माहुरी कहिले माहुरी हुँदैन?
माहुरीहरू व्यस्त जीवन बिताउँछन्, दिन दिनै थुप्रै फूलहरूबाट चाकामा मधु-रस ल्याउँछन्। बसन्त ऋतु आउँदा भाले माहुरी जोडी खोज्न थाल्छ। यसको लागि तिनीहरू दृष्टि र बास्नामा भर गर्छन्। तथापि, टाढ-टाढा देख्न नसक्ने माहुरीको ध्यान अर्को एउटा कुराले पनि आकर्षित गर्न खोज्छ। त्यो हो सुनाखरी।
दक्षिणी युरोपमा यस्ता थुप्रै जंगली सुनाखरीहरू छन् जसले पराग सेचनको लागि आफूजस्तै देखिने पोथी माहुरीको रूप धारण गर्नुपर्छ। यी सुनाखरीहरूले अर्को सुनाखरीलाई परागको “पोकाहरू” पठाउनुपर्छ। माहुरीहरू यसका सुहाउँदा बाहकहरू हुन्। तर यी सुनाखरीहरूसित माहुरीलाई आकर्षित गर्ने स्वादिलो मधु-रस नभएकोले चलाखी गर्नुबाहेक अरू उपाय नै छैन। अनि चलाखी चाहिं के हो भने फूलको आकार र यसको बास्ना झन्डै पोथी माहुरीको जस्तै भएकोले भाले माहुरीले सम्बन्ध गाँस्न खोज्छ! हरेक सुनाखरीको आफ्नै प्रकारको रूप र बास्ना हुन्छ।
माहुरीले आफ्नो गल्ती थाह पाउञ्जेलसम्म सुनाखरीले माहुरीको शरीरमा टन्नै पराग टाँसिदिइसकेको हुन्छ। त्यसपछि, माहुरी उडेर जान्छ तर फेरि अर्को सुनाखरीले छक्काइहाल्छ, अनि त्यसले पराग पाउँछ। थुप्रै चोटि यसरी छक्किएपछि माहुरीले यी सुनाखरीहरूलाई विश्वास गर्न नहुने रहेछ भनेर थाह पाउँछ। त्यतिञ्जेल उसले थुप्रै फूलहरूको पराग सेचन गरिसकेको हुन्छ।
यी सोचविचार गर्न नसक्ने सुनाखरीहरूले माहुरीलाई झुक्याउनसक्ने सुहाउँदो बास्ना र रूप कहाँबाट पाए? त्यस्तो उल्लेखनीय रचनाले बुद्धिमान् सृष्टि- कर्ताको अस्तित्वको प्रमाण दिन्छ जसको सृष्टिले सधैं अचम्मित र मोहित पार्छ।