सहनशीलता—अचाक्ली सहने र सहँदै नसहने
काश्मिर उपत्यकाको सौन्दर्यले गर्दा १६ औं शताब्दीका दार्शनिक यसो भन्न उत्प्रेरित भए: “प्रमोदवन कहीं छ भने यही हो!” स्पष्टतया, संसारको यस भागमा पछि के हुनेथियो भनेर तिनलाई थाह थिएन। गत पाँच वर्षभित्र पृथकतावादी र भारतीय सेनाबीचको लडाइँमा यहाँ लगभग २०,००० मानिसहरू मारिएका छन्। जर्मन समाचारपत्र सुदोइच जाइटुङ-ले अहिले यस प्रान्तलाई “आँसुको उपत्यका” भनेर वर्णन गर्छ। काश्मिर उपत्यकाले एउटा सरल तर मूल्यवान् पाठ सिकाउँछ। त्यो हो: असहनशीलताले सम्भाव्य प्रमोदवनलाई भस्म पार्नसक्छ।
सहनशील हुनुको अर्थ के हो? कलिन्स कोबिल्ड इङ्ग्लिश ल्याङ्ग्वेज डिक्शनरी-अनुसार (अंग्रेजी) “तपाईं सहनशील हुनुहुन्छ भने, अरू मानिसको झुकाउ वा विश्वासमा सहमतै नहुनु भए तापनि तिनीहरूलाई तिनीहरूकै इच्छाअनुसार चल्न वा तिनीहरूकै तरिकामा व्यवहार गर्न दिनुहुन्छ।” कत्ति उत्तम गुन! निस्सन्देह, हामीलाई ती मानिसहरूसित व्यवहार गर्न सजिलो लाग्छ, जसले आफ्नो विश्वास बेग्लै भए तापनि हाम्रो विश्वास र झुकाउहरूको आदर गर्छन्।
सहनशीलता र कट्टरपन
सहनशीलताको विपरीत असहनशीलता हो। यो असहनशीलता विभिन्न हदले चर्किन्छ। कुनै व्यक्तिको व्यवहार वा काम गर्ने तरिकालाई संकुचित हृदयको कारण अस्वीकार गर्दा असहनशीलता सुरु हुनसक्छ। संकुचित हृदयले जीवनको आनन्द लुट्छ र मनमा नयाँ विचारहरू विकास हुन दिंदैन।
उदाहरणका लागि, नाटीकुटी गर्ने व्यक्ति केटाकेटी उफ्रिंदै यताउता हिंड्दा पनि चिढिनसक्छ। कुनै जवान मानिस आफूभन्दा पाको मानिसले गरेको काम देखेर दिक्क मान्लान्। होशियारीपूर्वक कामकुरो गर्ने व्यक्तिलाई लापरवाही ढंगमा काम गर्ने व्यक्तिसित काम गर्न अह्राइयो भने, दुवै एकअर्कालाई देखेर झर्को मान्नसक्छन्। के कारणले चिढिनु, दिक्क मान्नु र झर्को मान्नु परेको होला? किनभने, पाइलैपिच्छे एउटा व्यक्तिलाई अर्कोको झुकाउ वा व्यवहार सहन गाह्रो लाग्छ।
असहनशीलताको कारण संकुचित हृदय भएर समूह, जाति वा धर्मबीच हुने घृणा अर्थात् पूर्वाग्रह तीब्र हुनसक्छ। पूर्वाग्रहभन्दा पनि खतरनाक त कट्टरपन हो। यसले गर्दा हिंसात्मक घृणा हुन्छ। परिणामस्वरूप, दुःख र रक्तपात मच्चिन्छ। क्रूसेड भनिने धार्मिक युद्धको दौडान असहनशीलताले गर्दा के भयो, विचार गर्नुहोस् त! आज पनि बोस्निया, रूवाण्डा र मध्य पूर्वमा भइरहेका युद्धहरूको प्रमुख कारण असहनशीलता नै हो।
सहनशील हुनको लागि सन्तुलन चाहिन्छ। ठीक सन्तुलन राख्न सजिलो छैन। हामी त एक छेउदेखि अर्को छेउसम्म हल्लिरहने घडीको पेन्डुलमजस्तै हौं। कहिले हामी सहनशीलता देखाउँदै देखाउँदैनौ र कहिलेकाहीं अचाक्ली देखाउँछौं।
सहनशीलताले गर्दा अनैकता
के अचाक्ली सहनशील हुन सकिएला? सं.रा. अमेरिकाका विधायक डान कोट्सले सन् १९९३ मा भाषण दिंदा “सहनशीलताको अर्थ र प्रचलनबारे विवाद” भनेर बताए। तिनको भनाइको तात्पर्य के थियो? सहनशीलताको नाउँमा कसै कसैले “असल र खराब, सही र गलत छुट्याउने नैतिक सत्यलाई त्यागेका छन्” भनेर त्यस विधायकले दुःख प्रकट गरे। यस्ता मानिसहरू के महसुस गर्छन् भने, असल र खराब व्यवहार के हो भनेर न्याय गर्ने अधिकार समाजलाई छैन।
सन् १९९० मा बेलाइती राजनीतिज्ञ लर्ड होल्शामले लेखे, “नैतिकताको सबैभन्दा खतरनाक शत्रु नास्तिकवाद, अज्ञेयवाद, भौतिकवाद, लोभ वा अरू कुनै स्वीकार्य सिद्धान्तहरू होइनन्। नैतिकताको खास शत्रु त शाब्दिक अर्थमा भन्ने हो भने शून्यवाद अर्थात् कुनै पनि कुरामा विश्वास नगर्ने मत हो।” स्पष्टतया, हामीले केही कुरामा पनि विश्वास गरेनौं भने हामीसित उचित व्यवहारका स्तरहरू हुँदैनन् र सबै कुरा सहन सकिने हुन्छन्। तर के सबै प्रकारको आचरण सहनु उचित हो?
डेनमार्कको एउटा उच्च विद्यालयका प्रधानाध्यापकको सोचाइमा यो उचित होइन। डेनमार्कको एउटा पत्रिकामा पशु र मानिसबीच यौन सम्बन्ध भइरहेको चित्र कोरेर अश्लिल विज्ञापन दिएकोबारे गुनासो गर्दै तिनले सन् १९७० दशकको सुरुतिर समाचारपत्रमा एउटा लेख लेखे। डेनमार्कको “सहनशीलताको” कारण नै यी विज्ञापनहरूले अनुमति पाएका हुन्।
कुरा स्पष्ट छ, सहँदै नसहँदा मात्र होइन तर अचाक्ली सहँदा पनि समस्याहरू खडा हुन्छन्। त्यस्तो अचाक्ली सहनशील नभई सन्तुलित हुन किन गाह्रो छ? यसको लागि कृपया अर्को लेख पढ्नुहोला।
[पृष्ठ ३-मा भएको चित्र]
केटाकेटीहरूका स-साना गल्तीहरूलाई पनि देखी नसहनु तिनीहरूका लागि हानिकारक हुनसक्छ
[पृष्ठ ४-मा भएको चित्र]
केटाकेटीले गर्ने सबै कुरा सहँदा पनि तिनीहरूलाई जीवनमा वहन गर्नुपर्ने जिम्मेवारीहरूका लागि तयार पार्न सकिने छैन