सुरक्षाको लागि पेटी बाँध्नुहोस्
◼ संयुक्त राज्यमा ५ देखि २४ वर्षबीचका व्यक्तिहरूको मृत्युको प्रमुख कारण गाडी दुर्घटना भएको छ।
◼ जापानमा स्तन क्यान्सरले मर्नेहरूभन्दा दुगुना र प्रोस्ट्रेट क्यान्सरले मर्नेहरूभन्दा चौगुना बढी मानिसहरू सडक दुर्घटनामा मर्छन्।
◼ युरोपमा नरहत्याभन्दा चार गुना बढी मानिसहरू गाडी दुर्घटनामा मर्छन्।
यी तथ्यांकहरूले आङै सिरिङ पार्छन् र गाडीबाट यात्रा गर्दाको एउटा प्रमुख खतरालाई प्रकाश पार्छ। त्यो हो, गाडी बेस्सरी हाँक्दा मृत्यु हुनसक्छ। रक्सी खाएर गाडी बेस्सरी हाँक्दा त मान्छेको ज्यानै जानसक्छ। धन्न, दुर्घटना तथा क्षति कम गर्न सकिन्छ। यो कसरी सम्भव छ?
होसियारीपूर्वक गाडी हाँक्ने बानी बसाल्नु राम्रो सुरुआत हो। यसो गर्दा १० वटा दुर्घटनामध्ये ९ वटालाई रोक्न वा हुनै नदिन सकिन्छ भनी सुरक्षा विशेषज्ञहरू दाबी गर्छन्। निर्धारित गतिभन्दा बेस्सरी हाँक्ने, अर्को गाडीलाई घरीघरी ओभरटेक गर्ने, बिनसित्ति कहिले दायाँ कहिले बायाँ काट्ने, अर्को गाडीको पछाडि जथाभावी गाडी हाँक्ने, लागूपदार्थ वा मद्यपानको नशामा गाडी हाँक्ने, राम्रो स्याहारसम्भार नगरेको गाडी हाँक्ने इत्यादि सबै राम्रा बानीहरू होइनन्। जीवनको आदर तथा सँगी मानवहरूप्रतिको प्रेमले हामीलाई गाडी चलाउँदा होसियार हुन तथा जिम्मेवारी भाव राख्न उत्प्रेरित गर्नुपर्ने हो।—मत्ती ७:१२.
सुरक्षा पेटीहरू अर्को सजिलो सुरक्षा विधि हो तर प्रायजसो यसको बेवास्ता गरिन्छ। स.रा. यातायात विभागका प्रवक्ता टिम हर्डअनुसार “सुरक्षा पेटी बाँधेका छौं भने दुर्घटना भएकै खण्डमा पनि ज्यान जोगिनसक्छ। यसो गर्दा बच्ने सम्भावना दुगुना हुन्छ।” साना केटाकेटीहरूलाई सुरक्षा पेटी लगाइदिएको छ भने दुर्घटना हुँदा ज्यान जोगिने सम्भावना झण्डै तीन गुणा बढी हुन्छ।a
यी सबै सुरक्षाविधिहरूको बावजूद संयुक्त राज्यका झण्डै एक तिहाइ यात्रुहरू सिट पेटी बाँध्दैनन्। तपाईं आमा या बुबा हुनुहुन्छ भने गाडी हाँक्नुअघि तपाईंको बच्चाले सिट पेटी राम्ररी बाँधेको छ कि छैन भनेर के तपाईं यकिन गर्नुहुन्छ? पेटी बाँध्न जति नै समय किन नलागोस्, त्यो खेर जाँदैन।
[फुटनोट]
a राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन यस्तो सुझाउ दिन्छ: “पछिल्तिर फर्केका पोर्टेबल सिटमा बस्ने बच्चाहरूलाई अगाडीको सिटमा राख्नु हुँदैन किनभने अगाडिको सिटमा यात्रुहरूका लागि एरब्याग राखिएको हुन्छ। दुर्घटना हुँदा आफै एरब्याग खुल्छ र सिटमा ठोकिएर बच्चालाई चोटपटक लाग्नसक्छ।”