असुरक्षा—विश्वव्यापी विकार
के तपाईंलाई कहिल्यै आफ्नो जीवन वा जीवनशैली जोखिमपूर्ण तथा अनिश्चित लागेको छ? छ भने, धन्धा नमान्नुहोस्। किनभने तपाईं एक्लै हुनुहुन्न। राष्ट्र, धर्म वा सामाजिक तगारोले सीमित पार्न नसकेको यस्तो असुरक्षाको विकार मस्कोदेखि मानहाटनसम्म जताततै फैलिरहेको छ।
हाम्रो जीवन सुरक्षित नहुँदा एउटा शब्दकोशले भनेझैं हामी “डर र चिन्ताले व्याकुल” हुन्छौं। चिन्ता भावनात्मक बोझ हो र यसले हाम्रो स्वास्थ्य बिगार्ने तनाउ उत्पन्न गर्छ। तर हामी किन फिक्री तथा असुरक्षित महसुस गर्छौं?
युरोपमा फिक्री
युरोपेली संघ (इ यु) मा मात्रै हरेक ६ जनामध्ये १ जना गरिबीको रेखामुनि जीवन गुजारिरहेको छ, १.८ करोड बेरोजगार छन् र अन्य अनगिन्ती मानिसहरू जागिर खोसिएला भन्ने डरमा बाँचिरहेका छन्। थुप्रै इ यु मुलुकहरूमा बाल यौन दुराचारीहरूले आफ्ना छोराछोरीहरूलाई सिकार बनाउनसक्ने डरले आमाबाबुहरू ग्रसित छन्। एउटा इ यु मुलुकमा दुई तिहाइ मानिसहरू अपराधको डरले गर्दा फिक्री गर्छन्। इ यु मुलुकका अन्य बासिन्दाहरूले दंगाफसाद, आतंक तथा प्रदूषणको खतरा झन् झन् बढेको महसुस गरिरहेका छन्।
यस्ता सामाजिक विकृतिहरूले गर्दा मात्र होइन प्राकृतिक प्रकोपले गर्दा पनि जीवन तथा जीविका खतरामा परिरहेको छ। उदाहरणका लागि, १९९७ र १९९८ मा अति वृष्टि, भूक्षय, र भुमरीले गर्दा संयुक्त राज्यका थुप्रै भूभागहरूमा तहल्का मच्चियो। सन् १९९७ मा ओडर र नाइस नदीहरूको कटानले गर्दा मध्य युरोप जलमग्न भयो। पोलिस सप्ताहिक पोलितिका-अनुसार बाढीले थुप्रै खेतबारीका साथै ८६ वटा शहर, ९०० वटा गाउँ बगायो। झण्डै ५०,००० परिवारले आफ्नो बालिनाली गुमाए अनि ५० जनाको ज्यान गयो। अनि १९९८ मा गएको पहिरोले दक्षिण इटालीमा थुप्रैको ज्यान गयो।
व्यक्तिगत सुरक्षाबारे
तर दस वर्षअघिको तुलनामा जीवन अझ सुरक्षित भएको छ भनेर के हामी ढुक्क छैनौं र? शीतयुद्ध अन्त हुनुको अर्थ हतियार कटौती हुनु हो, होइन र? हो, राष्ट्रिय तवरमा पहिलेभन्दा अहिले सुरक्षा बढेको होला। तथापि, घर र बाटोमा हुने घटनाहरूले व्यक्तिगत सुरक्षालाई भने खतरामा पारिरहेको छ। सरकारहरूले जतिसुकै हातहतियारहरू नाश नगरिए पनि जागिर गुम्यो वा लुटेरा अथवा बाल यौन दुराचारीहरू घरबाहिर घुमिरहेका छन् भन्ने शंका लाग्यो भने हामी फिक्री गर्छौं, असुरक्षित महसुस गर्छौं।
केही मानिसहरूले अनिश्चित जीवनको सामना कसरी गरिरहेका छन्? अझ महत्त्वपूर्ण कुरा त, तपाईंलगायत सबैको जीवन स्थायी रूपमा सुरक्षित बनाउनसक्ने के कुनै तरिका छ? यसपछिका दुइटा लेखहरूमा यी विषयहरू विचार गरिनेछन्।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
UN PHOTO 186705/J. Isaac
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
FAO photo/B. Imevbore