जर्जिया—संरक्षित पुरातन सम्पदा
ब्यूँझनुहोस्! संवाददाताद्वारा
हिउँले ढाकिएका ४,६०० मिटर अग्ला पर्वतमालाहरूको बीचमा अवस्थित उर्वर उपत्यकामा के तपाईं बस्न चाहनुहुन्छ, जहाँ कोही कोही मानिसहरू १०० वर्ष वा त्योभन्दा बढी बाँच्छन्? जर्जियाका निवासीहरूका लागि यो कुनै सपना होइन। यो वास्तविकता हो।
युरोप र एसियाको भौगोलिक तथा सांस्कृतिक सिमानामा जर्जिया अवस्थित छ। पुरातन समयमा प्रख्यात सिल्क रोडको एउटा महत्त्वपूर्ण स्थान जर्जिया थियो र मार्को पोलो चीन गएको मार्ग पनि यही थियो। पूर्व र पश्चिमबीच सम्पर्क भएको हुँदा जर्जियाले आर्थिक तथा सांस्कृतिक दृष्टिकोणबाट फाइदा उठायो तर कहिलेकाहीं आक्रमणकारीहरू धनमाल लुट्न यही बाटो भएर आउने जाने गर्थे। एउटा अनुमानअनुसार जर्जियाको राजधानी, टिबिलसी २९ चोटि तहसनहस पारिएको थियो! आज, टिबिलसी व्यस्त तथा जगमग शहर भएको छ र यहाँ सबवे, आधुनिक भवनहरू तथा धेरैअघि निर्मित कलात्मक स्मारकहरू छन्।
जर्जियाको लगभग ८७ प्रतिशत भूभाग पहाडी छ। चिसो तथा निर्जन पहाडी इलाका र प्रदेशहरूहुँदो बग्ने २५,००० वटा नदीहरूमा ट्राउट माछा प्रशस्त छन्। यस मुलुकको एक तिहाइभन्दा बढी भूभाग जंगल वा बुटाबुटीहरूले ढाकेका छन्। जर्जियाको उत्तरी सीमाको ककेसस पर्वतमालाले देशको भित्री भूभागलाई उत्तरबाट बहने चिसो बतासबाट बचाउँछ। यसकारण, पश्चिमी जर्जियालाई ब्ल्याक सीको ओसिलो हावाले न्यानो पार्छ। थुप्रै मानिसहरू बिदा मनाउन जर्जिया आउनुको एउटा कारण यो पनि हो। यहाँको मन्द हावापानीले गर्दा संसारको सबैभन्दा पुरानो तथा सर्वोत्तम मद्य बनाउने प्रचलन पनि यहाँ संरक्षित छ। भनौं भने, जर्जियामा ५०० विभिन्न प्रकारको अंगूर तथा मद्य उत्पादन हुन्छ!
तथापि, जर्जियाको सबैभन्दा अनमोल सम्पत्ति यहाँका मानिसहरू हुन्। शदियौंदेखि यहाँका मानिसहरू साहस, बुद्धि, निष्कपट आतिथ्यको साथसाथै हँसीमिजास तथा जीवनप्रति सकारात्मक दृष्टिकोणको लागि परिचित छन्। तिनीहरूको संस्कृति नाचगानका लागि धनी छ र जर्जियाली घरहरूमा अझै पनि खानपिनपछि लोकगीतहरू गाउने चलन छ।
जर्जियाको साहित्यिक इतिहास पनि पुरानो हो। जर्जियाको इतिहास केलाउने हो भने पाँचौं शताब्दीसम्म पुग्न सकिन्छ। बाइबल अनुवाद गरिएको पुरानो भाषामध्ये जर्जियाली पनि थियो र यस अनुवादकार्यमा अनुपम तथा सुन्दर जर्जियाली अक्षरहरू प्रयोग गरियो। यी सबै संस्कृतिले जर्जियाको अतीतसित जिउँदोजाग्दो सम्बन्ध गाँस्छ। जर्जिया आधुनिक मुलुकमा संरक्षित पुरातन सम्पदा हो।
[पृष्ठ २५-मा भएको चित्रको स्रोत]
Pat O’Hara/Corbis
[पृष्ठ २६-मा भएको चित्र]
१. जर्जियाली बाइबल
२. कोही कोही निवासीहरू १०० वर्ष र त्योभन्दा बढी बाँच्छन्!
३. टिबिलसीको व्यस्त सडक
[स्रोत]
Dean Conger/Corbis