के तपाईंले थाइलासाइन देख्नुभएको छ?
अष्ट्रेलियाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
‘देख्न त परै जाओस् थाइलासाइन भनेको के हो त्यो समेत मलाई थाह छैन।’ तपाईं यसरी भन्नुहोला।
वास्तवमा “थाइलासाइन” जीवविज्ञानी नाउँ थाइलासाइनस साइनोसेफालस्-को संक्षिप्त रूप हो। यो अष्ट्रेलियामा पाइने आकर्षक पशु तास्मानियाली बाघ अथवा तास्मानियाली ब्वाँसोको नाउँ हो।
थाइलासाइनस साइनोसेफालस्-को शाब्दिक अर्थ “टाउको ब्वाँसोको जस्तो र थैली भएको कुकुर” हो। तर अष्ट्रेलियाको सानो द्वीप तास्मानियामा बसोबास गर्ने पहिले पहिलेका युरोपेली बासिन्दाहरूले यसलाई थुप्रै सरल नाउँहरू दिएका थिए। तीमध्ये जेब्रा ओपोसम, हाइना, जेब्रा ब्वाँसो र कुकुर-टाउके ओपोसमजस्ता नाउँहरू निकै प्रचलित भए। लगभग २०० वर्षअघि मात्र आएर बसोबास गर्ने श्वेत मानिसहरूभन्दा धेरै अघिदेखि रहने यहाँका आदिवासीहरूले थाइलासाइनलाई करिना नाउँले जान्दथे।
अहिले तास्मानियाली बाघलाई विलुप्त जनावर मानिन्छ। तर तपाईंले संग्रहालयमा यिनीहरूका निर्जीव नमुनाहरू भेट्टाउन सक्नुहुन्छ। अन्तिम मानिएको थाइलासाइन सन् १९३६ मा तास्मानियाको राजधानी होबर्टमा मऱ्यो। तथापि, तास्मानियाको उजाड़स्थानमा अझै थाइलासाइन लुकेर बसेका छन् भनी दाबा गर्ने मानिसहरू भेट्टाएका छन् र त्यसलाई देखेको रिपोर्ट बेलाबेला सुनिन्छ।
यो पशु बाघ परिवारको नभए तापनि धर्के भुत्ला भएको र मांसाहारी हुनाले शायद यसलाई तास्मानियाली बाघ भनिएको हो। प्रष्ट देखिने झन्डै-झन्डै निखुर कालो तर गहिरो फुस्रो रंगको तेर्सो धर्का यसको पिठ्यूँदेखि दह्रो पुच्छरसम्मै हुन्छ। थाइलासाइनसित भएको अर्को अद्भुत कुरा के हो भने, पोथीको बच्चा बोक्ने थैली हुन्छ। भर्खर जन्मेको बच्चा सानो, अपरिपक्व र आँखा नदेख्ने हुन्छ। त्यसैले पूर्ण वयस्क र बलियो नभएसम्म यिनीहरूलाई थैलीमा राखेर माउले दूध चुसाउँछिन्। तीन महिनापछि यी बच्चाहरू साहसिलो भई माउको थैलीबाट बाहिर निस्कन्छन्। माउको थैलीबाट बाहिर निस्केपछि यिनीहरू चाँडै नै आफ्नो आहारको निम्ति माउको पछि पछि लाग्छन्।
बच्चालाई थैलीमा राखेर हिंड्ने स्तनपायी जनावरहरूमध्ये सबैभन्दा ठूलो मांसाहारी पशु थाइलासाइन हो भनी हालै दाबा गरिएको छ। बच्चालाई थैलीमा बोकेर हिंड्ने जनावरहरू जस्तै, कंगारू, वाल्लबाइज, ओपोसमस, कोलास्, र वुम्ब्याट्सको भन्दा यसको थैली भिन्न हुन्छ। किनकि यसको थैलीको मुख तल्तिर हुन्छ। यसले एकपल्टमा चारवटा बच्चालाई बोक्न र दूध चुसाउन सक्छे।
थाइलासाइन कहाँ कहाँ पाइन्थ्यो?
अष्ट्रेलियाको धेरै ठाउँहरूमा थाइलासाइनको ढुंगामा खोपेका पुराना चित्रहरू, जीवाश्महरू र ममीहरूको नमुनाहरू पाए तापनि यो मुख्यतया तास्मानियामा नै बस्थ्यो भनेर पत्ता लागेको छ। तर त्यहाँ पनि यो कहिल्यै प्रशस्त हुन सकेन। यसमा मानवजातिकै ठूलो हात छ। तास्मानियाली बाघ आफै शिकारी भए तापनि, धूर्त र लोभी श्वेत मानव शिकारीहरूदेखि यसले आफैलाई रक्षा गर्न सकेन। थाइलासाइन जिज्ञासु र मान्छेसित एकदमै नडराउने हुनाले बन्दुक र पासोद्वारा यसलाई सहजै शिकार गर्न सकिन्थ्यो।
तास्मानिया बाघले भेंडा मार्छ भनी धेरै कृषकहरूले दाबा गरेका हुनाले ठूलठूला पशु पालकका साथै तास्मानिया सरकारले यसलाई नाश गर्न आकर्षक इनाम राखिदिएका थिए। पासोमा परेका जीवित थाइलासाइनहरूलाई चाहिं विदेशी चिडियाखानाहरूले स्वेच्छापूर्वक लान्थ्यो। निस्सन्देह, धेरै वर्षअघि तास्मानियामा देखा परेको गम्भीर अज्ञात रोगले ठूलो संख्यामा वन्यजन्तु मास्दा थाइलासाइनलाई पनि असर गरेको भए तापनि, यो विलुप्त हुनुको मुख्य कारण मान्छे नै हो।
शिकार गर्ने अनुपम तरिकाहरू
साधारणतः थाइलासाइन एक्लै शिकार गर्ने भएपनि कहिलेकाहीं जोडी भएर गर्थ्यो। यसले स-साना कंगारूजस्ता पशुलाई नथाकुञ्जेल खेदिरहन्थ्यो। आफ्नो शिकार थाकेर शिथिल भएपछि झम्टेर शक्तिशाली दाँतद्वारा त्यसलाई मार्थ्यो। यो असाधारण पशुको अर्को विशेषता के थियो भने, यसले १२० डिग्रीको कोणसम्म अचम्म रीतिले मुख खोल्थ्यो।
थाइलासाइनले सिनुको भित्री अंगहरू मात्र खाने हुनाले केही मानिसहरूले तिनीहरूलाई निर्दयी हत्यारा सम्झन्थे। तर योभन्दा सानो खालको तास्मानिया दियाबल भन्ने अर्को दुइ थैली हुने मांसाहारी पशुले (अहिले पनि पाइन्छ) यसले यसरी खेर फालेको हड्डी, भुत्ला र अरू जम्मै कुराहरूलाई सफाचट पार्थ्यो।
स्पष्टतया, थाइलासाइन मान्छेको निम्ति खतरनाक जनावर थिएन। यसले मान्छेको शिकार गर्थ्यो भन्ने कुनै प्रमाण छैन। एक जना वृद्ध मानिसले बितेका घटनाको स्मरण गर्दै धेरै वर्षअघि एक साँझ आफ्नो पालबाहिर आगोको अघि बसेर किताप पढिरहेको बताउँछन्। अकस्मात्, तिनले आगोको ज्वालाबीचबाट तास्मानियाली बाघ बिस्तारै आक्रामक दावमा आफूतिर लम्किरहेको देख्यो। त्यसले आक्रमण गर्छ भन्ने डरले तिनले बिस्तारै बन्दुक उठाएर आगोबीचबाटै निशाना लगाइ पड्काइदिए। थाइलासाइन बुद्रुक्क पछिल्तिर उफ्रियो। तर स्पष्टतया, त्यो त्यति गम्भीर रूपमा घाइते भएको थिएन। किनकि त्यो उफ्रेर अंध्यारोमा लुप्त भयो। तब त्यो कति घाइते भयो होला भनी जाँच्न रगतको दाग हेर्न जाँदा तिनले आगोकै ठीक अघिल्तिर एउटा ठूलो ओपोसम तिनको बन्दुकको गोली लागेर मरिरहेको भेट्टाए। वास्तवमा थाइलासाइनले त्यसलाई पो शिकार बनाउन खोजिरहेको थियो!
यसलाई देखेको रिपोर्टहरूबारे के भन्न सकिन्छ?
चिडियाखानामा राखिएको अन्तिम भनी मानि लिइएको थाइलासाइन १९३६ मा मरेपछि अरू थाइलासाइनलाई देखेको धेरै रिपोर्टहरू गरिएको छ। तर आजसम्म थाइलासाइन अझै पाइन्छ भनेर जीव वैज्ञानिकहरूलाई विश्वस्त गराउने कुनै प्रमाणहरू भेटिएका छैनन्। यस्तो लाग्छ, थाइलासाइनको वास्तविक तस्बिर अथवा त्यसलाई जिउँदै पक्रेमा मात्र यी विशेषज्ञहरू विश्वस्त हुनेछन्।
तास्मानियाका गाउँहरूमा बस्ने अधिकांश वृद्धहरूले तास्मानियाली बाघलाई देखे पनि रिपोर्ट नगर्ने कुरा बताउँछन्। यो अनुपम जनावर लोप हुनुमा तिनीहरूभन्दा अघिका मानिसहरू स्पष्ट रूपले जिम्मेवार रहेकोमा यी वृद्धहरू खेद प्रकट गर्छन्। यदि अझै थाइलासाइनहरूको अस्तित्व छन् भने, यस्ता मानिसहरू तिनीहरूलाई कुनै हानि नगरिकन बाँच्न दिन चाहन्छन्।
तसर्थ, तिनीहरूलाई “हालै तपाईंले थाइलासाइनलाई देख्नुभएको छ?” भनेर सोध्दा देखे पनि नदेखे पनि तिनीहरूको उत्तर हुन्छ—“अहँ!”
[पृष्ठ १६-मा भएको चित्रको स्रोत]
Tom McHugh/Photo Researchers