राज्य उद्घोषकहरूका रिपोर्ट
हर अवसरमा राज्यको बीउ छर्ने
परमेश्वरको वचन, बाइबलले मेहनती हुन प्रोत्साहन दिन्छ। राजा सुलेमानले भने: “बिहान समयमानै बिउ छर्, र बेलुकी साँझसम्म आफ्नो काम गर्न न छोड्, किनभने अहिले छरेको अथवा भरै छरेको कुन चाहिं सफल हुन्छ, अथवा दुवैनै राम्रो हुन्छन् होला भनी तँ जान्दैनस्।”—उपदेशक ११:६.
परमेश्वरको राज्यको सुसमाचार प्रचार गरेर यहोवाका साक्षीहरू हर उपयुक्त समयमा “बीउ” छर्छन्। तिनीहरूले २३० भन्दा बढी देश र टापुहरूमा “येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द” गरेका छैनन्। (प्रेरित ५:४२) प्रचार कार्यमा यहोवाका साक्षीहरूले ‘आफ्नो काम गर्न छाडेका छैनन्’ भन्ने कुरा यी अनुभवहरूले देखाउँछन्।
◻ गणतन्त्र केप भर्डमा एउटी साक्षी बहिनी जेल नजीकै प्रचार गर्दै हिंडिरहेकी थिइन्। जेलको हाताभित्र केही कैदीहरू रूखमा चढेर बसिरहेका थिए। साक्षी बहिनीलाई देखेर तिनीहरूले उत्सुकतासाथ पत्रिका मागे। ती बहिनीले थुप्रै प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू ढुंगामा बेह्रेर जेलको पर्खालमाथिबाट भित्रतिर हुत्याइदिइन्। यसरी चासो देखाएको परिणामस्वरूप १२ वटा बाइबल अध्ययन सुरु भयो। तीमध्ये तीन जना कैदीहरूले आफ्नो जीवन परमेश्वरमा समर्पण गरे र बप्तिस्मा लिन तयार भए। अहिले, एक जना कैदी चाहिं पूर्ण-समय प्रचारक अथवा अग्रगामी भएर काम गरेको वर्षदिनभन्दा पनि बढी भैसक्यो। तर तिनीहरू जेलभित्रै क्षेत्र सेवकाईको काम कसरी सञ्चालन गर्छन् त? पहिला त जेललाई नै प्रचार क्षेत्रको रूपमा भाग लगाइयो। त्यसपछि ती क्षेत्रहरू तीन साक्षीहरूलाई बाँडियो र जेलको कुनै पनि कोठा नछुटाइकन प्रचार गरियो। ती राज्य उद्घोषकहरू संसारभरि यहोवाका अन्य साक्षीहरूले गरेझैं चासो देखाउनेहरूलाई पुनःभेट गर्न जान्छन्। तिनीहरूसँग हप्तामा कति पटक बाइबल अध्ययन गर्ने भन्ने कुरामा चाहिं तिनीहरू अरू साक्षीभन्दा फरक छन्। हप्तामा एक पटक अथवा दुइ पटक, एक एक घण्टा मात्र हैन केही कैदीहरू त दिनदिनै बाइबल अध्ययन गर्छन्! त्यति मात्रै कहाँ हो र, त्यस जेलका महानिर्देशकले यहोवाका साक्षीहरूलाई जेलभित्रै मण्डलीका सबै सभाहरू सञ्चालन गर्ने अनुमति पनि दिएका छन्।
◻ पुर्तुगालकी एउटी आइमाईले आफ्नो बज्यैको मृत्युपछि वाच टावरबाट प्रकाशित थुप्रै किताबहरू हात पारिन्। तिनी यहोवाको साक्षी नभएकी हुनाले ती किताबहरू राख्न तिनलाई मन थिएन। तर तिनलाई नष्ट गर्न पनि मन लागेन। एक दिन तिनले ढोका-ढोकाको सेवकाईमा आएका साक्षीलाई ती किताबहरूबारे बताइन्। साक्षीले तिनलाई ती किताबहरूको वास्तविक महत्त्व बुझ्नुभएको छ कि भनेर सोधिन्। ती आइमाईले जवाफ दिइन्: “साँच्चै भन्ने हो भने मलाई यसको वास्तविक महत्त्व थाह छैन, तर थाह पाउने पो कसरी?” ती आइमाईले बाइबल अध्ययन गर्न मञ्जुरी जनाइन् र आफ्नो बज्यैका ती किताबहरू अमूल्य सम्पत्ति रहेछन् भनेर चाँडै बुझिन्। अहिले तिनी पनि बप्तिस्माप्राप्त यहोवाको साक्षी भएकी छिन्। त्यति मात्र हैन, उनकी छोरी र उनको परिवारका सदस्यहरू अनि नजीकका साथीहरूसमेत बाइबल अध्ययन गर्दैछन्। ती किताबहरूको संग्रह कत्ति मूल्यवान् सम्पत्ति साबित भयो!