प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ २/८ पृ. ५-७
  • सही सन्तुलनले तपाईंको जीवनमा सुगन्ध छर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सही सन्तुलनले तपाईंको जीवनमा सुगन्ध छर्छ
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हस्तक्षेप गर्नेहरू होलान्‌
  • “अनिश्‍चितताको तीब्र आभास”
  • भावशून्यताको फन्दाबाट जोगिनुहोस्‌
  • स्वतन्त्रता जोगाउने—कसरी?
    ब्यूँझनुहोस्‌!—१९९९
  • सहनशीलता—अचाक्ली सहने र सहँदै नसहने
    ब्यूँझनुहोस्‌!—१९९७
  • लचकदार तर ईश्‍वरीय स्तरहरूमा अडिग
    ब्यूँझनुहोस्‌!—१९९७
  • सहनशीलता
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ २/८ पृ. ५-७

सही सन्तुलनले तपाईंको जीवनमा सुगन्ध छर्छ

सहनशीलता एक कप चियामा हालेको चिनीजस्तै हो। सुनमा सुगन्ध भनेझैं सही सन्तुलनले जीवनलाई मीठासपूर्ण बनाउँछ। तर हामीले चिनी हाल्दा उदारचित्त देखाए तापनि सहने कुरामा भने अक्सर सानो चित्त गर्छौं। किन?

मिसिगन स्टेट युनिभर्सिटिका सहायक प्राध्यापक आर्थर एम. मेल्जरले लेखे, “मानवजाति सहनशील हुन चाहँदैनन्‌। स्वभावैले तिनीहरू पूर्वाग्रह राख्ने हुन्छन्‌।” तसर्थ, सहनशीलता भनेको थोरै मानिसहरूलाई असर गर्ने कुरा मात्र होइन। हामी सबै असिद्ध भएकोले गर्दा स्वभावले नै हामी संकुचित हृदयका हुन्छौं।—रोमी ५:१२ तुलना गर्नुहोस्‌।

हस्तक्षेप गर्नेहरू होलान्‌

सन्‌ १९९१ मा टाइम पत्रिकाले सानो चित्त गर्नेहरूको संख्या बढिरहेको प्रतिवेदन दियो। त्यस पत्रिकाको लेखले “हस्तक्षेप गर्ने जीवनपद्धति” अर्थात्‌ सबैलाई आफ्नो इच्छाअनुसार प्रयोग गर्न खोज्ने मानिसहरूबारे बतायो। तिनीहरूको कुरा नमान्‍नेहरू सताइएका छन्‌। उदाहरणका लागि, बोस्टनकी एक स्त्रीले सिंगारपटार गर्न नमान्दा तिनलाई जागिरबाट निकालियो। लस एन्जेलसका एक व्यक्‍तिलाई ज्यादा वजन भएको कारण जागिरबाट बर्खास्त गरियो। अरूलाई आफ्नो कुरा स्वीकार गराउन किन त्यस्तो जोस देखाएको?

संकुचित हृदय भएको मानिस अव्यवहारिक, स्वार्थी, हठी र हठधर्मी हुन्छ। तर के अधिकांश मानिसहरू केही हदसम्म अव्यवहारिक, स्वार्थी, हठी वा हठधर्मी छैनन्‌ र? हाम्रो व्यक्‍तित्वमा यी आचरणहरूले जरा गाडेमा हामी संकुचित हृदयका हुनेछौं।

तपाईं नि? कसैले खाइरहेको खानेकुरामा के तपाईं नाक खुम्च्याउनुहुन्छ? कुराकानी गर्दा, जहिले पनि आफ्नै कुरा माथि भएको चाहनुहुन्छ? समूहमा काम गर्दा सबैले तपाईंको इच्छानुसार गरेको चाहनुहुन्छ? त्यसो हो भने, तपाईंको चियामा अलिकति चिनी थप्नु असल होला।

तर अघिल्लो लेखमा बताएअनुसार असहनशीलता घातक पूर्वाग्रहको रूपमा देखा पर्नसक्छ। असहनशीलतालाई चर्काउने एउटा तत्त्व अत्यधिक फिक्री हो।

“अनिश्‍चितताको तीब्र आभास”

जातीय पूर्वाग्रह कहिले र कहाँ सुरु भएको थियो भनेर पत्ता लाउन जातिसम्बन्धी अध्ययनकर्ताहरूले मानिसजातिको बितेका समयबारे अध्ययन गरे। यस प्रकारको असहनशीलता जहिलेतहिले र सबै ठाउँमा एउटै हदसम्म नभएको तिनीहरूले पत्ता लगाए। जर्मनीको प्राकृतिक विज्ञानसम्बन्धी पत्रिका जिओ-अनुसार “मानिसहरूलाई अनिश्‍चितताको तीब्र आभास हुँदा र आफ्नो चिनारी हराउने खतरा बोध हुँदा” जातीय भेदभाव सुरु हुन्छ।

के यस्तो “अनिश्‍चितताको आभास” आजको संसारमा व्याप्त छ? अवश्‍यै छ। मानिसजाति यसरी एकपछि अर्को संकटको घेरामा अघि कहिल्यै परेको थिएन। बेरोजगारी, महँगी, जनसंख्या वृद्धि, ओजन तहको ह्रास, शहरहरूमा अपराध, खानेपानीको प्रदूषण, पृथ्वीमा बढ्‌दो ताप अर्थात्‌ यी हरहमेसा सताइरहने डरहरूमध्ये कुनै न कुनैले गर्दा फिक्री बढ्‌छ। संकटले गर्दा फिक्री हुन्छ र अचाक्ली फिक्रीले असहनशीलताको मूल फुटाउँछ।

यस्तो असहनशीलता स्वतः देखा पर्छ। उदाहरणका लागि, कतिपय युरोपेली मुलुकहरूमा विभिन्‍न जाति र संस्कृति भएका मानिसहरू बसोबास गर्ने ठाउँहरूहुँदो असहनशीलता सुरु हुन्छ। सन्‌ १९९३ को नेशनल ज्योग्राफिक-अनुसार (अंग्रेजी) विभिन्‍न देशबाट बसाइँ सर्ने २.२ करोडभन्दा धेरै मानिसहरूलाई पश्‍चिमी युरोपका देशहरूले पालिरहेका थिए। थुप्रै युरोपेलीहरूलाई आफू विभिन्‍न भाषा, संस्कृति वा धर्म भएका “आगन्तुकहरूको ओइरोले पुरिएको” भान भयो। अष्ट्रिया, इटाली, जर्मनी, बेलायत, बेल्जियम, स्पेन र स्वीडेनमा विदेशप्रति विरोधको भावना सुरु भएको छ।

विश्‍वका नेताहरूबारे के भन्‍न सकिन्छ त? सन्‌ १९३० र १९४० दशकको दौडान हिटलरको सरकारी नीति नै अरूको कुरा वास्तै नगर्ने नीति भयो। दुःखको कुरा, आज पनि कतिपय राजनैतिक र धार्मिक नेताहरूले आफ्नो स्वार्थ पूरा गर्न अरूको दृष्टिकोणको ख्यालै गर्दैनन्‌। यस्तै घटना अष्ट्रिया, आइरलैण्ड, फ्रान्स, रूवाण्डा, रूस र संयुक्‍त राज्यजस्ता देशहरूमा भएको छ।

भावशून्यताको फन्दाबाट जोगिनुहोस्‌

चियामा चिनी एकदमै कम हुँदा खल्लो लाग्छ र चिनी धेरै भएमा खानै नसकिने गुलियो हुन्छ। सहनशीलता पनि त्यस्तै हो। संयुक्‍त राज्यको एक कलेजमा पढाउने व्यक्‍तिको अनुभवलाई विचार गर्नुहोस्‌।

केही वर्षअघि डेभिड आर. कार्लिन जुनियरले कक्षामा लाभकारी छलफल गर्नको लागि साधारण तर प्रभावकारी तरिका फेला पारे। विद्यार्थीहरूले विरोध गर्छन्‌ भन्‍ने कुरा ध्यानमा राख्दै तिनले आफ्ना विद्यार्थीहरूको दृष्टिकोणलाई चुनौती दिन एउटा कथन तयार पारे। परिणामस्वरूप, कुराकानी जोसिलो भयो। तथापि, सन्‌ १९८९ मा त्यही पद्धति पहिलेजस्तो प्रभावकारी नभएको कार्लिनले लेखे। किन भएन? तिनको कुरामा विद्यार्थीहरूको चित्त नबुझे तापनि तिनीहरूले तर्कवितर्क गर्नै चाहेनन्‌। विद्यार्थीहरूले “कुनै वा कसैको कुरा नसुन्‍ने” अर्थात्‌ वास्तै नगर्ने, जे सुकै होस्‌ मलाई के वास्ता भन्‍ने झुकाउ लिएका थिए भनेर कार्लिनले बताए।

जे सुकै होस्‌, मलाई के वास्ता भन्‍ने झुकाउ सहनशीलताजस्तै हो? कसैले कसैको सोचाइ वा कार्यप्रति ध्यान दिएन भने, नापजोख गर्ने अरू कुनै कुरा हुँदैन। नापजोख नहुनु नै भावशून्यता हो। त्यसको अर्थ, पटक्कै चासो नहुनु। यस्तो स्थिति कसरी आउनसक्छ?

प्राध्यापक मेल्जरअनुसार जुनसुकै स्तरका आचरणहरूलाई स्वीकार्ने समाजमा भावशून्यता फैलिन्छ। मानिसहरू के विश्‍वास गर्न थाल्छन्‌ भने, सबै प्रकारको आचरण स्वीकार्य छन्‌ र सबै कुरा व्यक्‍तिगत छनौटको कुरा मात्र हुन्‌। कुन कुरा स्वीकार्य छ, कुन छैन भनेर सोच्नु तथा सोध्नुको साटो मानिसहरू “अक्सर त्यसबारे सोच्नै चाहँदैनन्‌।” अरूले आफ्नै कुरा मात्र माथि पार्दा साहसपूर्वक त्यसको विरोध गर्ने नैतिक शक्‍ति तिनीहरूले गुमाउँछन्‌।

तपाईं नि? के तपाईंले कहिलेकाहीं जे सुकै होस्‌ मलाई के वास्ता भन्‍ने झुकाउ आफूमा भएको अनुभव गर्नुहुन्छ? अश्‍लील वा जातीय भेदभाव देखाउने हँसीठट्ठा गर्दा के तपाईं हाँस्नुहुन्छ? के तपाईं आफ्ना किशोर छोरा वा छोरीलाई लोभ वा अनैतिकताको समर्थन गर्ने भीडीओ हेर्न दिनुहुन्छ? के तपाईं आफ्ना छोराछोरीले हिंसात्मक कम्प्युटर गेमहरू खेल्नु उचित नै हो भन्ठान्‍नुहुन्छ?

अचाक्ली सहँदा परिवार वा समाजले नतिजा भोग्नुपर्छ किनभने सही वा गलत के हो भनेर कसैलाई थाह छैन वा कसैले वास्ता गर्दैन। संयुक्‍त राज्यको विधायक डान कोट्‌सले “सहनशीलताको फन्दा भावशून्यताजस्तै हो” भनेर चेताउनी दिए। सहनशीलताले व्यक्‍तिलाई खुल्ला हृदयको बनाउँछ। अचाक्ली सहनशीलताले भावशून्य र सोचविचारै नभएको व्यक्‍ति बनाउनसक्छ।

त्यसो हो भने, हामीले कुन कुरा सहनु र कुन चाहिं सहनु हुँदैन? सही सन्तुलन राख्ने कुञ्जी के हो? यस पछिको लेखमा यसबारे छलफल गरिनेछ।

[पृष्ठ ५-मा भएको चित्र]

परिस्थितिहरूप्रति सन्तुलित प्रतिक्रिया देखाउने कोसिस गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने