“चुपचाप बसेर ध्यान देऊ!”
अटेन्शन डेफिसिट हाइपरएक्टीभिटी डिस्अडरलाई राम्ररी बुझ्ने
“क्याल खालि पुल्पुलिएको हो भनी जिमले सधैं भन्ने गर्थे। यसो पनि भन्थे हामीले, भनौं भने मैले छोरालाई अलि तह लगाएँ भने ऊ सुध्रिन्छ। पछि पो यस विशेषज्ञले भने, दोष मेरो, हामी दुवैको वा क्यालका शिक्षकहरूको पनि होइन तर क्यालमै केही गडबडी छ।”
क्यालको समस्या हो, अटेन्शन डेफिसिट हाइपरएक्टीभिटी डिस्अडर (ए डि एच डि)। त्यसको अर्थ हो, छुकछुक गरिरहने, मनमा जे आयो त्यो झ्वाट्टै गर्ने र एकछिन पनि चुपो लागेर बस्न नसक्ने। यसले स्कूल जाने केटाकेटीहरूमध्ये ३ देखि ५ प्रतिशतलाई असर गर्छ भन्ने अनुमान गरिएको छ। विशेषज्ञ प्रिसीला एल. भाल यसो भन्छिन्, “तिनीहरूको मन ठीकसित काम नगर्ने टीभी च्यानेलहरूजस्तै हुन्छ। मन ठेगानमा हुँदैन, नियम वा अनुशासनको परवाह राख्दैनन्।”
आउनुहोस्, ए डि एच डि-का तीन प्रमुख लक्षणहरू छलफल गरौं।
छुकछुक गर्ने: ए डि एच डि भएको बच्चाले नचाहिने कुराहरूमा मन डुलाउँछ र एकोहोरो ध्यान लगाउन सक्दैन। यसकारण बाहिरी दृश्य, आवाज र गन्धले छिट्टै अलमलिहाल्छ।a उसले ध्यान त दिइरहेको हुन्छ तर एउटै कुरामा नभई तीन थुप्रो कुरामा उसको मन डुलिरहेको हुन्छ। सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा कुन हो भनेर छुट्याउन सक्दैन।
मनमा जे आयो त्यो झ्वाट्टै गरिहाल्ने: ए डि एच डि भएको बच्चाले सोचविचारै नगरी, नतिजाको वास्तै नराखी काम गरिहाल्छ। कामकुरा राम्ररी मिलाउन र सही निर्णय गर्न सक्दैन अनि कहिलेकाहीं त उसका कार्यहरू खतरनाक हुन्छन्। मनोचिकित्सक पल वेन्डर यसो भन्छन्, “यताउता नहेरी बाटो काट्छ, झ्यालको डिलमा जान्छ, रूख चढ्छ। यसले गर्दा बढी चोटपटक लाग्छ र डाक्टरकहाँ पनि धेरै चोटि धाउनुपर्ने हुन्छ।”
एकछिन पनि चुपो लागेर बस्न नसक्ने: यस्ता केटाकेटीहरू छुकछुक गरिरहन्छन्। चकचक नगरी त बस्नै सक्दैनन्। नदेखिने अपांगता (अंग्रेजी) पुस्तकका लेखक डा. गर्डन सर्फोन्टाइन यसो भन्छन्: “ध्यान दिएर हेऱ्यौं भने त्यस्ता बच्चाहरूलाई ठूलो भइसकेपछि पनि हातखुट्टा चलाइरहने, ओंठ वा जिब्रो खेलाइरहने बानी लाग्नसक्छ।”
यद्यपि, छुकछुके र मनमा जे आयो त्यो झ्वाट्टै गरिहाल्ने कुनै कुनै केटाकेटीहरू चुपो लागेर एकछिन बस्न नसक्ने चाहिं हुँदैनन्। तिनीहरूको समस्यालाई कहिलेकाहीं अटेन्शन डेफिसिट डिस्अडर (ए डि डि) अर्थात् ध्यान दिएर बस्न नसक्ने समस्या पनि भनिन्छ। मनोचिकित्सक रोनाल्ड गोल्डवर्गको भनाइअनुसार ए डि डि हुन “एकछिन पनि चुपो लागेर बस्न नसक्ने हुनैपर्छ भन्ने छैन। अथवा कुन हदसम्म चुपो लागेर बस्न सक्दैन, त्यसमा पनि भर पर्छ—छुकछुके देखिने जस्तो लिएर अरूलाई रीसै उठाउने किसिमको छुकछुके र अचाक्ली छुकछुके।”
ए डि एच डि का कारणहरू के के हुन्?
आमाबाबुले उचित रेखदेख नगर्नुदेखि लिएर ट्वाल्ल बल्ने बत्तीले गर्दा समेत ए डि एच डि भएको हुनसक्छ भनी वर्षौंको दौडान मानिसहरूले भन्न थालेका छन्। तर आजकल भने, दिमागको कुनै भागले राम्ररी काम नगर्दा यस्तो हुन्छ भन्ठानिन्छ। सन् १९९० मा सं.रा.को मानसिक स्वास्थ्य संगठनले ए डि एच डि लक्षण देखाउने २५ वयस्कहरूको परीक्षण गर्दा के पत्ता लाग्यो भने, चलहल गर्ने तथा ध्यान दिने क्रियाकलापलाई दिमागको जुन भागले नियन्त्रण गर्छ, त्यहाँ ग्लुकोजको प्रयोग असाध्यै कम हुन्छ। करीब ४० प्रतिशतजति ए डि एच डि-लाई भने वंशानुगत संरचनाले नै असर गरेको जस्तो देखिन्छ। हाइपरएक्टिभ चाइल्ड बुक नामक पुस्तकअनुसार ए डि एच डि हुनसक्ने अन्य कारणहरूमध्ये, गर्भावस्थामा मद्य वा लागू पदार्थको दुर्व्यसन, बच्चाको शरीरमा सिसाको प्रतिकूल असर र कहिलेकाहीं त भोजन पनि हुनसक्छ।
ए डि एच डि युवा तथा वयस्क
बाल्यावस्थामा मात्र ए डि एच डि हुने होइन भनी हालै चिकित्सकहरूले पत्ता लगाएका छन्। मनोचिकित्सक ल्यारी सिल्भर यसो भन्छन्, “साधारणतया आमाबाबुहरू उपचारको लागि बच्चाहरू ल्याउँछन् र आफू ‘सानो छँदा त्यस्तै थिएँ’ भन्छन्। अनि अहिले पनि लाइनमा कुर्न, सभाहरूमा छुकछुक नगरी बस्न, कुनै काम पूरा गर्न गाह्रो लाग्छ” भनी बिस्तारै भन्न थाल्छन्। ए डि एच डि भएका आधाजति बच्चाहरूको युवावस्था तथा वयस्क जीवनमा पनि यी लक्षणहरू देखा पर्छन् भन्ने विश्वास गरिएको छ।
युवावस्थामा ए डि एच डि लक्षण देखाउनेहरूको व्यवहार खतरनाकदेखि लिएर अपराधजन्यसमेत हुनसक्छ। ए डि एच डि बच्चाका आमा यसो भन्छिन्, “पहिला मेरो छोरा कलेजमा भर्ना हुन नपाउला कि भनेर पीर लाग्थ्यो। तर अहिले तिनले कुनै अपराध गरेर झ्यालखानामा नपरोस् भनेर प्रार्थना गर्छु।” त्यस्ता चिन्ताहरू निराधार हुँदैनन् भनेर एउटा अध्ययनले देखाउँछ। एकछिन पनि चुपो लागेर नबसी छुकछुक गर्ने १०३ जना युवाहरूसँगसँगै ए डि एच डि नभएको १०० केटाकेटीहरूको पनि अध्ययन गरियो। न्युजवीक पत्रिका यस्तो टिपोट गर्छ, “एकछिन चुपो लागेर नबस्ने छुकछुके समूहका केटाकेटीहरू २० वर्ष पुगुञ्जेलसम्म विभिन्न कारणवश पक्राउ पर्ने सम्भावना दुइ गुना बढी, अपराधको अभियोग लाग्ने सम्भावना पाँच गुना बढी र झ्यालखानामा पर्नसक्ने सम्भावना नौ गुना बढी थियो।”
वयस्क हो भने, ए डि एच डि-ले अनौठो प्रकारका समस्याहरू खडा गर्छ। मनोचिकित्सक एड्ना कोपल्याण्ड यसो भन्छन्: “एकछिन पनि चुपो लागेर बस्न नसक्ने छुकछुके बच्चा वयस्क हुँदा एउटै जागिरमा टिक्न नसक्ने, जागिरबाट पनि बारम्बार निकालिने, बेमतलबको काममा समय खेर फाल्ने र के गरूँ के गरूँ भइरहने स्वभावको हुनसक्छ।” यसो हुनुको कारण थाह पाएन भने यी लक्षणहरूले वैवाहिक सम्बन्ध पनि भताभुंग पार्नसक्छ। ए डि एच डि भएको मानिसकी पत्नी यसो भन्छिन्, “साधारण कुराकानी गर्दा पनि मेरो एउटै कुरा तिनको कानमा घुस्दैन। जहिले पनि कता हो कता हराइरहेको जस्तो लाग्छ।”
निस्सन्देह, थुप्रै मानिसहरूमा यस्ता लक्षणहरू देखिनु कुनै अनौठो कुरा होइन। कसैसित बढी त कसैसित कम हुन्छ। मनोचिकित्सक जर्ज डोरी यसो भन्छन्, “त्यस्ता लक्षणहरू पहिलेदेखि नै थिए कि थिएनन् भनेर सोध्नुपर्छ। जागिर गुमाएपछि वा बच्चा जन्मिएपछि मात्र बिर्सने बानी लागेको हो भने त्यो विकार होइन।”
साथै, कसैलाई साँच्चै ए डि एच डि छ भने ती लक्षणहरू असाध्यै प्रबल हुन्छन्। मतलब, त्यसले जीवनको सबैजसो पक्षमा असर गरिरहेको हुन्छ। अठ्तीस वर्षीय ग्यारी पनि त्यस्तै थिए। तिनी तेजिलो तथा जोसिलो भए तापनि अरू कुरामा नअलमली कुनै एउटा काम पूरा गर्न सक्दैनथिए। तिनले अहिलेसम्म १२० वटा जागिर फेरिसके। तिनी भन्छन्: “म त कुनै कुरामा पनि सफल हुन सक्दिनँ भनेर स्वीकारिसकेको थिएँ।” तर ग्यारी र अरू थुप्रै केटाकेटी, युवा तथा वयस्कहरूले ए डि एच डि-सित जुझ्न सकेका छन्। कसरी?
[फुटनोट]
a केटीहरूभन्दा केटाहरूलाई यो समस्या बढी हुने भएकोले यस उप्रान्त पुलिंग रूप प्रयोग गरिनेछ।