतिको प्रेमले गर्दा हामी एक भएका थियौं। अनि आफूले भोग्नु परेको अन्यायको कारण हामी क्रोधित थियौं। त्यसकारण म जुलियानो समूहमा सामेल भएँ, जसको उद्देश्‍य सिसिलीलाई संयुक्‍त राज्य अमेरिकाको ४९औं प्रान्तको रूपमा जोड्‌नु थियो। के यो सम्भव हुनेछ भनेर विश्‍वास गर्ने कुनै कारण थियो? निस्सन्देह थियो किनभने एमआइएस-का अधिकृतहरूले वाशिङ्‌टन डि.सी.-सित घनिष्ठ सम्बन्ध हुनुका साथै संयुक्‍त राज्यको राष्ट्रपति, ह्‍यारी ट्रुमान त्यसरी जोड्‌ने पक्षमा भएको आश्‍वासन दिएका थिए।

कानुनविरोधी क्रियाकलाप

मेरो समूहको कार्य मुख्यतया प्रतिष्ठित व्यक्‍तिहरूलाई अपहरण गरेर छुडौतीको रकम दाबी गर्नु थियो। यसरी हामीले आवश्‍यक सरसामानहरू किन्‍न चाहिनेजति पैसा जम्मा गर्थ्यौं। अपहरण गरेका व्यक्‍तिहरूलाई “हाम्रा पाहुनाहरू” भन्थ्यौं र तिनीहरूमध्ये कसैलाई कहिल्यै हानि गरेनौं। तिनीहरूलाई मुक्‍त गरेपछि हामीले पाएको छुडौतीको रकम सट्टाभर्ना लिन रसिद दिन्थ्यौं। हामीहरू विजयी भइसकेपछि पैसा फिर्ता लिन उक्‍त रसिद चलाउन सकिन्छ भनेर बताउँथ्यौं।

मैले २० वटा जति अपहरण गर्नुका साथै राष्ट्रिय सैन्य प्रहरी दल, काराबेन्यारे छाउनीको सशस्त्र आक्रमणमा भाग लिएको थिएँ। तथापि, खुशीको कुरा, मैले कहिल्यै कसैलाई मारिनँ। हाम्रा पृथक्‌तावादी आक्रमणहरूको कारण पोर्टेला डेला झेनास्ट्रा गाउँमा त्यस्तो मूर्खतापूर्ण कार्य हुन गयो। जुलियानो समूहका एक दर्जन जति मानिसले यस्तो कार्य आयोजना गरेर साम्यवादी पार्टीलाई ढाल्न खोजेका थिए।

हुन त छिमेकी तथा समर्थकहरूलगायत साधारण नागरिकहरूलाई मार्ने हाम्रो मनसाय थिएन, तर हाम्रा समर्थकहरू र हामीले सुरक्षा देलान्‌ भनेर ढुक्क बसेका व्यक्‍तिहरूले विश्‍वासघात भएको महसुस गरे। त्यतिबेलादेखि जुलियानो समूहका कानुनविरोधीहरूलाई खेद्‌न थालियो। कसैले प्रहरीलाई सुराक दिएपछि मेरा थुप्रै सहचरहरू गिरफ्तार भए। सन्‌ १९५० मार्च १९ तारिखका दिन म फन्दामा परें र गिरफ्तार भएँ। अनि त्यसै सालको ग्रीष्म ऋतुमा जुलियानो मारिए।

कैद र दण्ड

पालेर्मो झ्यालखानामा मेरो मुद्दाको सुनुवाइ हुन पर्खिनु पऱ्‍यो। त्यतिबेला जवान पत्नी र तीन छोराहरूबाट बिछोड हुनुपरेकोमा असाध्यै दुःख लाग्यो। यद्यपि, आफूले सही ठानेको उद्देश्‍यका लागि संघर्ष गर्ने इच्छाले मलाई निराशाको कालो बादल छाउनदेखि जोगायो। समय बिताउन मैले पढ्‌न थालें। एउटा कितापले मलाई बाइबल पढ्‌ने चासो जगायो। त्यो पुस्तक एक इटालेली, सेल्भ्यो पेलेकोद्वारा लिखित आत्मकथा थियो र तिनी १९औं शताब्दीको दौडान राजनैतिक कारणले कैदमा परेका थिए।

पेलेकोले लेखेअनुसार झ्यालखानामा छँदा तिनीसित शब्दकोश र बाइबल सधैं हुन्थ्यो। मेरो परिवार र म रोमन क्याथोलिकहरू भए तापनि मलाई बाइबलबारे वास्तवमा केही ज्ञान थिएन। त्यसकारण एउटा बाइबल पाउन सकिन्छ कि भनेर मैले अधिकृतहरूसित निवेदन गरें। त्यो निषेधित भएको मलाई बताइयो तर मत्ती, मर्कूस, लूका र यूहन्‍नाद्वारा लिखित सुसमाचारको पुस्तकको एउटा प्रति भने दिइयो। पछि, मैले सम्पूर्ण बाइबल पाउन सकें र त्यसलाई अहिलेसम्म पनि एउटा मूल्यवान्‌ स्मृतिको रूपमा साँचेको छु।

अन्ततः, सन्‌ १९५१ मा रोम नजीकै पर्ने भिटर्बोमा मेरो पुर्पक्ष सुरु भयो। त्यो १३ महिनासम्म चल्यो। मलाई दुइटा ज्यानसजाय र थप ३०२ वर्षको कैद सजाय सुनाइयो! त्यसको मतलब, मेरो जिन्दगी झ्यालखानामै बित्ने भयो।

बाइबल सत्यहरू सिक्ने

पालेर्मो झ्यालखानामा फर्काइएपछि मलाई अर्कै विभागमा खटाइयो। त्यहाँ जुलियानोका भतिजो पनि थुनिएका थिए र तिनी हाम्रै समूहका सदस्य थिए। तिनी मभन्दा तीन वर्षअघि गिरफ्तार भएका रहेछन्‌। केही समयअघि तिनले झ्यालखानामा स्वीजरल्याण्डको यहोवाका साक्षीलाई भेटेका र उनले तिनलाई बाइबलका अद्‌भुत प्रतिज्ञाहरू सुनाएका रहेछन्‌। उनी र अर्को एक जना साक्षीलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिरहेको बेलामा गिरफ्तार गरिएका रहेछन्‌। (मत्ती २४:१४) उनलाई गिरफ्तार गर्न पादरीवर्गका सदस्यहरूले उस्काएका रहेछन्‌ भनी पछि मैले थाह पाएँ।

मेरा गैरकानुनी गतिविधिहरूको बावजूद परमेश्‍वर तथा चर्चका शिक्षाहरूमा विश्‍वास गर्थें। त्यसकारण, सन्त भनौंदाहरूलाई पूज्नु गैरधर्मशास्त्रीय हुनुका साथै दश आज्ञामध्ये एउटाले मूर्तिपूजालाई निषेध गरेको थाह पाउँदा म स्तब्ध भएँ। (प्रस्थान २०:३, ४) म प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को ग्राहक बनें र ती मलाई असाध्यै बहुमूल्य लाग्न थाल्यो। मैले पढे जति सबै बुझ्दिन थिएँ तर जति बढी पढें एउटा कुरा भने स्पष्ट हुँदै गयो। त्यो हो, मैले झ्यालखानाबाट नभई धार्मिक झूट र आध्यात्मिक अन्धकारबाट भाग्नुपर्ने रहेछ।

परमेश्‍वरलाई खुशी तुल्याउन मैले आखिरमा पुरानो व्यक्‍तित्वलाई त्यागेर त्यस्तो नयाँ व्यक्‍तित्व धारण गर्नुपर्नेथियो जुन नम्र हुनुका साथै ख्रीष्ट येशूको जस्तै थियो। (एफिसी ४:२०-२४) मैले बिस्तारै परिवर्तनहरू गर्न थालें। यद्यपि मैले तुरुन्तै आफ्ना सँगी कैदीहरूलाई मदत गर्न थालें र आफूले सिकिरहेका महान्‌ कुराहरूबारे तिनीहरूलाई बताउने प्रयास गरें। तसर्थ, सन्‌ १९५३ मा मेरोलागि आनन्दमय अवधि सुरु भयो। तर अवरोधहरू पनि थिए।

पादरीबाट विरोध

प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को ग्राहक बनेको छ महिनापछि ती पत्रिकाहरू आउन ठप्प भए। कैदीहरूका पत्रहरू जाँच्ने अधिकृतलाई मैले यस समस्याबारे अवगत गराएँ। झ्यालखानाका पादरीले ती पत्रिकाहरू रोकेको कुरा तिनले मलाई बताए।

मैले पादरीलाई भेट्‌ने निवेदन गरें। तिनीसित छलफल गर्दा मैले बाइबलबाट थाह भए जति धेरथोर कुराहरू बताएँ र उपासनामा मूर्तिहरूको प्रयोगबारे प्रस्थान २०:३, ४ र यशैया ४४:१४-१७ लगायत केही शास्त्रपदहरू देखाएँ। मैले तिनलाई मत्ती २३:८, ९ मा लिपिबद्ध येशूका शब्दहरू पनि पढेर सुनाएँ, जहाँ भनिएको छ, “पृथ्वीमा कसैलाई आफ्ना पिता नभन।” यो कुरा तिनलाई पटक्कै मन परेन। त्यसकारण तिनले म अज्ञानी भएकोले बाइबल राम्ररी बुझ्न नसकेको हो भने।

मैले व्यक्‍तित्वमा परिवर्तन गर्न थालिसकेको हुँदा बेसै भयो अन्यथा के थाह, मैले के पो गरिसकेको हुन्थें। शान्त हुँदै मैले यस्तो जवाफ दिएँ: “हो, म अज्ञानी छु। तर तपाईंले अध्ययन गर्नुभएको छ, खै त मलाई बाइबल सत्यहरू सिकाउन केही पनि गर्नुभएन।” यहोवाका साक्षीहरूबाट प्रकाशनहरू पाउने हो भने क्याथोलिक धर्म त्याग्न न्याय मन्त्रालयमा निवेदन दिनुपर्नेछ भनेर त्यस पादरीले जवाफ दिए। मैले तुरुन्तै त्यसो गरिहालें तर मेरो निवेदन बदर गरियो। तथापि, पछि मैले आफूलाई यहोवाका साक्षीहरूको हैसियतमा चिनाउन र पत्रिकाहरू पुनः पाउन सकें। तर मैले निकै लिंडेढिपी गर्नुपऱ्‍यो।

झ्यालखानामा राज्यभवन

परिवारलाई पैसा पठाउनका लागि एउटा जागिर मिलाइदिन मैले झ्यालखाना निर्देशकलाई निवेदन गरिरहेको निकै समय भइसकेको थियो। मलाई जागिर दिने हो भने अरूलाई पनि दिनुपर्छ र त्यसो गर्नु सम्भव छैन भनी तिनले सधैं भन्थे। तर सन्‌ १९५५ अगस्त ५ तारिखका दिन त्यस निर्देशकले एउटा राम्रो समाचार सुनाए र त्यो के थियो भने, मैले झ्यालखानाभित्र कारिन्दाको जागिर पाउने भएँ।

आफ्नो कामले गर्दा मैले झ्यालखाना निर्देशकको आदर जित्न सकें र तिनले बाइबल अध्ययनका लागि सभाहरू सञ्चालन गर्न भण्डार कोठा चलाउने अनुमति दिए। तसर्थ, सन्‌ १९५६ मा यहोवाका साक्षीहरू भेला हुने राज्यभवनमा प्रयोग गर्ने उद्देश्‍यले फ्याँकिएका फाइलका काठहरूबाट बेन्चहरू बनाएँ। म त्यहाँ हरेक आइतबार अरू कैदीहरूसित बाइबलबारे छलफल गर्थें र हाम्रो शिखर उपस्थिति २५ पुग्यो।

मैले सञ्चालन गरिरहेका सभाहरूबारे पछि पादरीले थाह पाए र तिनी रीसले चूर भए। परिणामस्वरूप सन्‌ १९५७ को ग्रीष्म ऋतुमा मलाई पालेर्मोबाट एल्बा टापुस्थित पोर्टो आट्‌सुरो बन्दीगृहमा सारियो। यो ठाउँ असाध्यै कुख्यात थियो।

झ्यालखानामा बप्तिस्मा

त्यहाँ पुग्ने बित्तिकै मलाई १८ दिनसम्म नजरबन्द गरियो। त्यहाँ मलाई बाइबलसमेत राख्न दिएनन्‌। त्यसपछि, क्याथोलिक धर्म त्याग्ने अनुमति माग्दै मैले न्याय मन्त्रालयमा पुनः निवेदन लेखें। तथापि, यस पटक भने मैले रोमस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा मदत मागें। दश महिनापछि चिरप्रतीक्षित जवाफ पाएँ। धर्म परिवर्तन गर्ने मेरो निवेदनलाई मन्त्रालयले स्वीकृति दियो! यसको अर्थ मैले बाइबल, पत्रिकाहरू तथा बाइबलसम्बन्धी अन्य प्रकाशनहरू पाउने मात्र होइन तर यहोवाका साक्षीहरूको सेवकले नियमित तवरमा मलाई भेट्‌न आउनसक्थे।

यहोवाका साक्षीहरूको इटालीस्थित शाखा कार्यालयका जुझेप्पा रोमानोले मलाई प्रथम चोटि भेट्‌न आउँदा खुशीले मेरो खुट्टा भुइँमा थिएन। झ्यालखाना अधिकृतहरूले अनुमति दिएपछि पानीको बप्तिस्माद्वारा यहोवाप्रति मेरो समर्पणलाई प्रतीकात्मक रूप दिन केही प्रबन्धहरू मिलाइए। सन्‌ १९५८ अक्टोबर ४ तारिखका दिन झ्यालखाना निर्देशक, अनुशासक सेनानी र अन्य अधिकृतहरूको उपस्थितिमा भाइ रोमानोले म र अन्य कैदीहरूलाई झ्यालखानाको बगैंचामा पानी हाल्न प्रयोग गर्ने ठूलो बाटामा बप्तिस्मा दिए।

मैले अरू कैदीहरूसित सधैंजसो प्रहरीधरहरा अध्ययन गर्न पाए तापनि ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव भने कोठरीमा एक्लै मनाउनु पऱ्‍यो किनभने यो उत्सव सूर्यास्तपछि हुन्छ। अरू सँगी साक्षीहरू पनि आफूसितै भएको कल्पना गर्दै आँखा चिम्लेर प्रार्थना गर्थें।

झ्यालखानामा चेलाहरू बनाउने

सन्‌ १९६८ मा मलाई पेसारो प्रान्तस्थित फोसोम्ब्रोना झ्यालखानामा सारियो। त्यहाँ अरूलाई बाइबल सत्य- हरू बताउँदा राम्रा परिणामहरू भए। म झ्यालखानाभित्रै सानो अस्पतालमा काम गर्थें र त्यहाँ अरूलाई साक्षी दिने अवसरहरू सजिलै पाइन्थ्यो। त्यहाँका एक कैदी, आमान्वेला आल्टाभिलाको प्रगति हेर्न पाउनु विशेषगरि आनन्ददायी थियो। दुइ महिना अध्ययन गरेपछि तिनले प्रेरित १९:१९ को सल्लाह लागू गरेर जादूगरीसम्बन्धी पुस्तकलाई नाश गर्नुपर्ने महत्त्व बुझे। पछि, आमान्वेला यहोवाको साक्षी बने।

त्यसपछिको वर्षमा मलाई नेपल्स्‌ खाडीको पारितिर पर्ने प्रोसिडा टापुको झ्यालखानामा सारियो। मेरो असल आचरणले गर्दा मलाई पुनः झ्यालखानाको सानो अस्पतालमा खटाइयो। त्यहाँ मैले अर्को कैदी, मार्यो मोरानोलाई भेटें र तिनी एक कट्टर क्याथोलिक थिए। तिनी लेखा शाखामा कार्यरत भएकोले जिम्मेवार पद सँभाल्थे।

एक साँझ मार्योले मसित केही पाठ्यसामग्री मागे र मैले तिनलाई अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्यa (अंग्रेजी) पुस्तक दिएँ। आफूले पढिरहेको कुराको महत्त्व तिनले बुझिहाले र हामीले बाइबल अध्ययन गर्न थाल्यौं। मार्योले दिनको तीन बट्टा चुरोट खाने बानी छोडे। त्यसबाहेक, तिनले झ्यालखानाको लेखा कार्यमा समेत इमानदार हुनुपर्ने कुरा बुझे। तिनले आफ्नो विवाह पक्का भएकी केटीलाई साक्षी दिन थाले र उनले पनि बाइबल शिक्षाहरू स्वीकारिन्‌। त्यसको थोरै समयपछि झ्यालखानामै तिनीहरूले विवाह गरे। सन्‌ १९७५ मा नेपल्स्‌मा आयोजित अधिवेशनमा मार्योकी पत्नीले बप्तिस्मा लिइन्‌। त्यही दिन आफ्नो पतिले पनि झ्यालखानामा बप्तिस्मा लिएको कुरा सुन्दा उनी खुशीले गद्‌गद भइन्‌!

प्रोसिडामा मलाई भेट्‌न आएका साक्षीहरूसित हरेक हप्ता कुरा गर्ने अनुमति पाएँ। तिनीहरूसँगै बसेर आगन्तुक कक्षमा भोजन गर्नका लागि खाना तयार गर्ने अनुमति पनि पाएँ। एक चोटिमा दश जनासम्म उपस्थित हुनसक्थे। यहोवाका साक्षीहरूका परिभ्रमण निरीक्षकहरू आउँदा तिनीहरूको स्लाइड प्रस्तुति देखाउनका लागि स्वीकृति लिएँ। एक चोटि त १४ जना साक्षीहरूको उपस्थितिमा प्रहरीधरहरा अध्ययन सञ्चालन गर्न पाउँदा निकै आनन्द महसुस गरें। मलाई अधिकृतहरूले पूर्ण भरोसा गरेझैं लाग्थ्यो। तोकिएका दिनहरूमा म साँझपख कोठरी-कोठरीहरूमा प्रचार गर्न जान्थें।

बेग्लाबेग्लै झ्यालखानाहरूमा २४ वर्ष बिताइसकेपछि सन्‌ १९७४ मा मलाई भेट्‌न आएका एक न्यायाधीशले क्षमायाचनाको निवेदन दायर गर्न प्रोत्साहन दिए। मलाई यो उचित लागेन किनभने त्यसो गर्नु भनेको पोर्टेला डेला झेनास्ट्राको हत्यामा सहभागितालाई स्वीकारेको हुनेथियो जबकि मैले त्यसमा भाग लिएकै थिइनँ।

अत्यधिक आनन्दका अवसरहरू

सन्‌ १९७५ मा एउटा नयाँ कानुनले झ्यालखानाबाहिर केही समय बिताउने अनुमति प्रदान गऱ्‍यो। तसर्थ, मैले नेपल्स्‌ शहरमा आयोजित यहोवाका साक्षीहरूको अधिवेशनमा प्रथम चोटि उपस्थित हुने मौका पाएँ। त्यहाँ मैले पाँच अविस्मरणीय दिनहरू बिताएँ र त्यसै दौडान पहिले कहिल्यै नभेटेका थुप्रै मसीही भाइबहिनीहरूलाई भेटें।

म विशेषगरि आनन्दित हुनुको कारण त वर्षौंपछि आफ्नो परिवारसित पुनर्मिलन हुन पाउनु थियो। मेरी पत्नी, भीटा मप्रति वफादार रहेकी थिइन्‌ र मेरा छोराहरू २०, ३० वर्षका लाठेहरू भइसकेका थिए।

त्यसपछिको सालमा मैले निकै चोटि झ्यालखानाबाहिर समय बिताउने मौका पाएँ र त्यसै ताका झ्यालखानाबाट मुक्‍त हुन निवेदन दिने सुझाउ दिइयो। परीक्षकले मबारे लेखेको विवरणअनुसार तिनले मेरो निवेदन स्वीकृत गर्ने सुझाउ दिएका थिए। तिनले यसप्रकार लेखे: “कुनै धक नमानी के भन्‍न सकिन्छ भने, जुलियानोका आदेशहरू सिरोपर गर्ने रक्‍तपिपासु जवान मानिनो अहिले अर्कै मान्छे भइसकेका छन्‌। तिनी त चिन्‍नै नसक्ने भएका छन्‌।”

समयमा प्रोसिडाका झ्यालखाना अधिकृतहरूले मेरो क्षमायाचनाको लागि निवेदन गरे। अन्ततः, क्षमा दिइयो र सन्‌ १९७८ डिसेम्बर २८ तारिखका दिन झ्यालखानाबाट रिहा भएँ। म २८ वर्षभन्दा बढी समयसम्म थुनिएपछि पुनः स्वतन्त्र हुन पाउँदा कति आनन्दित भएँ होला!

न्यायको एक मात्र आशा

साल्भाटोर जुलियानोको आदेशअनुसार अपहरणकारीको हैसियतमा मैले आफ्नो परिवार र देशवासीहरूलाई साँचो स्वतन्त्रता प्रदान गर्न त्यस्तो संघर्ष गरेको थिएँ। यद्यपि, मानिसहरू जतिसुकै निष्कपट भए तापनि मैले जवान छँदा तिर्सना गरेको न्याय तिनीहरूले कहिल्यै दिन सक्दैनन्‌ भनेर बाइबलबाट सिकें। परमेश्‍वरको राज्यले मात्र हामीलाई नभई नहुने छुटकारा परमेश्‍वरको पुत्र अर्थात्‌ येशू ख्रीष्ट मार्फत दिनसक्छ भनी बाइबलको ज्ञानबाट बुझेकोमा म कृतज्ञ छु।—यशैया ९:६, ७; दानियल २:४४; मत्ती ६:९, १०; प्रकाश २१:३, ४.

मेरो व्यक्‍तित्वमा देखिएको परिवर्तनबारे धेरै अखबारहरूले लेखे र त्यो परिवर्तनको लागि बाइबल ज्ञान जिम्मेवार छ। उदाहरणका लागि, पाजा सेरा नामक अखबारले प्रोसिडाका जेलरलाई उद्धरण गर्दै यसो लेखे: “सबै कैदीहरू फ्रांकजस्तो हुँदा हुन्‌ त झ्यालखानाहरू नै चाहिनेथिएनन्‌। तिनको आचरणमा आलोचना गर्ने ठाउँ नै छैन। तिनले कहिल्यै झगडा गरेनन्‌ र तिनलाई कहिल्यै सानोतिनो दण्डसमेत दिनुपरेन।” अर्को अखबार, आफेनेरे-मा यस्तो लेखियो: “तिनी आदर्श, असामान्य कैदी हुन्‌। तिनको आचरणमा जुन सुधार भयो, त्यो कसैले आशै गरेका थिएनन्‌। तिनी संस्थान तथा झ्यालखाना अधिकृतहरूलाई आदर गर्छन्‌ र तिनको आध्यात्मिकता असामान्य छ।”

इनामदायी जीवन

म सन्‌ १९८४ देखि प्राचीन र पूर्ण-समय अग्रगामीको हैसियतमा यहोवाका साक्षीहरूको मण्डलीमा सेवारत छु। मैले १५ वर्षअघि बाइबलको ज्ञान बताएको झ्यालखाना सुरक्षाकर्मीले सन्‌ १९९० मा मलाई फोन गरेर तिनी र तिनको सम्पूर्ण परिवार यहोवाका साक्षीहरू भएको कुरा सुनाए।

तर सबैभन्दा खुशीको अनुभव भने सन्‌ १९९५ जुलाईमा भयो। त्यो साल मेरी प्रिय पत्नी, भीटाले बप्तिस्मा लिएको हेर्न पाउँदा निकै आनन्दित भएँ। त्यति धेरै वर्षपछि तिनले बाइबलका शिक्षाहरूलाई ग्रहण गरेकी थिइन्‌। हाम्रा तीन छोराले अहिले मेरो विश्‍वास स्वीकारेका छैनन्‌ तर मैले परमेश्‍वरको वचनबाट सिकेका कुराहरूलाई तिनीहरूले कुनै दिन स्वीकार्लान्‌।

अरूलाई बाइबल सत्यहरू सिकाउँदा प्राप्त गरे जति आनन्द अरू कुनै कुरासित तुलना गर्न सकिंदैन। अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान पाउनु र इमानदार हृदय भएका मानिसहरूलाई त्यसबारे बताउन सक्नु साँच्चै इनामदायी साबित भएको छ!—यूहन्‍ना १७:३.—फ्रांक मानिनोको वृतान्तमा आधारित।

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ १५-मा भएको चित्र]

सिसिलीमा नरहत्या भएको भन्ज्याङ

[पृष्ठ १६-मा भएको चित्र]

सन्‌ १९४२ मा हाम्रो विवाह हुँदा

[पृष्ठ १८-मा भएको चित्र]

म प्रायजसो झ्यालखानाका सुरक्षाकर्मीहरूलाई बाइबल सत्यहरू बताउँथे

[पृष्ठ २०-मा भएको चित्र]

मेरी पत्नीसित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने