पाठकहरूका प्रतिक्रिया
मिर्गौला “तपाईंको मिर्गौला—जीवन धान्ने चाल्नी” लेखबाट म कत्ति प्रभावित भएँ, तपाईंहरूलाई बताउन चाहन्छु। (सेप्टेम्बर ८, १९९७) डाक्टरले मेरो मिर्गौलासम्बन्धी समस्या भएको बताएका छन्। त्यस लेखको कारण मलाई मात्र यो रोग लागेको होइन भन्ने महसुस भएको छ।
भि. एम., संयुक्त राज्य
मेरो मिर्गौलासम्बन्धी रोग छ र यसैकारण म चार महिनासम्म अस्पतालमा बसें। तपाईंहरूको लेख पढेपछि आफ्नो शरीरबारे कति अनभिज्ञ रहेछु भनेर थाह पाएँ। अहिले मैले आफ्नो अवस्थाबारे अरूलाई राम्ररी बुझाउनसक्छु।
एस. एच., जापान
मेरी श्रीमतीलाई मिर्गौलाको क्यान्सर भएको थाह पाएको समयताक हामीले यो लेख पायौं। यस्तो रोग लागेको थाह हुँदा हामी सबैलाई खलबली त भइरहेको थियो तर शल्यचिकित्सकले मिर्गौलाका विभिन्न कार्यहरू बुझाउँदा हामीले स्पष्टसित बुझ्न सक्यौं। हालै शल्यक्रियाद्वारा मेरी पत्नीको मिर्गौला निकालियो र अहिले बिस्तारै निको हुँदैछिन्।
जि. एस., भारत
घृणा “किन यति धेरै घृणा? किन यति थोरै प्रेम?” (अक्टोबर ८, १९९७) श्रृंखलाको आवरण तपाईंहरूले अहिलेसम्म छाप्नुभएको आवरणहरूमध्ये सबैभन्दा राम्रो थियो। यस लेखबाट मैले मानिसहरूले किन अपरिचित तथा अर्कै संस्कृतिका मानिसहरूलाई पत्याउँदैनन् भनेर झन् स्पष्टसित बुझ्नसकें।
जे. एम., संयुक्त राज्य
श्रवण शक्तिको उपहार “तपाईंको श्रवण शक्ति—मूल्यांकन गर्नुपर्ने उपहार” (अक्टोबर ८, १९९७) लेखको निम्ति म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। यस लेख पढ्नुअघि मलाई कानको विभिन्न भागको कार्य र हामी कसरी सुन्छौं, राम्ररी थाह छ जस्तो लाग्थ्यो। तथापि म यस विषयमा कत्तिको बुद्धू रहेछु भनी होसै थिएन। पृष्ठ २६ मा देखाइएको चित्र त अत्यन्तै राम्रो थियो! त्यस चित्र बनाउन कत्ति विचार र मेहनत गर्नुपऱ्यो होला भनी कल्पना गर्दा चित पर्छु। झन् साँच्चिको कान बनाउन त कत्ति बुद्धि लगाउनुपऱ्यो होला भनी सोच्दा तीन छक पर्छु!
ए. एस., संयुक्त राज्य
मेरो साथी र म दुवै चिकित्सा विशेषज्ञहरू हौं र हाम्रो यत्रो वर्षको अध्ययनमा हामीले अहिलेसम्म कानबारे त्यस्तो सरल र सहीं ढंगमा बताएको लेख पढेकै थिएनौं। यस लेख पढेपछि हामी झनै भजन १३९:१४ का शब्दहरूसित सहमत भयौं, जहाँ यसो भनिएको छ: “म भयानक र आश्चर्य रीतिले बनिएको छु।”
एम. बि. र जी. बि., भेनेज्वेला
मात्तिएर गाडी हाँकेको चालकले मलाई ठक्कर दिएको थियो। एक महिनासम्म बेहोस भएँ अनि होस खुल्दा कान नसुन्ने भएँ। अठाह्र वर्षपछि पनि म अझै कानुनी तवरमा बहिरो छु भने पनि हुन्छ तर श्रवण सहायकको मदतले केही हदसम्म सुन्नसक्छु। यस लेखले सुन्ने समस्या भएकाहरूप्रति समानुभूतिशील हुन साँच्चै मदत दिन्छ।
के. के., संयुक्त राज्य
संसारका होइनन् “बाइबलको दृष्टिकोण: ‘संसारका होइनन्’—यसको अर्थ के हो?” (अक्टोबर ८, १९९७) यस लेख पढेपछि मैले गैरमसीहीहरूलाई बुझाउन “संसारको मानिस” भन्ने शब्द नचलाउने निर्णय गरें। आखिरमा आजभन्दा ३० वर्षअघि म आफै पनि मसीही थिइनँ। मलाई सुरुमा बाइबलसित परिचित गराउने व्यक्तिले तुच्छ ठानेको भए म अर्को साक्षीसित फेरि कुरासमेत गर्न चाहँदैनथें होला!
बि. जि., संयुक्त राज्य
समस्यारहित प्रमोदवन म नौ वर्षकी भएँ र “समस्यारहित प्रमोदवन—के सपना मात्र हो?” लेखको लागि धन्यवाद दिन चाहन्छु। (नोभेम्बर ८, १९९७) यस लेख मलाई औधी मन पऱ्यो किनभने अहिले मेरो बुबा शहरबाहिर जानुभएको छ र राति मेरी मुमा र म घरभित्र कोही छिर्ला भन्ने डरले झ्याल खोल्न समेत डराउँछौं। त्यसैले सबै हिंसा र अपराध हटाउने यहोवाको प्रतिज्ञाबारे पढ्दा मलाई ढुक्क लाग्यो।
डि. एम., संयुक्त राज्य