प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ४/८ पृ. २३-२६
  • कारनियोलान माहुरीजस्तो व्यस्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कारनियोलान माहुरीजस्तो व्यस्त
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “माहुरीपालकहरूको देश”
  • कारनियोलान माहुरीको ख्याति फैलिन्छ
  • लोकप्रिय प्रतीक
  • माहुरीपालन—“गुलियो” कथा
    ब्यूँझनुहोस्‌!—१९९७
  • माहुरी कहिले माहुरी हुँदैन?
    ब्यूँझनुहोस्‌!—१९९८
  • अस्ट्रेलियाको नचिल्ने मौरीलाई चिन्‍नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०००
  • मह—मानिसलाई मौरीको उपहार
    ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००४
g04 ४/८ पृ. २३-२६

कारनियोलान माहुरीजस्तो व्यस्त

स्लोभेनियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

माहुरीहरू परिश्रमी भनेर चिनिन्छन्‌। यद्यपि, यस सन्दर्भमा एक प्रकारको माहुरी भने उल्लेखनीय छ, त्यो हो कारनियोलान माहुरी।a यस माहुरीलाई हाल पश्‍चिमी स्लोभेनियामा पर्ने कारनियोला जिल्लाको नाउँ दिइएको हो। पहिला-पहिला यो माहुरी बाल्कन प्रायद्वीपभरि मात्र र सुदूर उत्तरको कारपाथियन माउन्टेनसम्मै पाउन सकिन्थ्यो। तथापि, अचेल माहुरीपालन गर्नेहरूमाझ कारनियोलान माहुरीको लोकप्रियता बढ्‌नुका साथै स्वयम्‌ माहुरीहरू पनि विश्‍वभर फैलिएका छन्‌।

कुन कुराले कारनियोलान माहुरीलाई त्यस्तो लोकप्रिय बनाएको छ? उच्च कोटिको मह प्रशस्त मात्रामा उत्पादन गर्नुका साथै रोग तथा चिसो मौसम प्रतिरोध गर्ने क्षमता पनि धेरै हुनुको अलावा, कारनियोलान माहुरी एकदमै भद्र र शान्त स्वभावको हुन्छ। यिनीहरू हूल बाँधेर घारबाट छुट्टिने भएकाले, एउटै घारमा ठूलो परिमाणमा माहुरीपालन गर्नु निकै कठिन हुने भए तापनि छनौट प्रजनन प्रक्रिया अपनाएर छुट्टिने क्रमलाई कम गरिएको छ। तर कुन कुराले गर्दा कारनियोलान माहुरीहरूले अरू माहुरीभन्दा व्यस्त भन्‍ने संज्ञा पाएका छन्‌? एउटा कारण त, अरू माहुरीभन्दा तिनीहरू बिहान सबेरै आफ्नो घारबाट निस्कन्छन्‌। यस प्रकार, तिनीहरूले आफ्नो घारमा मह बनाउनको लागि धेरै मधु-रस ल्याउन समय पाउनुका साथै टाढ-टाढाबाट मधु-रस ल्याउन सक्छन्‌।

“माहुरीपालकहरूको देश”

स्लोभेनियामा माहुरीपालनको लामो र रोचक इतिहास छ। स्लोभेनियाली जीव विज्ञानी, यानेज ग्रिगोरी आफ्ना देशवासीलाई “माहुरीपालकहरूको देश”-को रूपमा समेत वर्णन गर्छन्‌। अनि साँच्चै, सा.यु. आठौं शताब्दीतिर नै स्लोभेनियालीहरू निपुण माहुरीपालकहरूको रूपमा चिनिन्थे। त्यस समयदेखि १८०० को दशकसम्म, तिनीहरूले प्रयोग गर्ने घारहरू धोद्रो परेका रूखबाट बनाइएका हुन्थे। यी घारहरूलाई कुनै-कुनै स्लोभेनियाली प्रान्तहरूमा कोरिटा अथवा डुँड पनि भनिन्थ्यो। तथापि, लगभग १५ औं शताब्दीतिर काठ चिर्ने मिलको आविष्कारसँगै रूखको मुढोबाट बनाइएका पुराना डुँडहरूको ठाउँमा बोर्ड वा फल्याकहरूले बनाइएका घारहरू आए। यी घारहरू लाम्चो आकारको भएकाले गर्दा यसलाई ठट्टै-ठट्टामा ट्रुज अथवा लास राख्ने बाकस भनिएको थियो।

मह र मैनको ठूलो मागले गर्दा माहुरीपालन आर्थिक रूपमा यत्ति महत्त्वपूर्ण भयो कि त्यस देशका शासकहरूको ध्यान यसप्रति खिचियो, जसले खास-खास व्यक्‍तिविशेषलाई मात्र यो व्यवसाय चलाउने एकाधिकार दिएका थिए। सरकारले यस किसिमको चासो लिनुको कारण बुझ्न सकिन्छ किनभने त्यसताक विशेष गरेर चर्च तथा गुम्बाहरूमा प्रयोग गरिने मैनबत्तीको लागि मैन आवश्‍यक थियो भने, त्यतिखेर कुनै कुरालाई गुलियो बनाउने वस्तुको रूपमा मह मात्रै उपलब्ध थियो। सन्‌ १५०० तिरको समयमा, फापरको खेती लगाउन थालेपछि शरद-ऋतुमा माहुरीहरूको मुख्य आहार नै यही हुन पुग्यो र यसले गर्दा महको उत्पादनमा अझै वृद्धि भयो। धेरै समय नबित्दै, कारनियोलाले ठूलो परिमाणमा मह तथा माहुरीको चाका निर्यात गरिरहेको थियो। सत्रौं शताब्दीका कारनियोलानका शास्त्रविद्‌, भाल्भाजोरको रिपोर्टअनुसार, १६०० दशकको मध्यतिर त कारनियोलाले अष्ट्रियाको साल्जबर्ग प्रान्तमा मात्रै वर्षेनी “हजारौं क्विन्टल” मह निर्यात गरिरहेको थियो।b

कारनियोलान माहुरीको ख्याति फैलिन्छ

वर्षौंको दौडान, कारनियोलाले माहुरीपालनसम्बन्धी विज्ञान र कलाको क्षेत्रमा थुप्रै महत्त्वपूर्ण योगदानहरू पुऱ्‍याएको छ। सन्‌ १७७० को प्रारम्भतिर, सम्राज्ञी मारिया थेरेसाले अप्पर कारनियोलाको एक जना रैथाने, एनटोन यान्सा नाउँका व्यक्‍तिलाई अष्ट्रियाको भियनामा भर्खरै स्थापना गरिएको माहुरीपालनसम्बन्धी स्कूलमा माहुरीपालनको पहिलो प्रशिक्षक नियुक्‍त गरिन्‌। सन्‌ १८०० को अन्ततिर, माहुरी अनुसन्धाताहरूले कारनियोलाका जब्बर माहुरीहरू थुप्रै क्षेत्रका माहुरीपालकहरूलाई अनुकूल भएको कुरा पत्ता लगाए। त्यसैताक कारनियोलान माहुरीले पनि आफ्नो नाउँ पायो र सारा संसारभरि फैलिन थाल्यो। साँच्चै भन्‍ने हो भने, २० औं शताब्दीको सुरुसम्ममा कारनियोलाले “रेलका डिब्बा-डिब्बाभरि माहुरीका घारहरू” निर्यात गर्न थालिसकेको थियो र प्रत्येक घारमा कारनियोलान माहुरीको एक परिवार हुन्थ्यो।

त्यसै समयतिर, काठको फल्याकले बनाएको परम्परागत माहुरीको घारले क्रनयिच अथवा “कारनियोलान माहुरीको घार” भन्‍ने नाउँ पायो। क्रनयिच चाखलाग्दो हुनुको कारण चाहिं यो बनाउन प्रयोग गरिने विशेष कलाले गर्दा हो। (पृष्ठ २४ मा दिइएको “माहुरीको घारमा चित्रहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।) हाल स्लोभेनियामा ७,००० भन्दा बढी माहुरीपालकहरूले १,६०,००० भन्दा बढी माहुरीका घारहरूको हेरविचार गर्छन्‌। राडोभिका सहरमा त झनै स्लोभेनियाका माहुरीपालनको इतिहासमा समर्पित, माहुरीपालनसम्बन्धी विशेष सङ्‌ग्रहालयसमेत छ।

लोकप्रिय प्रतीक

स्लोभेनियालीहरूले धेरै लामो समयदेखि माहुरीलाई परिश्रम र व्यावहारिक बुद्धिको प्रतीकको रूपमा मान्दै आएका छन्‌। सन्‌ १६९३ मा, हालको स्लोभेनियामा स्थापित सबैभन्दा पहिलो वैज्ञानिक समाजलाई परिश्रमीहरूको समाज भनियो र यसको प्रतीकमा माहुरीलाई समावेश गरियो। यसका सदस्यहरूले आफूलाई एप्स्‌-समेत भन्‍ने गर्थे, जसको अर्थ ल्याटिन भाषामा “माहुरी” हुन्छ। साथै, स्लोभेनियालीहरूलाई चिनाउने मितव्ययिताको प्रतीक, माहुरीलाई आर्थिकजगत्‌मा समेत प्रतीकको रूपमा प्रयोग गरिएको छ। माहुरीको चित्र बैंक पासबुकमा र स्लोभेनियाली कुनै-कुनै सिक्काहरूको पछाडिपट्टि देख्न सकिन्छ।

स्लोभेनियालीहरू आफूमा माहुरीको गुण भए जस्तो ठान्छन्‌ किनभने तिनीहरूले परिश्रमी मानिसहरूको रूपमा नाउँ कमाएका छन्‌। स्लोभेनियामा एउटा भनाइ छ, “माहुरीहरूलाई हेर र तिनीहरूको देखासिकी गर।” त्यसैकारण, व्यस्त माहुरी भुनभुनाइरहेको देख्नुहुँदा वा तिनीहरूको परिश्रमको फल, मह चाख्नुहुँदा सायद यसले तपाईंलाई कडा परिश्रम गर्ने कारनियोलान माहुरीहरूको सम्झना दिलाउन सक्छ। (g04 3/22)

[फुटनोटहरू]

a कारनियोलान माहुरीको पेटमा खरानी रङका रौंका घेराहरू हुन्छन्‌।

b एक क्विन्टलमा १०० किलोग्राम वा लगभग २२० पाउण्ड हुन्छ।

[पृष्ठ २४-मा भएको पेटी/चित्र]

माहुरीको घारमा चित्रहरू

परम्परागत स्लोभेनियाली माहुरी पाल्ने ठाउँमा, माहुरीका घारहरू घर्राजस्तो एकमाथि अर्को गर्दै ठूलो चारकुने कन्तुरको आकारमा थाक-थाक राखिएका हुन्छन्‌ र तान्‍ने भागचाहिं अघिल्तिर फर्केको हुन्छ। माहुरीका घारहरूको अघिल्लोपट्टिको फल्याकमा तैलचित्र बनाउने कला १७०० दशकको सुरुदेखि फस्टाउन सुरु भएर १९०० दशकसम्म कायम रह्‍यो। यस अद्वितीय कलाको लगभग ३,००० वटा नमुना जगेर्ना गरेर राखिए तापनि वर्षौंको दौडान बनाइएका तथा सिंगारिएका माहुरीका घारहरूमध्ये यी अत्यन्तै थोरै प्रतिशत मात्र हुन्‌।

फल्याकमा कोरिएका चित्रहरू मुख्यतया धार्मिक छन्‌ र यसमा “सन्त” तथा बाइबलका कथाहरू चित्रण गरिएका छन्‌। तर चित्रहरूमा जनावर र आफ्नो व्यापार-व्यवसाय गरिरहेका मानिसहरू लगायत विभिन्‍न किसिमका काल्पनिक तथा हाँसउठ्‌दा दृश्‍यहरू पनि छन्‌। कुनै-कुनै चित्रहरू पारिवारिक सम्बन्धसित सम्बन्धित छन्‌। उदाहरणका लागि, कुनै-कुनै चित्रमा अर्काको निन्दोचर्चो गर्ने आइमाईको जिभ्रोलाई दुई जना राक्षसले सान लगाइरहेको देखाइएको हुन्छ भने, अरूमा चाहिं श्रीमतीले आफ्नो श्रीमान्‌लाई भट्टीबाट घिसार्दै घर लगिरहेको चित्रण गरिएको हुन्छ।

माहुरीको घारमा बनाइएका चित्रहरूलाई “स्लोभेनियाली सांस्कृतिक सम्पदाका मोतीहरू”, “लोकज्ञानको प्राचीन इन्साइक्लोपीडिया” र “एकदमै असली स्लोभेनियाली कला” भनी खूब तारिफ गरिएको छ। तर ती चित्रहरूको एउटा अर्को उद्देश्‍य पनि थियो। एकै ठाउँमा थुप्रै घारहरू हुने भएकाले, झुक्किएर माहुरीले अर्काको घारमा पस्नेजस्तो घातक गल्ती गर्न सक्छ जसको फलस्वरूप अतिक्रमण गर्ने शत्रुको रूपमा मारिन पनि सक्छ। प्रत्येक घारको पुछारमा बनाइएका रङ्‌बिरङ्‌गी चित्रहरूले माहुरीहरूलाई आ-आफ्नै घारमा फर्किआउन मदत गर्छन्‌ भनी माहुरीपालकहरू विश्‍वास गर्थे।

[चित्र]

“आदम र हव्वा”

“मिश्रमा बेचिएका यूसुफ”

“येशू यरूशलेम आइपुग्नुहुन्छ”

रङरोगन गरिएको परम्परागत खापासहितको ठेट स्लोभेनियाली माहुरी पाल्ने ठाउँ

[स्रोत]

All apiary photos: Z dovoljenjem upravitelja rojstne hiše pisatelja Josipa Jurčiča

[पृष्ठ २३-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

अष्ट्रिया

इटाली

स्लोभेनिया

कारनियोला

क्रोएसिया

एड्रिया समुद्र

[स्रोत]

Map: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ २४-मा भएको चित्र]

कारनियोलाको प्रख्यात माहुरीको चित्र अंकित स्लोभेनियाली सिक्का

[पृष्ठ २५-मा भएको चित्र]

लार्भा

[पृष्ठ २५-मा भएको चित्र]

जवान कामदार माहुरीहरूको घेराबीच रानी माहुरी

[पृष्ठ २५-मा भएको चित्र]

Foto: Janez Gregori

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने