समस्यासित जुझ्ने
वर्षौंको दौडान ए डि एच डि-का लागि थुप्रै उपचारहरू प्रस्ताव गरिएका छन्। कुनै कुनै उपचारविधिले भोजनमा बढी जोड दियो। तथापि, केही अध्ययनहरूले देखाएअनुसार खानामा मिसाइने रासायनिक तत्त्वहरूले गर्दा मात्र असाध्यै छुकछुके हुने होइन र पोषिलो रसहरूले खास फाइदा पुऱ्याउँदैन। ए डि एच डि उपचार गर्ने अन्य तरिकाहरू, औषधोपचार, आचरणमा हेरफेर र सजगता बढाउने तालिमहरू हुन्।a
औषधोपचार। दिमागले राम्रोसित काम नगर्नाले प्रायजसो ए डि एच डि हुने भएको हुँदा सही रासायनिक सन्तुलन कायम गर्न सेवन गरिने औषधी थुप्रै मानिसहरूको लागि मदतकारी साबित भएको छ।b तथापि, औषधी खाएपछि प्रयासै नगरी कुनै कुरा सिक्न सकिने चाहिं होइन। यसले बच्चालाई केवल ध्यानकेन्द्रित गर्न, नयाँ सीपहरू सिक्ने आधार बनाउन मात्र मदत गर्छ।
ए डि एच डि भएका थुप्रै वयस्कहरूलाई औषधीले निकै फाइदा गरेको छ। तथापि, युवा होस् या वयस्क, होशियार हुनु खाँचो छ किनभने ए डि एच डि उपचार गर्न प्रयोग गरिने केही औषधीहरूले लग्गू पनि बनाउनसक्छ।
आचरणमा हेरफेर। बच्चालाई ए डि एच डि हुँदैमा उसलाई अनुशासन दिनुपर्ने दायित्वबाट आमाबाबु मुक्त हुँदैनन्। यस सन्दर्भमा बच्चालाई विशेष हेरचाहको खाँचो भए तापनि बाइबलले आमाबाबुलाई यस्तो सल्लाह दिन्छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” (हितोपदेश २२:६) योर हाइपरएक्टिभ चाइल्ड पुस्तकका लेखिका बार्बरा इन्गरसोल यस्तो टिप्पणी गर्छिन्: “असाध्यै छुकछुके बच्चालाई कुनै उपाय नै छैन भनी ‘छाडा’ छोड्ने आमाबाबुले उसलाई अलिकति पनि मदत पुऱ्याइरहेका हुँदैनन्। अरू केटाकेटीलाई जस्तै असाध्यै छुकछुके बच्चालाई पनि अनुशासन दिइरहनुपर्छ तर त्यसको साथै उसको कदर पनि गर्नुपर्छ। यसको मतलब, सुस्पष्ट सीमा तोक्नु र आवश्यक इनाम तथा सजाय पनि दिनु हो।”
यसकारण आमाबाबुले आफ्नो छोराछोरीलाई व्यवस्थित ढंगमा अनुशासन दिनु महत्त्वपूर्ण छ। यसबाहेक, दैनिक क्रियाकलापहरूको कडा तालिका पनि हुनुपर्छ। गृहकार्य गर्ने, पढ्ने, नुहाउने तथा अन्य कार्यहरू समावेश गर्दै आमाबाबुले बच्चा स्वयंलाई तालिका बनाउने जिम्मा दिनसक्छन्। तर तालिका बनाएपछि त्यसैअनुसार चल्नुहोस्। दैनिक तालिकाको पालन भएको छ कि छैन हेर्न नबिर्सनुहोस्। फाई डेल्टा कापन यस्तो टिप्पणी गर्छ: “ए डि डि वा ए डि एच डि हुँदैमा बच्चालाई कुनै अनुशासन दिनुपर्दैन भन्ने होइन भनेर उक्त बच्चा तथा उसका आमाबाबुलाई बताउनु चिकित्सक, मनोचिकित्सक, स्कूल अधिकारी तथा शिक्षकहरूको दायित्व हो। बरु बच्चालाई खास मदतको खाँचो पर्नेछ भनी स्पष्टसित बुझाउनुपर्छ।”
सजगता बढाउने तालिमहरू। यसमा बच्चालाई आफू र आफ्नो असन्तुलनताप्रति दृष्टिकोण परिवर्तन गर्न मदत दिनु समावेश हुन्छ। “राम्ररी ध्यान दिन नसक्ने व्यक्तिहरू आकर्षक, तेजिलो र दयालु स्वभावको भए तापनि आफूलाई ‘कुरूप, मूर्ख र नालायक’ ठान्छन्” भनी मनोचिकित्सक रोनाल्ड गोल्डवर्गले टिप्पणी गरे। तसर्थ, ए डि डि वा ए डि एच डि भएको बच्चाले आफ्नो आत्मसम्मान गर्न जान्नुपर्छ र आफ्ना कमजोरीहरू सुधार्न सकिन्छ भनेर बुझ्नुपर्छ। विशेषगरि युवावस्थामा यसो गर्नु आवश्यक हुन्छ। ए डि एच डि भएको व्यक्ति किशोरावस्थामा पुगुञ्जेल तिनले साथीभाइ, शिक्षक, भाइबहिनी र आफ्नै आमाबाबुबाट समेत निकै गिल्ला सहिसकेको हुनसक्छ। अतः तिनले व्यवहारिक लक्ष्यहरू राखेर आफूप्रति कठोर नभई आत्मसम्मान गर्न सिक्नुपर्छ।
ए डि एच डि भएका वयस्कहरूले पनि यस्तै तरिकाहरू अपनाउनसक्छन्। डा. गोल्डवर्ग यसप्रकार लेख्छन्, “उमेरअनुसार छाँटकाँट गर्नु खाँचो छ तर आचरणमा हेरफेर तथा सजगता बढाउने तालिमहरू अनि उपयुक्त भए जिन्दगीभर औषधोपचार गर्नु आवश्यक हुन्छ।”
सहयोग गर्ने
जोनको छोरालाई ए डि एच डि भएको छ। तिनी आफूजस्तै अवस्थामा भएका अरू आमाबाबुलाई यसो भन्छन्: “यस समस्याबारे भएभरको कुरा थाह पाउनुहोस्। अन्धाधुन्द निर्णयहरू नगर्नुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंको बच्चालाई माया गर्नुहोस्, उसको आत्मसम्मान बढाउनुहोस्। आत्मसम्मानको कमीले उसको जोशजाँगरलाई निल्नसक्छ।”
ए डि एच डि भएको बच्चालाई पर्याप्त सहयोग दिन आमा र बाबु दुवैले साथ दिनुपर्छ। डा. गर्डन सर्फोन्टाइनअनुसार ए डि एच डि भएको बच्चाले “घरमा उसलाई सबैले माया गर्छ भनेर थाह पाउनुपर्छ र आमाबाबुले एकअर्कालाई माया गरेकोले उसलाई पनि माया गरेको हो भनी बुझ्नुपर्छ।” (तेर्सो अक्षर हाम्रो।) तर दुःखको कुरा, सधैं त्यस्तो प्रेम देखाइँदैन। डा. सर्फोन्टाइन अझै यसो भन्छन्: “साधारणतया परिवारमा [ए डि एच डि भएको बच्चा] छ भने सामान्य परिवारमा भन्दा यस्ता परिवारहरूमा वैवाहिक अमेल हुने सम्भावना झन्डै तीन गुना बढी पाइएको छ।” त्यस्तो अमेल हुन नदिन ए डि एच डि भएको बच्चालाई हुर्काउन बुबाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। सबै जिम्मेवारी आमाको काँधमा मात्र बिसाउनु हुँदैन।—एफिसी ६:४; १ पत्रुस ३:७.
घनिष्ठ साथीहरू परिवारका सदस्य नभए तापनि तिनीहरूले निकै मदत पुऱ्याउनसक्छन्। कसरी? माथि उल्लिखित जोन भन्छन्, “दयालु भएर। सतही कुरालाई मात्र नहेर्नुहोस्। बच्चालाई चिन्न खोज्नुहोस्। बच्चाको आमाबाबुसित पनि कुरा गर्नुहोस्। तिनीहरूको हालखबर के कस्तो छ? तिनीहरूले दिनैपिच्छे कस्ता अप्ठ्याराहरू भोग्नु परिरहेका छन्?”—हितोपदेश १७:१७.
मसीही मण्डलीका सदस्यहरूले ए डि एच डि भएको बच्चा तथा तिनका आमाबाबुलाई ठूलो सहयोग दिनसक्छन्। कसरी? तिनीहरूबाट अचाक्ली माग नगरेर। (फिलिप्पी ४:५) कहिलेकाहीं त्यस्तो बच्चाले जथाभावी व्यवहार पनि गर्नसक्छ। विचारै नपुऱ्याई “आफ्नो बच्चालाई किन तह लाउनुहुन्न?” वा “बच्चालाई पिटाइ पुगेन” भन्नुको साटो त्यस सँगी मसीहीका भावनाहरू बुझ्ने कोसिस गर्नुहोस्। हुनसक्छ, आफ्नो बच्चाको व्यवहारले गर्दा तिनी हैरान भइसकेका होलान्। निस्सन्देह, आफ्नो बच्चाको जथाभावी व्यवहारलाई कम गर्न आमाबाबुले सकेजति गर्नुपर्छ। तैपनि, झर्को मानेर प्याच्च बोलिहाल्नुको साटो विश्वासमा भएकाहरूले “सँगीभाव” देखाउनुपर्छ र “आशिष दिने” कोसिस गर्नुपर्छ। (१ पत्रुस ३:८, ९, NW) निस्सन्देह, प्रायजसो सँगी विश्वासीहरूद्वारा नै परमेश्वरले ‘नम्रहरूलाई सान्त्वना दिनुहुन्छ।’—२ कोरिन्थी ७:५-७.
सिक्ने असमर्थता र ए डि एच डि लगायत सबै मानव असिद्धताहरूको कारण प्रथम मानव, आदम हो भनी बाइबल विद्यार्थीहरूलाई थाह छ। (रोमी ५:१२) सृष्टिकर्ता यहोवाले धार्मिक नयाँ संसार ल्याउने प्रतिज्ञा पूरा गर्नुहुनेछ र त्यहाँ यस्ता पीडादायी रोगबिमारहरू हुनेछैनन् भनेर पनि तिनीहरूलाई थाह छ। (यशैया ३३:२४; प्रकाश २१:१-४) ए डि एच डि जस्तो असन्तुलनता भोगिरहेकाहरूको लागि उक्त आश्वासन आशाको ठूलो आधार हो। जोन भन्छन्, “उमेर, तालिम तथा अनुभवले गर्दा हाम्रो छोराले आफ्नो समस्यालाई बुझ्न थालेको छ। तर यस रीतिरिवाजमा ऊ पूर्णतया निको भने हुनेछैन। यहोवाले हाम्रो छोराको रोग निको पार्नुहुनेछ र उसले जीवनको पूरा आनन्द उठाउन सक्नेछ भन्ने कुराले हामीलाई दिनहुँ सान्त्वना दिन्छ।”
[फुटनोटहरू]
a ब्यूँझनुहोस्!-ले कुनै एउटा उपचारको पक्ष लिंदैन। तर आफूले रोजेको उपचारविधि बाइबल सिद्धान्तहरू विपरीत नहोस् भनेर मसीहीहरू होशियार हुनुपर्छ।
b कसै कसैलाई औषधीहरू खाएपछि नकारात्मक असरहरू हुने गर्छ। जस्तै चिन्ता बढ्ने र अन्य प्रकारका भावनात्मक समस्याहरू। यसबाहेक, लग्गू पार्ने औषधीहरूले गर्दा बिरामीहरूमा चालै नपाई फतफताउने वा शरीरका विभिन्न भागहरू हल्लाउने बानी लाग्नसक्छ। तसर्थ, चिकित्सकको राम्रो रेखदेखबिना जथाभावी औषधी खानु हुँदैन।
[पृष्ठ ८-मा भएको पेटी]
आमाबाबुले ध्यान दिनुपर्ने कुराहरू
सबैजसो केटाकेटीहरू समय समयमा चकचके, मनमा जे आयो त्यही गर्ने र छुकछुके हुन्छन्। यसो भन्दैमा तिनीहरूलाई ए डि एच डि भएको छ भन्नु मिल्दैन। ढिला हुनुअघि (अंग्रेजी) पुस्तकका लेखक डा. स्टान्टन इ. सामेनो यस्तो टिप्पणी गर्छन्: “मैले यस्ता थुप्रै घटनाहरू देखेको छु, जब बच्चाले कुनै कुरा गर्न चाहँदैन भने उसमा केही कमजोरी छ वा यो हुनुमा उसको कुनै दोष छैन भन्ठानेर उसलाई मनपरी गर्ने छुट दिइन्छ।”
डा. रिचर्ड ब्रमफिल्डले पनि होशियार हुनुपर्ने अर्को क्षेत्र देखेका छन्। तिनी यसप्रकार लेख्छन्, “निस्सन्देह, ए डि एच डि भएका केही व्यक्तिहरूको दिमागले नै ठीकसित काम गर्दैन र औषधी गर्नुपर्ने हुन्छ। तर कहिलेकाहीं दुर्व्यवहार, ढोंग, लापरवाही वा सामाजिक विकृतिहरूसमेत यसैले गर्दा भएको हो भनिन्छ, जबकि ए डि एच डि-सित प्रायजसो यसको कुनै सम्बन्ध नै हुँदैन। भनौं भने, वर्तमान समाजमा व्याप्त नैतिक मूल्य तथा मान्यताहरूको अभाव, जथाभावी हिंसा, लागू पदार्थको दुर्व्यसन र अव्यवस्थित घरपरिवारले बरु ए डि एच डि जस्तो छुकछुकेपन बढाउने अनि दिमागलाई अस्तव्यस्त गर्नसक्छ।”
त्यसकारण डा. रोनाल्ड गोल्डवर्गले ए डि एच डि-को नाउँमा “विभिन्न विकृतिहरूलाई” छुट नदिन चेताउनी दिन्छन्। तिनी “सही निष्कर्षमा पुग्न कुनै कसर बाँकी नराख्ने” सल्लाह दिन्छन्। ए डि एच डि जस्तो देखिने लक्षणहरू शारीरिक वा भावनात्मक समस्याले गर्दा पनि भएको हुनसक्छ। यसकारण सही निदान गर्न अनुभवी चिकित्सकको सहयोग चाहिन्छ।
रोग निदान भइसकेपछि पनि आमाबाबुले औषधोपचारका फाइदा बेफाइदा केलाउनु बुद्धिमानी हुनेछ। रिटालीन नाउँको औषधीले कतिपय असरहरू हटाउनसक्छ तर निद्रा नलाग्ने, चिन्ता बढ्ने, आत्तिनेजस्ता प्रतिकूल असरहरू पनि हुनसक्छन्। तसर्थ, डा. रिचर्ड ब्रमफिल्डले लक्षणहरू हटाउन बच्चालाई औषधी खुवाइहाल्न हतार नगर्ने सुझाउ दिन्छन्। तिनी यसो भन्छन्, “नचाहिएको बेलामा पनि थुप्रै बच्चा तथा वयस्कहरूलाई रिटालीन दिइन्छ। आमाबाबु तथा शिक्षकहरूले बच्चाको आचरणलाई कुन हदसम्म सहनसक्छन्, त्यसैको आधारमा रिटालीन दिने गर्छन् जस्तो छ। मैले त्यस्ता केटाकेटीहरू पनि देखेको छु जसलाई रिटालीन दिनुको कारण तिनीहरूको आवश्यकता पूरा गर्न होइन तर तिनीहरूलाई शान्त पार्न थियो।”
त्यसकारण आमाबाबुले आफ्नो बच्चालाई ए डि एच डि वा सिक्ने असमर्थता छ भनी तुरुन्तै किटान गरिहाल्नु हुँदैन। बरु, निपुण विशेषज्ञको मदतले लक्षणहरूलाई राम्ररी जाँच्नुपर्छ। बच्चालाई साँच्चै ए डि एच डि भएको वा सिक्ने असमर्थता नै छ भने आमाबाबुले त्यससम्बन्धी जतिसक्दो बढी जानकारी हासिल गर्नुपर्छ। यसो गरेको खण्डमा छोराछोरीको भलो हुने कदम चाल्नसकिन्छ।
[पृष्ठ ९-मा भएको चित्र]
ए डि एच डि भएको बच्चालाई निरन्तर मायालु ढंगले अनुशासन दिनु खाँचो छ
[पृष्ठ १०-मा भएको चित्र]
आमाबाबुको तारिफले निकै लाभ पुऱ्याउँछ