प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g ४/०६ pp. ११-१३
  • ढुसी—कहिले मित्र त कहिले वैरी!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ढुसी—कहिले मित्र त कहिले वैरी!
  • ब्यूँझनुहोस्‌!—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ढुसी के हो?
  • ढुसीको मित्रैलो मुहार
  • ढुसीको बैगुणी मुहार
  • ढुसी र भवनहरू
  • महान्‌ कुमाले यहोवाको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यहोवाले तपाईंको सोचाइ र आचरणलाई आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • तपाईंको सोचाइ कसबाट प्रभावित छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के तपाईं महान्‌ कुमाले यहोवाबाट आकार पाउन तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००६
g ४/०६ pp. ११-१३

ढुसी—कहिले मित्र त कहिले वैरी!

स्वीडेनका ब्यूँझनुहोस्‌! लेखक

कुनै ढुसीले ज्यान बचाउँछ भने कुनैले ज्यानै लिनसमेत बेर लाउँदैन। कतिपय ढुसीले चीज र रक्सीलाई मीठो बनाउँछ भने कतिले चाहिं खानेकुरालाई विषाक्‍त पार्छ। कुनै काठको मुढामा पलाउँछ भने कुनै बाथरूममा वा किताबको पानामै। साँच्चै भन्‍ने हो, ढुसी जताततै पाइन्छ। अहिले यति वाक्य पढुन्जेल तपाईंको नाकभित्र पनि ढुसीका बीजाणुहरू छिरिरहेका हुन सक्छन्‌।

हाम्रो वरपर जताततै ढुसी छ भनेर तपाईंलाई विश्‍वास लाग्दैन भने एक टुक्रा पाउरोटी त्यत्तिकै छोड्‌नुहोस्‌ अथवा फ्रिजभित्र राख्नुभए पनि हुन्छ। केही दिनमै भुवाजस्तै देखिने ढुसी पलाइसकेको हुन्छ!

ढुसी के हो?

ढुसी फन्जाईजगत्‌मा पर्छ, जसमा पीठोजस्तो देखिने पीठे ढुसी, च्याउ, बोटबिरुवाहरूमा पर्ने ढुसी, यिस्टलगायत १,००,००० भन्दा बढी प्रजाति पर्छन्‌। अहिलेसम्म थाह लागेअनुसार लगभग १०० प्रकारका फन्जाईहरूले मात्र मानिस र जनावरहरूलाई बिरामी बनाउँछन्‌। अरू थुप्रै प्रकारका फन्जाईहरूले सडेका जैविक तत्त्वहरूलाई बोटबिरुवाले सोस्न सक्ने सूक्ष्म तत्त्वहरूमा परिवर्तन गर्छ। कतिपय ढुसी सहजीवी हुन्छन्‌। भनाइको मतलब, उनीहरू बोटबिरुवामै टाँसिएर बस्छन्‌ र आफू पनि बाँच्छन्‌, बोटबिरुवालाई पनि माटोबाट पोषण तत्त्व सोस्न मदत गर्छन्‌। अनि कतिपय भने परजीवी हुन्छन्‌।

ढुसीको जीवन चक्र सूक्ष्म बीजाणुबाट सुरु हुन्छ। यी बीजाणुहरू हावामा तैरिंदै एक ठाउँबाट अर्को ठाउँमा पुग्छन्‌ र भोजन, तापक्रम, आद्रता जस्ता कुराहरू अनुकूल छ भने तुरुन्त अंकुराउँछन्‌। धागोजस्तो देखिने यी टुसाहरूलाई च्याउवरेसा (हाइफा) भनिन्छ। धेरै च्याउवरेसाहरू मिलेर मसिनो भुवाजस्तो देखिने च्याउवजाल (माइसेलियम) बन्छ। यही च्याउवजाल नै नांगो आँखाले पनि देख्न सकिने ढुसी हो। बाथरूमको टायलको कापमा पर्ने ढुसीचाहिं फोहोर वा दागजस्तो देखिन सक्छ।

ढुसी चौपट्टै छिटो फैलिन सक्छ। पाउरोटीमा पर्ने ढुसीलाई रिजोपस स्टोलोनिफर भनिन्छ। पाउरोटीमा देखिने स-साना काला धब्बाहरू वास्तवमा ढुसीका बीजाणु थैलीहरू (स्पोरान्जिया) हुन्‌। मात्र एउटा धब्बामा ५०,००० भन्दा बढी बीजाणु हुन्छन्‌। अनि केही दिनभित्रै एउटा मात्र बीजाणुले करोडौं नयाँ बीजाणुहरू पैदा गर्न सक्छ! जंगलको मुढामा सजिलै ढुसी पलाएझैं वातावरण अनुकूल भएमा किताब, जुत्ता, भित्ता जहाँसुकै ढुसी पलाइहाल्छ।

ढुसीले कसरी “खान्छ”? मानिस र जनावरले पहिले खान्छन्‌, पचाउँछन्‌ अनि पचेको खाना सोस्छन्‌। ढुसीमा भने ठीक उल्टो हुन्छ। जैविक अणु ढुसीले खान नसक्ने गरी ठूलो छ भने पहिले ढुसीले पाचनरस निकालेर अणुलाई टुक्य्राउँछ, त्यसपछि मात्र पोषण तत्त्व सोस्छ। साथै, खानेकुरा खोज्न ढुसी यताउता चलहल गर्न नसक्ने भएकोले आफूले खान सक्ने वस्तुमा मात्रै ढुसी पलाउँछ।

ढुसीले माइकोटक्सिन भन्‍ने विषालु तत्त्व उत्पन्‍न गर्न सक्छ। यसले मानिस र जनावर दुवैलाई नराम्रो असर गर्न सक्छ। नाक, मुख र छालाबाट यो विष शरीरभित्र प्रवेश गर्न सक्छ। तर ढुसीदेखि तर्सिहाल्नु चाहिं पर्दैन! ढुसीका केही फाइदाहरू पनि छन्‌।

ढुसीको मित्रैलो मुहार

सन्‌ १९२८ मा वैज्ञानिक अलेक्जेण्डर फ्लेमिङले हरियो ढुसीमा कीटाणुनाशक शक्‍ति हुँदो रहेछ भन्‍ने कुरा संयोगवश पत्ता लगाए। पछि पेन्सिलियम नोटाटम नाउँ दिइएको यो ढुसी ब्याक्टेरियाको लागि काल नै साबित भयो भने मानिस र जनावरहरूको लागि वरदान। किनकि यो अन्वेषणको फलस्वरूप पेन्सिलिनको जन्म भयो, जसलाई “वर्तमान युगमा सबैभन्दा धेरै जीवन बचाउन सफल औषधी” भन्‍ने नाउँ दिइएको छ। यस खोजको लागि फ्लेमिङ र तिनका सहकर्मीहरू होवार्ड फ्लोरे र अर्नस्ट चेनलाई सन्‌ १९४५ मा चिकित्साशास्त्रको लागि नोबेल पुरस्कार प्रदान गरियो। त्यस बेलादेखि यता, ढुसीको उपयोग गरेर अरू पनि थुप्रै औषधीहरू तयार पारिएका छन्‌। जस्तै, रगत जम्ने, माइग्रेन र पार्किन्सन्स रोगका औषधीहरू।

ढुसीको कारण हामीले आफ्नो जिब्रो पनि फड्‌कार्न पाएका छौं। उदाहरणको लागि, चीजलाई विचार गर्नुहोस्‌। ब्री, कामेम्बर्ट, डेनिश ब्लु, गोर्गन्जोला, रोक्फोर्ट र स्टिलटन जस्ता चीजहरूको आ-आफ्नै खालको स्वाद हुनुमा पेन्सिलियम ढुसीका विभिन्‍न प्रजातिहरूको हात छ भन्‍ने कुरा के तपाईंलाई थाह थियो? त्यसै गरी, ढुसी नहुँदो हो त हामीले सलामी अनि सोयासस चाख्नै पाउँदैनथ्यौं। अनि चिसो बियरको मीठो चुस्की लिने त झनै परको कुरा।

वाइन पनि त्यही हो। कुनै खास प्रजातिका अंगुरहरूमा ठिक्क मात्रामा ढुसी पलाएपछि समय मिलाएर टिप्यो भने त्यसबाट निकै मीठो वाइन बनाउन सकिन्छ। बोट्राटिस सिनेरा नाउँको ढुसीले अंगुरमा गुलियोपनको मात्रा बढाइदिन्छ र वाइनलाई स्वादिलो बनाउँछ। छिप्प्याएर राखिएको वाइनलाई स्वादको पराकाष्ठमा पुऱ्‍याउने काम पनि क्लाडोस्पोरियम सिल्लार ढुसीले गर्छ। त्यसैले त हंगेरीका अंगुर कृषक र वाइन उत्पादकहरूमाझ यस्तो आहान नै चलेको छ: “विना ढुसी, कहाँ चाख्न पाइन्छ र मीठो रक्सी?”

ढुसीको बैगुणी मुहार

केही बैगुणी ढुसीहरूले लामो इतिहास नै बोकेका छन्‌। ईसापूर्व छैटौं शताब्दीमा अश्‍शूरीहरूले आफ्ना शत्रुहरूको इनारलाई विषाक्‍त बनाउन क्लाभिसेप्स पुर्पुरेआ ढुसी प्रयोग गर्थे। यसलाई प्राचीन जैविक हतियार भन्दा पनि फरक पर्दैन। गहुँको एक प्रजाति राईमा पाइने यही ढुसीले गर्दा इस्वी संवत्‌ ५०० देखि लिएर १५०० सम्मको समयावधिमा थुप्रै मानिसहरूलाई छारे रोग, जीउ भतभती पोल्ने, शरीरको मासु कुहिने र मतिभ्रम जस्ता रोगहरूले सताएको थियो। अहिले एर्गटिज्म भनेर चिनिने यस रोगलाई त्यति बेला सन्त एन्थोनीको आगो भन्‍ने नाउँ दिइएको थियो किनभने कुनै चमत्कारी शक्‍तिद्वारा रोग निको हुने आशामा थुप्रै रोगीहरू फ्रान्सस्थित सन्त एन्थोनीको आश्रममा तीर्थ जान्थे।

थाह भएसम्म, क्यान्सर गराउने सबैभन्दा खतरनाक तत्त्व एफ्लाटक्सिन हो। तर यसको जननी पनि ढुसी नै हो। एउटा एसियाली मुलुकमा एफ्लाटक्सिनको कारण वर्षेनी २०,००० को मृत्यु हुन्छ। यो मृत्युजन्य तत्त्वलाई आधुनिक समयको जैविक हतियारहरूमा प्रयोग गरिएको छ।

तथापि, हामीले सामान्यतया देख्ने ढुसीले हाम्रो स्वास्थ्यमा त्यत्ति गम्भीर असर पुऱ्‍याउँदैन। हदै भयो भने अलि अप्ठेरो महसुस होला। “धेरैजसो ढुसी हानिकारक छैनन्‌। तपाईंले सुँघेर पत्ता लगाउन सक्ने ढुसीले समेत केही बेफाइदा गर्दैन,” यु सी बार्कली वेल्नेस लेटर बताउँछ। दमजस्ता फोक्सोसम्बन्धी रोग हुनेहरू, एलर्जी भएकाहरू, रसायनहरूप्रति तुरुन्तै प्रतिक्रिया देखाइहाल्नेहरू, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू अनि एकै चोटि धेरै ढुसीको सम्पर्कमा आउने कृषकहरूलाई भने यसले नराम्रो असर गर्न सक्छ। बच्चा र बूढाबूढीहरूलाई पनि ढुसीले सजिलै असर गर्न सक्छ।

संयुक्‍त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित स्वास्थ्य सेवा विभागका अनुसार ढुसीले गर्दा निम्न लक्षणहरू देखिन सक्छ: ‘छाती घ्यार-घ्यार हुने, सास फेर्न गाह्रो हुने र स्वाँ-स्वाँ बढ्‌ने जस्ता श्‍वासप्रश्‍वाससम्बन्धी समस्याहरू देखिने; नाक बन्द हुने र पिनासले सताउने; आँखा पोल्ने; सुख्खा खोकी लाग्ने; नाक वा घाँटी पोल्ने; छालामा डाबर देखिने वा चिलाउने इत्यादि।’

ढुसी र भवनहरू

कुनै-कुनै ठाउँमा, ढुसी हटाउनको लागि स्कूल वा कार्यालय पूरै बन्द गरेको अनि घर खाली गरेको सुन्‍नु कुनै नौलो कुरा होइन। सन्‌ २००२ को सुरुतिरको कुरा हो, स्वीडेनको स्टकहोममा खोलिएको आधुनिक कला संग्रहालय उद्‌घाटन भएको केही समय नबित्दै ढुसीको कारण बन्द गर्नु परेको थियो। ढुसीबाट छुटकारा पाउन लगभग ३६ करोड रुपैयाँ (५० लाख अमेरिकी डलर) खर्च भयो! हाल आएर यो समस्याले किन उग्र रूप लिंदैछ?

यसको मुख्य कारण दुइटा छन्‌: निर्माण सामग्री र डिजाइन। बितेका केही दशकदेखि यस्ता निर्माण सामग्रीहरूको प्रयोग बढ्‌दो छ, जसलाई ढुसीले सजिलै असर गर्न सक्छ। उदाहरणका लागि, कोठा बार्न वा छतमुनि प्रयोग गरिने जिप्सम बोर्डलाई लिऊँ। जिप्सम बोर्ड बनाउँदा कागजका पत्रहरू एकमाथि अर्को प्रेस गरिएको हुन्छ र कडा पार्न बाहिरबाट प्लास्टर गरिएको हुन्छ। त्यसैले यसमा पानी छिऱ्‍यो भने भित्र रहेको कागज ओसिन्छ र हतपती सुख्खा हुँदैन। निकै लामो समयसम्म ओसिलो भइरह्‍यो भने ढुसीको बीजाणु अंकुराउँछ र फैलिन थाल्छ। यसलाई खानको लागि पनि त्यही कागज छँदैछ, अनि त के चाहियो र?

भवनहरूको डिजाइनमा पनि परिवर्तन आएको छ। सन्‌ १९७० को दशकभन्दा अघिसम्म अमेरिका र अरू थुप्रै मुलुकका भवनहरू ताप र हावा सजिलै भित्र-बाहिर गर्न सक्ने गरी बनाइएका हुन्थे। तर अहिले भने घरबाहिर जाडो होस्‌ वा गर्मी, कोठाभित्रको तापक्रमलाई एकनास राख्ने प्रविधि अपनाएर बिजुली जोगाउन सकिने घरहरू बनाउन थालिएको छ। यसले गर्दा पानी छिऱ्‍यो भने हतपती सुक्न पाउँदैन र ढुसी पर्छ। यसको कुनै समाधान नै छैन त?

ढुसीबाट पार पाउने वा ढुसीलाई सकेसम्म कम गर्ने सबैभन्दा सजिलो उपाय सबै सामान सफा र सुख्खा राख्नु अनि घरभित्रको आद्रता कम गर्नु हो। कुनै ठाउँ पानीले भिज्यो भने तुरुन्तै सुख्खा बनाइहाल्नुहोस्‌ अनि फेरि-फेरि पानी जम्मा हुन नदिन मर्मत-सम्भार के गर्नुपर्ने हो, सो गरिहाल्नुहोस्‌। उदाहरणको लागि, वर्षात्‌को समयमा छतको पानी बग्ने पाइप र छाना सफा र ठीक अवस्थामा राख्नुहोस्‌। घर वरीपरीको जमिनको सतह मिलाएर बर्खाको पानी जगमा नपस्ने बनाउनुहोस्‌। तपाईंको घरमा एअर-कन्डिसनर छ भने पानी निस्कने पाइप सफा राख्नुहोस्‌ र पानी जम्मा हुन नदिनुहोस्‌।

एउटा संस्थाले बताएअनुसार “ढुसी रोक्ने मुख्य तरिका ओसिलो हुन नदिनु हो।” बेलैमा दुई-चारवटा सावधानी अपनाउनुभयो भने तपाईं र तपाईंको परिवारले ढुसीको बैगुणी मुहार हेर्नुपर्ने छैन। ढुसी पनि आगोजस्तै हो। यसले हानि पुऱ्‍याउन पनि सक्छ अनि अत्यन्तै उपयोगी हुन पनि सक्छ। हामी यसलाई कसरी प्रयोग गर्छौं र नियन्त्रण गर्छौं, त्यसैमा सब कुरा भर पर्छ। हुन त हामीले ढुसीबारे सबै कुरा थाह पाइसकेका छैनौं। तर परमेश्‍वरको अचम्मलाग्दो सृष्टिहरूबारे हामी जति धेरै सिक्छौं, हामीलाई उत्ति नै फाइदा हुन्छ। (g1/06)

[पृष्ठ १२-मा भएको पेटी/चित्र]

बाइबलकालीन युगमा ढुसी

बाइबलले ‘घरमा लाग्ने कोर रोगबारे’ बताएको छ। (लेवी १४:३४-४८) घरमा लाग्ने “खतरनाक कोर” पनि भनिएको यो रोग कसै-कसैले बताएअनुसार एक प्रकारको ढुसी हो। तर यसबारे पक्का हुन भने सकिंदैन। कुरा जेसुकै होस्‌, रोगले असर गरेको ठाउँबाट निकालेको ढुंगा, माटो र अरू सबै कुरा सहरबाहिरको “अशुद्ध ठाउँमा” फ्याँक्न परमेश्‍वरको व्यवस्थाले घर मालिकलाई आदेश दिएको थियो। रोग फेरि बल्झेमा त्यो घरलाई अशुद्ध घोषणा गरी पूरै घर भत्काएर सबै सामान फ्याँक्नुपर्थ्यो। यसरी यहोवाले एक-एक गरी दिनुभएको निर्देशनले आफ्ना जनहरू र तिनीहरूको स्वास्थ्यप्रति उहाँको गहिरो प्रेम प्रकट गर्छ।

[पृष्ठ ११-मा भएको चित्र]

ढुसीबाट बनेका औषधीहरूले थुप्रैको ज्यान जोगाएको छ

[पृष्ठ १३-मा भएको चित्र]

भित्तामा प्रयोग गरिने जिप्सम र भाइनल ओसियो भने ढुसी पर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने