लचकदार तर ईश्वरीय स्तरहरूमा अडिग
एउटा चिनियाँ उखानले भन्छ, “सहनशील मानिस कहिल्यै मूर्ख हुँदैन अनि मूर्ख मानिस कहिल्यै सहनशील हुँदैन।” यो उखान मात्र नभई यसमा सत्य कुरा थुप्रै छन्। किनभने आचरणका सही स्तरहरू पालन गर्दै सहनशील हुनु सजिलो छैन। तर हामीले पूरा गर्नुपर्ने स्तरहरू के के हुन्? मानिसजातिको सृजनहारले आफ्नो वचन पवित्र बाइबलमा बताउनुभएका स्तरहरू पालन गर्नु व्यवहारिक हुँदैन र? परमेश्वर स्वयंले आफ्ना स्तरहरू कायम राख्नुभएर उत्कृष्ट उदाहरण बसाल्नुहुन्छ।
सृष्टिकर्ता—हाम्रो सबैभन्दा महान् नमुना
सर्वशक्तिमान् परमेश्वर यहोवा सहनशील हुने कुरामा पूर्णतया सन्तुलित हुनुहुन्छ। उहाँ हदभन्दा पर सहनशील र असहनशील हुनुहुन्न। उहाँले आफ्नो नाउँको निन्दा गर्ने, मानिसजातिलाई भ्रष्ट पार्ने र पृथ्वीलाई बिगार्ने मानिसहरूलाई सहनुभएको हजारौं वर्ष भइसक्यो। परमेश्वरले “विनाशको निम्ति बनाउनुभएको क्रोधका भाँड़ाहरूलाई साह्रै धीरजसँग सहनुभयो” भनेर प्रेरित पावलले रोमी ९:२२ मा लेखे। परमेश्वरले यत्तिका लामो समयसम्म किन सहनुभएको त? किनभने उहाँले त्यसरी सहनुको उद्देश्य छ।
परमेश्वर मानिसजातिप्रति धीरजी हुनुहुन्छ। किनभने “सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।” (२ पत्रुस ३:९) सृष्टिकर्ताले मानिसजातिलाई बाइबल दिनुभएको छ र आफ्नो आचरणसम्बन्धी स्तरहरू चारैतिर फैलाउन सेवकहरूलाई अह्राउनुभएको छ। साँचो मसीहीहरू यी स्तरहरूप्रति अडिग छन्। तर के यसको अर्थ परमेश्वरका सेवकहरू हर बखत कडिकडाइसाथ चल्नुपर्छ भनेको हो?
दृढ तर लचकदार
येशूले अनन्त जीवन खोज्नेहरूलाई “साँघुरो ढोकाबाट भित्र” पस्न प्रोत्साहन दिनुभयो। तर साँघुरो ढोकाबाट भित्र पस्नुको अर्थ संकुचित हृदयको हुनु भनेको होइन। अरू मानिसहरूसित कामकुरा गर्दा अरूलाई रवाफ देखाउने वा हठधर्मी मनोवृत्ति आफूसित छ भने त्यसलाई नियन्त्रण गरेमा सबैको निम्ति त्यो क्षण अवश्यै आनन्ददायी हुन्छ। तर कसरी?—मत्ती ७:१३; १ पत्रुस ४:१५.
थीओफानो नाउँ गरेकी एक ग्रीक विद्यार्थीले बताएअनुसार विभिन्न पृष्ठभूमिका मानिसहरूसित तिनले समय बिताउँदा तिनीहरूलाई अझ राम्ररी बुझ्न सकिन्। तिनले भनिन्, “आफ्नो सोचविचारअनुसार तिनीहरूलाई चलाउन बलजफ्ती गर्नुको साटो तिनीहरूको सोचाइ बुझ्ने चेष्टा गर्नु महत्त्वपूर्ण छ।”
यसर्थ, हामीले कसैलाई राम्ररी चिनेर तिनको सोचविचार बुझ्नसक्छौं र तिनको बोल्ने लवज पनि हामीले सोचेजस्तो अनौठो नभएको पाउँछौं। कुरा गर्दा आफै मात्र फतफताइरहनु वा आफ्नै कुरा मात्र माथि पार्नुको साटो तिनले भन्न चाहेको कुरा सुनेर हामीले धेरै लाभदायी कुराहरू सिक्छौं। निस्सन्देह, खुल्ला हृदयका व्यक्तिहरूको जीवन बढी सन्तोषजनक हुन्छ।
व्यक्तिगत छनौट गर्दा हामी लचकदार हुनुपर्छ र अरूलाई तिनीहरूको छनौट गर्न दिनुपर्छ। तर हाम्रा सृष्टिकर्ताप्रति आज्ञाकारी हुने विषयमा भने हामी दृढ रहनैपर्छ। सर्वशक्तिमान् परमेश्वरले सबै प्रकारको व्यवहारलाई क्षमा गर्नुहुन्न। उहाँले यो कुरा बितेको समयका आफ्ना सेवकहरूसित गर्नुभएको व्यवहारद्वारा देखाउनुभयो।
अचाक्ली सहनशील हुने फन्दा
पुरातन इस्राएल राष्ट्रका प्रधानपूजाहारी एली परमेश्वरका सेवक थिए। तिनी अचाक्ली सहनशील भए। इस्राएलीहरू परमेश्वरका व्यवस्थाहरू पालन गर्न सहमत भएका थिए र उहाँसित करारमा बाँधिएका थिए। तर एलीका दुइ छोराहरू होप्नी र पीनहास लोभी तथा अनैतिक थिए अनि तिनीहरूले सर्वशक्तिमान्प्रति पटक्कै आदर देखाएनन्। एलीलाई परमेश्वरको व्यवस्था राम्ररी थाह भए तापनि तिनले हल्का हप्की दिएर फितलो अनुशासन दिए। परमेश्वरले दुष्टतालाई सहनुहुन्छ भन्ने सोचाइ राखेर तिनले गल्ती गरे। सृष्टिकर्ताले कमजोरी र दुष्टतालाई बेग्लाबेग्लै दृष्टिले हेर्नुहुन्छ। एलीका दुष्ट छोराहरूले जानाजानी परमेश्वरको नियम उल्लंघन गरेको हुनाले तिनीहरूले कठोर दण्ड पाए र त्यो उचित थियो।—१ शमूएल २:१२-१७, २२-२५; ३:११-१४; ४:१७.
हाम्रा छोराछोरीले दोऱ्याइ तेऱ्याइ गरिरहेको गल्तीप्रति आँखा चिम्लेर अचाक्ली सहँदा कत्ति दुःख आइपर्नेछ! तिनीहरूलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नु कत्ति उत्तम हुन्छ! यसको अर्थ, हामीले आचरणसम्बन्धी ईश्वरीय स्तरहरूलाई पालन गर्नैपर्छ र ती स्तरहरूलाई हाम्रो छोराछोरीको मनमा हाल्नैपर्छ।—एफिसी ६:४.
त्यसरी नै मसीही मण्डलीले पनि दुष्टतालाई सहनसक्तैन। कुनै सदस्यले गम्भीर गल्ती गर्छ र पश्चात्ताप गर्न मान्दैन भने तिनलाई मण्डलीबाट हटाउनैपर्छ। (१ कोरिन्थी ५:९-१३) तथापि, साँचो मसीहीहरूले परिवार र मण्डलीबाहिरको पूरै समाजलाई परिवर्तन गर्ने चेष्टा गर्दैनन्।
यहोवासित घनिष्ठ सम्बन्ध
फिक्रीले गर्दा असहनशीलता सुरु हुन्छ। तथापि, परमेश्वरसित हाम्रो घनिष्ठ सम्बन्ध छ भने, सुरक्षित महसुस गर्छौं र त्यसले हामीलाई उचित सन्तुलन कायम गर्न मदत दिन्छ। हितोपदेश १८:१० मा हामी यस्तो लेखिएको पाउँछौं, “परमप्रभुको नाउँ एक बलियो धरहराजस्तै हो, त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्।” निस्सन्देह, हामी र हाम्रा प्रियजनहरूमाथि आइपर्न सक्ने कुनै पनि पीडालाई सृष्टिकर्ताले ठीक समयमा हटाउनुहुनेछ।
परमेश्वरसित घनिष्ठ सम्बन्ध राखेर पूरापूर फाइदा उठाउने व्यक्ति प्रेरित पावल थिए। तिनी पहिला शावल नाउँले चिनिने एक यहूदी थिए। तिनले येशू ख्रीष्टका अनुयायीहरूलाई सताए र तिनी रक्तदोषी पनि भएका थिए। तर शावल पछि आफै पनि मसीही भएपछि तिनको नाउँ पावल भयो र प्रेरितको हैसियतमा तिनले पूर्ण-समय सुसमाचारकको काम गरे। पावलले सबै मानिसहरू अर्थात् “ग्रीकहरू र अरू भाषा बोल्नेहरू दुवैको, औ बुद्धिमान र निर्बुद्धिहरू[लाई]” प्रचार गरेर खुल्ला हृदयको मनोवृत्ति प्रदर्शन गरे।—रोमी १:१४, १५; प्रेरित ८:१-३.
तिनी कसरी परिवर्तन हुनसके? धर्मशास्त्रको साँचो ज्ञान प्राप्त गरेर अनि निष्पक्ष सृष्टिकर्तालाई प्रेम गरेर। व्यक्तिविशेषको न्याय गर्दा परमेश्वर पक्षपात गर्नुहुन्न भनेर पावलले थाह पाए। परमेश्वरले व्यक्तिको संस्कृति वा जातिअनुसार होइन तर तिनको कार्यअनुसार न्याय गर्नुहुन्छ। हो, परमेश्वरले कार्यहरू महत्त्वपूर्ण ठान्नुहुन्छ। पत्रुसले बताए, “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) सर्वशक्तिमान् परमेश्वर पूर्वाग्रह राख्नुहुन्न। उहाँ संसारका नेताहरूजस्तो हुनुहुन्न जसले आफ्नो स्वार्थ पूरा गर्न जानाजानी अरूको दृष्टिकोणको वास्तै गर्दैनन्।
समय बदलिंदैछ
बेलायत, अक्सफोर्ड युनिभर्सिटिका जोन ग्रेको भनाइअनुसार सहनशीलता “दुर्लभ सद्गुन हुन गएको छ।” तर भविष्यमा यस्तो हुनैछैन। ईश्वरीय ज्ञानद्वारा सन्तुलित सहनशीलता व्याप्त हुनेछ।
परमेश्वरको आउँदै गरेको नयाँ संसारमा असहनशीलता हुनेछैन। पूर्वाग्रह र कट्टरपनजस्ता अचाक्ली असहनशीलता रहनेछैन। संकुचित हृदयले गर्दा जीवनको खुशी लुटिनेछैन। त्यसपछि, काश्मिर उपत्यकामा कहिल्यै सम्भव हुन नसकेको प्रमोदवनभन्दा पनि भव्य प्रमोदवन हुनेछ।—यशैया ६५:१७, २१-२५.
के तपाईं त्यस नयाँ संसारलाई पर्खिरहनुभएको छ? त्यो कस्तो सुअवसर र रोमाञ्चकारी क्षण हुनेछ!
[पृष्ठ ८-मा भएको चित्र]
परमेश्वरसित सम्बन्ध भएकोले गर्दा प्रेरित पावलले सही सन्तुलन देखाए