ख्यातिभन्दा उत्तम कुरा
चार्ल्स सिन्टेकोको वृत्तान्तमा आधारित
सन् १९५७ को कुरा हो, कार्यक्रम सफल भएको खण्डमा थप ५० हप्ता काम गर्ने सम्भावनासहित मलाई साताको एक हजार डलरमा सं.रा.अ.-को लास भेगास, नेभाडामा गीत गाउन १३ हप्ताको लागि अनुबन्धित हुने प्रस्ताव राखियो। त्यसको मतलब मैले अरू ५०,००० डलर कमाउने थिएँ र त्यो बेला त्यति पैसा पाउनु भनेको कुनै मामुली कुरा थिएन। मलाई यस्तो आकर्षक प्रस्ताव राखिनुका साथै यो प्रस्ताव स्वीकार्ने कि नस्वीकार्ने भन्ने सन्दर्भमा निर्णय गर्न मलाई गाह्रो हुनुको कारण म तपाईंहरूलाई बताउन चाहन्छु।
युक्रेनवासी मेरो बुबाको जन्म सन् १९१० मा पूर्वी युरोपमा भएको थियो। सन् १९१३ मा आफ्नो पतिसँग पुनः सँगै बस्न आएको बेला आफ्नी आमाले उहाँलाई संयुक्त राज्य अमेरिका ल्याउनुभएको थियो। बुबाले सन् १९३५ मा विवाह गर्नुभयो र एक वर्षपछि पेन्सिलभेनियाको एमब्रिजमा मेरो जन्म भएको थियो। त्यसैताका बुबाका दुई जना दाइहरू यहोवाका साक्षीहरू भए।
मेरा तीन जना भाइ र म सानो छँदा अनि हाम्रो परिवार पेन्सिलभेनियाको न्यु कासलनजिकै बसोबास गरेको बेला हाम्री आमाले साक्षीहरूसित केही समय बाइबल अध्ययन गर्नुभएको थियो। तत्काल मेरा आमाबाबुमध्ये कोही पनि साक्षी नहुनुभए तापनि आफ्ना दाइहरूको आफूलाई मन लागेअनुसार विश्वास गर्ने अधिकार छ भन्ने कुरामा बुबा विश्वास गर्नुहुन्थ्यो। बुबाले हामीलाई देशभक्त हुन सिकाउनुभए तापनि आफूलाई मन लागेअनुसार उपासना गर्ने अरूको अधिकारको पक्षमा उहाँ सधैं बोल्ने गर्नुहुन्थ्यो।
गीत गाउने पेसा
मेरा आमाबाबुलाई मसित गीत गाउने स्वाभाविक क्षमता छ भन्ने लागेको कारण मेरो गीति यात्रालाई अघि बढाउन उहाँहरूले कुनै कसर बाँकी राख्नुभएन। म त्यस्तै छ वा सात वर्षको हुँदा बुबाले मलाई नाइट क्लबको काउन्टरमाथि उभ्याएर गीत गाउन अनि गितार बजाउन लगाउनुहुन्थ्यो। मैले “आमा” बोलको गीत गाएको थिएँ। यस गीतले एक जना मायालु आमाको वर्णन गर्छ र मनछुने आरोहसहित गीत टुङ्गिन्छ। बारमा रक्सी पिएर टिल परेका व्यक्तिहरू हल्लाखल्ला गर्थे र बुबाको टोपीमा पैसा हालिदिन्थे।
सन् १९४५ मा मैले पहिलो चोटि न्यु कासलको डब्लु के एस टी रेडियो स्टेसनको रेडियो कार्यक्रममा लोकगीत गाएको थिएँ। पछि मैले हिट परेड-का लोकप्रिय गीतहरू पनि गाउन थालें र त्यस साप्ताहिक रेडियो कार्यक्रममा त्यतिबेला साताको दसवटा लोकप्रिय गीत प्रसारण हुने गर्थ्यो। सन् १९५० मा पावल विटम्यानको टेलिभिजन कार्यक्रममा म पहिलो चोटि आएको थिएँ। उनीद्वारा संगीतबद्ध जर्ज गर्सविनको “रेपससोडी इन ब्लु” भन्ने गीत अझै पनि लोकप्रिय छ। केही समयपछि बुबाले पेन्सिलभेनियाको हाम्रो घर बेच्नुभयो र मेरो पेसालाई बढाउने आशामा हामी क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रमा बसाइँ सऱ्यौं।
बुबाको लगनशीलताकै कारण चाँडै मैले पासाडेनामा आफ्नै साप्ताहिक रेडियो कार्यक्रम तथा हलिउडमा साताको आधा घण्टा टि भी कार्यक्रम सञ्चालन गर्न थालें। मैले सय जना सदस्य भएको टेड डालको अर्केष्टासँग काप्टल रेकर्डस्मा रेकर्डिङ गर्नुका साथै सी बी एस रेडियो नेटवर्कमा गायक पनि भएँ। सन् १९५५ मा म सांगीतिक कार्यक्रम लिएर उत्तरी क्यालिफोर्नियाको लेक टाहो गएको थिएँ। त्यहाँ छँदा जीवनका मेरा प्राथमिकताहरू नाटकीय ढङ्गमा परिवर्तन भए।
नयाँ प्राथमिकताहरू विकास हुँदै
लेक टाहो जानुभन्दा केही समयअगाडि पेन्सिलभेनियादेखि क्यालिफोर्निया नै बसाइँ सर्नुभएका मेरो ठूलोबुबा जोनले मलाई लेट गड बी ट्रुab भन्ने पुस्तक दिनुभएको थियो। मैले यो पुस्तक लेक टाहो लिएर आएँ। मध्यरातमा सिद्धिएको हाम्रो अन्तिम कार्यक्रमपछि सुत्न जानुअघि थकाइ मेट्न मैले त्यो पुस्तक पढ्न थालें। धेरै लामो समयदेखि मनमा खेलिरहेका प्रश्नहरूको बाइबलीय जवाफहरू भेट्टाएकोमा म दङ्ग परें।
त्यस रातदेखि त म काम सकेपछि नाइट क्लबमै मनोरञ्जन गराउने सँगी कलाकारहरूसित अक्सर बिहानीपखसम्मै गफ गर्दै बस्न थालें। हामी मृत्युपछिको जीवन, परमेश्वरले दुष्टता रहिरहन दिनुको कारण अनि मानिसजातिले अन्ततः आफू र पृथ्वीलाई नाश गर्ने हुन् कि भन्ने जस्ता विषयहरूमा छलफल गर्थ्यौं। केही महिनापछि सन् १९५५, जुलाई ९ मा लस एन्जलसको रिग्ली फिल्डमा सम्पन्न यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा यहोवा परमेश्वरको सेवा गर्न आफूलाई समर्पण गरेको कुरालाई प्रतीकात्मक रूप दिन मैले बप्तिस्मा लिएँ।
बप्तिस्मा लिएको छ महिना पनि भएको थिएन, सन् १९५५ मा क्रिसमसको बिहान सँगी साक्षी हेनरी रसलले मलाई उहाँसँगै मनोरञ्जनजगत्का जाक म्याक कोईलाई भेट्न जान बोलाउनुभयो। हेनरी आफै पनि एन बी सी-मा संगीतका निर्देशक हुनुहुन्थ्यो। उनीहरूले क्रिसमसका उपहारहरू भर्खरै मात्र खोल्न सुरु गरेका भए तापनि हामी आइपुगेपछि जाकले तिनका तीन छोरी तथा आफ्नी पत्नीलाई बसेर हाम्रो कुरा सुन्न लगाए। तिनी तथा तिनको परिवार चाँडै साक्षीहरू भए।
सन् १९५७ को प्रारम्भतिर मैले आमालाई अध्ययन गराएँ र उहाँले साँच्चै बाइबल सत्य बुझेर त्यसलाई स्वीकार्नुभयो। अन्ततः उहाँ यहोवाको एक साक्षी र अग्रगामी अर्थात् पूर्ण-समय प्रचारक हुनुभयो। समयको अन्तरालमा मेरा तीन जना भाइहरूले पनि बप्तिस्मा लिए र केही समयसम्म अग्रगामी सेवकाईमा भाग लिए। सन् १९५६ को सेप्टेम्बर महिनामा २० वर्षको उमेरमा म अग्रगामी भएँ।
जागिरको सन्दर्भमा निर्णयहरू
यसै समयतिर मेरो एजेन्टका घनिष्ठ मित्र, जर्ज मर्फीले मेरो गायन पेसालाई प्रवर्धन गर्ने कुरामा चासो देखाए। जर्जले सन् १९३० र १९४० दशकका अनगन्ती चलचित्रहरूमा खेलिसकेका थिए। धेरै जनासित मर्फीको चिनजान भएको कारण सन् १९५६ डिसेम्बरमा मैले न्यु योर्क सिटीमा ज्याकी ग्लीसनको सी बी एस-टिभी कार्यक्रममा खेल्ने मौका पाएँ। यसले मेरो पेसामा एकदमै राम्रो प्रभाव पाऱ्यो किनभने त्यस कार्यक्रमका दर्शकहरू करिब २,००,००,००० जति थिए। न्यु योर्कमा छँदा पहिलो चोटि म ब्रूक्लिनस्थित यहोवाका साक्षीहरूको मुख्यालय भ्रमण गर्न गएँ।
ग्लीसनको कार्यक्रममा खेलेपछि म एम जी एम स्टुडियोसँग सात वर्षसम्म चलचित्र खेल्न अनुबन्धित भएँ। मलाई टिभी वेस्ट्रनमा नियमित रूपमा एउटा भूमिकामा खेल्ने प्रस्ताव राखियो। यद्यपि, केही समयपछि मेरो अन्तस्करणले मलाई पिरोल्न थाल्यो किनभने मैले जुवाडे र बन्दुक चलाउन खप्पिस व्यक्तिको भूमिका खेल्नुपर्थ्यो। त्यस्तो भूमिकामा खेल्ने व्यक्तिहरूले अनैतिकता तथा अन्य गैर-मसीही आचरणलाई आकर्षक बनाउनुपर्थ्यो। त्यसैकारण मैले त्यस्तो भूमिका खेल्न छोडिदिएँ। मनोरञ्जनजगत्का मानिसहरूले मेरो दिमाग खुस्क्यो भन्ठाने।
त्यतिबेलै हो मैले सुरुमा बताएको लास भेगसमा कार्यक्रम गर्ने मलाई आकर्षक प्रस्ताव राखिएको। परिभ्रमण निरीक्षकको भ्रमणको हप्तामै मैले काम सुरु गर्नुपर्ने थियो। तत्काल काम सुरु नगरेको खण्डमा मैले सधैंको लागि त्यो मौका गुमाउने थिएँ। मेरो मनमा मिश्रित भावनाहरू खेलिरहेका थिए किनभने बुबा मैले धेरै पैसा कमाएको हेर्न चाहनुहुन्थ्यो! मेरो पेसालाई अघि बढाउन उहाँले जे-जति योगदान पुऱ्याउनुभयो ती सबको मैले उहाँलाई साटो तिर्नुपर्छ भन्ने मलाई लाग्थ्यो।
त्यसैकारण मैले हाम्रो मण्डलीको अध्यक्ष, कार्ल पार्कसँग कुरा गरें। उहाँ स्वयम् एक संगीतकार तथा सन् १९२० को दशकमा न्यु योर्कको रेडियो स्टेसन डब्लु बी बी आर-मा भाइलिन बजाउनुहुन्थ्यो। यो सम्झौता स्वीकारेको खण्डमा आर्थिक कुराको चिन्ता नगरीकनै म जीवनभर अग्रगामी गर्न सक्छु भनेर मैले उहाँलाई बताएँ। उहाँले यसो भन्नुभयो: “यस्तै गर्नुहोस् भनेर म भन्न त सक्दिनँ तर म तपाईंलाई एउटा निष्कर्षमा पुग्न भने मदत गर्न सक्छु।” उहाँले यस्तो प्रश्न सोध्नुभयो, “यो हप्ता हाम्रो मण्डलीमा प्रेरित पावलको भ्रमण भएको भए के तपाईंले त्यो छुटाउनुहुने थियो?” उहाँले अझै यसो भन्नुभयो, “तपाईंले के गरेको येशू चाहनुहुन्थ्यो होला?”
जवाफ एकदमै प्रस्ट छ जस्तो मलाई लाग्यो। लास भेगासमा काम नगर्ने आफ्नो निर्णयबारे बुबालाई बताउँदा मैले उहाँको जीवन बर्बाद गरिरहेको छु भन्नुभयो। त्यो रात उहाँले हातमा रिभल्भर लिएर मलाई पर्खनुभएछ। उहाँ मलाई मार्न चाहनुहुन्थ्यो तर अत्यधिक मद्यपान गरेको कारण होला उहाँ भुसुक्कै निदाउनुभएछ। त्यसपछि उहाँले ग्यारेजमा गाडीको धूवाँले आफूलाई मार्ने प्रयास गर्नुभयो। मैले उद्धार टोली बोलाएँ र तिनीहरू उहाँलाई बचाउन सफल भए।
मेरो बुबाको झोकी स्वभाव थाह भएको कारण मण्डलीका धेरै जना उहाँसँग डराउँथे तर हाम्रो परिभ्रमण निरीक्षक, रोई डोवेल भने डराउनुहुन्नथ्यो। रोई उहाँलाई भेट्न जानुहुँदा कसो गरेर बुबाले जन्मँदा मेरो बाँच्ने सम्भावना एकदमै कम भएको कुरा रालाई बताउनुभएछ। कथङ्कदाचित् म बाँचेको खण्डमा मलाई परमेश्वरको सेवामा अर्पण गर्नेछु भनेर बुबाले परमेश्वरसित भाकल गर्नुभएको रहेछ। तपाईंले त्यो भाकल पूरा गरेको परमेश्वरले आशा गरिरहनुभएको हुन सक्छ भन्नेतिर कहिल्यै सोच्नुभएको छ भनेर राले बुबालाई सोध्नुभयो। त्यस कुराले बुबालाई अक्क न बक्क बनायो। त्यसपछि राले यस्तो प्रश्न सोध्नुभयो, “परमेश्वरको पुत्रको लागि पूर्ण-समय सेवा ठीक थियो भने, तपाईंको छोराको लागि यो किन ठीक छैन?” त्यसपछि त बुबाले मैले गरेको छनौटलाई स्वीकार्ने छाँटकाँट देखाइहाल्नुभयो।
त्यसै समयतिर, सन् १९५७ को जनवरी महिनामा केही साथीहरूलाई भेट्ने उद्देश्यले क्यानाडाबाट शर्ली लार्ज आफ्नी अग्रगामी साथीसित आइन्। शर्ली र उनकी साथीसँग घर-घरको सेवकाईमा जाँदा शर्लीसँग मेरो चिनजान भयो। त्यसको लगत्तै शर्ली मसँग हलिउड बल आइन्, जहाँ मैले पर्ल बिइलेसँग गीत गाएको थिएँ।
निर्णयअनुसार चल्दै
सन् १९५७ को सेप्टेम्बर महिनामा मैले आयोवा राज्यमा विशेष अग्रगामीको रूपमा सेवा गर्ने निम्तो पाएँ। त्यो असाइनमेन्ट स्वीकार्ने आफ्नो निर्णयबारे बुबालाई बताउँदा उहाँ केवल रुनुभयो। मैले भर्खरै थाह पाएको साँच्चै मूल्यवान् कुरा उहाँले बुझ्न सक्नुभएन। म हलिउड गएँ र मैले गरेका सम्पूर्ण सम्झौताहरू फिर्ता लिएँ। म अनुबन्धित भएका व्यक्तिहरूमध्ये एक प्रसिद्ध अर्केस्ट्रा र गायन टोलीका नाइके फ्रेड वारिङ थिए। मैले आफ्नो सम्झौता पूरा नगरेको खण्डमा गायकको रूपमा मैले फेरि-फेरि गाउन पाउनेछैनँ भनेर उनले मलाई बताए। त्यसैकारण यहोवा परमेश्वरको सेवामा आफ्नो सेवकाई विस्तार गर्न म गायन पेसा छोड्दैछु भनेर मैले बताएँ।
बेलीबिस्तार लगाएर आफ्नो कुरा बताउन्जेल श्रीमान् वारिङले आदरपूर्वक मेरो कुरा सुने र आफ्नो यस्तो भद्र जवाफद्वारा उनले मलाई चकित पारे: “छोरा, तिमीले यस्तो राम्रो पेसा छोड्नुपरेकोमा मलाई दुःख लागेको छ तर मैले आफ्नो सारा जीवन सङ्गीत क्षेत्रमै बिताएँ र जीवनमा सङ्गीतभन्दा अरू महत्त्वपूर्ण कुरा छन् भनेर मैले थाह पाएको छु। तिमीले गर्ने हरेक काममा परमेश्वरले आशिष् दिऊन्।” यहोवाको सेवामा आफ्नो जीवन बिताउन अब मलाई केही कुराले रोक्दैन भन्ने कुरा महसुस गर्दै आँखाभरि खुसीको आँसु लिएर घर फर्केको मलाई अझै याद आउँछ।
“खोइ त तपाईंको विश्वास?”
मेरो साथी जो ट्रिफसित मैले करिब १,२०० मानिसहरू बसोबास गर्ने आयोवाको स्ट्रबेरी प्वाइन्टमा सेवा गर्न थालें। शर्ली घुम्न आइन् र हामीले विवाहबारे छलफल गऱ्यौं। न मसित पैसा थियो न त उनीसित। मैले कमाएको सबै पैसा बुबाले नै राख्नुहुन्थ्यो। त्यसैकारण मैले यसो भनें: “म तिमीलाई विवाह गर्न चाहन्छु तर कसरी जीविका चलाउने? पैसाको नाउँमा मसित विशेष अग्रगामीको मासिक ४० अमेरिकी डलर भत्ता मात्र छ।” सदाझैं शान्त, सीधा र स्पष्ट ढङ्गमा उनले यसो भनिन्: “तर चार्ल्स, खोइ त तपाईंको विश्वास? येशूले त भन्नुभएको छ कि यदि हामीले पहिला उहाँको राज्य र धार्मिकता खोजी गऱ्यौं भने, हामीलाई आवश्यक सम्पूर्ण कुरा उहाँले थप्नुहुनेछ।” (मत्ती ६:३३) त्यस कुराले समस्या सुल्झियो र सन् १९५७ को नोभेम्बर १६ मा हामीले विवाह गऱ्यौं।
स्ट्रबेरी प्वाइन्टबाहिरका एक जना कृषकले मसित बाइबल अध्ययन गरिरहेका थिए र आफ्नो जग्गामा पर्ने जङ्गलमा तिनको एउटा ३.६ बाई ३.६ मिटरको रूखको मुढोले बनाएको एउटा साधारण घर थियो। त्यस घरमा बिजुली बत्ती अथवा खानेपानी र शौचालय केहीको पनि व्यवस्था थिएन। तर हामीले चाहेको खण्डमा हामी त्यहाँ भाडा नतिरिकनै बस्न सक्थ्यौं। त्यो घर पुरानो जमानाको थियो तर दिनभरि हामी सेवकाईमा हुने भएकोले हामीलाई सुत्ने ठाउँ मात्र चाहिएको थियो।
नजिकैको कुवाबाट म पानी ल्याउँथें। आगो बालेर हामी घर तातो बनाउँथ्यौं र टुकी बालेर पढ्थ्यौं; शर्लीले मटीतेलको स्टोभमा खाना पकाउँथिन्। नुहाउनको लागि हामी पुरानो वासटब प्रयोग गर्थ्यौं। राती ब्वाँसो कराएको सुन्थ्यौं र एक-अर्कालाई पाएकोमा अनि मसीही सेवकहरूको बढी खाँचो भएको ठाउँमा सँगै यहोवाको सेवा गर्न पाएकोमा हामी औधी खुसी थियौं। हाल ब्रूक्लिनस्थित मुख्यालयमा सेवारत बिल मेलिनफोन्ट र उनकी पत्नी, सान्ड्रा हामी बसेको ठाउँदेखि १०० किलोमिटर टाढा पर्ने आयोवाको डिकोरामा विशेष अग्रगामीहरू थिए। कहिलेकाहीं उनीहरू हामीकहाँ आउँथे र दिनभरि क्षेत्र सेवामा सँगै काम गर्थ्यौं। समयको अन्तरालमा, स्ट्रबेरी प्वाइन्टमा लगभग २५ जनाको एउटा सानो मण्डली खडा भयो।
परिभ्रमण कार्यमा
सन् १९६० को मे महिनामा हामीलाई क्षेत्रीयकार्य अर्थात् परिभ्रमण सेवकाईको काम गर्न निमन्त्रणा दिइयो। हाम्रो पहिलो क्षेत्र नर्थ क्यारोलिनामा थियो र यस क्षेत्रमा रालिग, ग्रिन्सबोरो र डरहामका सहरहरू लगायत थुप्रै साना सहरहरू पर्थे। हाम्रो जीवनस्तर सुध्रियो किनभने हामी बिजुली बत्ती अनि घरभित्रै शौचालयसमेत भएका थुप्रै परिवाहरूसित बस्न थाल्यौं। तथापि, घरबाहिर शौचालय भएका परिवारहरूले दिएको चेतावनी भने मजाको थिएन। शौचालय जाँदा बाटोमा सर्पहरूदेखि होसियार रहन उनीहरूले हामीलाई सतर्क गराए!
सन् १९६३ को प्रारम्भतिर हामीलाई फ्लोरिडाको क्षेत्रमा सरुवा गरियो, जहाँ मलाई पेरिकार्डियम अर्थात् मुटुको बाहिरी भाग ढाक्ने झिल्ली सुन्निने रोगले समात्यो र झन्डै मेरो मृत्यु भएको। टाम्पाका बब र गिनी माकी नभएको भए सायद म मर्थें पनि होला।c उनीहरूले नै मलाई उनीहरूको डाक्टरकहाँ लगे र सबै खर्च पनि बेहोरिदिए।
मेरो प्रारम्भिक प्रशिक्षण काम लाग्छ
सन् १९६३ को गर्मी महिनामा न्यु योर्कमा सम्पन्न हुन लागेको यहोवाका साक्षीहरूको विशाल अधिवेशनको तयारीको सिलसिलामा मलाई त्यहाँ बोलाइयो। यहोवाका साक्षीहरूको प्रवक्ता मिल्टन हेन्सलसँगै मैले ल्यारी किङद्वारा प्रसारित रेडियो अन्तरक्रिया कार्यक्रममा भाग लिएँ। श्रीमान् किङ अझै पनि टेलिभिजन अन्तरक्रिया कार्यक्रमका प्रख्यात सञ्चालक हुनुहुन्छ। उहाँले निकै आदर देखाएर कुरा गर्नुभयो र कार्यक्रमपछि लगभग एक घण्टा हाम्रो कार्यबारे थुप्रै प्रश्नहरू सोध्नुभयो।
त्यसै गर्मी महिनामा कम्युनिष्ट चीनको कारागारबाट भर्खरै रिहा हुनुभएका मिसनरी भाइ, ह्यारोल्ड किङ साक्षीहरूको विश्व मुख्यालयमा अतिथि हुनुहुन्थ्यो। आफूले बटुलेका अनुभवहरू सुनाउनुका साथै एकल नजरबन्दमा बिताएको चार वर्षभन्दा बढी समयले कसरी उहाँको विश्वासलाई बलियो बनायो भनी बताउँदै एक साँझ उहाँले करिब ७०० दर्शकहरूसित कुरा गर्नुभयो। कारागारमा छँदा उहाँले बाइबल अनि मसीही सेवकाईसित सम्बन्धित विषयहरूमा गीतहरू लेख्नुभएको थियो।
त्यो अविस्मरणीय साँझ मैले अड्री नोर, कार्ल क्लाइन र साक्षी भएको लामो समय भइसकेका अनि उच्च स्वरमा गाउन प्रशिक्षित फ्रेड फ्रान्जसँगै “घर-घर” भन्ने गीत गाएँ। पछि त्यस गीतलाई यहोवाका साक्षीहरूले प्रयोग गर्ने गीतिपुस्तकमा समावेश गरियो। त्यसताका साक्षीहरूको कार्यमा नेतृत्व लिनुहुने भाइ नेथन नोरले मलाई अर्को हप्ता यांकी स्टेडियममा आयोजना हुने “अनन्त सुसमाचार” विषयको सम्मेलनमा त्यो गीत गाउन लगाउनुभयो र मैले गाएँ पनि।
परिभ्रमण कार्यका अनुभवहरू
शिकागो इलिनोइमा सेवा गरिरहेको बेला दुईवटा अविस्मरणीय कुरा भए। पहिलो, एउटा क्षेत्रीय सम्मेलनमा शर्लीले भिरा स्टेवार्टलाई देखिन्। सन् १९४० दशकको मध्यतिर क्यानाडामा स्टेवार्टले शर्ली र उनकी आमालाई साक्षी दिएकी थिइन्। एघार वर्षकी शर्लीलाई त्यतिखेर बाइबलमा बताइएको परमेश्वरका प्रतिज्ञाहरूबारे सुन्न पाउँदा साह्रै खुसी लागेको थियो। उनले भेरालाई यस्तो प्रश्न सोधिन्, “के तपाईंलाई म त्यस नयाँ संसारमा बस्न सक्छु जस्तो लाग्छ?” जवाफमा भेराले यसो भनिन्, “किन नसक्नु, शर्ली।” उनीहरू दुवै जनाले ती एक-एक शब्द याद गरेका रहेछन्। भेरासँग भेट भएदेखि नै शर्लीले यहोवाको सेवा गर्ने चाहना राखेकी थिइन्।
अर्को अविस्मरणीय कुराचाहिं, सन् १९५८ को जाडो महिनामा बरन्डामा २५ किलो आलुको बोरा पाएको सम्झना छ कि भनेर एक जना साक्षीले सोधे। सम्झना छ भनेर मैले भनें। एक साँझ हिमआँधी चलिरहेको बेला बल्लतल्ल घर फर्कने क्रममा हामीले त्यो आलुको बोरा फेला पारेका थियौं! त्यो आलुको बोरा कहाँबाट आयो भन्ने कुरा थाह नभए तापनि त्यस प्रबन्धको लागि हामीले यहोवालाई भने मुरी-मुरी धन्यवाद दियौं। एकदमै धेरै हिउँ परेकोले गर्दा हामी पाँच दिनसम्म घरबाहिर निस्कनै सकेनौं तर आलुको रोटी, पोलेको आलु, तारेको आलु, पिसेको आलु र आलुको सूप खाएर हामीले आनन्द उठायौं! हामीसित अरू खानेकुरा थिएन। उक्त साक्षीले हामीलाई चिनेका थिएनन् अथवा हामी कहाँ बस्छौं भन्ने कुरा उनलाई थाह थिएन तर नजिकैका केही अग्रगामीहरूलाई अलि गाह्रो भइरहेको छ रे भन्ने कुरा उनले सुनेका रहेछन्। उनको भनाइअनुसार केही कुराले उनलाई यो जवान जोडी बस्ने ठाउँ खोज्न उत्प्रेरित गऱ्यो। कृषकहरूलाई आफ्ना छिमेकीहरूबारे सबै कुरा थाह हुन्छ। उनलाई पनि कृषकहरूले नै हाम्रो घरतर्फ डोऱ्याइदिएछन् र हिउँ परिरहेको भए तापनि आलु बोकेर ल्याइदिएका रहेछन्।
आफूले गरेका छनौटहरूबारे कृतज्ञ हुँदै
सन् १९९३ सम्ममा परिभ्रमण कार्य गरेको ३३ वर्षपछि मेरो स्वास्थ्य यत्ति नराम्रोसँग बिग्रियो कि मैले सेवाको त्यो विशेष सुअवसरै छोड्नुपऱ्यो। शर्ली र म अशक्त विशेष अग्रगामीहरू भयौं र अहिलेसम्म पनि हामी त्यही हैसियतमा सेवा गर्दैछौं। परिभ्रमण कार्य गर्ने आफूसित शक्ति नभएकोमा मलाई पछुतो लागे तापनि पूर्ण-समय सेवामा आफ्नो बलबुता लगाएकोमा म खुसी छु।
मेरा तीन जना भाइले विभिन्न छनौटहरू गरे। उनीहरू प्रत्येकले भौतिक धनसम्पत्तिको पछि लाग्ने निधो गरे र हाल उनीहरूमध्ये कसैले पनि यहोवाको सेवा गरिरहेका छैनन्। सन् १९५८ मा बुबाले बप्तिस्मा लिनुभयो। उहाँ र आमाले कैयौं व्यक्तिहरूलाई यहोवालाई चिन्न, उहाँलाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा लिन मदत गर्नुभयो। सन् १९९९ मा उहाँहरू दुवै जनाको मृत्यु भयो। यसरी, सांसारिक ख्याति र धनसम्पत्ति कमाउने कुरालाई तिरस्कार गर्ने मेरो निर्णयले बुबाका साथसाथै उहाँ र मेरी आमाले बाइबल सत्य सुनाउनुभएका थुप्रै व्यक्तिहरूलाई अनन्त जीवनको आशा प्रदान गऱ्यो। म अक्सर सोच्ने गर्छु, ‘मैले सुरुमा त्यस्तो छनौट नगरेको भए के म यहोवाको सेवा निरन्तर गरिरहन सक्ने थिएँ होला?’
क्षेत्रीय कार्य गर्न छोडेको लगभग पाँच वर्षपछि मेरो स्वास्थ्यमा सुधार आयो र मैले आफ्नो सेवकाई विस्तार गर्न सकें। हाल म क्यालिफोर्नियाको डेजर्ट हट स्प्रिङ्समा मण्डलीको अध्यक्षको रूपमा सेवा गर्छु। क्षेत्रीय कार्यमा कार्यकारी परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्ने, न्यायिक-समितिमा काम गर्ने र कहिलेकाहीं अग्रगामी सेवा स्कूलमा सिकाउने सुअवसर पनि पाएको छु।
आजसम्म पनि शर्ली मेरो सबैभन्दा घनिष्ठ साथी हुन्। उसको साथ पाउँदा मलाई साह्रै खुसी लाग्छ। हामी नियमित रूपमा उत्थानदायी आध्यात्मिक कुराकानी गर्ने गर्छौं र सँगै छलफल गर्ने बाइबल सत्यमा हामी दुवै जना औधी रमाउँछौं। उसले ४७ वर्षअघि सोधेको शान्त प्रश्नलाई म आजसम्म पनि कृतज्ञ भई सम्झने गर्छु, “तर चार्ल्स, खोइ त तपाईंको विश्वास?” जवान दम्पतीहरूले एक-अर्कालाई यस्तै प्रश्न सोधेको खण्डमा पूर्ण-समय सेवकाईमा हामीले प्राप्त गरेजस्तो आनन्द तथा आशिष्हरू उनीहरूमध्ये कत्ति धेरै जनाले प्राप्त गर्न सक्छन् होला जस्तो मलाई लाग्छ। (g04 8/22)
[फुटनोटहरू]
a सन् १९९६ मा ९२ वर्षको उमेरमा मृत्यु नहोउन्जेलसम्म जोन सिन्टेको यहोवाको एक विश्वासी साक्षी रहनुभयो।
b यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिंदैन।
c सन् १९७५, फेब्रुअरी २२ को अवेक!, पृष्ठ १२-१६ मा बब माकीले पक्षघातसित सङ्घर्ष गर्नुपरेको आत्मकथा प्रकाशित भएको छ।
[पृष्ठ २०-मा भएको चित्र]
सन् १९३५ मा ठूलोबुबा जोन, उहाँले बप्तिस्मा लिनुभएको वर्ष
[पृष्ठ २२-मा भएको चित्र]
रूखको मुढोले बनाएको हाम्रो घर
[पृष्ठ २३-मा भएको चित्र]
सन् १९७५ मा खिचेको मेरा आमाबाबुको फोटो, जो आफ्नो मृत्युसम्मै विश्वासी रहनुभयो
[पृष्ठ २३-मा भएको चित्र]
आज शर्लीसँग